साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चड्कनचर्या

कसैलाई प्यारो गर्ने र कसैलाई भने कान मर्दनको तारो बनाउँने उनीहरूको बानीले पनि प्रेष्टिज प्रतिष्ठालाई खरानी बनाएको छ । फुट्सल, जीम खाना र रिकुटेका भर्नाकेन्द्रलाई पनि चड्कन उत्पादन र प्रसारणको कित्तामा कम आँक्नु अवस्य हुँदैन ।

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

टाइम टाइम की बात हे जानी भनेजस्तै परेछ यो कुरो पनि । भन्नेहरू आआफ्ना दिनका काम कुरालाई दिनचर्या भन्छन् तर चड्कनचर्या भन्न त्यत्तिकै भुल्दा रहेछन्, या ख्याल नगर्दा रहेछन् । आफ्नै गालामा चड्याम्म चड्कन बज्रिएर गाला पड्किँदा र दिमाग छड्किँदामात्र असिनपसिन अनुहारमा खुल्दा रहेछन् । खाँटी कुरो पत्तो लगाएर भन्ने हो भने गाईर्भैसी सुँगूर घोडाजस्तै मान्छेले बिताउने दिनचर्या पनि सधैं एकैखाले नहुँदो रहेछ । यदाकदा मिटरब्याजी साहू भएर चल्दोरहेछ, कहिले भने छुल्याहा ढङ्गले साँध मिच्ने सँधियार भएर चलेको भेटिने रहेछ । यसको फेहरिस्त त लामै बन्छ होला, आकार प्रकार पनि विविधखाले हुनसक्छन् । गाउँघरतिर चौथीको रातमा काँक्रा चोर्दा भेटिने चड्कनदेखि वेबफा प्रेमीलाई प्रेमिकाले लगाउने चड्कनसम्म आआप्mनै प्रकारका हुन्छन् होला तैपनि दुइचार कुराबाट यसको सुइँको पाउन सकिन्छ कि भन्नेसम्म लागेको ।

अलि वर्षअघिमात्रै एक जना जिल्ला प्रमुखले आफ्ना खाइखेली सप्रिएका पालीपोषी क्रीम नौनी मर्दन गरेर चिल्लिएका रसिला भरिला गालामा महिला मन्त्रीका मुलायम करकमलको कसिलो चड्कन भेटेथे । सुन्दै चाखिलो अनि निकै बहाडिलो लाग्ने त्यो खबरको खुराफाती चर्चा निकै सुरूचिपूर्वक चल्यो । प्रशासकप्रतिको खुच्चिउँभाव, छिर्के प्रेम वा आक्रोश के थियो त्यो चड्कनको पोजिटिभ चर्चा ? किन त्यसलाई मानिसहरूले फौज्दारी वारदातभन्दा विशेष ख्यालठट्टाको रूपमा ग्रहण गर्न रूचाए ? कुरो पक्कै गहिरो हुनुपर्छ । त्यसको रापताप र प्रताप चर्चित छँदाको वरिपारि नै सुन्सरी, ललितपुरका अर्का विकासे प्रशासन प्रमुखले पनि कठालो समातीमागेर हाराबारी खेलाउने बेलूनमार्का खेलको छ रेक्टर स्केलको धक्का पनि पालैपालो खेपेथे ।

आदर, कदरपूर्वक त्यो मुक्कामार खेल खेलाउने रेफ्रीचाहिँ पनि यसै गाणतन्त्रे शान्त समृद्ध देशका दज्र्यानी प्राप्त क्षेत्रीय प्रशासक र मन्त्री नै परेछन् । सुकर्म कुकर्म जे नै भए पनि त्यो ठाउँ अँठ्याएका पात्रलाई त्यो कुराको बातखत या ठाँगेले छुनेसम्म पनि चान्स नै थिएन बरू हल्लाको हावाहुरी मत्थर नहुँदै नेपालको संसद्भित्रै कानून निर्माता झुण्डबाट जनता पाल्ने सामलतुमल, खरखजाना बोकेका गरिष्ट मन्त्री महोदयका हातपाउ तोडमरोड गरिएका थिए र गाला पनि मुसारिएका थिए ।

अनि यसै गौरवपूणर् सिलसिलालाई कायम राख्तै पछिल्ला दिन अर्को चड्कन पर्‍यो- रहरलाग्दा खाइलाग्दा, बहाडिला हैमाने गालामा । यी चाहिँ परेछन् पार्टीविशेषका पगरीधारी सदासर्वदा सिरानको कुर्सीका हन्तकाली भिखारी । सय रूपैयाँको सर्दीको उपचार गराउन कोटीभन्दा बढी नै राष्ट्रिय ढुकुटी गँगक्र्याएर अमेरिका छिरेर घरबारै ठड्याइदिने अनि देशमा भ्यागुता र पाहाखेती लहलह लर्काएर अनुदानको लागि सरकारी ढुकुटी ताक्ने र अनि ताक परेपछि खत्तम खलाँस पार्न बेर नमान्ने जनतामार ठगीमा समर्पित चिटीमारजस्तै छट्टु मानव ! चड्कन लगाउने परेछन् बिजुलीको बिल तिर्न गएका एक जना डुरे सर्वसाधारण । हेत्तेरिका यो पनि एउटा मजैको संजोग त नभनौं बिजोग चैं पक्कै परेकै हो ! राष्ट्रकोमात्र के कुरा, अन्तर्राष्ट्रिय जगत्मा पनि मोसो र जुत्ताप्रहार प्रविधिका चड्कनको वारदात बेला कुबेला देखिँदै सुनिँदै आइएको छ । विश्वमै शक्तिशाली कित्तामा दरिएका इराकी पूर्व रष्ट्रपति सद्दाम हुसेन, इजरायलका प्रधानमन्त्री पाकिस्तानका प्रधानमन्त्री, बेलायती प्रधानमन्त्री लगायतले यो अवसर पाएकै बताउँछ इतिहासले ।

जनधनको हिफाजत र शान्ति सुरक्षाको ठेकदार बनाएर सरकारले खटाएका जिल्ला प्रमुखदेखि जनताले काँध चडाएका पार्टीप्रमुखका गालासम्म बर्सिदै आएका चड्कनमध्ये पछिल्लोचाहिँ अझै बढी चर्चाशिखर छुने खाले परेछ । किन त्यसरी हात उठ्यो साधारण मनुवाको ? पुख्र्यौली रिसइबी, साँधझगडा, कुलोपानीको वादविवाद केही थियो कि भन्दा पनि नसुहाउला जस्तो छ । गर्लफ्रेन्डको केसमा त उमेर, ओहदाको हिसाबले पनि पक्कै त्यसो भएको होइन होला । भन्सारबाट भित्रिने एउटाले ताकेको चीज अर्काले हात पारेर लफडा परेको पनि नहुनुपर्छ । जातजाति भाषा धर्म संप्रदायबीचको खटपटले उत्पादन गरेको चड्कन चिउरा भन्न पनि कर्ता कर्म र क्रियाको संयोजन देख्ता त्यति सुहाँउदो लाग्दैन । यता हैमाने गालावाला व्यक्ति पनि बिजुलीमिटरको साइनोभित्र थिएनन्- बिल तिर्न जानेले चड्कन लगाउनुपर्ने कारण के ?

प्रहार गर्नॅको बकपत्रमा चड्कनदाताको साबिती बयान थियो रे- “माथि बस्ने नेताले सत्तामुखी भएर देश बिगारेको, बेरोजगारीले युवापिँढीलाई डामेको, देशमा अमनचैन र नागरिक सुरक्षामा ध्यान नदिने, सधै चिप्ला कुरा गर्ने जनतालाई काम माम दिन नसकेर भोकभोकै राख्ने, आफू बेला मौका जोखाना हेर्दै विदेश छड्किएर तर मार्ने ठग ठालूका गाला ताकेर थप्पड हानेको !”

आदिइत्यादि कुरालाई सप्रसङ्ग कोट्याउन खोज्दा धेरै दिनदेखि देशलाई अनिणर्यको बन्दी र भिरको चिन्डो बनाउने नाइके तिमी नै हौ भनेर पो हो कि ? अर्थात् डार्लिङको लागि मुन्नि बदनाम भएको हिन्दी गीतजस्तै सिरानको कुर्सीको लागि आफूमात्रै सुयोग्य भएको ध्वाँस दिँदै छिर्के दाउ हानेर देशलाई नै अनिणर्यको बन्दी बनाएबापत मुलायम थप्पडले नाम सुनाम गराएको त होइन ? कुर्सीरूपी डार्लिङ्ग- प्रसङ्गप्रेरित थप्पड भएकाले यो पक्कै पनि विशिष्टखाले मान्नुपर्छ । त्यति सारो सुन्दर नरम मांसल गालामा पड्किएको चड्कन अवश्य पनि अत्यन्त प्रेमिल मुलायम र नरम हुनुपर्छ । हाम्रै कलिउडका सिने नायिकाले आफ्ना अविश्वासी र बेवफा डार्लिङ्गहरूलाई कहिलेकाहिँ गालामा लगाउने नरम चड्कनजस्तै मुलायम,रसदार र नसालु हुँदो हो भन्ने कल्पना गर्न सकिन्छ यसलाई । चड्कनको कुरा गर्दा हाम्रा स्कूल कलेजका गरू, गुरूआमा पनि कम्ता कहाँ छन् र ? दिनदिनै जसो आइरहने टीभी र अखबारी खबरहरूले सुइँको दिएअनुसार विद्यालयका गुरू, गुरूआमाहरू नै चड्कन र कान मर्दनका पारखी कमाण्डर रहीआएका छन् । चड्कन प्रहारबाट घायल विद्यार्थीका वारदाती फायल खडा हुनै नदिएर केश गुपचुप राख्न खप्पीस छन् यी चेतनाका संबाहकहरू ! आफ्ना हातमा ठेला उठ्ने अथवा प्रकारान्तरको तकलीफ हुने अवस्था देखिएमा लट्ठी सिर्कनाले सोतर्ने विकल्प पनि आदरणीय गुरूजनसँग सुरक्षित रहेको थाहा लाग्छ ।

यो लेखन्तेले भोगेको कुरा ! आफू भक्तपुर निम्नमाध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्दाको एक दिन । समयमै विद्यालय पुगेर कपी किताप समाल्दै पाठ उद्रिन लगेको बेला टुप्लुक्क कक्षागुरू आइपुगेर हाजीर कपी फुकाउनु भो । त्यतिबेर गुरूहरूले आआफ्ना हाजिर कपी आआफैंले राख्ने चलन थियो क्यार ! नयाँ वर्ष भर्खर लागेको बेला परेछ । नयाँ रहरलाग्दो रजिष्टर कापी अघि सारेर उतिबेरै गाता खोलेर भित्री पानामा हाजीर गर्न थाल्नु भयो गुरू । हामीले निकै चाख राखेर त्यता आँखा लगाउँदा पो बाहिरी गाताको नाम थर कोलममा बद्रिनाथ शर्मा गुरूले वद्रीथान शर्मा लेखेर ल्याउनु भएको रहेछ । हामी कक्षामा उपस्थित सबैजसोले ठाडा कान लगाएर त्यो अनौठो नामवारे गुरूको बाउँठो नामाङ्कित गाता हेर्न भ्याएछौं । अनि त हामी सबैका किसोर वयका रातापिरा अनुहारमा हाँसो छचल्किएर बसीखप्नै भएन नि ! एकपछि अर्को गर्दै सवै जना मुख छोपेर घुतुतुत्त हाँस्न थालेछौं । गुरूतिरमात्र हेर्दै हाँस्दै गर्न थलेपछि गुरू पनि उसै रातो पिरो अनुहारमा लालीगुराँस बनेर फक्रिनु भयो । उहाँको गल्तीपूणर् नाम लेखन देखाउन कसैले पनि आँट गरेन सायद उल्टै सामूहिक हाँसो छाडा पाराले बुर्कुसी मार्न थाल्यो । त्यो छुल्याहा हाँसो न रोकिएपछि गुरू पनि कुरै न बुझी एकाएक प्रतिकारमा उत्रिएको योद्धा झैं रौद्ररूपमा प्रकट हुनु भयो ।

अनि त के चाहियो र ? एकएक गरी हामी किसोरका कन्सिरीका रौ बेडाउँदै जानु भो अनि चरणबद्धरूपमा मेलैसंग हामी सबैका कान परपरी बटार्न थाल्नु भो । सबैको पालो पुग्नै लागीसकेपछि यसै लेखन्ते बबुराले भनि दिएथ्यो- “गुरू कपीको गातामा लेखिएको हजूरको नाम उल्टो भएछ ।” निकै साहस जुटाएपछि मेरो बोली झरेर वारदातले अरू उग्र रूप लिन भ्याएन । आफ्नाे कापी नियालेका गुरूले अगि नै किन भनेनौ भन्दै कान मर्दनको अपजस पनि उल्टै हामीलाई नै दिनु भएको थियो । त्यतिबेर गुरूजीको दोस्रो रौद्र रूप देख्ता झण्डै दोहोरो चड्कनचिउरा फेला परेको भन्ने डरले निकैबेर सतायो पनि । सधैँ सिधासाधा मृदुभाषी रहीआएका विचरा वद्री गुरूबाट कुन तामसी अहंकारको विषालु लावाले हामीमाथि जाइलाग्न प्रेरित गर्‍यो ? गुरू आफै त पक्कै त्यस्ता थिएनन् ! आसर्जे लाग्छ संझिदा अहिले पनि । चड्कनकैरूपमा गनिने थप्पड, डण्डा भने कहिल्यै पनि पर्दै नपरेकोले यस ज्यानलाई ऐजनको विषयवस्तु बनाउनु पनि थिएन कि ? घाइते घायल बनाउने मार्काको प्रहार नभई एकदुई दिनको थोरबहुत दुखाइसम्मको कानमर्दन उपहार भएकोले अहिले पनि यो लेखन्तेको दिमागमा गुरूको अनुहार फनफनी घुमिरहेको छ । सधै अनुशासित रहेर कुनै पनि गुरूजनबाट कहिल्यै एक लवज गाली नभेटेको यो बबुरो आप्mनै गुरूबाट सम्पन्न कानमर्दनको फेला चैं कसरी पर्‍यो त ? कुरो चाखलाग्दो र बिर्सिनसक्नु पनि लाग्छ ।

पठनपाठनकै उत्थान र अनुशासन कायम राख्ने विकल्पमा गरिने कानमर्दनलाई नेपाली शिक्षाजगत्ले पर फाल्न या नगीच राख्न पनि सकेकेको छैन । कतिपय छात्रछात्राको भिजिलान्ते जमातबाट आफैं फेला परिएला भन्ने त्रासले जाँच वरपरको समयमा गुरूवृन्द पनि बसपार्क र बाटाहुँदी अदृश्य बन्छ । कसैलाई प्यारो गर्ने र कसैलाई भने कान मर्दनको तारो बनाउँने उनीहरूको बानीले पनि प्रेष्टिज प्रतिष्ठालाई खरानी बनाएको छ । फुट्सल, जीम खाना र रिकुटेका भर्नाकेन्द्रलाई पनि चड्कन उत्पादन र प्रसारणको कित्तामा कम आँक्नु अवस्य हुँदैन । स्कूलका गुरूम्याम कुनै कुरालाई चेतना, उपदेश र सन्देशका रूपमा नलिने या मसिनो आवाज र प्रतिध्वनिको पहिचान गर्न नसक्ने पाखण्डपुराणका- पण्डित गोबर-गणेशका लागि भने गालाको चड्कन ब्लडप्रेसर र मुटुको धड्कन बढाउने कर्ममामात्र सीमित रहन के बेर ? विषालु मदिराले मदहोस पारेझैं अलि दिन ह्याङ्गओभर, झुँगालो, खुमार आदिआदि नाम नामेसीका कुप्रभाव छाडेर यो तामसी अहंकार पनि चराजस्तै भुरूरू टाढा उडीजाने होला, कि ? या कुनै राम्रो पाठ पनि सिकाउला यो चड्कन चिउराको चर्चा-खेतीले ? एक जना कविले त यो चड्कनको भाउ पनि दाउ नपरेको जुवा ठानेर कविता नै पोखिदिएछन् । लू खा त ! शीर्षक जो परेछ “विचरो चड्कन ।”

पटकपटक तिमीले आस जगायौ
काँतर मनहरूबाट एकैछिन भए पनि त्रास भगायौ
तर कहिल्यै तेजाब बनेर
गोहीका हाडछाला पोल्न सकेनौ
मार्तोल बनेर बङ्गारा छिरोल्न सकेनौ
दर्शनढुङ्गा भएर पुर्पुरो सेक्न सकेनौ
चस्मा खसे त के भयो ?
अहिलेसम्म एउटै आँखो फुटेन
निधारमा एउटै टुटिल्को उठेन
भसक्कै कपाल भुत्लिनु त कता हो कता !
एउटै बालसम्म पनि झरेन
शोकसभा हुनु त कता हो कता
तिम्रो काममा एउटै आर्थिक सहायता बाँडिएन
एउटै घाइते उपचारको लागि विदेश गएन ।

हिमचचट्टान बनेर जम्नु पर्ने थियो
तर सधै नौनीजस्तै नरम भएर
गालाहरूमाथि चिप्लिँदै गयौ
पूmल हौ कि पालुवा हौ तिमी
मन्दमन्द समीरको लयमा
मुलायम काउकुती लगाएर
ब्वाँसाहरूलाई खेलाउँदै गयौ
काउसो बनेर चिलाउनु थियो
सिस्नो बनेर पोल्नु थियो
तर उल्टो भयो
झण्डूबाम बनेर हरामहरूलाई आराम दिँदै गयौ
खै के ताल परेर हो ?
सधैं झट्केलो सन्तानको चाल भयो
न अंश पाएर थातथलो बसायौ
न वंश बडाएर पितापुर्खा हँसायौ
उल्टो, सधैं बेवारिस भयौ
सधैं लावारिस रह्यौ
तैपनि किन किन भन्न मन लाग्छ चड्कन
कुनै दिन तिमी नै बनिदिएका थियौ
सारा नेपाली मुटुको धड्कन ।

०००
‘भ्यागुताको श्वेतपत्र’ (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
अथ श्री कोसेली महात्म्यम् !

अथ श्री कोसेली महात्म्यम्...

नरेन्द्रराज पौडेल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x