कमला पन्थी अधिकारीआमा
तिम्रो स्पर्श भयो भने पनि सँगै हट्छन् सबै ती पिर तिम्रो ज्यान धरापमा कति भयो सन्तानका खातिर तिम्रै त्याग स्वरूप सक्षम भयौँ तिम्रो त्यही चाहना आमा बाँच तिमी शतायु वय होस् मेरो यही कामना ।
कमला पन्थी अधिकारी :
आमा दिव्य, दियो, सधैं धपधपी सारा उज्यालो घर
आमा शीतल, शान्त, सौम्य धरणी आमा तिमी सागर
आमा हार्दिकता दया र करुणा पर्याय हौ प्यारकी
देवीकै अवतार हौ भुवनकी लक्ष्मी तिमी द्वारकी ।१।
सारा ती व्यवहारमा कुशल छौ आमा कलाकार हौ
तिम्रै स्नेह पिएर मात्र बढियो संसार हौ सार हौ
पर्दा आपतमा खुसुक्क कहने आमा तिमी हौ सखी
केही क्लेष भयो कतै यदि भने आमा तिमी औषधि ।२।
आमाको घरमा अभाव छ भने के के कता अल्मल
आमा नै ममता अगाध जहिले बर्षाउँछिन् निर्झर
खानाका परिकार ती जतनले साँचेर राख्ने तिमी
बाँड्दा सन्तति माझ ती सबकुरा सन्तोष गर्ने तिमी ।३।
आमाको ममता अपार छ सधैं जोखेर जोखिन्न यो
बन्लान् काव्य अनेक यो विषयमा लेखेर सिद्धिन्न यो
आमा वृद्ध हुँदा सबै जन मिली सेवा बढाऔँ अझ
मीठो होस् व्यवहार मान मनितो राखी गरौँ गौरव ।४।
तिम्रो स्पर्श भयो भने पनि सँगै हट्छन् सबै ती पिर
तिम्रो ज्यान धरापमा कति भयो सन्तानका खातिर
तिम्रै त्याग स्वरूप सक्षम भयौँ तिम्रो त्यही चाहना
आमा बाँच तिमी शतायु वय होस् मेरो यही कामना ।५।
०००
हाल, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest




































