सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

डाक्टर बन्ने रहर !

अर्को जुनीमा भए पनि एकपटक डाक्टरसाहेबको स्वर्गमा अफू पनि पुगेर डाक्टरको पगरी कसो नफुत्काउँला भन्दै अहिलेलाई भने फर्कें, आफ्नै भुण्टीमाथि रिस फेर्न ।

Nepal Telecom ad

सिधासाधा हिसाबमा हामी धेरै गँवार नेपालीहरूले डाक्टर भन्नासाथ विरामी हेर्ने र रोग निको पार्ने मानिस संझेका हुन्छौं । शहरबजारका एक नम्बरी डाक्टर हुनका लागि विशेष रोगको विशेषज्ञ नै हृुनुपर्छ । तर यही कुरा स्थानभेद, सुविधाभेद, सभ्यताभेद आदि के के भेदका कारण सबैठाउँमा समान रुपमा लागु हुँदैन । दरबन्दी भएर डाक्टर सधै बेपत्ता हुने अस्पतालमा सिस्टर, हेल्पर, स्वीपर जुनबेला जो फेला पर्‍यो, त्यही डाक्टर हुन्छ । गाउँघरका स्वस्थकेन्द्र-चौकीहरूमा स्वास्थकर्मी, सहायक स्वास्थकर्मी साब्हरू जिल्ला सदरमुकाम, केन्द्र-मन्त्रालय-विभागको नाउँमा घर जानुभएको बेला (वर्षमा दश महिनैजस्तो यस्तो हुनेगर्छ !) चौकी-केन्द्र रुङ्ने पालेदाइ नै सबैका पत्यारिला डाक्टरसाब् हुन्छन् । त्यसैले यो क्षेत्रका डाक्टरहरू पनि स्थानभेद, जिम्मेवारीभेद अनुसार जोकोही पनि हुन सक्छ ।

तर यहाँ कुरा गर्न लागेको रोगी (रोग लाग्ने रोगी होइन, लोभ लाग्ने रोगी) डाक्टरको होइन । हामी कहाँ डाक्टरको यस्तो पनि समूह छ जो डाक्टरसाहेबको संबोधन बेगर तपाईंतर्फ फर्केर पनि हेर्दैन । यस्ता डाक्टरहरूमा रसायन शास्त्रदेखि मसला शास्त्रसम्म र खन्ने भुत्ल्याउनेदेखि मस्काउने-सफा गर्नेसम्मका विषयमा विद्यावारिधि गर्नेदेखि अमेरिका बसेर मुस्ताङ्ग, हुम्ला, जुम्लासम्मका सामाजिक जीवनमा विद्यावारिधि गर्ने महापण्डितसम्म पर्दछन् । त्यही देखेर मलाई पनि एकपल्ट नेपालमै बसेर त्रिविविबाटै विद्यावारिधि गर्न मन लागेको थियो, त्यो पनि त्यहाँका अमेरिकी आदिबासी रेडइण्डियनहरूको बानीबेहोराका सम्बन्धमा !

“के भन्दै हुनुहन्छ तपाईं, अमेरिकी आदिबासी जातिको बारेमा अध्ययन गर्न नेपालबाटै कसरी संभव हुन्छ र ? तपाईंको विषय कसरी दर्ता गर्न सक्छौं हामी ?” विश्वविद्यालयका सम्बन्धित अधिकारीले ठाडै अस्वीकार गरिदिए । मेरो प्रस्ताव उनले दर्तानै गर्न मानेनन् ।

“किन संभव नहुने ? अमेरिकी विश्वविद्यालयबाट नेपालका भाषा-भाषी र संस्कृतिजस्ता विषयमा विदेशी विद्वानहरूका महाज्ञानका उपज पोथीपत्रा पल्टाएर विद्यावारिधि गर्न पाइन्छ भने मैले अमेरिकी आदिबासी बारे त्यस्तै पोथीपत्रा पल्टाएर नेपालबाटै विद्यावारिधि गर्न किन नपाउने” मैले अर्को प्रश्न तेस्र्याएँ ।

“होइन तपाईं किन जिद्दी गर्नुहुन्छ ! अमेरिका जस्तो ठाउँका विश्वविद्यालयमा नेपालको जुनसुकै विषयमा विद्यावारिधि गर्न सकिन्छ । त्यसलाई हामी मान्यता दिन्छौं । हाम्रो विश्वविद्यालयले मान्यता दिन्छ । उनीहरू हाम्रो विश्वविद्यालयले गराएको तपाईंंले चाहेजस्तो विषयको शोधलाई मान्यता दिंदैनन् के गर्नु ! अनि के गर्नुहुन्छ, भन्नोस् त ? आजको युगमा नेपालमा बसेर नेपालको अनुसन्धान हुन सक्तैन क्या, विदेश नै पुग्नुपर्छ ! अनि पो अन्तर्राष्ट्रिय बन्नुहुनेछ त तपाईं । त्यति कुरा पनि बुझ्नुहुन्न !” उनले लामै व्याख्यान छाँटे ।
“तपाईंको कुरा मलाई पटक्कै चित्त बुझेन…..!”
“बढ्ता नकराउनोस् तपाईं, तपाईंको योग्यता नै पुग्दैन विद्यावारिधिमा दर्ता हुन ! चुप लागेर जानोेस् !” उनले बीचैमा मलाई पूणर्तः अयोग्य साबित गरिदिए ।

त्यसरी मेरो डाक्टर हुने इच्छा बीचैमा तुहिएको थियो । नामको अगाडि डा. झुण्ड्याएर विशिष्ट बन्ने सपना गर्भमैं तुहिन पुगेको थियो मेरो । आफूलाई भने विदेशमा ढोकापाले भएर बिताएका दिनलाई समेत सञ्चारकर्म गरेको दावी गर्दै नेपाल फर्केर ठुलो सञ्चार विशेषज्ञको पद कुम्ल्याएका महापुरुषहरू आफैंभन्दा माथि हाकिम बनेर आएको देखेदेखि त डाक्टर नबनी छाड्दिन भन्ने प्रण नै गरेको थिएँ । उता विदेशी विश्वविद्यालयमा एमएस (एमएस-अर्थात मस्काउने सफा गर्ने विषयमा विद्यावारिधि) गरेर स्वदेश फर्केका समेत ठूलाठूला पद (मन्त्री, सल्लाहकार, विशेषज्ञ आदि) को पगरी पड्काउन सफल भइसके, आफू भने दुःख गरेर महापण्डितको पगरी भिरौंभन्दा पनि पाइएलाजस्तो छैन गाँठे ! यसरी आफ्नो सपना तुहिने त होइन भन्ने पिरले आधा जिउ भइसकेकोछु म त !

नेपालको सबैभन्दा बूढो विश्वविद्यालयले आफूलाई डाक्टर बन्ने योग्यता नपुगेको घोषणा गरेपछि मेरो मन छटपटिन थाल्यो- अब कसरी डाक्टर बन्ने ? डाक्टर नबनी यो जुनी त बेकारै जाने भयो !”

“किन चिन्ता गर्छस्, गुठुरी फुका न घरमैं आइपुग्छ डाक्टरको प्रमाणपत्र ! भन् न मात्र,ै कुन विषयमा डाक्टरेटको उपाधि चाहिन्छ तँलाई ? सजिलै विदेशी नागरिक (भारेभुरे देशको त के गन्ती, पढेलेखेका नेपालीहरूकको सपनाको देश अमेरिकाको हरियो पत्ता-ग्रिनकार्ड लिने उपाय समेत अहिले चर्चित शोधको विषय हुन सक्छ) बन्ने विषयमा पिएचडी गर्ने हो कि, कसरी सफल राजनीतिज्ञ बन्ने भन्ने विषयमा ? तैंले चाहेका विषयको डाक्टरको पगरी भनेको दिनमा आइपुग्छ तेरो हातमा । किन चिन्ता गर्छस् ! चाहे मात्र पुग्छ बुझिस्, गुठुरी चाहिं अलि तगडा नै फुकाउनुपर्छ !” मेरो मनको चिन्ता बुझेर पहिले नै गुठुरी फोएर डाक्टर भैसकेका मेरै एकजना मित्रले बाटो देखाइदिए ।

“तर पछि थाहा भयो भने नि ? अहिले जताततै नक्कली शैक्षिक प्रमाण-पत्र छानविनको हल्ला मच्चिएको छ । त्यसमाथि घरमैं प्रमाण-पत्र ल्याइदिने कसैलाई आफूले चिनेको पनि छैन ।” मैले आफ्नो कठिनाइ र भविष्यमा गोप्य कुरा फुत्कन सक्ने आशंका व्यक्त गरें ।

“यस्तो कुराको चिन्तै नगर न ! नक्कली प्रमाण-पत्रको हल्ला मच्चाउनेहरूले के नै पो लछार्न सक्छन् र । निणर्य गर्ने विश्व्विद्यालयका माथिल्लै तहका हाकिमहरूबाट हो क्यारे । ती सबै राजनीतिक तहबाटै नियुक्त हुनेहुन् । विद्वान्हरू जान पाउने र ? टुकुचापारिकै जस्तो त हो नि, बुझिनस् । त्यो तहका कुर्सीमा भर्ती गर्नेहरू सबै जनताका नाउँमा नक्कली प्रमाण-पत्र (नक्कली भोट) पाएरै त ठुलो कुर्सीमा पुगेका हुन् । अब भन् त आफ्नै सबर्गीहरूको छानबिन गर्न देलान् त तिनले ? अर्को कुरा, त्यसरी प्रमाण-पत्र घरमैं ल्याइदिनेलाई तैंले नचिनेर के भयो र, मैंले चिनेको छँदैछु नि । तँ मसक्क आँट मात्रै सबै व्यवस्था मिलाउने म छँदैछु ।” उसको तर्क काट्ने मैले कुनै ठाउँ नै भेटिन । तर त्यसका लागि ठूलै गुठुरीको जोरजाम गर्नुपर्ने रहेछ, आफ्नो साबगासले नभ्याउने । त्यसैले यो सुविधाबाट पनि मन मारें ।

मेरा अर्का डाक्टर मित्र थिए । पहिलेका त मित्रै हुन् तर अहिले चाहिं उनी मलाई त्यो दर्जा दिन चाहँदैनन् भन्ने कुरा मैले बुझेको थिएँ । कुनै समय पहाडबाट भर्खरै शहर पसेका बेला उनी काम चलाउ लेखहरू लिएर आउँथे । म आफू कार्यरत अखबार र पत्रिकामा त्यो लेख काँटछाँट गरी जिनतिन छाप्न योग्य तुल्याएर छापिदिन्थें । त्यतिबेला उनी निकै गुन मानेजस्तो गर्थे, हात मल्दै बेलाबेलामा त्यस्तै कार्य संपादन गराउने गर्दथे । त्यसकै नाताले उनी पनि मलाई मित्र नै ठान्ने गर्दथे । तर पछि कुन पेच भिडाएर हो कुन्नि उनी पाताल भास्सिए । पाँच-छ वर्ष विदेशमा बिताएर स्वदेश फर्किए । फर्कँदा त याँमानको डाक्टरी पगरी गुत्न भ्याइसकेका रहेछन् ! अमेरिकामा बसेर नेपालको दोस्रो प्रजातान्त्रिक आन्दोलन सफल गराउन ठूलै नेतृत्व गरेको ढ्वाङ पनि उनले आफ्नो साथमै ल्याएका थिए । नपत्याउने कुरै भएन । नेपालका भाषा, संस्कृति, समाज, इतिहास भूगोल जुनसुकै विषयमा विद्यावारिधि दिन सक्ने अमेरिकाले जनआन्दोलनका नेताहरूको युरोप-अमेरिकी विकासे संस्करण तयार गर्न नसक्ने कुरै भएन । त्यहाँ नेपाली जनआन्दोलन नलडिएको भए कताबाट सफलता मिल्थ्यो र नेपालमा ! फाट्या लुगालाउने निमुखा नेपाली जनता र नेता भनाउँदाहरूको मात्रै के पिताम् प्रजातन्त्र ल्याउन ! त्यसैले त अमेरिका-युरोपमा नेपाली जनआन्दोलन चलाउनेहरूमध्ये नै निकैले मुलुक फर्केर ठूलै मेवा फेला पारे । विश्वबैंकको ढोकापाले भएर आन्दोलनलाई सफल तुल्याउने हुन् कि नाइट ल्कबमा सुरा-सुन्दरीको अङ्गवस्त्र धोएर प्राज्ञिक योगदान गर्नेहरू हुन् । उनीहरूले मुलुक फर्केर विशेषज्ञता प्रदान नगरेका भए यतिचाँडै नेपाल कसरी सिंगापुर र न्युयोर्कसरह विकासको चुचुरो चढ्नसक्थ्यो र !

मेरा ती पूर्व मित्रसँगै त्यतिबेला अमेरिका बसेर नेपाली जनआन्दोलनको सहनेतृत्व गर्ने धेरै नै देखिए । तिनैमध्ये कसैले आन्दोलनको सफलतापछि स्वदेश फर्केर राजदूत पड्काए, कसैले विदेशी थर त्यहीँं फालेर प्रजातान्त्रिक माइती अर्थात् नेपाल फर्कपछि ठूलाठूला कमिसन र समाजसेवी पासाकोे विकास गर्ने काममा सफलता पाए । मेरा पूर्व मित्रले भने त्यति ठूला सफलता हात पार्न सकेनन् । त्यही असफलताकै कारणले गर्दा पनि होला, दुई-चार जनाको जमघट हुनासाथ उनी अमेरिका पुराणको वाचन गरेर मात्रै भए पनि सन्तोष लिन्थे- उता हाम्रो अमेरिकामा बसेर मैले जनआन्दोलनको यसरी नेतृत्व गरें उसरी जनपरिचालन गरेँ, आदि….आदि ….।

जनआन्दोलनका नेताको रुपमा राम्ररी पसल नचलेपछि उनी अरु विषय तिर लागहाल्दथे । मेरा पूर्व मित्रको भनाइमा शिक्षा र सांस्कृतिक शोध उनको प्रमुख क्षेत्र भएकोले उनी त्यही क्षेत्रको चार्चामा नेतृत्व लिन्थे । आफूलाई महान बुद्धिजीबी ठान्थे, अरु सबै कि मूर्ख कि राजनीति अनुचर ! उनी भन्थे -बुझ्नुभो, हाम्रो अमेरिकामा त मजस्तै डाक्टर नभई कसैले बुद्धिजीवी र सफल पेशाजीवी मान्दैमान्दैन । तपाईंजस्ता बल्लतल्ल एमएसम्म गरेकाको त कुनै भाउनै हुँदैन बझ्नुभो’ । त्यसमाथि तेस्रो श्रेणीमा ! तब त अमेरिका त्यति विकसित भयो, त्यति बौद्धिक हुन सक्यो, विज्ञान-प्रविधिको नेता हुन सक्यो । खोइ यहाँ…यहाँ त तपाईंजस्ता डाक्टर नभएका पनि मजस्तो अमेरिकी विश्वविद्यालयबाट डक्टरेट गरेको मानिससरह उही शिक्षक, प्रध्यापक र बुद्धिजीवी ! यसरी कहिले हुन्छ यो मुलुकको विकास खोइ ? उनी आत्मबखान र परनिन्दाको गीताका सबै अध्याय सिध्याउँथे ।

मेरो मनले ठम्यायो-किन उनैलाई समातेर पाताल नभास्सिने र डाक्टरको पगरी हत्याउने उपाय नगर्ने ? तरिका उनैसँग सिकौंला नि । त्यही सोचेर गएँ एकदिन डाक्टरसाहेबसँग समय मागेर भेट्न । समय माग्नका लागि कठिन थिएन । उनी र म एउटा प्राइबेट क्याम्पसमा सँगसंगै पढाउने गथ्र्यौं । उनको सिद्धान्त लागिनसकेकोले मजस्ता सामान्य एमएले पनि अहिलेसम्म पढाउने पेशा गुमाइ हाल्नु परेको थिएन । नत्र डाक्टरको पगरी नभिरी प्राध्यापन गर्ने पाउने कुरै हुँदैनथ्यो । डाक्टर बाहेकका अरु सब बेकार, अमेरिका रिटर्न बाहेकका अरु सबै गँवार भन्ने डाक्टरसाहेबको नवीन सिद्धान्त थियो । पुराना भारत रिटर्न लाहुरेको मुखबाट निस्कने उधर हमारा हिन्दुस्तानमें भन्ने थेगो जस्तै हाम्रा डाक्टरसाहेबको मुखबाट हरेक वाक्य पिच्छे हाम्रो अमेरिका भन्ने थेगो झुण्डिएको हुन्थ्यो । हरकुराको तुलना उनी अमेरिकासँग गर्थे-हाम्रो अमेरिकाको प्रजातन्त्र, हाम्रो अमेरिकाको शिक्षा, हाम्रो अमेरिकाको पत्रकारिता, हाम्रो अमेरिकाका बुद्धिजीवी आदि….आदि….। ती सबै आदि, आदिका उदाहरण उनी आफैं थिए-एक्लो बादशाह ! अरु सबै गँवार । भारतीय दरबानी र सिपाहींगिरीबाट फर्केका मेरा छिमेकी लाहुरे दाइको मलाई कहिलेकाहीं संझना हुन्छ । उनी पनि मुखैमा झुण्डिएको थेगो बारम्बार दोहार्‍याइ रहन्थे-उधर हमारे इण्डियामें, क्या बात कर्ता हे बाबु सबकुछ मिलता है ! क्या है ये गँवार नेपालमें ! तर अलि फरक थियो भारतीय दरबानको नजरमा सिपाहीगिरी नगरेका मात्रै गँवार हुन्थे । यिनका नजरमा डाक्टरी पगरी नगुतेका र उनको स्वप्नदेश युरोप-अमेरिका नपुगेका । त्यहाँ गएर डिएमएस (डेक्ची मस्काउने-सफा गर्ने), जिडी (ग्रेभ डिगिङ), सिभिसी (चिकन काट्ने-भुत्लयाउने) जस्ता विषयमा गहन प्रयोगात्मक सोधकार्य नगरेकाजति सबै उनका दृष्टिमा असभ्य, असक्षम र गँवार !

हो उनैसँग समय मागेर भेट्न पुग्नासाथ बिन्ती बिसाइहालेँ- लौ न डाक्टरसाहेब, मलाई पनि जीवन सफल तुल्याउने उपाय सिकाइदिनुहोस् । मलाई पनि जिन्दगीमा एकपटक तपाईंको स्वर्ग पुगेर शोध कार्य गर्ने ठूलो रहर छ, कसरी पूरा गर्ने त्यो रहर ?

“यु मिन, यु वाण्ट टु गो टु द स्टेट्स् ? त्यसमाथि शोधकार्य गरेर डाक्टर बन्ने त्यो पनि संस्कृति आइमिन कल्चरमा ? नो चान्स, नट एट अल ! कल्चरसल्चर होइन, बरु डिएमएस, जिडी, सिभिसीजस्ता विषयमा प्रक्टिकल रिसर्चवर्र्क गर्न जाने भए भन्नोस । १०-१२ लाख म्यानेज गर्न सक्नुहुन्छ भने म व्यवस्था मिलाइदिउँला ।

उनका कुरा सुनेर मेरा नौ नारी गले । घरमा सधैं आफ्नी भुण्टीलाई जोताएर ढल्या लोटा उठाउने कष्ट नगरेको आफू त्यहाँ गएर एमएस गर्ने आँटै आएन । करेसो बारीसमेत कहिल्यै डिग नगरेकोले जिडीमा शोध गर्ने कुरा त झनै मेरोे बुताभन्दा बाहिरको थियो । बाहुनको छोरो सिभिसीमा रिसर्च गर्ने झन् कुरै भएन । केटाकेटीमा चिकेनको चल्लो छुँदा समेत आमाले गाग्रोभरिको पानी खत्याएर जात फर्काइदिनुहुन्थ्यो त्यो कुरा सम्झँदा सिभिसीमा रिसर्च गर्ने कुरामा सफलहुँला भन्ने आँट गर्नसकिने कुरै थिएन । अर्को जुनीमा भए पनि एकपटक डाक्टरसाहेबको स्वर्गमा अफू पनि पुगेर डाक्टरको पगरी कसो नफुत्काउँला भन्दै अहिलेलाई भने फर्कें, आफ्नै भुण्टीमाथि रिस फेर्न ।

०००

विजय निवास, आरुबारी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०
भत्काउन सजिलो छ

भत्काउन सजिलो छ

अशोककुमार शिवा