साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लघुकथा अभियानको नतिजा सार्वजनिक (उत्कृष्ट तीन लघुकथासहित)

क्रमश: १. गंगा खड्काको लघुकथा- रहस्य, २. निर्मला बरालको लघुकथा- सेवा, ३. लता के सीको लघुकथा- स्पर्श, ४. विद्या ढकालको लघुकथा- चिन्ता कथा पहिलाे, दाेस्राे, तेस्राे र चाैथाे घाेषित भएका छन् ।

Nepal Telecom ad

उदयपुर, २०८० माघ ११ । राष्ट्रिय जेष्ठ नागरिक दिवस २०८० को सन्दर्भमा आयोजित ‘पाका नागरिक’ विषयक लघुकथा अभियान को नतिजा सार्वजनिक भएको छ ।

यस अभियानमा सामेल भएका चार दर्जन अधिक लघुकथामध्ये तपसिल बमोजिम एघार लघुकथा उत्कृष्ट ठहर हुन पुगेका छन् ।

१. गंगा खड्काको लघुकथा- रहस्य, २. निर्मला बरालको लघुकथा- सेवा, ३. लता के सीको लघुकथा- स्पर्श, ४. विद्या ढकालको लघुकथा- चिन्ता, ५. सविता भट्टराईको लघुकथा- भर, ६. उमानाथ दाहालको लघुकथा- चिन्ता, ७. लक्ष्मण ज्ञवालीको लघुकथा- स्वप्नभङ्ग, ८. प्रेम घिमिरे ‘अग्निकवच’को लघुकथा- डाँडामाथिको घाम, ९. कल्पना भण्डारीको लघुकथा- बुढेसकाल, १०. मन्दिरा चापागाईंको लघुकथा- बुढा बा र ११. अवतार ढकालको लघुकथा- निर्णय ।

फित्काैली डटकमका प्रधान सम्पादक नरनाथ लुइँटेलको संयोजकत्व अनि मेघराज पौड्याल, सुशीला राई र मनोहर पोखरेल सदस्य रहेको निर्णायक मण्डलले उक्त निर्णय गरेको हो । यस अभियानका संयोजक नन्दलाल आचार्य रहेका थिए ।

अन्य कथाहरू फित्कौली डट कममा क्रमशः प्रकाशन हुने छन् । प्रस्तुत छ उत्कृष्टमध्येका तीन लघुकथा :

१. लघुकथा-रहस्य -गंगा खड्का
” नानी ! चियामा त चिनीको सट्टामा टन्न नुन पो हालिछ्यौ ।” मलाई पहिलोपटक केटी हेर्न आउँदा हजुरबुबाले सबैका अगाडि भन्नुभयो ।
” अनि चियामा नुन नहालेर बेसार हाल्ने त ?” मैले सबैका सामु हजुरबुबालाई ओठे जवाफ लगाएँ । सबैले मुखामुख गरे ,म किंकर्तव्यविमुढ भएर उभिरहेँ ।
” चिया त बिगारिहाल्यौ , जाऊ अब फलफूल ल्याऊ ।” हजुरबुबाले सन्दर्भ बदल्दै भन्नुभयो । म बिस्कुट लिएर गएँ ।
” लौ , फलफूल लिन गएकी मान्छे विस्कुट पो लिएर आइछ ।” बुबाले मुख फोर्नुभयो ।
” अर्काको घरमा आएर कहाँ भनेजस्तो खानेकुरा खान पाइन्छ र ? उहाँहरु मलाई हेर्न आउनुभएको कि टन्न खान ?”
मेरो अनौठो गतिविधिले बुबा लज्जित हुनुभएको आभास मैले पाएँ तर पनि मैले पारा छोडिनँ ।
” हेर , त्यति राम्रो घरबाट कुरा आएको थियो , बिगारिस् होइन पागलपन देखाएर ?” बेलुकी आमा मसँग जाइलाग्नुभयो ।
” जानीजानी परिवारको इज्जत फाल्नेसँग नि के कुरा गर्छेस् ?” बुबा रिसले आगो हुनुभयो ।
म के गरूँ कसो गरूँको भावमा कुर्थाको फेर समाएर उभिरहेँ ।
” तँ त्यस्ती मान्छे त होइनस् , तर तँलाई त्यस्तो उट्पट्याङ काम गर्न कसले सिकायो हँ ?” दाइ पनि पहिलोपटक मसँग जङ्गिनुभयो ।
” मैले ” अचानक हजुरबुबा बोल्नुभयो ।
” तर तपाईं बूढो मान्छे भएर नि आफ्नी नातिनीको कुरा बिगार्नुको कारण ?”बुबाले स्पष्टीकरण माग्नुभयो ।
हजुरबुबाले किन यस्तो सिकाउनुभयो भनेर अनविज्ञ भएकीले म पनि उत्तरको पर्खाइमा थिएँ ।
” मैले नातिनीको कुरा बिगारेको होइन कान्छा , कुरा मिलाएको चाहिँ हुँ । अर्काको धन हेरेर भर्खरै ११ कक्षा पढ्न लागेकी नातिनीको पखेटा काटिदिनुको सट्टामा पढाइ सकिएपछि आफ्नो खुट्टामा उभ्याएर अन्माउनु जाती होइन र ?”
बूढानीलकण्ठ, काठमाडौँ
२०८०-९-११
००
२. लघुकथा- सेवा -निर्मला बराल
मंसिरकाे लगनमा माइतबाट अन्मिएर श्रीमानकाे घर गइन् निर्मला। जाने बेलामा पक्षघातले पीडित आमाकाे चिन्ता मनमा लिँदै गइन् उनी। निर्मला गएपछि सासुकाे सम्पूर्ण स्याहारसुसार र घरधन्दा भाउजूकाे काँधमा आइलाग्याे। त्यसैले, नन्दकाे विवाह नहाेस भन्ने चाहान्थिन उनी।
हप्ता दिनपछि सम्धिनी भेटघाटकाे कार्यक्रम तय भयाे। माइतीका सबै छोरीको घरमा भेटकाेलागि पुगे। स्वागत तथा अभिवादनकाे क्रम चल्न थाल्याे । त्यही क्रममा ससुराबालाई ह्विलचियरमा राखेर गुडाउदै निर्मला पनि आइपुगिन् ।
भाउजूले नन्दलाई व्यङ्ग्य गर्दै भनिन्, “मैया, भर्खरै बिहे भएको छ। अब यसाे घुम्न जान परेन के नव दम्पतीले? घरमै सडेर हुँदैन, कसाे?”
निर्मलाले भाउजूसँग आँखा मिलाउँदै मलिन स्वरमा भनिन्। “के काे हतार भाउजु ! घुम्न जाबाे त जीवनभरी छँदै छ नि ! लामाे समय वृद्ध आमाकाे सेवा गर्ने अवसर पाएकि मलाई, यहाँ वृद्ध बुबाकाे सेवा गर्ने माैका मिलेकाे छ। भाउजू, मलाई लाग्छ ईश्वरकाे सेवा गर्ने अवसर सबैलाई मिल्दैन।”
भक्तपुर
२०८०|९|११ गते बुधबार प्रेसित।
००
३. लघुकथा- स्पर्श -लता के सी
`ऊ बेला त म पनि कहाँ यस्तो थिएँ त ? आकासको तारा झार्थे नि ! बाबु !´ भिडियो कलमा बाउले निकै फुर्ति लगाए ।
छोरा फिस्स हाँस्यो र भन्यो ,`उहिलेका कुरा खुइलिए बा ! अब त एक्लै बस्न गाह्रो भएन र ? ´
खुइय … गर्दै ` के गर्नु र गाह्रो साह्रो जे भए नि ! तँ जस्ता छोराछोरी सबै विदेश नपसी हाम्रा मुखमा माड लाग्ने होइन ´
`काम गर्ने मान्छे राख्ने त ?´ उसले सोध्यो ।
`उसले नै केही गर्ला कि ? भन्ने पीर बोक्दिनँ , बाबु । हात खुट्टा चल्दैछन् । भो, बुढा बाउको पीर नगर् ।´
छोराले सम्झायो, `आमा भएको भए माटालाई ढुङ्गाको भर, ढुङ्गालाई माटाको भएझैँ हुन्थ्यो कि राम्रो बृद्धाश्रमतिर सरौँ बा ?´
उनले हकारे, `भो ,घर छाड्ने कुरा नगर् बा !´
उसले हाँस्दै सोध्यो, `किन र बा, यो उमेरमा त्यो झुपडीको चैं यति बिध्न माया लागेको नि ?´
उज्यालो अनुहार लाउँदै बाले भने, `घरका कोठा चोटामा तेरी आमाको स्पर्श छ नि त, बाबु !´
तीनकुने, काठमाडौँ

०००

– लक्ष्मी रिजालद्वारा संप्रेषित

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x