साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मानिसबारे भ्रम नपालौँ !

सबै संस्थाहरू एक आवाजमा पाका मानिसको सबल पक्षमा बोलिरहेका छन् । के अझै हामीमा भ्रम रहला र, पाका मानिसहरू हाम्रो समाजका मात्र होइन विश्वव्यापी मानव सभ्यता, विकास र समाजका अमुल्य अङ्ग भनेर ?

Nepal Telecom ad

डा. मुकेशकुमार चालिसे :

संसारभरी नै ज्येष्ठ नागरिक वा पाका मानिसहरू भन्नेबित्तिकै लौरो टेकेर हिँड्न लागेका भनेजस्तो चित्र सबैका आँखा अगाडि नाच्छ होला ! त्यतिमात्र कहाँ हो र ? रोगी, लुरा, कुप्रा, कपाल फुलेका वा खुइलेका, चाउरी परेका, छाला मुजा परेका, जे पनि बिर्सने, ठमठम नभएर लर्‍याङलुरुङ गरी हिँड्ने महिलापुरुषको आकृति परम्परागत रुपमा वणर्न गरिएको पाइन्छ । यस्तो प्रायः सबै विकसित वा विकासोन्मुख भनिएका देशका समुदाय, जातजाति र वणर्का मानिसहरू बिच उस्तैउस्तै चित्रण भेटिन्छ । तर वास्तवमा यो एक किसिमको पहिलेदेखि चलिआएको उमेरद्रोही हेपाई मात्र हो । धेरै त्यस्ता भनाईहरू अहिलेको विज्ञानसम्मत एक्काईसौँ शताब्दिको समाजमा गलत सावित भएका छन् । पाका मानिसको शूक्ष्म अध्ययन गरी लेखिएका लेख छाप्ने बुढ्यौली शास्त्रका वैज्ञानिक पत्रिकाका लेखहरूको आँकडा र सूचना जम्मा गर्दा देखिन्छ कि परम्परागत सोचाईभन्दा फरक स्वस्थ जीवन पाका मानिसहरूले बिताइरहेका तथ्यहरू प्रशस्त छन् ।

याल विश्वविद्यालयका जनस्वास्थ्य र मनोविज्ञान विभागका प्राध्यापक डा.बेक्का लेभीको निचोड हृदयङ्गम गर्नु आवश्यक छ । उनका अनुसार पाको उमेरमा उमेरिँदै जाँदा आफूलाई काम न काजको, असहाय, मूल्यबिहिन, म्यादगुज्रेको आदि ठान्ने नकारात्मक सोचाईनै पाका मानिसको स्वास्थ्य बिगार्ने शत्रु हो । यस्तो सोचाई उमेरदार वयस्क र उमेरिएर पाको भएका कसैले सोच्नै हुन्न । यसले त पाका मानिसको दीर्घजीवनमा असर गरेर चाँडै क्षिण बनाउँछ । त्यस्ता पुराना भनाई र सोचाईको सट्टा सकारात्मक नयाँ तरिकाले सोच्न र बोल्न लगाउनु पर्छ । पाका मानिसको प्रशङ्गमा यसो भनौँ न- ज्ञान, अनुभवले भरिएको, आत्मविश्वासी, अडानमा बस्ने, धर्यवान, सन्तोषी, जीवन्त सोच भएको, पाको मानिस, भर गर्न सकिने, असल अभिभावक आदि । यसरी पाका मानिसको ईज्जत गर्दा सकारात्मक भावना पलाएर, उहाँहरूको उत्साह र जाँगर थपिएर औशत दशकौँ आयु बढेको पाइएको छ । त्यसरी परम्परागत मनगढन्ते भनाईको सट्टा हुनसक्ने वास्तविकतामा तुलना गरेर हेर्दा नकारात्मक हटाई सकारात्मक व्यवहारले कसैको पनि स्वास्थ्य र निकोआनन्दमा ठूलो प्रभाव रहेको देखिन्छ ।

पाको उमेरमा हुन्छ भन्ने भ्रमपूर्ण कुराहरू
१. मेरो त वंश र वंंशाणुनै त्यस्तैः
वास्तविकताः आफ्नो स्वास्थ्य, रुपरङ्ग, ज्ञानगुन र आचरण सबै वंशाणुगत हुन्छ, त्यसैले आयु पनि त्यस्तै होला भनेर अनुमान गर्ने गरिन्छ । तर ‘दीर्घ जीवन छोटो मरण’का लेखक डा. रोजेर लण्ड्री भन्छन ७० प्रतिशत जति त तपाईं कसरी आफ्नो जीवन चलाउँदै हुनुहुन्छ त्यसैमा सबै भर पर्छ । स्वास्थ्यबर्धक ठिक्क खानपान, थकाई मर्ने गरीको मस्त सुताई, धुमपानरहीत स्वभाव, मदिरापान बिरलै र दैनिक उपयुक्त व्यायाम नै हो राम्रो जीवनको मूलमन्त्र । तपाईंको सम्पूणर् स्वस्थ जीवनको बुटी र दीर्घजीवनको रहस्य त्यही हो । बिचरा वंशाणु र वंशको निणर्य त त्यस्ता आचरणको पछि चुपचाप आउने हो । आफ्नो पवित्र र गौरवपूणर् वंशलाई धिक्कार्ने होईन बरु त्यसको उन्नतिका लागि गर्नुपर्ने माथिका स्वास्थ्य सम्बन्धी आफ्नो कर्तव्य पुरा गरौँ । हेर्नोस् त चारबिसको उमेरमा पनि कति झरझराउँदो शरीर बन्दो रहेछ ? आफू अनुशासित भएपछि आफ्ना ज्ञानेन्द्रीय नाक, कान, आँखालगायत कति तेजिला र दाँत बलिया हुन्छन् ? तपाईंमात्र होइन तपाईंको उमेर भएका र अझै पाका मानिस पनि कति भेटिन्छन् ? संसारै राम्रो र आनन्दको देखिन्छ र सबै मानिस कति स्नेही भेटिन्छन् ।

२. उमेरखानु भनेको कमजोर र रुगरुगाउँदो हुनु होः
वास्तविकताः चलायमान बस्तु वा शरीर चलायमान नै हुन खोज्छ । अन्तर्राष्ट्रिय रुपमानै विभिन्न सरकारी र गैह्रसरकारी स्वास्थ्य संस्थाहरूले उमेरिदै जाँदा कसरी स्वस्थ्य र तन्दुरुस्त रहने भनि पाका मानिसका लागि धेरै उपाय र तरिकाको सूचिनै बनाई प्रशारित गरेका छन् । त्यसमध्ये, सामान्य देखिने व्यायाम- दैनिक हिँडडुल, जीउ तन्काउने अभ्यास, करेसाबारी र बगैँचाको कामले मात्र पनि पाका मानिसको मांशपेसी बलियो बनाइराख्न मद्दत गर्न सक्छ । यत्तिले पनि अरट्ठो जोर्नी खुकुलो र लचकदार बनाउन सक्छ र हाडको घनत्व बढाएर बलियो बनाउन सक्छ । राम्रो व्यायामले त पाको उमेरमा बढ्ने उच्च रक्तचापको समस्या घटाउँछ भने चिन्ता, तनाव र मानसिक लघुताभासका लक्षण हटाउन सहयोगी बन्छ । बरु उमेरिदा र आफ्नो कुनै नछुटेको रोग छ भने सम्बन्धित चिकित्सकलाई नियमित गर्न सकिने व्यायामका बारेमा सल्लाह लिनु फाइदाजनक हुन्छ । उमेर बढि हुँदैमा नियमित क्रियाकलापले गर्दा कमजोर र शिथिल शरीर हुन्छ भन्ने सर्बथा ठिक होइन । हामी हाम्रै नियमित प्रयाशले आफ्नो स्वास्थ्य कामलाग्दो, तन्दुरुस्त र बलियो बनाइरहन सक्छौँ ।

३. उमेरिदा बिर्सने त हुन्छ नैः
वास्तविकताः मानिसले कुनै कुरा धेरै समय नदोहोरिँदा बिर्सनु स्वभाविक हो । उमेर बढ्दै जाँदा पहिलेका घतलाग्दा कुरा सम्झिए पनि सामान्य गतिविधि र नामनामेसी विर्सन सकिन्छ । कतिपय अत्यन्त मन पराएका बस्तु र मानिसका नामसमेत लामो समयपछि हाम्रो मस्तिष्कको भँडारबाट लुप्त हुन सक्छ । उमेरिँदै जाँदा पाका मानिसले देखाउने प्रतिक्रिया र समस्या समाधानको क्षमतामा पनि ह्रास आउन सक्छ । तर पुरै बिर्सने वा विस्मृति नै हुन्छ पाका मानिसलाई भन्नु साँचो होइन । अमेरिकी एल्जहाईमर संस्थाका अनुसार ६५ देखि ७४ वर्ष उमेरसमुहका तिन प्रतिशत मानिसमा मात्र सामान्य किसिमको बिर्सने एल्जहाईमर पाइएको छ । अरुहरूमा देखिएको लक्षण, सम्झने नसम्झने बानी सामान्यतया सबै स्वस्थ मानिसमा हुने गुण नै हो, आत्तिने वा दिक्क मान्नु पर्ने खालको होइन । उमेर र स्वास्थ्यका कारण बिर्सने मानसिक कारण र चरित्रलाई पाका मानिसले सन्तुलित खानपान, सक्रियतामा बृद्धि, सम्झने सूत्र प्रयोग र सिक्ने सम्झने प्रयासले अद्यावधिक गर्न सकिन्छ । कुनै मान्छेबारे बिर्सिए त्यसको रुपरङ, ऊसँग भएको घटना, उसको बासस्थान, पेशा वा उसको सम्झनुपर्ने अनौठो गुण सम्झने, बिस्तारै ऊसँगको पहिलाको भेट वा घटना सम्झनामा आउँछ अनि नाम सम्झन सकिहालिन्छ ।

४. उमेर पाको भएपछि सिक्ने क्षमता प्रायः रोकिन्छः
वास्तविकताः हार्वाड चिकित्सा विद्यालयको अनुसन्धानपछिको भनाई तपाईं हामीले पाको उमेरमा जतासुकै भनिने कुराभन्दा अलि फरक छ । उमेरिदै जाँदा मानिसको सिक्ने तरिका फरक पर्दै जान्छ । छिटोछिटो सिक्ने गति द्रुतता पाका मानिसमा घट्न सक्छ । तर अरु जीवभन्दा मानिसहरूका मस्तिष्क क्षमता नै उच्च भएकाले जीवनभर सिक्ने क्षमतामा कुनै कमी आएको हुँदैन । अझ थप, पाका मानिसका मस्तिष्कका स्नायुहरू यस्तो उमेरमा बढि हाँगा हाल्ने भएर बढि सङ्ख्यामा विकसित हुन्छन् । यसरी बढेर मस्तिष्कका कुनाकुनाका नसाहरूसँग पनि सम्पर्क भई सकृय हुन्छन् । यसैको कारणले पाका मानिसहरू विविध र जटिल सूचना र सम्बन्धको गाँठो पत्ता लगाउन सक्छन् र खासखास विश्वव्यापी समस्याको निक्र्योल सजिलै बुझ्छन् । त्यसैले त, हरेक संघ-संस्थामा पाका मानिसलाई सल्लाहकार राखिएको हुन्छ र जटिल समस्याको समाधानमा वयस्कहरू यस्तै पाका मानिसको अनुभव र ज्ञानबाट लाभान्वित भएका हुन्छन् ।

५. आखिर जीवन एकाङ्गी र एक्लोपनमा सिद्धिने होः
वास्तविकताः जीवनका उतार-चढावमा मानिसका सम्बन्ध, नातागोता र ईष्टमित्र परिस्थिति अनुसार छुट्ने, हराउने र हट्ने पनि हुनसक्छ । बालककाल, किशोर अवस्था र वयस्क उमेरमा शिक्षा, तह, विषय अनुसार साथी भएजस्तै कमाई-धमाई गर्दा फरक खालका साथी र ईष्टमित्र बन्न सक्छन् । आफ्नै आवश्यकता र कारणले रैथाने ठाउँ छोडेर फरक ठाउँमा जीविकोपार्जन गरी रमाएको पनि हुनसक्छ । अनि साथी सङ्गाती बदलिएका हुन सक्छन् । प्रवासी नेपालीको नातासम्बन्ध, चालचलन र सङ्गाती हेर्नोस् न, हामी रैथानेको भन्दा फरक र अरुसँगनै छैन र सम्बन्ध ?

साथीभाइ बन्ने भनेको उमेर र चाहना अनुसार हो, उमेरले वा स्वस्थ्य अवस्थाले छेक्दैन । आफूजस्तै साथी जत्ति पाइहालिन्छ, खोज्नुपर्‍यो र रोज्नुपर्‍यो, बस् । तपाईं जहाँ हुनुहुन्छ त्यसैको वरपर यसो आँखा लाउँनोस् आफैँजस्ता भेटिहालिन्छ, अनि सम्पर्क नियमित बनाउनु होस् । अहा ! त्यसपछि तपाईंको एक्लोपन बेपत्ता हुन्छ । आफ्ना कोही नभए अथवा भएर पनि आश्रम वा पाका मानिस बस्ने आवासतिर बस्नुहुन्छ भने यो कोठा त्यो कोठा सबैतिर आफूजस्तै भेटिन्छन्, थाल्नोस् दोस्ती गर्न । केहि दिनमा लाग्ने छ संसार यहीँ वरपर छ, सबैका भोगाई र कुराकानी उस्तै । हेर्नोस्त, स्वर्ग भनेर तेल भिसामा दौडिएको अमेरिका र अष्ट्रेलियातिरका पाका मानिस बस्ने संस्थामा बसेका मानिस घरमा बसेका भन्दा सुखी, खुसी र आनन्दमा रहेको पाइएको छ । करिब ६९ प्रतिशत त्यस्ता ठाउँमा आफूजस्तै उमेरसमुहमा बस्ने पाका मानिस बढि गतिशील, चलायमान र सामाजिक भलाईमा अझै काम गर्न उत्सुक पाइयो । अब भन्नोस् त के पाको उमेरमा पनि जीवन एक्लो र उराठलाग्दो हुँदो रहेछ त ?

६. पाका मानिस एकलकाँटे हुन चाहन्छन्ः
वास्तविकताः मानिस सामाजिक प्राणी हो । प्राकृतिक स्वभावले नै समुहमा बस्न रुचाउँछ । हो, अनुभव र ज्ञानको आधारमा पाको हुँदै गएपछि पहिलाभन्दा अझ बढि अर्थपूणर् र फलदायी सम्बन्ध विकास गर्न चाहन्छ । मिल्दो आचरण र सोचाई छ भने पद, धनदौलत र शिक्षा आर्जन फरक स्तरको भए पनि घनिष्ठता झन बढ्छ । ज्ञान र अनुभवले खारिएका पाका मानिस तपाईं हामी वरपर भए प्राज्ञिक बहसमा प्रतिस्पर्धा, समस्याको समाधानका उपायहरू पत्ता लगाई सल्टाउन मद्दत गर्ने र भावना साटफेरमा एक असल अभिभावक प्राप्त हुन्छ । उनीहरूका गुणको कदर गरे कहाँ एकलकाँटे हुन्छन् र ? कति चाँडै मायालु बनेर चित्त दुखाउलान् भनि वयस्कसँगै सहमतिमा आइहाल्छन् नि । पाका मानिस बरु आफू सहन्छन तर आफूभन्दा सानालाई कहिल्यै दुखः दिन्नन् । बरु वयस्कले समुहमा टिक्न आफ्नो उमेरजन्य जोश, व्यक्तिवाद, घमण्ड, मपाइँपन, बजारवादी सोच र बोलीको छुद्रपन नियन्त्रण गरेको राम्रो हुन्छ ।

७. मोहमाया छाडेर वानप्रस्थ गर्नु पाका मानिस उमेरिनु होः
वास्तविकताः एक अनुसन्धान संस्थाको रिपोर्ट अनुसार भर्खर सेवा निवृत्त ६५ वर्ष उमेरका सबैजसो पाका मानिस ईन्टरनेट प्रयोग गर्छन् भने धेरै उमेर पुगेका पाका मानिस पनि सिकेर भए पनि करिब ६७ प्रतिशतले ईन्टरनेट प्रयोग गरेर मोबाईल वा कम्प्युटर चलाएको देखिन्छ । अझ भर्खर पाका मानिस हुने खुट्किलो टेक्दै गरेका त लाखौँको सङ्ख्यामा नयाँनयाँ प्रविधि र भाषा सिक्ने र देशाटन गर्न व्यस्त पाइन्छन् । तिनीहरूका उमेर समुहका मध्ये धेरै त अनुकुल भए सामाजिक काममा सशुल्क वा निशुल्क काम गरिरहेका पो भेटिन्छन् । भन्नोस् त उमेरिदै जाँदा मानिसलाई मानिसकै समुह कहाँ त्याग्न मन लाग्छ र ? अझ बढि झ्याम्मिन र आफ्नो ज्ञान र अनुभवको सम्मान खोज्न पो मन लाग्छ सबैलाई, होइन र ?

८. यौनजन्य कुरामा पाका मानिस चाख राख्दैनन्ः
वास्तविकताः सन २०१७ मा अमेरिकी प्रान्त मिचिगनको राष्ट्रिय जनमतमा स्वस्थ्य पाका मानिसका ५० देखि ८० वर्ष उमेर भित्रकाले यौनसम्पर्क र आफ्ना जीवन साथीसँगको यौन जीवनमा बहुत चासो सहित सन्तुष्ट रहेको जनाएका थिए । उनीहरू जोडा समुहमा यौन आवश्यक जैविक प्रक्रिया र मानसिक सन्तोषको विषय भएको भन्थे । तिनीहरू मध्ये ७६ प्रतिशतले त यौन जीवनको प्रेम, संवेग र रुमानी भावना अभिव्यक्तिको उत्तम उपाए भनेका थिए । त्यसमध्ये ४० प्रतिशत त अति पाको उमेरमा पनि यौनक्रियामा सक्रिय रहेको खुसीसाथ भन्दै थिए । नेपालमा नै पनि बढि उमेरका पाका पुरुषमहिला पनि सक्रिय यौनान्द लिइरहेका पाइन्छन् । संस्कार र संस्कृतिको कारण अदब राखेर, अलि विषयगत लजालु भएर, धक मानेर खुलेर कुरा गर्न हिचकिचाउँछन् । तर परेवा र ढुकुरका जोडीजस्तो उखानको पछिल्तिर सुखद यौनजीवन पनि छ नि, होइन र ? पाका मानिसका दोहोरी गीत नेपालमा प्रशस्त सुनिन्छ, कति रहरलाग्दो व्यङ्ग्य र छेड हान्दै विपरित लिङ्गलाई आकर्षित गर्छन् । दोहोरीमै मन बसेर घरबार गर्ने पनि कति छन्, होइन र ? त्यस्तै विभिन्न उमेर भएका पाका मानिसले घर धान्न मात्र होइन सुखद यौन तथा जीवनका सुखदुखका साथी भनेर साठी वर्षपछि पनि विवाह गरेका कैयौँ घटना नेपालमा सुन्न र पढ्न पाइन्छ । के हामी नेपाली यौनजन्य कुरामा कम छौँ र ? हामी अचेल काशीबास र बनबास जाने कुरा रामायणका कुरा भनि श्रवणमात्र गर्छौ है ।

अन्तर्राष्ट्रिय रुपमा पाका मानिसका विषयमा काम गरिरहेका जर्नल अफ जेरेण्टोलोजी, याल विश्वविद्यालय, अल्जहाईमर सङ्गठन, हार्वाड मेडिकल स्कूल, माथेर लाईफवेज ईन्स्टिच्युट अफ एजिङ्ग, युनिभर्सिटी अफ मिचिगन, एजिङ्ग नेपाल आदि सबै संस्थाहरू एक आवाजमा पाका मानिसको सबल पक्षमा बोलिरहेका छन् । के अझै हामीमा भ्रम रहला र, पाका मानिसहरू हाम्रो समाजका मात्र होइन विश्वव्यापी मानव सभ्यता, विकास र समाजका अमुल्य अङ्ग भनेर ?

०००
चालिसेडाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x