सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अपदस्थ हुनुको आनन्द

पदमा छँदा बेलाबखत डुक्रिने बानी परे पनि अपदस्थ भएपछि खाली झोक्रिए मात्र पुग्छ । कतै कसैसंग सिंगौरी खेल्नु पर्दैन । साँढे जुधेको हेरेर बसे हुन्छ । कहिल्यै कतै छड़के गर्न पर्दैन ।

Nepal Telecom ad

साबिक रहिबसिआएको कुर्सीबाट एक्कासि भुइँमा पधारिन पुग्नु भनेको अपदस्थ हुनु हो । ठाउँ ठहर वस्तु व्यापार- अनुसार अपदस्थ हुने क्रियाका पनि विभिन्न प्रकारका नामनामेसी र संज्ञा-विशेषण बन्दा रहेछन् । पिङबाट पछारिनु, रूखबाट खँगारिनु, भीरबाट गुटमुटिनु, खाटबाट मझेरीमा मुन्टो टेक्नु, घोडाबाट धुलो चाट्नु आदि क्रिया- कारोबारहरू पनि अपदस्थ हुनु क्रियाकै कतिपय सगोत्री र कतिपय सहधर्मीमध्ये पर्दछन् । दाँत अपदस्थ हुनुलाई झर्नु भनिन्छ त मुटुले ठाउँ छाड्नुलाई मर्नु भनिन्छ । कपालका रौंले आश्रय छाडेमा खुइलिनुको संज्ञा दिइन्छ । रूखको बोक्रा अपदस्थ हुँदा चोइटिने गर्छ त भेडा च्याङ्ग्राका भुत्लाहरू कहिले भुत्लिने त कहिले झर्ने गर्दछन् ।

अर्थ-वित्त प्रणालीमा कहिलेकाहीँ मन्दी याने रिसेसन आउनुपर्छ । आएन भने बजारव्यवस्था एकनास पात्तिएर बसिसक्नु हुन्न । मालवस्तुका उत्पादनकर्ताहरूलाई उत्ताउलिनवाट रोक्छ रे । यसले त्यस्तै मुद्रास्फीति नभए वस्तुको भाउ बढ्नेदेखि महंगीले ढाड सेक्नेसम्मका कार्यहरू सम्पन्न हुन गाह्रो पर्छ । त्यस्तै मान्छे र कुर्सीको सम्बन्धलाई गाढा र बलियो पारेर बाँधिराख्न पनि यो चाहिने रहेछ । अपदस्थ हुँदा अहङ्कार हराउने र एकटकारले लहराएको गौरवलता ऋतुअनुसार संगारिने आदि किया हुने रहेछन् ।

हाकिम-बडाहाकिम अपदस्थ हुँदा वर्षौंदेखि गर्मी- सर्दी, सुनाम-दुर्नाम सहेर एकोतार कुर्सी रुँगिरहँदा लागेको थकाइ एकाएक मर्ने, बेलाबखत आफूलाई निकै शक्तिसम्पन्न ठानेर लगाएका धाकधक्कुहरू धुला भएर सेखीजति साटसुट भर्ने र चाकडी चुक्लीका प्रभावहरू धतुरे बाबाको शिवबुटीझैं अतिमर्दनपश्चात् धुलो हुने अनि सारा फुर्तीजति भकुन्डो प्वाल पारेर हावा फुस्स फुस्किने भएकाले अपदस्थ हुनुलाई कुर्सी दौडजात्राको अमूल्य वरदान मान्न सकिन्छ । यतिमात्र होइन सधैं ढाडिन पल्किएकालाई यसले ढाड सेक्छ । घिच्ने मात्र बानी परेकालाई यसले मट्याङ्ग्रो बनाएर घुयँत्राले हुत्याइदिन्छ । धोक्ने क्रियामा व्यस्त पदाधिकारीहरूका लागि त बोसो पलागेर धुकधुकी मात्र छाडिदिन्छ । ढोलिएको, पोखिएको र छरिएको सम्पत्ति-वैभव सँगाल्नेसम्मको अवसर लिएर आउने अपदस्थ हुने मुहूर्तलाई कुर्सीकान्तहरूका लागि मौकाको चौका हान्ने वरदान किन नभन्ने ?

यदि तपाईं जागिरदार भए बसिआएको कुर्सीबाट बेलावखत अपदस्थ हुँदा जागिर फुस्किएर बिल्टुवा बन्ने अनुभव पनि गर्दै गर्नुहुन्छ । जागिर फुस्किएको तोडले पछिसम्म नाडी- अनाडी कहीं कतै बाल्तोड हुन पाउँदैन । समाजसेवा या राजनीति गर्नुहुन्छ भने पनि वेलावखत अपदस्थ हुँदा तपाईंलाई झन सारो फाइदा हुन सक्छ । चुनाव हारेको वेला हतास हुने बानी हराउँछ । मन्त्रीपद उडेपछि मन उड्ने आँत हरहर भएर खरो पल्टिने सोच-समझ हराएर र दिमाग सकिनेजस्ता रोगको दुर्दुहाई हुन्छ । अझ कतिपय पाका नेताहरूका लागि अपदस्थ हुने क्रियाले स्वर्गारोहण प्रक्रियाको रिहर्सल पनि गराउँछ । बिजुली बत्तीको लोडसेडिङले एक्कासि भयाप्पझुप्प हुँदा उज्यालोभन्दा अन्धकार नै आनन्ददायी हुन्छ ।

कहिलेकाहीँ तपाईंको शिरमाथि जागिरे लोडसेडिङको अन्धकार आइपुग्यो भने त्यतिबेर बिजुली चम्किएर वज्रपात हुन पनि वेर छैन । घुम्ने कुर्सीबाट आकाशको उल्काझैँ उछिट्टिएर एक्कासि सडकको धुलोमा सिगौंरी खेल्न पुग्ने क्रियालाई चानचुने घटना भनेर भाउ घटाउन किमार्थ मिल्दैन । उता तपाईं अपदस्थ हुँदा अरूको आँत रसाउने क्रिया तीव्र बन्छ । यता तपाईंका जहान परिवार म्याउअ पर्दछन् । छिमेकीले खुच्युँ भन्दै तपाईंलाई सुनाएर ढ्याउअ गर्दछन् । कृतिका सन्तान टोलाउने गर्छन् त कतिका गृहिणीहरू छंटाउने गर्छन् । अरु उमेर-वर्कत भए कतिका भने छेकाएर अर्कैतिर भाँचो हान्न बेर मान्दैनन् । कतिका जहानलाई आफ्ना मान्छे अपदस्थ हुँदा छारे रोगले गलाउन र लाग्दैन ।

झ्याउरे हाकिम अथवा चाउरे मन्त्री अपदस्थ हुँदा कुर्सी चरमराउने गर्दछ । कुनै मोटा खाले मन्त्री हाकिम परे अपदस्थ हुनुअगावै दिनदहाडै घुम्ने मेच डोलायमान भएर डगमगाउने गर्दछ । यता कुर्सी डगमगाएपछि उता खुट्टा धर्मराउन पुग्छन् । हिलोमा चिप्लिने, धुलोमा मुख जोर्ने, घोडाबाट लड्ने, भैंसीगाडामा चढ्ने आदि सपना देख्न थाल्नुभयो भने सम्झनोस् अब छिट्टै तपाईंको कुर्सी चट ।

अपदस्थ हुनुका धेरै फाइदाहरू छन् । यसबाट मनग्गे आनन्द लुट्न पनि सकिन्छ । पहिले त तपाईं स्वयम् अरूको हास्यपात्र बन्नुहुन्छ । अरूले गिल्ली गरेको देखेपछि आफै सिल्लीजस्तो मुस्कान छर्दै आनन्दविभोर बन्नुहुन्छ । अपदस्थ भएपछि कसैले तपाईंलाई नमस्ते गर्दैन, त्यसैले फर्काइरहनु परेन । काम गर्ने कार्यालय शाखा-फाँंट आदिको पत्तो नभएकाले आफूमुनिका कर्मचारीहरूलाई थर्काइरहनु परेन । ढाक्रे भए पनि ढाकर बोकिहाल्नु पर्दैन । विल्टुवा भए पनि विराले चोराइ गरिहिँड्ने चान्स रहन्न याने कतै तर मार्ने र कतै मुसाको सातो झार्नेजस्ता मौकाहरू हात पर्दैनन् । रुझेको चरी टीठलाग्दो अनुहार भएकाले कतै कुनै नक्कली मैयाँ भेटिए पनि आँखा कर्काइरहनु पर्दैन ओठ हेर्दै खुसी खुस्किएको देख्न सकिन्छ । झलक्क हेर्दै फुर्ती फुस्किएको पाउन सकिन्छ । मुहारवाट हाँसो हराइसकेको हुँदा बालबच्चाको नासो एकमुठी सास धानिदिए पुग्छ तपाईंले ।

पदमा छँदा बेलाबखत डुक्रिने बानी परे पनि अपदस्थ भएपछि खाली झोक्रिए मात्र पुग्छ । कतै कसैसंग सिंगौरी खेल्नु पर्दैन । साँढे जुधेको हेरेर बसे हुन्छ । कहिल्यै कतै छड़के गर्न पर्दैन । आफैं छड्किंदै कुकरभित्रको दाल बनेर सुसाइरहे पुग्छ । कतै कुनै व्यापारी उद्योगपतिले बिहानबेलुकी उपहारसहित शिष्टाचार भेट गर्ला भन्नु पर्दैन । खालि भ्रष्टाचारको विरोध गर्दै झिंगा परमधाम पत्याउने क्रियामा तल्लीन भए पुग्छ । अरूको कामको प्रशंसा- मूल्याङ्कन गरिरहन पर्दैन । खालि आफ्नै अतीतको प्रशंसा र त्यतिखेर गरेका कामको खैंजडी बजाउदै देउसी भट्ट्याए पुग्छ, बस !

०००
‘प्रमुख अतिथि हुनुको आतङ्क’ २०६४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
आ-आफ्नै भाँडतन्त्र

आ-आफ्नै भाँडतन्त्र

नरेन्द्रराज पौडेल
पुरेत फर्ने रोग

पुरेत फर्ने रोग

नरेन्द्रराज पौडेल
राहत रमिता !

राहत रमिता !

नरेन्द्रराज पौडेल
अथ श्री पालिकापुराणम् !

अथ श्री पालिकापुराणम् !

नरेन्द्रराज पौडेल
चड्कनचर्या

चड्कनचर्या

नरेन्द्रराज पौडेल
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा