साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरेत फर्ने रोग

यही दुई-चार महिनाभित्र नै शुद्ध ब्राह्मण बनेर दश-आठवटा श्राद्ध, दश-आठवटा न्वारन र पचास-साठीवटा रुद्रीपाठसमेत भ्याइसकेका रहेछन् । उनकै घरछिमेकको एकजना कुल्ली ठिटाबाट यो रहस्य खुलेपछि कर्मकाण्ड गर्न छाडिदिने कि अर्को पुरेत खोज्न जाने ?

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

काठमाडौँको यस सुरम्य महानगरीमा अब आएर पानीको हाहाकार स्वभावमा भिजिसक्यो, दूधको भाउ सबैले पचाइसके, साग र दालको महँगी दैनिक प्रक्रियामा परिसक्यो, नुन, तेल, मट्टितेलको अभाव र महँगी देश विकासमै रफ्तारमा दिनदिनै र छिनछिनै अघि बढिरहने भएकाले यसमा कसैलाई आश्चर्य लाग्ने छैन । तर हिजोआज एउटा अनौठो अभावले मलाई दिनदिनै पिरोल्न थालेको छ- त्यो हो पुरेतको अभाव । जे-जति आधुनिक भए पनि आफ्नो पुख्र्यौली संस्कार छाड्न सकिएन, जनैपूर्णिमा आए जातले पाएको जनै फेर्नैपर्‍यो, डोरो बाँध्नैपर्‍यो । कुशेऔँसीमा वर्षभरिलाई चाहिने कुश सङ्कलन गर्नैपर्‍यो, डोरो बाँध्नैपर्‍यो । कुशेऔँसीमा वर्षभरिलाई चाहिने कुश सङ्कलन गर्नैपर्‍यो । तिथि श्राद्ध आएपछि मरेका पुर्खालाई पिण्डपानी दिनैपर्‍यो । सुत्केरीको न्वारन गर्नैपर्‍यो । न्वारन गर्ने काम पनि प्रसूतिगृहलाई नै जिम्मा लगाउँ भन्दा मिलेन ।

वर्षौंअघिदेखि पुरेतपीडाको रोगले मानौँ थला परिरहेको थिएँ । यता पात्रो पल्टाउँदा जनैपूर्णे, कुशेऔँसी, सोर्‍हश्राद्ध र दशैँ-तिहारले छोपिसकेका रहेछन् । जनैपूर्णिमा र कुशेऔँसी त पशुपतितिर गएर जसोतसो चलाउँला तर सोर्‍हश्राद्धको तिथिमा श्राद्ध गर्ने बाहुन त अवश्य नभई हुने छैन भन्ने लाग्यो । एकदिन बिहानै उठेर एकजना भद्रभलाद्मीसँग राय-परामर्श लिन पुगेँ । उनले उहिल्यै रानी पोखरीको छेउमा पुरेत उत्पादन केद्र खोलेको जानकारी दिए । सुन्नेबित्तिकै खुसीले प्रफुल्ल हुँदै त्यहाँ पुगी केन्द्रमा सोधखोज गर्दा केन्द्राध्यक्षले उक्त पुरेत उत्पादन केन्द्र अहिले आएर सी.डी.ओ. र डाइरेक्टरदेखि साहित्यकारसम्मका प्राणी उत्पादन केन्द्रमा परिणत भइसकेको जानकारी दिए । कुरा सुनेपछि बढी सोधखोज गर्ने साहस भएन, हान्निएर वनकाली पुगेँ । त्यहाँ पनि एउटा केन्द्र त रहेछ तर यो पनि राष्ट्रिय जात्रामा र ठूलाबडाहरूको भाषण हुँदा वेदजात्रा लगाउनका लागि ब्राह्मण वटुकहरू तयार पार्ने केन्द्र मात्र रहेछ । यतिले आफ्नो काम पूरा हुन नसक्ने देखेपछि म श्लेष्मान्तक वन र गौरीघाटतिर पुरेत खोज्ने काममा पङ्ग्रालिन थालेँ ।

गौरीघाटको पाटीमा एकजना बाहुन बसेका रहेछन् । उनलाई मेरो पुरेत भइदिन मेसो मिलाएर आग्रह गरेँ । उनले मेरो प्रस्ताव सहर्ष स्वीकार गरे । नभन्दै जनैपूणर्िमादेखि उनले बहाली गर्ने कुरामा दुवै पक्षको सहमति भयो । जनैपूणर्िमाको डोरो जसोतसो नवनियुक्त पुरेतका हातबाट बाँधियो । अनि सोह्रश्राद्धको तिथिका दिन समयमै नयाँ पुरेत आए । सिधासर्जाम ठीक पारेर श्राद्ध गर्न बस्यौँ । म कुशपानी समातेर घोरिन थालेँ । उनी सङ्कल्प पढ्न थाले । हरि ॐ तत्सत्बाट अलि पर पुगेपछि संवत्सर, वार नक्षत्र, करण मिलाउँदै गए । अनि अलि नबुझ्ने स्वर बनाएर ‘नछुटाई दिनका दिन बैनी गुलाबचक्की खानू, पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात’ जस्ता विज्ञापन र झ्याउरे गीतका पङ्क्तिहरू बीबीचमा घुसाएर सङ्कल्पको आकारलाई बढाइचढाई गर्नथाले । सुन्दैखेरि म छक्क परेँ । सुरुमा त हिजोआजको सङ्कल्प नै यस्तै हो कि बाहुने संस्कृतिको लवज फोर्न नसकेर छोटो पढेको देखाउन बोली चपाएका छन् भन्ने दोधार पर्‍यो । तर सङ्कल्प सुन्दाचाहिँ बाहुनको पढ्ने क्षमता शून्य बराबर भएको जानकारी पाएँ । सुरु गरिसकेपछि जसोतसो श्राद्ध त सिध्याउनैपर्‍यो । नभन्दै घण्टौँ लगाएर सकियो पनि । दानदक्षिणा दिई भोजन गराएर उनलाई फेरिफेरि आउने कष्ट नगर्नू भन्ने जानकारी गराउँदै बिदाबारी गरेँ । तर खुसी भएर आशीर्वाद दिनुपर्ने बाहुनले रिसले मुरमुरिँदै धारेहात लगाएर आफ्नो बाटो तताए ।

भोलिपल्ट बिहानैदेखि अर्को पुरेतको खोजीमा लागेँ । दुई-चार दिन त्यसै बिते । घुम्दाघुम्दै गोकणर् पुगेर एकजना पुरेत खोज्न सफल भएँ र उनलाई बडादशैँको जमरा राख्न दिनको एक आवृत्ति चण्डीपाठ गर्न बोलाएको थिएँ । निमन्त्रणाअनुसार नै उनी घटस्थापनाको दिन बिहानै खुट्टा लरबराउँदै आइपुगे । नजिक पर्दा थाहा भयो उनका खुट्टा मात्र होइन, आँखा, मुखलगायत समस्त कर्मेन्द्रियहरू नै सोमरसको प्रभावले ग्रस्त भएका रहेछन् । उनी बल्लतल्ल सोफामा बसेर सजिलैसँग भन्दै गए- “हिजोको लोकल अलि कडा परेछ ।” अरू दुई-चार कुरा थपेपछि उनी आफैँ गलल्ल हाँस्न थाले अनि देउराली चुरोट सल्काएर स्वाइँस्वाइँ चार सर्को तानेपछि ख्वाङख्वाङ एकोहोरो खोक्न थाले । यता घटनास्थापनाका लागि पूजासर्जामहरू सबैतयार थिए । उता नवनियुक्त पुरेत भने खोक्दाखोक्दै हिक्कहिक्क गरेर छाद्ने तरखर गर्न थाले, खोकी केही गरे पनि रोकिएन । उनले जतिसुकै रोक्न खोजे पनि र्‍याल र सिङानको, लहरे वर्षामा आँसुसमेत मिसिएर पूरै अनुहार नै खोकीमा पग्लिन थाल्यो । नियालेर हेरेको त निधारभरि चिटचिट पसिना पनि आइसकेछ । उनले पेट पनि उमठेको सङ्केत गरे । मैले भरथेग गरेर शौचालयतिर डोर्‍याएर लगेँ । शौचायलभित्र पुग्न नपाई बाहिरपट्टि नै पुरेतबाजेले झन्डै एक गाग्रोजति पानी छादेँ । यतिखेर आफ्नो घर मात्र नभएर वरिपरि छिमेकीका घरसम्म दुर्गन्ध फैलिएर सबै जना नाक समाउँदै मेरो घरमा भएको तमासा हेर्न थाले ।

एक-दुई घण्टा आराम गरेपछि पुरेत बाजेको हालत अलि सप्रिएर आयो, अनि दोहोरिएको अनुहारमा अलि रङ फिर्‍यो । त्यसपछि गोकणर्सम्म जाने ट्याक्सीभाडा थमाएर उनलाई पुरेत्याइँबाट बिदा गर्न बल्लतल्ल सफल भएँ र यता घटास्थापना र दुर्गापूजाको काम क क न न गरेर आफैँले जसोतसो चलाएँ ।

तैपनि एकजना पुरेत खोजेर कर्मकाण्ड चलाउने आफ्नो आन्तरिक चाहना छँदै थियो । एउटा सूत्र पहिल्याएर पुरेतको खोजमा यसपाला म भक्तपुरतिर पुगेँ । पहिल्याएको सूत्र काम लाग्यो भनौँ, यसपाला भनेजस्तै पुरेत फेला परे भन्ने मनमनै अठोट गरेँ अनि निकट भविष्यमै आइपुगेको आफ्नै जन्मोत्सवका लागि नयाँ पुरेतलाई निम्ता दिएर खुसी मनले घर फर्किएँ ।

नयाँ पुरेतद्वारा आफ्नै जन्मोत्सव भव्य रूपमा सम्पन्न गर्ने अठोट लिएको थिएँ । मैले बोलाएको दिन बिहानै उनी सद्दे हालतमा मेरो घरमा आइपुगे । डाकेको दिन र समयमा नवनियुक्त पुरेत आइपुग्नु राम्रो कुरा थियो । तर उनका साथम उनकी श्रीमती, छोरा, बुहारी, नातिनातिना गरी जम्म सात जनाको डफ्फा रहेछ । कुनै पञ्चभेलाको भोजभतेर या जलपानमा जनप्रतिनिधिहरू मात्रै यसरी हिँडेको देखेको थिएँ, तर आज आफैँले बेहोर्नुपरेकोमा मनमा नौलो अनुभव भइरहेको थियो । नढाँटी भन्दा अर्कातिर मर्का पर्ने कुराहरू पनि त्यत्तिकै थिए । काठमाडौंको ठाउँ र मध्यम वर्ग परिवार भएकाले सिधासर्जामदेखि लिएर खानपिनका सबसाधनहरू सीमित थिए । अर्कोतिर पुरेतको लावालस्करलाई पनि खानापिनदेखि लिएर दानदक्षिणासम्मका चरणहरूमा सन्तुष्ट पारेर बिदा गर्नुभयो ।

पूजाआजाको कार्यक्रम सुरु भयो । त्यति राम्ररी पढ्न नजाने पनि पुरेतले सङ्कल्पजति संस्कृतिमै पढेजस्तो लाग्यो । उनका नातिनातिनाले देउतालाई चढाउन ल्याएको नैवेद्यमाथि ठाडै हात हालेर बेलाबेलामा आतङ्क मचाउन थाले । देवदेवीलाई चढाउन ल्याएका सेल, रोटी, स्याउ र केरा त देवतालाई चढाउनै नपाई पुरेत बाजेका नातिनातिनाको पेटमा पुग्न थाल्यो । केटाकेटीबाट बुझ्दा थाहा पाइयो- कतै निम्ता मान्न जानुपरे अघिल्लै दिनदेखि आफू र आफ्ना सबै जहानहरू भोकै बसेर जजमानमाथि धावा बोल्ने र उछित्तो पार्ने पुरेतबाजेको पुरानो चलन रहेछ । पहिले त्यो कुरा थाहा नपाएको हुँदा आफू आत्मसमर्पणमा पर्न सक्ने कुराको त मैले अनुमान गरिसकेको थिएँ । पूजाआजाको काम जसोतसो सकियो । अनि आफ्ना सबै जहान परिवार तथा अरू निम्तालु व्यक्तिका लागि भनेर तयार पारिएको खानासमेत पुरेतबाजेकै परिवारलाई चढाएर जन्मोत्सवको कार्यक्रम सकियो । अगस्ति बाजेको साक्षात् अवतार देखिने यी बाहुनबाजेलाई पनि अर्कोपटकदेखि नआउने सुझाव दिएर बल्लतल्ल छुटकारा पाएँ ।

कार्तिक शुक्लपक्षमा एउटा श्राद्ध गर्नु थियो, पुरेतको उही हाहाकार ! पाँचसात दिन खोजेपछि एउटा पुरेत बल्लतल्ल फेला परे । अनुहार देख्तै चिठी पनि राम्ररी पढ्न सक्लान् जस्तो त लागेको थिएन तैपनि पुरेतबिना सराद्धरूपी पर्वबाट पार नहुने भएकाले तिथिको दिन उनलाई बोलाएँ । समयमै सद्दे हालतमा किताब च्यापेर उनी एक्लै आए । पहिले त यत्तिमै सन्तोष लाग्यो श्राद्ध सुरु गरेपछि थाहा भयो- यिनका अरू बानीहरू त सबै ठीकै रहेछन् तर चढाउन ठीक पारेका चानचुने पैसा राखेको दुनो आफ्नै निगरानीमा राख्नुपर्ने रहेछ, नत्र बेला-मौकामा जजमानका आँखा छलेर पैसाजति खल्तीतिर भित्र्याइहाल्ने उनको आदत रहेछ । श्राद्ध चरण बढ्दै गएपछि अर्को तथ्य पनि पत्ता लाग्यो । चढाउन ल्याएको नैवेद्यको टपरी नै आफूले होस नपुर्‍याए पहिल्यै पुरेतबाजेको झोलाभित्र भित्रिने रहेछ । धूला पैसा र नैवेद्य काण्डलाई लिएर हाम्रो दम्पतीमा झन्डै गृहकलह परिहालेको ! यति दोषलाई क्षम्य सम्झिएर श्राद्ध सकेपछि उनलई फेरि नआउने आग्रह गर्दै बिदा गरिदिएँ । यतिका बाहुनलाई पुरेत बनाउन पाएकोमा आफूलाई धन्य सम्झिएको थिएँ ।

केही दिनपछि थाहा भयो- मैले पुरेत लगाएका महाशय त बाहुनवर्गकै माइलाबाजेका सन्तान पो परेछन् । रामेछापतिरबाट कुल्ली काम गर्न काठमाडौँमा बसेका जैसीबाजे आर्यघाटमा नुहाइ-धुवाई गरेर जनैपूर्णिमाको डोरो बाँध्न बसेपछि पुरेतबाजे बन्न पुगेका रहेछन् । यही दुई-चार महिनाभित्र नै शुद्ध ब्राह्मण बनेर दश-आठवटा श्राद्ध, दश-आठवटा न्वारन र पचास-साठीवटा रुद्रीपाठसमेत भ्याइसकेका रहेछन् । उनकै घरछिमेकको एकजना कुल्ली ठिटाबाट यो रहस्य खुलेपछि कर्मकाण्ड गर्न छाडिदिने कि अर्को पुरेत खोज्न जाने भन्ने कुरामा मैले अहिलेसम्म निधो गर्न सकेको छैन ।

०००
‘मङ्की स्टेट याने वानरराज्य’ निबन्धसङ्ग्रह (२०५९)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
1 year ago

लेखको छनकबाट त लेखक पनि पुरेत फ्याक्ट्रीकै उत्पादन हुनुहुँदो रहेछ कि जस्तो आभास भयो । फित्कौलीका पाठकलाई यति रसिलो खुराक दक्षिणा नलीई रसवादन गराउनुभएकोमा धोक्राका धोक्रा साधुवाद लेखकलाई !

Nepal Telecom ad
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
अथ श्री कोसेली महात्म्यम् !

अथ श्री कोसेली महात्म्यम्...

नरेन्द्रराज पौडेल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
1
0
Would love your thoughts, please comment.x
()
x