फित्काैली डटकमबुढ्यौली साहित्य समाजको मधेश प्रदेशस्तरीय भेला
कार्यक्रममा प्रा.डा. मुकेशकुमार चालिसेले पाका मानिसहरुलाई डाँडा माथिका जून नभनी डाँडामाथिका उज्याला जूनको संज्ञा दिएका छन् ।

चपुर, २०८० फागुन २६ । बुढ्यौली साहित्य समाजको मधेश प्रदेशस्तरीय भेला रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रा.डा. मुकेशकुमार चालिसेले पाका मानिसहरुलाई डाँडा माथिका जून नभनी डाँडामाथिका उज्याला जूनको संज्ञा दिएका छन् । प्रा.डा. चालिसेले शक्तिले भ्याएसम्म पाका मानिसहरु सक्रिय रहनुपर्ने धारणा राखेका छन् ।
नेपालबाहिर गइसकेकालाई छाडेर हेर्ने तथा बालबालिकालाई गन्ती नगर्ने हो भने बालिग मताधिकार ज्येष्ठ नागरिक चालिस प्रतिशत बढी रहेको बताउँदै चालिसेले ज्येष्ठ नागरिक एकीकृत हुने हो भने देशमा निर्णायक भूमिकामा हुने स्पष्ट पारेका छन् । अब सक्रिय भएर आफ्नो भाग राज्यसत्तामा खोज्नुपर्ने चालिसेको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णमुरारी गौतम (चट्याङ मास्टर)ले साहित्यलाई कुनै सीमाले छेक्न नसक्ने हुँदा साहित्यमा सूर्यको सीमालाई पनि छेक्न सक्ने क्षमता हुने बताएका छन् । वरिष्ठ हास्यव्यंग्यकार चट्याङ मास्टर बुढ्यौली साहित्यका परिकल्पनाकार समेत हुन् ।
साहित्यकार मास्टरले ज्येष्ठ नागरिकसम्बन्धी नीति निर्माण तहमा ज्येष्ठ नागरिकको प्रतिनिधित्व नरहेको गुनासो गरेका छन् । साहित्यकार चट्याङ मास्टरले भने – “ज्येष्ठ नागरिकको प्रतिनिधित्वबिना ज्येष्ठ नागरिकसम्बन्धी नीति बनाइन पाइँदैन ।”
यसै गरी उनले आमा–बुवालाई सम्मान गर्ने साहित्यको सिर्जना गर्नुका साथै आमा–बुवालाई साँच्चिकै सम्मान गर्नुपर्ने पनि बताएका छन् । समाजको मधेश प्रदेशस्तरीय संस्था दर्ता भएपछि आफूले एक लाख रुपैया संस्थाको अक्षयकोषमा प्रदान गर्ने घोषणा पनि उनले गरेका छन् ।
बुढ्यौली साहित्य समाजका संस्थापक अध्यक्ष आरसी रिजालले समग्र जीवनको मूल्यांकन बुढ्यौली उमेर रहेकोले यस उमेरको साहित्य अब्बल हुने धारणा राखेका छन् । साहित्यकार रिजालले मधेश प्रदेशको बुढ्यौली साहित्यको एउटा पुस्तक प्रकाशन गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुढ्यौली साहित्यको पहिले प्रदेशस्तरीय समिति गठन भएकोमा सबैले खुसी व्यक्त गर्दै सक्रिय जीवनका लागि पाका मानिसहरुलाई सुझाव दिइएको छ ।
मधेश प्रदेशका आठ जिल्लाका साथै सिन्धुली, उदयपुर, काठमाडौँ र मकवानपुरका साहित्यकारहरुको उपस्थिति रहेको कार्यक्रममा सिराहाका नन्दलाल आचार्य, धनुषाका नानीराम दाहाल, सिन्धुलीका केशवकुमार फुयाँल, सिराहका सुशीला राई, सप्तरीका रामचन्द्र यादव, मकवानपुरका पुरुषोत्तम आचार्य, पर्साका हरिकृष्ण बराल, सर्लाहीका रामचन्द्र महतो कुशवाहा, बाराका ईशहाक हुसैन, बाराका प्रदीप धनन्जयले कवितावाचन गरेका थिए ।
समाजका अध्यक्ष लम्बोदर काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रमेशमोहन अधिकारीले गरेका थिए । मधेश प्रदेशस्तरको पहिलो व्यवस्थित कार्यक्रम भएको आयोजकहरुले जनाएका थिए ।
०००
– सञ्जय मित्रद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest












































