साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अथ श्री पालिकापुराणम् !

नेपाली साहित्यमा डेरिडाको उत्तर आधुनिकता पसेर रैफाँडो पारी सक्यो भने नेपालको महानगर मात्रै उत्तर आधुनिकता भित्र्याउने अभियानबाट किन वञ्चित रहने ?

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

कवि टी.एस्. इलियटले शब्दहरूलाई बतासे फूलजस्ता खोक्रा, गरीवदास भनेर तुच्छ वचन लगाएका थिए । किन त भन्दा ती शब्द भनाउँदा बतासे फूलले दिमागी मान्छेका उम्दा खँदिला गतिला र उर्वर भावहरूलाई कागजमा जस्तातस्तै खन्याउन सक्तैनन् अरे ! यो लेखौँ कि त्यो लेखौँ भन्ने हुटहुटी चल्दाचल्दै विचरा कविमनको तातो रन्को उम्लँदाउम्लँदै उसै सेलाएर जिम्लिँदो रहेछ ! अनि छिनैपिच्छे भित्री हुँडलो र गथासोले पोखिने निकास नपाएर आफ्नै भुँमरीमा रन्फनिने गलपासो बनिदिँदो रहेछ । अनि हावामा हराउँदो रहेछ नवसिर्जनाको साजी भाव । भएन त त्यो चालाले शब्द र स्रष्टाबीचको गाँड कोराकोरको फसाद ? हैट् !

आज हाम्रो देशमा पनि शासनका तन्त्रमन्त्रमध्ये उम्दा चैँ मानिने गनगनतन्त्र उदाएर तिरिमिरी झ्याइँ भएको छ । गाउँ सहर जता जाऊ, जहाँँ पुग, खाली मन्त्री नै मन्त्री अनि पी ए परिचर र तिनका गार्ड गाडीको भीमभीड । राष्ट्रिय झन्डा कानमाथि सिउरिएर दौडादौडी गरिरहेका भिल्के गाडीको घुइँचोमा विचरा भुइँमान्छेको आवाज कता हराउँछ, कसलाई के चासो ? विकासको खोलो बगाउँदै नेपाल माताको भार हर्न जन्मिएका अनेकौँ संस्थाहरू सिँगारपटारसहित तँछाडमछाड शैलीमा जमजमाएका भए पनि तिनका औकात चुरीफुरी र अर्घेलोको वणर्न गर्न नेपाली भाषाका शब्दहरू असमर्थ त छँदैथिए अपर्याप्त पनि रहेछन् भन्ने थप विश्वास पलाएको छ । किन त भन्दा विकासे राजनीति नाउँकी राजकुमारीले लाहुरेफूलको वरमाला लगाइदिएपछि भान्छा, भतेर, कक्टेल अनि सुहाग भ्याउन छटपटाएका नवराजकुमारको वानर बिर्साउने उफ्रीपाफ्री देखेर जनताचरी ट्वाँ परेका छन् ।

अझ यति बेर भन्नैपर्दा ती विकासे एन्जीओलाई पनि उछिनेर दुवोझैँ मौलाएका केही बस्तुभाउ छन् भने ती पालिका नै हुन् भन्ने चाहिँ सोह्रैआना सत्य सावित भएको छ । सत्ता शक्ति र भोजभण्डाराबापतका तिनका गतिविधि अथ्र्याउन भने हाम्रो भाषाजगत्मा प्रचलित शब्दहरू साँच्चै खोक्रा, अकिञ्चन र गरिबदास बनेछन् ।

हुन त तराई मधेसतिर पालुङ्गोलाई पनि पालक भनिन्छ । यसले शरीरकोलागि आवश्यक फलाम, भिटामिन र खनिज तŒव दिएर मान्छेको देहवृक्षको पालनपोषण गर्दछ तर हिउँदे मौसममा मात्र पालुङ्गोखेती फस्टाउने र अझ खासमा वर्षे भलबाढीले ढाकेर मलिलो बनाएका गहिरा फाँटहरूमा सप्रिने भएकाले यो घडेरी भाइरल जुगमा त्यो पदार्थलाई भरपर्दो तरकारी मानेर वयान गर्नु गराउनु चैँ हम्मेहम्मे नै परेको छ । त्यसैले सागपातवर्गको पालकमाथि पोथी बनेर पछि लागेको पालिका नभएर अत्याधुनिक सिसमहलका अट्टालिकामाथि सुनका गट्टा खेल्ने पालिका चैँ भनेर खुट्याउन गारो छैन अर्थात् यतिबेर बजारको हरियो पालकभन्दा गाउँ सहर जताततै रङरोगनले सिँगारेर छिचमिरा शैलीमा उम्रिएका पालिकाहरूले कता हो कता बाजी मारेका छन् । यिनीहरू आइरन र खनिज तŒवले लदावदी भरिएका मात्र छैनन् यिनका कतिपय अगुवाहरू त सुनका टेल र चरेसका धोजे कसेर ओसारपसारको अभिसारमा तँछाडमछाड गर्न पुगेका छन् ।

शासनसत्ताकै वागडोर हातमा लिएर भस्मासुर शैलीमा नौथरी चर्तिकलाको कलाबाजी र बौँडाइनाच पनि देखाउन भ्याएका छन् यिनले । काम गर्न अल्छी लाग्ने लफङ्गाले ठगीधन्दा र पाल्सी कुरालाई पेशा बनाएजस्तै न हो ! यता खेतबारीमा पसेर कोदाली चलाउन अल्छी मान्ने घरमूलीले बल्छी थापेर पोखरीका डिल कुरेको उदाहरण प्रासङ्गिक बनी देला भन्ने पनि सोच्न सकिन्छ । यसमा खास रमाइलो कुराचाहिँ सर्पले नयाँ काँचुली फेरेको कुरा बिर्साउनेगरी देशले गणतन्त्रको जरीवाल जामा जो लगाएको छ ! यामाहा मोटर साइकलको विज्ञापनभन्दा पनि सुन्दर देखिने यो जामालाई सुनबुट्टे पारी लगाएर महासुन्दर बनाउने कामचाहिँ पालिकाले नै सुरु गरेका हुन । त्यो ऊ भन्नु नपर्ने, यता र उतासँग दाँज्नु पनि नपर्ने, सबैका सबै एक सय एक भएर अरिङ्गाल बनेका छन् यी पालिकाहरू । कोभन्दा को केमा कम ? सबैमा भेटिन्छ दम्भले भरिएको ओस्तादी दम ! तर विकासे बजेट नामको भुतभुतेमा मुन्टो जोतेर हुरुक्कै हुन पो बेर नलाग्ने हो कि भन्ने पलाएको छ भोटरमा भ्रम !

त्यसो त हिमालदेखि तराईसम्मका सबै पालिकाहरू थरीथरीका रङ्गरोगन भरिएर घरपालुवा च्याउ झैँ उम्रिएका हुन, जसमा कोही गाउँपालिका त कुनै नगरपालिका रहेका छन् । कुनै त अझ महा विशेषणले विभूषित छन् । नाम जेजे भए पनि तिनको काम चैँ जनताको काम नगरी ठेकदार तस्कर र कालो बजारीलाई आफ्नो प्राथमिक क्रममा राख्नु भेटिन्छ । कोही कुनै पालिका मुखियागिरी मात्र गरिरहन्छन्, कुनै अरूको खेदो ऐरो गर्छन र सम्पत्तिको वैरोपैरो हात लगाउँछन् । नियम कानुन केही मान्नु नपर्ने, कानुन बनेकै छैनन् भन्दिए पुग्ने ! आफैँ मपाइँ बन्दै एक्काइसौँ शताब्दीको सम्राट् बनेर लुइ जारकैपाराले मनचिन्ते योजना बनाउने र औजार प्रयोग गर्ने तुजुक देखाउँदा झन्झन् मजा आउने भएछ !

नगरपालिका अगाडि ‘महा’ उपसर्ग लगाइदियो भने त यिनको दिमागमा थप तुजुक चढेर बसीखप्नै नहुने ! यसको प्रथम करामत भनेको पनि जनताको ढुकुटीमा लामो हात गर्ने र अनि पछि विस्तारै बाघपन्जा मारेर चितुवा शैल्ीमा आक्रमण गर्नु रहेछ । सोझा जनताले के बुझ्नु ? पहिले त श्रवण कलालाई तिखारे विकसित गर्न सबै प्रतिनिधि ‘बाँडी खाउँ सबै ओडाको फासफुस शैलीको विकास गरौँ’ भन्ने नव उधारोवादी सिद्धान्तअनुसार मोवाइल बाँड्ने ऐतिहासिक काम गर्नु रहेको थियो । त्यसपछिका दिनमा महँगा गाडी किन्ने चढ्ने रातमा महँगा डिनर भक्षण गर्ने सोख सवार भएपछि गणतन्त्र फुल्न फस्टाउन फक्रिन के बेर लाग्यो त अब ? यसैको परिणामस्वरूप जनताको शिरमाथि करका भार तेर्सिएर चौपट ! देशका सडक बजार बगर बस्ती सबतिर उखर्माउलो विकासले मूला झैँ सप्रिएर हो कि घुम झैँ दोब्रिएर अभावसम्पन्न बनेका जनता अब भने मज्जैले तिर्ने भए कर भन्सार अनि घुस कमिसन र दलालीदस्तुर पनि ।

त्यति मात्रैले कहाँ पुग्यो र ? कुनै गाउँपालिकालाई गाउँसाउँ छोडेर ‘अघाउँ पालिका’ मात्र बन्ने भूत सवार भएर चौपट ! माथिका दर्बारले चटाएको बजेट होस् कि तलका जनताचरीले चडाएको कर, दस्तुर घुसपेस नजराना होस् खाउँपालिका सुमर्ने मुखिया मण्डलीलाई खाँदाखाँदै भुँडी फुलेको र झुसिलो डकारले वरपर वासना छरेर वातावरण नै खुश्बुदार बनेको पनि पत्तै नहुने भएछ । कतिपय गाउँपालिका त अझै तीन कोष पर पुगेर आआपैm ‘बनाउँ पालिका’ बन्दै आएका छन् । भूकम्प र बाढीपीडित भएर वर्षौंदेखि विचल्लीमा परेका जनतालाई ‘भारेभुरे बाथ’को जुवाडे डन्डा लगाएर लखेट्तै ओडार छाप्रा र आकाशका छानामुनि कजाएर राख्नु अनि पाएभ्याए जति भण्डारा ढुकुटी गँगक्र्याएर आफ्नै गुटग्याङसहित सिसमहल खडा गरेर अल्का पर्खालभित्र हराउनु अतिचारको कुरा रहेन ।

तपाईं हामीले सुनिआएको कोतपर्वमा सफल भएर जङ्गबहादुरले अजङ्गको हुकुमी शासन चलाइआएकै हुन् । उनका भाइ भतिजाहरूले नेपालभित्रै बेलायती महलहरू ठड्याएर राजधानीलाई रोमननगरी पनि बनाएकै थिए । तिनैका उत्तराधिकार बोकेर गनगनतन्त्रे मजूरका प्वाँख भिरेका सक्कली काला कौवाहरूले आफ्नै देशभित्र लन्डन पेरिस न्युयोर्कका टावर चडेर पूmल पार्ने चल्ला कोरल्ने खाँडो जगाउनु अहोभाग्य मात्र होइन, थपुवा सौभाग्य पनि मान्नुपर्छ ! गाँस बास कपासको सट्टा गाउँ सहर सबतिर टावर ठड्याएर टावरैटावरको देश बनाउने रटानले सार्थक बनेको भ्यागुताशैलीको अनवरत ट्यारट्यारे भाषण वर्षालाई वकवास ठान्नु किमार्थ हुँदैन !

कतिपय गाउँपालिका त ‘लड्डु लडाऊ पालिका’को रूपमा पनि प्रख्यात भैसकेका छन् । उनीहरूले पोहोर परारका विकासे उफ्रिपाफ्रीलाई माथ गर्दै डाँडाकाँडामा डोजर चलाएर पहाड भत्काउँदै यो हिमाली धर्तीको सुकोमल अनुहार, सौन्दर्य र गरिमालाई ध्वस्त बनाएका छन् । हिमाली ताल नदी र हरिया सिमसारहरूमा पहिरो लडाएर एकान्त कुनाकन्दराको अक्षत बान्कीलाई क्षतविक्षत पार्दै र ऐतिहासिक बस्ती र बासिन्दाहरूलाई विस्थापित गरेर अलपत्र पार्ने यिनीहरूको बहादुरी रहेको छ । यस हिसाबले यिनीहरूलाई विध्वंश पालिका भन्दा ठीक पर्छ होला । ‘गिट्टी र बालुवा—पालिका’को उपाधिले पनि स्वनामधन्य बनेका छन् कुनै ।

यिनीहरूको मुख्य काम भनेकै खोला, खहरे खोल्सा, कुलेसा बिगारेर धर्तीलाई कुरूप बनाउँदै र हिमनदीको कञ्चन मुहार बिगार्दै बालुवा उधिनेर गिट्टीका क्रसर चलाएर थोरै चडाएर धेरै आफैँ शुभलाभ गर्ने रहेको बुझिन्छ । कतै खोला छेकेर बाढीमा डुवाउने, कतै गाउँबस्तीमा खहरे हुलेर बाढीखेती सपार्ने र उर्वर माटो बगाएर बङ्गालको खाडीमा थुपार्ने कसरत नै कुनै पालिकाको बहादुरी जो ठहरिएको छ । पहिरो मात्र लडाएर कहाँ चित्त बुझाउँछ र लडाऊ पालिकाले ? वनवाटिका सखाप पार्ने र जरीबुटी यार्सादेखि ऐतिहासिक कला संस्कृतिका धरोहर बिगार्ने भत्काउने त्यस बापतको बजेटमा उल्टै लड्डु लडाउने कर्ममा बहादुरीसाथ लाग्न पनि उत्तिकै जाँगरी छन् यी पालिकाहरू ! नेपाली उर्वरताको शेष अवशेष केही बाँकी नराख्ने विशेष अभियानमा लागिरहेका हुन् कि भन्ने पो यतिवेर खुल्दुली जाग्न थालेको छ ।

गाउँपालिकाको त यस्तो खुसहाली छ भने तीभन्दा उच्च दर्जाको थर्की थापेर आडम्बर ओडेका नगर पालिकाको त कुरा गरी झन् के साध्य ? भीरको चिन्डो र दुलाभित्रको छुचुन्द्रोभन्दा कता हो कता छोइनसक्ना भएर निस्किएका छन् यी ठूले पालिकाहरू । याने कि बडघरहरू ! नामै ‘नगर’ परिदिएकाले गर्ने कामकुरा त जिरो ! छैटीले भाग्यरेखा कोर्दा सडक ढल पानीको व्यवस्थापनजस्तो गतिलो कामकुरा एउटै नगर्नु, बरु नकाम जति एउटै नछोडी तमाम गरेर कर, अनुदान, सिधादान, भिक्षादान जे जताबाट मिले पनि झ्वाम पार्ने रणनीति अख्तियार गर्नु भन्ने खास विशेषताको आलेख निर्माण गरेछन् कि कसो हो ! नहिँभने कामै गर्न त यत्रोविधि हल्ला किन चाहियो र ? जमानादेखि नै अड्डा अदालत खुलेकै छन् । तिनीभित्र राणाकालीन सनत सवालबमोजिम चाकरी घुस, दलाली चलेकै छन् !

अझै सुशासनका छेलो हान्न र सदाचार नामक भ्रष्टाचारको लूतो कनाउन आयोग नियोग नाउँका भेडीखर्क, चौँरीखर्क छँदै छन् । त्यसैले जनताबाट मत, हुर्मत सबथोक लिएर जितेको प्रतिनिधि संस्थालाई सदाचार र कामकर्तव्य सिकाउनु पाखण्ड हो भन्ने नवचिन्तन पनि उदाएको हो कि ? त्यसैले पनि नगर पालिकाहरू ‘गर’ पालिका बनेका छन् । अनि ढल नाली हिलो र अलकत्रा खाने बालुवा पिउने र गाडी कुदाउने मात्र नभएर धोक्रो भर्ने महल ठड्याउने जस्ता काम कर्तुतमा पनि गरिरहने भएकोले यिनको निर्बाध निष्कण्टक अग्रगमनको बाटो छेक्ने सुकाम गर्न मिल्दैमिल्दैन । उनेरुले बस्ने उठ्ने खाने सबै काम जायज र नियमित भनेर प्रशंसाको तुइन थाप्नु, घिर्लिङ चलाउनु ठीक होला बरु ! अझै चित्त नबुझे मनशान्ति खातिर आआफ्नै पिँडीमा शान्तिस्वस्ती लगाउनु बेस ! यही जो ठहर्ला निमुखा भद्रजनले मन बुझाउने बाटो पनि ।

नगरपालिका त छोइ नसक्दा गौरवगरिमापूणर् उसै पनि छँदै छन्, अझ अगाडि महा उपसर्ग थपिदिँदा झन् के होला ? उचो औकात नभएका सोझासादा मनुवा वर्गले कल्पना गर्न सकिने कुरै भएन । महा नगरपालिका भनेपछि नै शक्ति सामथ्र्य र औकात नै नाम्लाको फेरले पनि भ्याइनसकिने हुने नै भयो । पहिलो कुरा त ऐतिहासिक मठमन्दिर पोखरीलाई महम्मद गजनीकै शैली टिपेर तोडफोड र भताभुङ्ग पार्ने यिनको बहादुरी देखियो । पानीपोखरी जताततै निर्माण भैसकेकोले कान्तिपुरको शोभा भनाउँदो रानीपोखरीमा अब पानी भर्नु पर्खाल मन्दिरको पुरानो शैलीमा पुनर्निर्माण गर्नु कुनै औचित्य देख्दैन महानगरपालिकाले । किन त भन्दा पुरानो इतिहास रचेका शक्तिकेन्द्रलाई भत्काएर नयाँ स्वरूपमा विनिर्माण गर्न पनि पानी भर्नुकोसाटो पोखरीको घरघाटभरि सहरी फोहोरमैला थुपार्नु उचित र उपलब्धिमूलक मानिन्छ कि ?

ओखर पौवालाई मात्र कतिसारो भार थपिरहने त ? सहरी फोहोर मैलाजति एकत्रित गरेर त्यसलाई वैज्ञानिक तरिकाले पेलपाल, पोलपाल गरेर वायोग्यास बिजुली जे जे सकिन्छ निकाल्ने काम गर्नु र रानीपोखरीलाई नै ग्यासभण्डार बनाइदिएर पाइपद्वारा सहरी जनताको घरघरै चुलासम्म पुर्‍याएर बितरण गर्दा भएन त प्रगति ? यसो गर्दा नयाँ शताब्दीको सुनौलो इतिहास रचेर साँच्चिकै अजर अमर महानगरपालिका बन्ने पनि पक्कै छ । घरघरमा ग्यास पाइप पुर्‍याएर जनतालाई गणतन्त्रको स्वाद चखाउने कामकुरा पूरा भएपछि नागरिकका शिरमाथि निष्कण्टक शासन गर्ने सुकुलगुन्डे खेती पनि फलिफाप हुने पक्कै भयो । युगौँदेखि फोहोर धमीलो पानीले रुझेको रानी पोखरीलाई न्यानो पाहार तापेर ओभाउन र झारपातभित्र लुकीखेल्न पनि त दिनुपर्‍यो नि ! एउटै हिलोमा कति खेली रहने विचरा माछाहरू ? यिनीहरूलाई पनि त अग्लो पर्खालको बारबन्धन नाघेर हिलाम्मे अनुहारका सहरी सडक चोक ढल नालीहुँदो यात्रा गर्न, खेल्न, उफ्रिन दिनुपर्‍यो नि ! समानता र समावेशिताको नयाँ युग आइसक्दा पनि रानीपोखरीका माछा भने सधैँ जहिँकोत्यहीँ ? कसरी खप्ने यस्तो अन्याय ? हैट् !

माछालाई सडकमा उतारेर भ्यागुता झ्याउ र बुदुनाखेती बिस्तार गर्ने हो भने दुई दशकभित्र देशलाई सिङ्गापुर बनाउने स्वर्गवासी मत्र्यलोकी सबै नेताहरू ट्वाँ पर्नेछन् हाम्रोभन्दा यिनर्को सोचाइ कति उम्दा रहेछ भनेर । उर्वर भूमि बाँझो राख्ने, अनि पाखुरीमा ताकत भएको युवा जमातजति स्टीमर चढेर कलकत्ता जानु भनेर फरमान जारी गर्ने द्वारे मुखिया पाएपछि अरू पाउन के चैँ बाँकी रह्यो त ? हिले सडकमाथि उडान भर्ने मोनोरेल अनि कोसीको बाढीमा डुबान भर्ने पानी जहाज देखेर विदेशीसमेत चकित नपर्ने कुरै भएन !

ग्रीसेली पुराणका भाग्यमानी पात्र सीसीफसले जस्तो एउटै परम्परा बोक्तै बिसाउँदै गर्ने पुरातनवादी सोच अब भारी भई सकेन त भन्या ! अब थोत्रा जडौरी सह्यार्ने होइन, नयाँ इतिहास चैँ पो रच्नुपर्‍यो त । यसका लागि रानीपोखरी, काष्ठमण्डप, धरहरा, साततले दरबारजस्ता धरोरहरजति सब इतिहास भैसके । तिनलाई भग्नावशेषबाट उठाउनु, दोहोर्‍याएर निर्माण सबलीकरण आदि गर्नुभन्दा विनिर्माण चैँ राम्रो । नयाँ नयाँ बहुकेन्द्र स्थापित गर्ने उत्तर आधुनिकताको सिद्धान्तअनुसार नै पुराना केन्द्रहरू भाङभुङ, डाङडुङ शैली टिपेर भताभुङ्ग पार्नुपर्ने जुग आएको कुरा महानगरले फेदटुप्पै बुझेको छनक पाइयो । टुकचालगायत स्ल्याब भत्काउँदै बास्ना विस्तार गरेर जनसेवा गर्नेजस्ता महानगरका कामले यस्तै सङ्केत गरेको बुझ्नुपर्छ ।

पुराना शक्ति र इतिहासका बाटा गोरेटामाथि डोजर लगाएर भत्काउँदै बन्द गर्ने र नयाँ चौरीखर्क र लभपार्कदेखि ग्यासभण्डार तयार गर्नेसम्मको महान् अभियान चलाउने गरपालिकाको कार्य तालिका बन्नुपर्छ । नेपाली साहित्यमा डेरिडाको उत्तर आधुनिकता पसेर रैफाँडो पारी सक्यो भने नेपालको महानगर मात्रै उत्तर आधुनिकता भित्र्याउने अभियानबाट किन वञ्चित रहने ? अब पनि पुरानै केन्द्र सुमसुम्याउन थाले उत्तर आधुकिता—पुराण प्रवचन कर्ममा जमेका पाखण्डका अवतार पण्डा, पण्डितले डन्डा बर्साउन बेर छैन ! यो कुरालाई ख्याल राखेर बेलैमा बर्बादीबाट बच्नु बेस ! आगे जननायक महानगर पालकहरूकै मर्जी ! हाम्रो त मात्र हो विनम्र अर्जी !

०००

नयाँ वानेश्वर, काठमाडाैं

सुलेख, पूर्णाङ्क १३५, हास्यव्यङ्ग्य विशेषाङ्क, २०८०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
अथ श्री कोसेली महात्म्यम् !

अथ श्री कोसेली महात्म्यम्...

नरेन्द्रराज पौडेल
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x