सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘भोकासुर’को सुरमा हरि खनालको खनखन

सङ्ग्रहका निबन्धहरूले हाम्रो सामुन्नेका विसङ्गत क्रियाकलापहरूमाथि शक्तिशाली व्यङ्ग्य गरेका छन् । हाँसो उठाएका छन्, र पोल खोल्दै प्रहार गरेका छन् । विसङ्गत यथार्थलाई खोतलेर छ्याल्लव्याल्ल पार्नु मात्र हास्यव्य लेखनको दायित्व हैन, यसले विकृत पर्यावरणलाई उच्छेद गरी सङ्गतिको आग्रह पनि गर्दछ ।

Nepal Telecom ad

नरनाथ लुइँटेल :

Narnath Luitel Fitkauliबिजुली हुलाकको बाटो भएर एक साँझ मेरो काखे कम्प्युटरसम्म आइपुग्यो टङ्कण गरिएको एउटा गुजुल्टो । झण्डै झण्डै पुस्तकको आकार लिइसकेको गुजुल्टोलाई मैले ओल्टाई पल्टाई पारेँ- ‘भोकासुर’ नाम दिइएको हास्यव्यङ्ग्य निबन्धहरूको एउटा ठेली नै पो रहेछ । गुजुल्टोलाई बिजुली हुलाकमा ठेल्दै अलिकति जनाउ दिइएको थियो यसभित्रका त्यान्द्रा केलाइकुलाई पारेर आफूलाई लागे बमोजिम केही कथनसहित यथासमयमै फिर्ता ठेलिपाऊँ । गजुल्टो ठेल्ने व्यक्ति हुनुहुन्छ धादिङ घर भई हाल शिक्षा विभागतिर सेवा पुयाएर दिनचर्याको मेवा जुटाउँदै गर्नुभएका हरि खनाल । खनाल नेपाली साहित्यको पछिल्लो चरणमा निकै प्रभावकारी उपस्थिति जनाई सक्नुभएका स्रष्टा हुनुहुन्छ । कथा, कविता, निबन्ध, उपन्यास र बालसाहित्यसम्ममा जाँगर पोख्दै एक दर्जनभन्दा बढ्ता कृति दिइसक्नु भएका खनाल हास्यव्यङ्ग्य शैलीलाई पनि उत्तिकै मान र मर्यादा गर्नुहुन्छ । ‘फित्कौली’, ‘जनमत’, ‘मधुपर्क’ जस्ता साहित्यिक पत्रपत्रिकामा उहाँका फुटकर हास्यव्यङ्ग्य रचनाहरू प्रकाशित भएका छन् ।

जुन देशको राजनीति र राज्यव्यवस्था बढी जर्जर हुँदै जान्छ, हास्यव्यङ्ग्य लेखन उत्तिनै उर्वर हुँदै मौलाउँछ । राजनीति राज्यको मेरुदण्ड हो, राजनीति नै विकृत एवम् विसङ्गत भयो भने राज्यका कुनै पनि अङ्ग, निकाय वा क्षेत्रमा सङ्गति मिल्दैन । अहिले हाम्रो देश यस्तै अवस्थाबाट गुज्रिरहेको छ । समग्र पर्यावरण प्रदूषित भएको छ । कसैले राम्रो कुरा गर्‍यो भने ऊ फटाहा साबित हुन्छ । बरू फट्याइँ, लुच्याइँ, अनाचार, दुराचार र लुटखसोटमा निर्लिप्त भएर लागेको मान्छेले सज्जनको सम्मान पाउँछ- पाइरहेको छ । बेइमान, गतिछाडा, स्वार्थलम्पट मान्छे पुजिने, पुरस्कृत हुने अनि इमानदार, कर्तव्यनिष्ठ, निस्वार्थी र नैतिकवान् मान्छे भने सबै खालको अवसरबाट पाखा लाग्नुपर्ने परिस्थिति अधिक दुर्भाग्यपूर्ण हो । यही सङ्गति नमिलेको वस्तु-सन्दर्भलाई हास्यव्यङ्ग्य लेखनले आफ्नो प्रहारको निसाना बनाउँदै आएको छ । नेपाली हास्यव्यङ्ग्यका मानक व्यक्तित्व भैरव अर्यालका मानक कृतिहरूबाट अभिप्रेरित भई यस क्षेत्रमा सक्रिय हुँदै आएका स्रष्टाहरूको पङ्क्तिमा उभिनुभएको छ हरि खनाल । कृतिका रूपमा ‘भोकासुर’ उहाँको पहिलो हास्यव्यङ्ग्य सङ्ग्रह हो ।

असाध्य अस्तव्यस्त समयको चपेटामा फसिरहेको बेला भएपनि मैले ‘भोकासुर’ कृति प्रकाशनपूर्व यसको टङ्कण प्रतिलाई काखे कम्प्युटरकै पर्दामा सर्सरी हेर्ने, केलाउने र अलिअलि खेलाउने अवसर पाएँ । यस अवसरका निम्ति म यसका स्रष्टा हरि खनालप्रति आभार व्यक्त गर्दछु । यसको समग्र मूल्याङ्कन, समीक्षण र विश्लेषणको अभिभारा विज्ञ समीक्षकहरूबाट पूरा हुने नै छ । मचाहिँ सङ्ग्रहका निबन्धहरूले नेपाली राजनीति, समाज, संस्कृति, शिक्षा, अर्थतन्त्र, प्रशासन र साहित्य क्षेत्रमा देखिएका विसङ्गति र बिब्ल्याँटाहरूलाई के कसरी टिपेका छन् र कहाँ-कहाँ व्यङ्ग्य प्रहारको निसाना लगाइएको छ भनेर केही सङ्केत मात्र गर्न खोज्दै छु ।

‘भोकासुर’ सङ्ग्रहमा जम्मा तेत्तीसवटा निबन्ध सङ्कलित छन् । सङ्कलित निबन्धहरूमध्ये केही यसअघि नै साहित्यिक पत्रपत्रिकामा प्रकाशित भइसकेका निबन्धहरू छन् भने केहीचाहिँ यसै सङ्ग्रहमार्फत पहिलोपटक प्रकाशित भएको ज्ञात हुन्छ । दुईचार वटालाई छाडेर यस सङ्ग्रहका प्रायः धेरैजसो निबन्ध संरचनाका दृष्टिले लघुआयतनमा संरचित छन् । हिजोआजका पाठकलाई लामो र ठूलो आयतनका रचना पढ्ने फुर्सद छैन भन्ने कुरा हास्यव्यङ्ग्य शिल्पी खनालले थाहा पाउनुभएको छ । खनालले मात्र होइन अबका स्रष्टाहरूले यस किसिमको पाठक मनोविज्ञानलाई ग्रहण गर्नु जरुरी भइसकेको देखिन्छ ।

लघु आयाममै भए पनि यस सङ्ग्रहका निबन्धहरूमा शैलीविविधता पाइन्छ । सङ्ग्रहका केही निबन्धले त कथाको छनक दिन्छन्- आत्मपरक शैली भएको हुँदा त्यस्तो लाग्नु अस्वाभाविक पनि होइन । निबन्धैपिच्छे संवाद शैली, वर्णन शैली, प्रवचनात्मक शैली, कथपोकथन शैली आदिको प्रयोग देखिन्छ । ‘हो’ कुरो भनेर ‘होइन’ कुरो बुझाउने अनि नकारात्मक कुरा गरेर सकारात्मक अर्थ सम्प्रेषण गर्ने हास्यव्यङ्ग्य शैलीको विशिष्टतालाई सङ्ग्रहका निबन्धहरूले गम्भीर ढङ्गले आत्मसात् गरेका छन् । प्रायः धेरैजसो निबन्धमा पात्रहरूको उपस्थिति देखिन्छ- कहीँ विकृतिका नायकका रूपमा त कहीँ ती नायकलाई नाङ्गेझार पार्ने उपनायकका रूपमा । कहीँ हाँसो उमार्ने र व्यङ्ग्य बजार्ने किसिमले त कतै समवेदना उमार्ने किसिमले । कतिपय निबन्धहरूमा कथामाझै घटना सन्दर्भहरू आउँछन् अनि विसङ्गत पर्यावरणलाई प्रस्तुत गरिराखेर सुटुक्क जान्छन् । शब्द, वर्ण र वाक्यानुप्रासको पर्याप्त प्रयोगले पाठकलाई आल्हादित पार्न सक्ने क्षमता पनि राम्रोसँग प्रकट भएको छ खनालको ।

सङ्ग्रहको सबैभन्दा सबल पक्ष भनेको निबन्धले खोतलेको विसङ्गतिको बहुविध विषयक्षेत्र नै हो । वर्तमान नेपाली समाज, यहाँ अहिले हावी भएको विकृत राजनीति, विकृत राजनीतिका कारण अधोगति समातिरहेको सामाजिक जीवन, आर्थिक जीवन, शिक्षा, संस्कृति र साहित्यिक क्षेत्रका विकृतिका अनेकन केस्राहरू केलाइएको छ । लाग्छ स्रष्टा खनालको व्यङ्ग्य चेतनाले नदेखेको र नभेटेको कुनै क्षेत्र र ठाउँ छैन, जहाँ अलिकति भए पनि सङ्गति मिलेको होस् । खनालका निबन्धहरू लघु आकारकै भएपनि एउटामात्र विषयवस्तुभित्र सीमित पाइँदैनन् । उनको शब्दको मट्याङ्ग्राले एकसाथ वहुक्षेत्रमाथि प्रहार गरेको पाइन्छ तथापि विषयवस्तुको प्रधानपक्षको आधारमा प्रस्तुत निबन्धलाई निम्नबमोजिम वर्गीकरण गरेर हेर्न सकिन्छ :

क) राजनीतिक क्षेत्रका असङ्गतिमाथि व्यङ्ग्य प्रहार

राजनीतिले अख्तियार गरेको बिब्ल्याँटोका कारण यो देश आज सङ्कटापन्न हुन पुगेको हो । राजनीतिक खेलाडीहरू देशको राष्ट्रिय अस्मिता, जनताको चाहना, यहाँको विकास निर्माण र सम्पन्नतालाई रौं बराबर महत्त्व दिइरहेका छैनन् । पद, कुर्सी, सुविधा र शक्ति बाहेक उनीहरूको दिमागमा अरू केही छैन । मुखले जे भने पनि व्यवहारमा उनीहरूको स्वार्थलम्पट प्रवत्ति र भ्रष्ट मनोवृत्ति घाम जत्तिकै छर्लङ्ग भइरहेको छ । बोक्रे नेता, नेतृत्वको होडबाजी र दलीय खिचातानीलाई केन्द्रमा राखेर लेखिएका सातवटा निबन्ध परेका छन् यस सङ्ग्रहमा । ‘चोरपाटी- जिन्दावाद’ शीर्षकको निबन्धमा नेता र उनीहरूका कार्यकर्ता वर्गलाई चोरीखान पल्किएको चोरवर्गका रूपमा चित्रण गरिएको छ भने ‘नेतावाद’ निबन्धले दल र दलको पनि गुटभित्रको राजनीतिक दाउपेचलाई प्रस्तुत गरेको छ । अर्को निबन्ध ‘जुँगा’ मा महत्त्वाकाङ्क्षा पूर्ति गर्नकै लागि राजनीतिक विमति प्रकट गर्ने मनोवृत्तिमाथि थप्पड हानिएको छ भने ‘अष्ठदल नाच’ मा अर्को तरिकाले दलीय खिचानतानीको जीवन्त चित्रण प्रस्तुत गरिएको छ । राजनीतिको एउटा कालखण्डलाई प्रस्तुत गरेको यस निबन्धले पछिल्लो परिदृश्यलाई पनि जीवन्त तरिकाले व्यङ्ग्य गरिरहेको पाइन्छ । राजनीतिक विषयलाई नै केन्द्रमा राखेर रचना गरिएको अर्को निबन्ध ‘संसदको अपमान’ मा सांसदहरूको गैरसंसदीय क्रियाकलापमाथि हाँसो उडाउँदै तीखो व्यङ्ग्य गरिएको छ भने झण्डा, डण्डा र धन्दा’ शीर्षकको निबन्धमा सिद्धान्त र दर्शन छोडेर वर्तमान राजनीतिभित्र छिरेको हुलहुज्जतको चित्रण प्रस्तुत भएको छ । त्यसै गरी सङ्ग्रहको शीर्ष निबन्ध ‘भोकासुर’ पनि राजनीतिको आडमा आलोपालो सत्तासीन हुनपुगेका व्यक्ति र दलहरूमार्फत राष्ट्रको अकुत ढुकुटीमाथि हुने गरेको भ्रष्टाचारको तस्विर उतारिएको छ । सन्तानको चक्कर छिमेकीको ठक्करले वर्तमान नेपालको समसामयकि राजनीतिक विकृतिमाथि बेजोड व्यङ्ग्य गरेको छ । मानवअधिकार निबन्धले मानवअधिकारको नाममा हुने गरेका अपव्याख्या र विकृतिको भण्डाफोर गरेको छ ।

यसरी स्रष्टा हरि खनालले राजनीतिक विसङ्गतिका कारण मुलुकले बेहोर्नु परेको अधोगतिलाई गम्भीर ढङ्गले प्रस्तुत गर्दै सङ्गतिको आग्रह अगाडि सार्नुभएको देखिन्छ ।

ख) सामाजिक/ नैतिक क्षेत्रसँग सम्बन्धित विसङ्गतिको नालीबेली

सङ्ग्रहका निबन्धले महत्त्वकासाथ हाँसो र व्यङ्ग्य गरेको अर्को विषयक्षेत्र हो सामाजिक विसङ्गति । यस क्षेत्रसँग सम्बन्धित निबन्धहरू चारवटा रहेका छन् । सामाजिक क्षेत्रसँग सम्बन्धित विषयमा गरिएको व्यङ्ग्य पनि राजनीतिक आवरणमा आधारित छन् । ‘आँखाको तिरिमिरीमा, बाबुछोराको संवाद’ पूर्ण रूपमा संवाद शैलीमा संरचित निबन्ध हो । राष्ट्रिय पहिचान वेशभुषाले पनि प्रकट गर्दछ, तर हाम्रा अगुवाहरू सुट र टाइमाथि टोपी लगाउन थालेका छन् भन्दै अगुवाहरूमै देखिएको असङ्गतिको उछितो काढिएको छ यस निबन्धमा । त्यसैगरी ’बुझि गुरु’ शीर्षकको निबन्धमार्फत् अरुलाई नैतिकताको पाठ पढाउने गुरु नै दुराचारमा लिप्त रहेको विसङ्गत सन्दर्भ प्रस्तुत गरिएको छ भने सामाजिक कुलतले समाजमा प्रदूषण फैलाइरहेको वस्तुतथ्य प्रस्तुत गर्दै रक्सी र रक्स्याहाको नाटीकुटी उतारिएको छ ‘बिजुलीपानी’ निबन्धमा । अर्को ‘सन्तानको चक्कर, छिमेकीको ठक्कर’ निबन्धलेचाहिँ पारिवारिक सन्दर्भ उठाएर सामाजिक विसङ्गति र मुलुकको राजनीतिक अवस्थामाथि संयुक्त प्रहार गरेको छ । त्यस्तै परिचय निबन्धले मुलुकको विसङ्गतिपूर्ण अवस्थाप्रति शब्दवाण चलाएको छ ।

ग) आर्थिक क्षेत्रसँग सम्बन्धित विसङ्गतिको चित्रण

‘भोकासुर’ कृतिमा परेका तीनवटा निबन्धले आर्थिक क्षेत्रसँग सम्बन्धित विसङ्गतिलाई केन्द्रीय विषयवस्तुका रूपमा समेटेको देखिन्छ । सम्पति अर्थात् पैसा आर्जनका निम्ति मानिस अहिले जस्तोसुकै कुकर्म गर्न पनि तयार भइरहेको छ । पैसा धुपार्नका लागि मान्छे अहिले दानवीय स्वरूपमा उपस्थित भएको छ । यही वस्तुतथ्यमाथि तीव्र प्रहार गर्दै रचना गरिएका छन् यस कोटिका निबन्धहरू । ‘मभन्दा नोटै ठूलो निबन्ध द्रव्यपिचास प्रवृत्तिमा केन्द्रित छ भने ‘भातमारा’ निबन्धले आर्थिक भ्रष्टाचारको उच्छेद गर्नुपर्ने आग्रह प्रस्तुत गरेको छ । अर्को निबन्ध ‘ढुकुटी’ ले राष्ट्रको ढुकुटीलाई सुकुटी बनाउन सक्ने मात्र अब्बल दर्जाका भक्षक हुन् भन्दै स्वादिलो चड्कन हानिएको छ ।

घ) विसङ्गत शैक्षिक वातावरणमाथि परिहास

हरि खनाल शैक्षिक क्षेत्रसँग सम्बन्धित विसङ्गतिहरूका बारेमा अलि बढी नै जानकार हुनुहुन्छ । सङ्ग्रहमा परेका चारवटा निबन्धमध्ये ‘विदेश’ मा शैक्षिक अध्ययनका लागि विदेश पस्ने होडबाजीको खुलासा गरिनुको साथै मुलुकमा भित्रिएको अव्यवस्था र गुण्डाराजमाथि कटाक्ष गरिएको छ भने ‘ढाँटको खेती’मा विद्यालय प्रशासनमा छलछाम मार्फत हुने गरेको भ्रष्टाचारको पोल खोलिएको छ । अर्को निबन्ध ‘स्कुलको धन्दा, काइदा जाने फाइदै फाइदा’ मा च्याउ जसरी उम्रिएका बोर्डिङ स्कुलहरूको अभिभावक लुट्ने काइदा र ‘खल्ती खलास’ मा शिक्षाका नाममा हुने गरेको लुटतन्त्रमाथि व्यङ्ग्य गरिएको छ ।

ङ) सांस्कृतिक विकृतिको खुलासा

खनालको ‘भोकासुर’ सङ्ग्रहमा नेपालको सांस्कृतिक जीवन एवम् संस्कारसँग सम्बन्धित विकृतिमाथि पनि उल्लेखनीय ढङ्गले व्यङ्ग्यवाण प्रहार गरिएको छ । यस विषयक्षेत्रलाई छोएका छवटा निबन्ध सङ्ग्रमा परेका छन् । नेपाली मौलिक संस्कृति र संस्कारको उछितो काड्ने प्रवृत्तिलाई प्रस्तुत छ- ‘चोरबाटो’ शीर्षकको निबन्धमा । ‘गीतको धीत’ निबन्धमा गीत सङ्गीत क्षेत्रको विकृत मानिसकतामाथि व्यङ्ग्य गरिएको छ भने ‘भोज’ निबन्धमा गरिएको सांस्कृतिक तडकभडकपूर्ण बिहे संस्कृतिका नाममा देखिएको विकृतिलाई छ्याल्लब्याल्ल पारिएको छ । त्यसैगरी ’काइदा र फाइदा निबन्धले चलचित्र क्षेत्रको विसङ्गत पर्यावरणमाथि मजाक गरेको छ । ‘दरको डर’मा सांस्कृतिक चाडपर्वको आडमा बढ्दै गएको विकृति र ‘काँ पर्‍यो कि आँ पर्‍यो’ निबन्धले सर्सती पढ्दा फोन र मोबाइलको दुरूपयोगको कुरा उठाउन खोजेकोजस्तो लाग्छ तर निसाना र प्रहार राजनीतिक विकृतितिरै सशक्त ढङ्गले केन्द्रित भएको पाइन्छ । मुलुकलाई आँ गर्नेहरूदेखि सावधान रहन सन्देश दिएको देखिन्छ ।

च) साहित्यिक क्षेत्रका विसङ्गतिमाथि छेडछाड

हाम्रो साहित्यिक क्षेत्र पनि विकृतिविहीन बन्न सकेको छैन । यस कित्तामा केन्द्रित चारवटा निबन्ध यस सङ्ग्रहमा परेका छन् । प्रतिभा, क्षमता र तपस्या बिनै चाकडी र चाप्लुसीको बलमा पुरस्कार जिप्ट्याउने प्रवृत्तिलाई ठोक्दै चाकडी र तिकडस गरेर सम्मानित हुने दरिद्र मानसिकतामाथि ‘पुरस्कार’ निबन्धले निकै सशक्त प्रहार गरेको छ । अर्को निबन्ध ‘अन्तरवार्ता’ले पुरस्कार र पदकको हरिविजोकलाई जस्ताको तस्तै उतारेको छ भने ‘मुक्तकको झट्टी, मैतीमायाको भट्टी’ मा विदेशी भूमिमा श्रम गरेर पनि विश्वासघातमा परेका व्यक्तिदेखि भ्रष्टाचार गरेर जेलजीवन व्यतित गरेका व्यक्ति र लेखकसम्मको जमघट गराउनु भएकाे छ लेखकले । यसमा उनीहरूको मर्म र कर्म खोतल्न खनालले होशियारीपूर्वक शब्दवाण प्रयोग गगनुर् भएकाे छ । यसैमा भ्रष्टाचारीले जेलबाट निस्कँदा लगाएको फूलमालाको परिहास पनि गरिएकाे छ । यसैगरी ‘कलम जोगाउने काइदा’मा कलमको दुरुपयोग गर्नेमाथि कटाक्ष गरिएको छ ।

छ) प्रशासनिक ताबेदारी र भ्रष्ट मनोवृत्तिमाथि मजाक

राजनीतिक हस्तक्षेपका कारण मुलुकको प्रशासनिक क्षेत्र पङ्गु हुँदै गएको नाङ्गो यथार्थलाई सङ्ग्रहका दुईवटा निबन्धले राम्रोसँग समेटेका छन् । हाकिमको हैकमदेखि कारिन्दाका खातिरदारी प्रक्रियासम्मका सन्दर्भहरू प्रस्तुत गर्दै हाकिम कर्मचारी सबैको भ्रष्टमनोवृत्तिको चित्रण निकै मनोहर छ । ‘हाकिम साहेब जिन्दावाद’ निबन्धमा प्रशासनिक क्षेत्रको भ्रष्ट र तावेदारीमाथि मज्जैसँग मजाक मारिएको छ । त्यस्तै यही कित्ताको अर्को निबन्ध ‘अघाइदिने र हगाइदिने काम’ले सरकारी अड्डामा हुने गरेका अनेकन बद्मासीको पोल खोलिदिएको छ । सङ्ग्रहको एउटा निबन्ध ‘सपना’ चाहिँ विसङ्गत मनोविकारसँग सम्बन्धित रहेको देखिन्छ । यसभित्र कार्मचारीतन्त्रको विकृति, बेरोजगारको बेथा, व्यापार दुनियाँको अपराध, मुलुकको न्याय व्यवस्थादेखि सिंहदरवारसम्मको अवस्थामाथि तिक्ष्ण व्यङ्ग्य गरिएको छ ।

सङ्ग्रहका निबन्धले समेटेको विषयगत विसङ्गत पर्यावरणको बारेमा साङ्केतिक चर्चा गरियो । स्रष्टा हरि खनाल शब्द चातुर्य एवम् हास्यव्यङ्ग्यात्मक क्षमता प्रस्तुत गर्ने केही फाँकीहरू यहाँ उठाउनु सान्दर्भिक हुने छ । अनुप्रास आयोजनाले हास्य सिर्जना र शक्तिशाली व्यङ्ग्य निरूपण गर्न ठूलो सामर्थ्यं दिन्छ । यो सामर्थ्य खनालको लेखनमा राम्रोसँग मौलाएको छ दुईवटा मात्र उदाहरण हेरौँ :

१. “मान्छेजस्ता लाग्ने यी भोकासुरहरूलाई बोल्न अर्कैले बोली दिन्छन् र लड्नका लागि गोली पनि अर्कैले दिन्छन् । कहाँ हान्न हुने कहाँ हान्न नहुने कुनै विवेक नभएकाले यिनीहरू आफ्नै घरतिर फर्काएर गोली चलाउँछन् र इसारा दिनेहरूसँग लोली मिलाउँछन् । एउटा माछोको लागि खोली चढाउँछन् र रोटीका लागि चोली चढाउँछन् ।”
(भोकासुर)

माथि प्रस्तुत गरिएको निबन्ध अंशमा तीनवटा मात्र वाक्य छन् । ‘बोली दिन्छन्, ’गोली दिन्छन्’, ‘लोली मिलाउँछन्, खोली चढाउँछन्’ र ‘चोली चढाउँछन्’ जस्ता पुनरुक्तियुक्त पदावलीहरूको प्रयोगले पठनमा मिठास मात्र होइन, विसङ्गतिका विरूद्ध हाँसो सहितको शक्तिशाली व्यङ्ग्य निर्माण हुन पुगेको छ ।

२. नोट लगेर हाकिमलाई कोट लगाइदिन नसक्नेले कहिले डोटी पुगेर सुस्ताउँछ त कहिले ताप्लेजुङ पुगेर अस्ताउँछ । (मभन्दा नोटै ठूलो)

यहाँ पनि ‘कोट’ र ‘नोट’, ‘सुस्ताउँछ’ र ‘अस्ताउँछ’ को अनुप्रासले कथनलाई मनोरञ्जक मात्र बनाएको छैन, घुस आदानप्रदानको कुत्सित कर्मले मान्छेलाई कति सास्ती दिएको छ भन्ने यथार्थको उद्घाटन सशक्त ढङ्गले गरेको छ ।

३. नुन उतैबाट सुन उतैबाट । पत्ती उतैबाट बत्ती उतैबाट । सर्दी उतैबाट । गर्मी उतैबाट । भनसुन उतैबाट मनसुन उतैबाट (काँ पर्‍यो कि आँ पर्‍यो )

यहाँ ‘नुन’, ‘सुन’, ‘पत्ती’, आदि पदावलीहरूले यसलाई निकै स्वादिलो बनाइदिएका छन् । सङ्ग्रहका निबन्धहरूमा यस किसिमको मनोहर प्रहार यत्रतत्र फेला पर्छन् ।

सङ्ग्रहका निबन्धहरूले हाम्रो सामुन्नेका विसङ्गत क्रियाकलापहरूमाथि शक्तिशाली व्यङ्ग्य गरेका छन् । हाँसो उठाएका छन्, र पोल खोल्दै प्रहार गरेका छन् । विसङ्गत यथार्थलाई खोतलेर छ्याल्लव्याल्ल पार्नु मात्र हास्यव्यङ्ग्य लेखनको दायित्व हैन, यसले विकृत पर्यावरणलाई उच्छेद गरी सङ्गतिको आग्रह पनि गर्दछ । यस दृष्टिबाट पनि सङ्ग्रहका निबन्धहरू उम्दा छन्, प्रभावशाली छन्, मनोहर छन् र पठनीय छन् । यहीँनेर उक्ति वैचित्र्यको सुन्दर नमुना दिन मन लाग्यो :

“जसले हार्‍यो उसले जित्यो, जसले जित्यो उसले हार्‍यो । यो जीतको हार र हारको जीत कुन बाटोबाट भयो होला ?”

(चोरबाटो)

“कहिल्यै नजित्ने चुनाव गर्छन् तर कहिल्यै हार स्वीकार गर्दैनन् । आश्वासनका यी पूजारीहरू सबैलाई दालभात दिने घोषणा गर्छन् तर आफैमात्र हसुर्छन् ।”

(भातमारा)

यी केही उदाहरण र सङ्केतबाट के स्पष्ट हुन्छ भने हरि खनाल हास्यव्यङ्ग्यको कित्तामा आवश्यक र उपयुक्त प्रविधिसहित उपस्थित हुनुभएको छ । कोभन्दा को कम वा कोभन्दा को बढी भनेर दाँजिरहन आवश्यक छैन- यस सङ्ग्रहमार्फत हरि खनाल स्वयम् एउटा विशिष्ट हास्यव्यङ्ग्य स्रष्टाका रूपमा उपस्थित हुनुभएको छ । थोरै शब्दमा व्यापक क्षेत्र र विकृतिहरूमाथि सशक्त प्रहार गर्ने क्षमता राख्नु नै खनालको व्यङ्ग्य लेखनको विशेषता देखिन्छ । भैरव अर्यालले खडा गरेको मानकलाई पच्छ्याउँदै उहाँको लेखनसीप अघि बढिरहेको छ । सुकेलुतो लागेको हाम्रो समग्र सामाजिक जीवनमा खोयो लिएर कन्याउँदा मज्जा आए जस्तै मज्जा लाग्छ खनालका यी निबन्धहरू पढ्दा । मलाई यस्तै लाग्यो । धेरै पाठकहरूलाई यस्तै लाग्ला । यस क्षेत्रमा उहाँको उपस्थिति र सक्रियताले नेपाली हास्यव्यङ्ग्यको बगैँचामा महक अवश्य थपिने छ । म पूर्ण विश्वास व्यक्त गर्दै स्रष्टा खनालप्रति खित्कौलीमय शुभकामना भन्छु ।

१ साउन, २०७०
सम्पादक/प्रकाशक,
फित्कौली मासिक (सम्पूर्ण हास्यव्यङ्ग्य पत्रिका)

हरि खनालकाे ‘भोकासुर’ (२०७०) 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिब्रो

जिब्रो

रमेश समर्थन
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
पीडा कि रहर ?

पीडा कि रहर ?

श्रीप्रसाद पाेखरेल
गुठ्का

गुठ्का

नगिता लेप्चा राई