वृद्ध
बुद्ध बन्न सक्नुपर्छ वृद्धको मन । प्रेमभाव राख्न सक्नु मात्र हो धन ।। लोभ मोह त्याग्न सक्छ वृद्धले जब । पूज्य हुन्छ मान बढ्छ वृद्धको तब ।।
कविराज घिमिरे :
वृद्धबाट सिक्नुपर्छ कर्मका कुरा ।
ज्ञान प्राप्त गर्नुपर्छ धर्मका कुरा ।।
विघ्न पर्छ जीवमाथि छोड ज्यादती ।
काटमार गर्नु हुन्न हुन्न उन्नति ।।१
वृद्ध बन्न चाहना छ भन्दछन् कतै ।
वृद्धदेखि वाक्क मान्न थाल्दछन् कतै ।।
वाध्यता र गर्ववोध वृद्धका हुने ।
सक्छ रोक्न को यहाँ छ वृद्ध चम्किने ।।२
हान्छ वेग वृद्ध माथि रम्छ ऊ स्वयम् ।
अग्रभाग बस्छ नित्य खट्छ ऊ स्वयम् ।।
नीति बुझ्छ न्याय खोज्छ पढ्छ कानुन ।
शुद्ध भाव राख्छ भित्र गर्छ चिन्तन ।।३
पूर्णता र वोधगम्य हुन्छ वृद्धमा ।
साधु सन्त अट्नुपर्छ वृद्ध चित्तमा ।।
लोभ पाप दुष्ट भाव साथ छन् भने ।
वृद्ध बन्न सक्छ के र तामसी बने ।।४
बुद्ध बन्न सक्नुपर्छ वृद्धको मन ।
प्रेमभाव राख्न सक्नु मात्र हो धन ।।
लोभ मोह त्याग्न सक्छ वृद्धले जब ।
पूज्य हुन्छ मान बढ्छ वृद्धको तब ।।५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest