कमला पन्थी अधिकारीबृद्धावस्था
माेवाइल भए हुने सबकुरा हेर्छन् सबैले अनि माेवाइल भए पुग्याे तब कुनै चाहिन्न मान्छे पनि के कस्ताे छ भनेर साेध्छ न कुनै हेर्ने त्यही आदत आफ्नाे मात्र भयाे कि वा सबतिरै यस्तै छ है हालत ? ।
कमला पन्थी अधिकारी :
भाग्याे याे अनुहारकाे चमक नै गाला भए चाउरी
ठ्याक्कै तागत छैन बृद्ध तनमा हेर्दा छु निन्याउरी
थाक्ने गर्छ शरीर बृद्ध म हुँदा पच्दैन खाना पनि
वास्ता नै परिवारबाट नहुँदा मैलाे छ नाना पनि ।१ ।
मेरै सन्तति हुन् जहान घरका एक्ली छु साह्रै तर
हाँस्छन् खित्खित गर्दछन् अति बढी गर्दैन क्वै मत्लव
दुख्ने गर्छ शरीर कर्कर सधैं साेध्दैन काेही पनि
साह्रै नै अभिशाप बृद्ध वय याे खप्दै छु मैले पनि । २ ।
खाेकी लाग्दछ दुख्छ पेट जहिले भन्ने यहाँ काेसँग ?
काेही साथ भएन बृद्ध वयमा लाग्दैछ एक्लाे पन
साना बालककाे समेत घरमा देखिन्छ है व्यस्तता
साेध्ने फु्र्सत सम्म छैन कहिले छन् ज्येष्ठ माता पिता।३ ।
झर्कन्छन् परिवारका जनहरू सानाे कुरामा पनि
पाेल्ने गर्दछ पीरले हृदय याे आगाे बले झैं अनि
पाेख्ने हाे कसरी र दर्द मनका सुन्ने यहाँ काे छ र ?
हाैला बृद्ध भविष्यमा भाेलि तिमी पाइन्छ थाहा तब । ४ ।
माेवाइल भए हुने सबकुरा हेर्छन् सबैले अनि
माेवाइल भए पुग्याे तब कुनै चाहिन्न मान्छे पनि
के कस्ताे छ भनेर साेध्छ न कुनै हेर्ने त्यही आदत
आफ्नाे मात्र भयाे कि वा सबतिरै यस्तै छ है हालत ? । ५।
०००
कलङ्की, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































