हेम अधिकारीभो जीवनी बन्जर (७)
छोराका सपना सजेर दिलमा आलस्य केही नभै आशीर्वाद छ नित्य उत्तम बनेस् मातापिताको सधैँ जेठाको सुखशान्तिमा कम नहोस् कान्छो भएको घर के गर्ने भर छैन आयु सकियो भो जीवनी बन्जर ।

हेम अधिकारी :
बस्छौँ आज बुढाबुढी वटबनी साथी घरै भो अनि
चौतारीसरि भग्न नग्न अब भो, भो रुग्ण यो जीवनी
साक्षी छौँ युगका छ पिप्पल सधैँ साक्षी युगैको बनी
वासन्ती युग सम्झँदै शिशिरको सारा सिरेटो सही ।
जन्माए बरपिप्पलै मिली कति साना बिरुवा यहाँ
फैलाए कति ठाउँ,गाउँघरमा सन्तान आफ्ना कहाँ
एक्ला वृद्ध समाप्तिको दिन सधैँ पर्खेर ती बस्तछन्
हाँगा पात जरा सबै गलित छन् सत्प्रेमले हाँस्छन् ।
हाम्रो जीवनको छ सार तिनमा छायाँ परेको सबै
सारा शून्य छ गाउँ शुष्क दिल छन् छाडे गए ती कतै
चौतारी रुँग वृक्षका युगलले हावाहुरी घाममा
आशा सास छ धान्न खट्नु छ सधैँ यी वृद्धले काममा ।
छोराका सपना सजेर दिलमा आलस्य केही नभै
आशीर्वाद छ नित्य उत्तम बनेस् मातापिताको सधैँ
जेठाको सुखशान्तिमा कम नहोस् कान्छो भएको घर
के गर्ने भर छैन आयु सकियो भो जीवनी बन्जर ।
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest








































