
बुढ्यौलीप्रतिको बालजिज्ञासा
‘हामी दुवै जनाले सानो छँदा स्कुल कलेज गएर धेरै पढेका छौँ । मैलेभन्दा हजुरआमाले धेरै पढ्नुभएको छ । उहाँ त जहिले पनि आफ्नो कक्षाको पढाइमा पहिलो हुनुहुन्थ्यो । हामीले सँगै पढ्यौँ, सँगै काम गर्यौँ र धेरै पैसा कमायौँ । मामालाई पनि धेरै पढायौँ ।

वासुदेव गुरागाई :
नातिनी भरखर सात वर्षकी छ । नाम अनुपमा । नातिनीलाई सम्बोधन गर्दा हजुरबा, हजुरआमा दुवैले कि नानी भन्छन्, कि बहिनी भन्छन् । कहिलेकाहीँ गफमा त्यस्तै प्रसङ्ग आउँदा यदाकदा ‘नातिनी केटी’ भनेर सम्बोधन गरेको पनि सुनिन्छ । यो घरभित्रको अनौपचारिक बोलीचाली हो, औपचारिक होइन । र, यसमा कसैले खासै ध्यान दिएको पनि पाइन्न ।
हजुरबा, हजुरआमा पचहत्तर असी उमेरको हाराहारीमा छन् । जेठी छोरीकी जेठी छोरी । अनुपमालाई असाध्यै माया गर्छन् हजुरबा, हजुरआमा दुवैले । आपूmहरू दिनप्रतिदिन शारीरिक हिसाबले शक्तिहीनतातिर डोरिँदै छन् । ठुलाले टेर्दैनन् । उस्तै मौका परे अझ प्याच्चपुच्च बोलीको गोली पनि छोड्छन् । अलिकति सहेरै बस्नुपर्ने अवस्था छ । त्यही भएर जसले अलिकति सम्मान र आदर गर्छ त्यसका पछि लाग्नु मानवीय स्वभाव नै हो । त्यसमाथि
जसले जे भने पनि सुबिस्तासँग बाँच्नका लागि हरकुरामा सम्झौता गर्नुपर्ने बुढ्यौली उमेर । केटाकेटी देउता । मनमा कुनै छलकपट र पाप हुँदैन । भेदभाव र हेलाहोचोको व्यवहारबाट टाढा हुन्छन् । त्यसैले दुवैको खेलौना भएकी छिन् नातिनी अनुपमा । कहिलेकाहीँ विदाका दिन पारेर ड्याडी, मम्मीसित मामाघर आउँछिन् । मामाघर आउन पाउँदा असाध्यै खुसी हुन्छिन् अनुपमा पनि । मामा माइज्यूप्रति त्यतिविधि आकर्षण छैन उनको । हजुरबा, हजुरआमा दुवै जना मिठो गफ गर्छन् । अनि, उनीहरूसँग गफ गर्न पाएपछि अनुपमालाई पनि अरू केही चाहिँदैन । विद्यालयको होमवर्क र अरू के के टोकसोले पनि पिर्दैन मामाघर आउँदा । स्वतन्त्र भएर खान खेल्न पाउँछिन् । स्वतन्त्र भएर हजुरबा, हजुरआमासँग गफ गर्न पाउँछिन् ।
अनुपमाप्रतिको माया स्वाभाविक लाग्छ दुवै हजुरबा, हजुरआमाको । यस किसिमको माया अनौठो पनि होइन । बच्चाबच्चीलाई सबैले माया गर्छन्, यी बुढाबुढीले मात्र होइन । बच्चाबच्चीप्रति माया नदर्शाउने को नै हुन्छ र ! सबैले उत्तिकै माया गर्छन् ससाना बच्चाबच्चीलाई । बच्चाबच्चीप्रति कसैले माया दर्शाउँदैन भने त्यो मान्छेका नाममा श्वासप्रश्वासको सहारामा ठडिएको ढुङ्गाको मूर्ति मात्र हो, यथार्थमा मान्छे होइन ।
बालबालिका स्वाभाविक रूपमा असाध्यै जिज्ञासु हुन्छन् । अनुपमा पनि सानैदेखि त्यस्तै छिन् । अहिलेको विद्यालयीय पढाइमा दुई कक्षाकी विद्यार्थी । ‘कतिखेर के ?’ ‘कतिखेर के ?’ सोधेर हजुरबा, हजुरआमालाई हैरान पार्छिन् । सोच्दै नसोचेको जिज्ञासा आउँछ फ्याट्ट उनीबाट । छक्क पर्छन् बुढाबुढी । के भन्नु के नभन्नुमा पर्छन् कहिलेकाहीँ त ।
एक दिन भान्छामा काम गरिरहेकी हजुरआमालाई एक्कासि उनले सोधिन् – ‘तपाईं किन बुढो हुनु भएको आमा ?’ हजुरआमा के भन्नु न के भन्नुमा परिन् । यही अकमक्कताकाबिच उनले फ्याट्ट भनिन् – ‘जाऊ हजुरबासँग सोध यो कुरो । म चिया पकाउन लागिरहेकी छु ।’
‘बा, तपाईंहरू किन बुढो हुनुभएको ? मान्छे कसरी बुढो हुन्छ ? किन बुढो हुन्छ ?’
अनुपमाको जिज्ञासा अनौठो माने हजुरबाले ।
‘हजुरआमालाई सोधिनौ त ?’ हजुरबाले प्रतिप्रश्न गरे ।
‘हजुरआमाले हजुरसँग सोध्नू भन्नुभएको छ । भन्नुस् न बा – ‘तपाईंहरू किन बुढो हुनुभएको ? मान्छे कसरी बुढो हुन्छ ?’
हजुरबाले भन्नु भयो – ‘नानी, तिमीलाई किन चाहियो यस्ता कुराको जानकारी ?’
अनुपमाले भनिन् – ‘हाम्रो घरमा पनि हजुरबा, हजुरआमा बुढो हुनुहुन्छ । ड्याडी, मम्मी कोही बुढो हुनुहुन्न । हाम्रो स्कुलका साथीभाइ पनि कोही बुढा छैनन् । अनि मामाघरमा पनि हजुरहरू दुवै जना बुढो हुनुहुन्छ । मामा, माइज्यू, भाइबहिनी, दिदी कोही पनि बुढो हुनुहुन्न । अनि, तपाईंहरू चाहिँ किन बुढो हुनुभएको ? कसरी बुढो हुनुभएको ?’
‘तिमी कति ज्ञानी छौ हकि नानी ! ल सुन’ भन्दै हजुरबाले बुढाबुढी हुनाको कारण बताउन थाल्नुभयो । अनुपमा ध्यान दिएर सुन्न थालिन् ।
सुन – तिमी अहिले सानी छौ । जो मान्छे पनि उमेर बढ्दै गएपछि बिस्तारै बिस्तारै बुढो हुन्छ । अनि यसरी बुढो भएपछि पुरुष मान्छेलाई बुढा र महिला मान्छेलाई बुढी भन्ने चलन छ । अनि कहिलेकाहीँ सबैलाई एकैचोटि भन्दा बुढा मान्छेहरू भनेर पुरुष र महिला दुवैलाई भन्ने गरिन्छ । खासमा त्यो सबैले आदर गरेर भनेको हो । हामी बुढो, बुढी भनेको सुन्दा अलिक हेपेर भनेको हो कि भन्ठान्छौँ, तर कुरो त्यसो होइन । बुढो हुँदै गएपछि उनीहरूलाई अलिक दिक्क लाग्दै जान्छ । अनि कहिलेकाहीँ कसैले बुढा, बुढी भनेर बोलाए भने उनीहरू झर्किन्छन् । उनीहरूलाई त्यसो भनेको मन पर्दैन । तर यस्तो चाहिँ थोरै मान्छेले मात्र सोच्छन्, सबैले होइन । अनि कुन प्रसङ्गमा कसरी भनेका छन्, त्यसले पनि हेपेर भनेको हो कि आदर गरेर भनेको हो भन्ने बुझ्न सकिन्छ । त्यस्तो भनाइ प्रसङ्गअनुसार बुझ्नुपर्छ ।
तिम्रो घरका हजुरबा, हजुरआमा पनि हामी जस्तै उमेरका मान्छे हुन् । त्यही भएर उहाँहरू बुढा हुनुभयो । ड्याडी, मम्मी कम उमेरका भएर हजुरबा, हजुरआमा जस्तो बुढा भइसक्नु भएको छैन । तिमी त अझ ड्याडी, मम्मीभन्दा पनि सानी छौ । बुढो हुने कुरै भएन । यता मामाघरमा पनि हामी धेरै वर्ष भएको भएर बुढाबुढी भयौँ । मामा, माइज्यू, दिदी, भाइबहिनी कम उमेरका भएर बुढा भएका छैनन् । पछि धेरै उमेर भएपछि तिम्रो ड्याडी, मम्मी, दिदी सबै बुढा हुन्छन् हामी जस्तै ।
‘बुझ्यौ त ?’ नातिनीले कति बुझिन्, कति बुझिनन् तर हजुरबाले कुरो टुङ्ग्याए ।
अनुपमाको अनुहार अलिक कस्तो कस्तो देखियो । अनौठो अनुहार लगाइन् उनले । अनि, हजुरबाले सोध्नुभयो – ‘किन अनौठो मानेकी नानी ? के भयो तिमीलाई ? मैले भनेका कुरा पत्यार लागेन ?’
‘अनि, हामी पनि हजुरहरू जस्तै बुढा हुन्छौँ त पछि !?’
अर्को अनौठो जिज्ञासा राखिन् अनुपमाले ।
हजुरबाले भन्नुभयो – ‘मान्छे एकैचोटि बुढो हुँदैन नि । बिस्तार बिस्तार बुढो हुँदै जाने हो । मान्छेलाई आपूm बुढो भएको थाहै हुँदैन । म कहिल्यै पनि बुढो हुन्न भन्दाभन्दै मान्छे बुढो भइसक्छ । यो बुढो हुने, यो बुढो नहुने भन्ने हुँदैन । मान्छे भएर जन्मेपछि बिस्तार बिस्तार सबै बुढा हुन्छन् । अनि मान्छे मात्र बुढो हुने हो ? भनेर सोधौली । तिमी त यस्ता प्रश्न गर्न बाठी छौ । प्रत्येक कुराको चासो चाहिन्छ तिमीलाई । त्यसैले अहिल्यै भनिदिन्छु – ‘मान्छे मात्र होइन, गाईवस्तु, कुकुर, बिराला, चरा, रूख, बिरुवा सबै बुढा हुन्छन् । मान्छेले बुढो हुँदै गएको कुरा चाल पाउँछ र आपूm बुढो भएको कुरा बताउँछन् । तर, मान्छेबाहेक अरूसँग त्यस्तो कुराकानी गर्ने र मान्छेले बुझ्ने भाषा नहुने भएकाले उनीहरू आफूलाई लागेका कुरा भन्न सक्तैनन् । फरक त्यत्ति हो ।’
‘अनि बुढो भएपछि चुप लागेर खाने र बस्ने मात्रै हो त ? पढ्न पर्दैन ? काम गर्न पर्दैन ?’ अनुपमाको जिज्ञासा रोकिएन । फेरि अनौठो जिज्ञासा थपिन् उनले । ‘किन र अनुपमा ? त्यस्तो कुरो तिमीले कसरी जान्यौ ? यस्ता कुराभन्दा त स्कुलको किताब पढ्ने, होमवर्क गर्ने, राम्रा अक्षर बनाएर लेख्ने, राम्रा राम्रा चित्रहरू बनाउने, नबुझेका कुरा सर/मिसहरूसँग सोध्ने, पढाइलेखाइमा अरूभन्दा जान्ने हुने र कक्षाको पढाइमा पहिलो हुने काम पो गर्नुपर्छ त नानी । यस्ता कुरामा बढी चासो राख्न हुन्न । जाऊ हजुरआमाले चिया पकाइसक्नु भयो कि हेर । पकाइसक्नुभएको भए चिया र बिस्कुट खाऊ । मैैले हिजो मात्र नानीलाई भनेर ल्याएको बिस्कुट त्यहीँ भित्र झोलामा छ ।’ हजुरबाले नातिनीलाई पन्छाउने हिसाबले सम्झाउनु भयो ।
उनी हजुरआमाले चिया पकाउँदै गर्नुभएको कोठातिर जानुको सट्टा ‘अनि नि हजुरबा …’ भन्दै कुरा लम्ब्याउनतिर लागिन् । हजुरबाले ‘अँ भन त’ भन्दै उनी भएतिर कान थापे । हजुरआमा चिया लिएर त्यही आइपुगिन् । दुवैले अनुपमाको कुरातिर ध्यान दिए ।
उनी भन्न थालिन् – ‘अस्ति मामा माइज्यूले भन्नुभएको नि, तपाईंहरू धेरै कचकच गर्नुहुन्छ रे । एक पटक भने हुने कुरालाई धेरै पटक भनेर दोहोर्याइरहनु हुन्छ रे । यौटै कुरा पटक पटक दोहोर्याएर दिक्क लगाउनु हुन्छ रे । चुप लागेर खानु बस्नु नि भन्दै हुनुहुन्थ्यो मामा माइज्यू नै । त्यसरी कामै नगरी, पढ्दै नपढी चुप लागेर बसेर खान हुन्छ त हजुरबा ? काम गर्न पर्दैन ? पढ्न पर्दैन ?’
नातिनीका कुरा सुनेपछि हजुरबा, हजुरआमाको मनले के ठान्यो कुन्नि ! उनका कुुरा सुनेपछि दुवैले मुखामुख गरे । एकले अर्कोलाई हेरिरहे । अनुहार अलिक कस्तो कस्तो देखियो ? ‘त्यसरी कामै नगरी, पढ्दै नपढी चुप लागेर बसेर खान हुन्छ त हजुरबा ? काम गर्न पर्दैन ? पढ्न पर्दैन ?’ अनुपमाले फेरि पनि उही जिज्ञासा दोहोर्याइन् ।
हजुरबाले हजुरआमाको अनुहारतिर हेर्दै अलिक बाठो तरिकाले जबाफ लगाउनु भयो र भन्नुभयो – ‘मामा माइज्यूले भन्नुभएका कुरा ठिकै हो नानु । उहाँहरूले हामीलाई माया गरेर त्यसो भनेका हुन् । अबको हाम्रो उमेर भनेको सफासुग्घर भएर बस्ने, खाने र राम्रा राम्रा कुरा गर्ने हो । तिमीहरू जस्ता केटाकेटीसँग गफिएर भुलिने हो । हामी बुढाबुढी सँगै बसेर पहिलाका कुरा सम्झेर त्यही कुराकानी गर्ने हो, अलमलिने हो । अब हामी धेरै काम गर्न सक्तैनाै । यो हाम्रो घर हामीले नै काम गरेर बनाएको हो । काम गर्नुअघि हामीले पनि स्कुल कलेज गएर धेरै पढ्यौँ । अब नानीहरूको जस्तो स्कुल गएर पढ्न पर्दैन हामीलाई । अब त हामीलाई मामा, माइज्यूले काम गरेर, पैसा कमाएर पाल्ने हो । खान लगाउन दिने हो । पहिला पहिला हामीले कमाएर उनीहरूलाई पाल्यौँ । अब उनीहरूले कमाएर हामीलाई पाल्ने हो । बुझ्यौ ?’
‘हजुरहरूले पनि पढ्नुभएको छ ?’ अनौठो मानेर प्रश्न गरिन् अनुपमाले ।
हजुरबाले भन्नुभयो – ‘हामी दुवै जनाले सानो छँदा स्कुल कलेज गएर धेरै पढेका छौँ । मैलेभन्दा हजुरआमाले धेरै पढ्नुभएको छ । उहाँ त जहिले पनि आफ्नो कक्षाको पढाइमा पहिलो हुनुहुन्थ्यो । हामीले सँगै पढ्यौँ, सँगै काम गर्यौँ र धेरै पैसा कमायौँ । मामालाई पनि धेरै पढायौँ । अनि बुढो भएपछि राम्रोसँग बस्ने, खाने भनेर जग्गा किन्यौँ । त्यही जग्गामा यो घर बनायौँ । नपढीकन, पैसा नकमाईकन यस्तो गर्न सकिन्छ त ? तिमी अहिले सानी छौ, सबै कुरो बुझेकी छैनौ । भोलिपर्सि ठुलो हुँदै गएपछि बुझ्छ्यौ तिमी पनि ।’
हजुरबाका कुरा सुनेर हजुरआमा मुसुक्क मुस्काउनु भयो । अनुपमा भने खुसी हुँदै ‘म पनि धेरै पढेर ठुलो भएपछि हजुरबाको जस्तै जग्गा किन्छु, घर बनाउँछु अनि त्यही घरमा बसेर खान्छु’ भन्दै चिया बिस्कुटतिर लागिन् ।
बुढाबुढीले नातिनी अनुपमाले नदेख्ने गरी आपसमा मुखामुख गरे र भने – ‘हाम्री नातिनीका कति गहकिला कुरा हकि ? मान्छे भने यत्री, कुरा भने त्यत्रा !’ अहिलेका केटाकेटी कति टाठा ? कुरा गरिसाध्यै छैन ।
०००
नुवाकोट, हाल : काठमाडौं
इलस्ट्रेसन : अन्नपूर्ण पाेष्ट