सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भ्रष्टपत्र

अब सरकारले धार्मिक पर्यटनको विकास गर्नु छ भने मेरो मन्दिर बनाउनमा लगानी गरे हुन्छ । मलाई मात्र भगवान माने हुन्छ । नाम जे राखे पनि हुन्छ जस्तै, भ्रष्टदेवालय, अथवा भ्रष्टकामना मन्दिर ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

Laxman Gamnage

श्री भगवान,
तिम्रो ठेगाना कहाँ हो मलाई थाहा भएन । मन्दिर हो कि, मस्जिद हो कि, गुम्बा हो कि, चर्च हो, अथवा अन्यत्र कहाँ हो ! ठेगाना अनिश्चित भएकोले यो चिठीलाई सार्वजनिक रुपमा प्रकाशित गर्नु परेको हो । मेरा कुरा सुनेर तिमी छक्क नपर्नू । हुन त तिमी न छक्क पर्छौ, न खुशी हुन्छौ, न दुःखी हुन्छौ, न कुनै प्रतिकिया नै जनाउँछौ । वास्तवमा मलाई तिम्रो अस्तिङ्खवमाथि पूरै शंका छ । तर पनि म चिठी लेख्दैछु । कम्तिमा आफ्नो गौरव गाथा गाउँदैछु । तिमीभन्दा ठूलो म हुँ भनेर तिम्रा कथित् भक्तहरूलाई जानकारी दिँदैछु । मलाई यसरी घमण्ड गर्न कुनै हिचकिचाहट हुँदैन । घमण्ड गर्नु मेरो धर्म हो, मेरो कर्तव्य हो । किनभने म हुँ नै भ्रष्टाचार । संसारको एकनम्बर शक्ति । संसारको मालिक ।

कति मान्छेहरू भन्छन् तिमी हौ सर्वोच्च शक्ति । तर त्यो उनीहरूको भ्रम हो, ढोङ हो र छल हो । तिमीलाई देखाएर मसँगको सम्बन्धलाई उनीहरूले ढाकछोप गर्न खोजेका मात्र हुन् । हुँदै नभएको शक्तिको त्रास देखाएर मसँग अहोरात्र सहवास गर्ने टाठाबाठा र भ्रष्टहरूको जुक्ति हो । उनीहरू तिमीलाई भन्दा मलाई हजारगुणा बढी चाहन्छन् तर परपरै बसे जस्तो, घृणा गरेजस्तो स्वाङ पार्छन्, किनभने भ्रष्ट आचरणलाई लुकाएर उनीहरू सज्जन झैं देखिन चाहन्छन् । यसरी दुनियाँका आँखामा छारो हालेर झुक्याउनु भनेको मेरो भक्ति गर्नु हो, त्यसैले म तिनीहरूसँग एकदम प्रशन्न छु वत्स !

तिम्रो भन्दा मेरो प्रभाव कैयौँ गुणा बढी हुन्छ भनेर तिमीलाई सम्झाउनु नपर्ला । तिमीलाई मानिसहरूले मन्दिरहरूतिर थुनेर राखेका हुन्छन् तर मलाई हृदयमै राखेका हुन्छन् । तिम्रा पछि लाग्ने मानिसको संख्या सिमित हुन्छ, मेरो आराधना गर्ने संसारभरिका झण्डै सबै मानिस हुन्छन् । म दावाका साथ भन्छु मैले मानिसहरूका हृदयबाट तिमीलाई विस्थापित गरेर एकलौटी डेरा जमाइसकेको छु ।

मेरो शक्ति तिम्रो जस्तो अमूर्त छैन । मान्छेले मनले मात्र तिमीलाई अनुभूत गर्छन्, मलाई त उनीहरूले प्रत्यक्ष भोगिरहेका छन् । आँखा अगाडि मेरो प्रभाव छर्लङ्ग देखिरहेका छन् ।

मलाई बास बसाउनका लागि मान्छेले कुनै घडेरी दिनु पर्दैन । चन्दा उठाई उठाई घर बनाइदिनु पर्दैन, गजुर हालिदिनु पर्दैन । मेरो आराधना गर्न घण्ट बजाउनु पर्दैन । माइक लगाएर भजन गाउनु पर्दैन । तीर्थ धाउनु पर्दैन । लाममा उभिनु, ठेलमठेल गर्नु, भागदौड गर्नु, किचिनु, थिचिनु वा मर्नु पर्दैन । म सदा मान्छेको मष्तिष्कमा चढेर यात्रा गर्छु । मान्छे जहाँ जहाँ जान्छ म स्वतः त्यहीँ पुग्छु ।

म तिमी भगवान जस्तो कुनै जात, धर्म, सम्प्रदायलाई मात्र काखी च्याप्ने गर्दिनँ । संसारभरिका सम्पूणर् मानव मेरा लागि बराबर भक्त हुन्, अझ भनौँ दास हुन् । म तिनीहरूको साझा मालिक हुँ ।

म सर्वमान्य छु, तर तिमी बढी विवादास्पद छौ । तिमीलाई पूजा गर्ने पनि छन्, नगर्ने पनि छन् । तिमी अनेकौँ गुट उपगुटमा विभाजित छौ । तिम्रै नाममा मानिसहरू काटमार गर्छन्, आगजनी र हत्या गर्छन् । गेरुवश्त्र ओडेर तिनीहरू तिम्रो मूर्ति अघिल्तिर निहुरिन्छन् र मुखले तिम्रो किर्तन गाउँछन्, मनले भने मेरो आराधना गर्छन् । सातपुस्तालाई पुग्ने गरी कमाउन सकूँ, सबैलाई जितूँ उछिनूँ, प्रतिस्पर्धीहरूको नास होस्, फलानाको सत्यानास होस्, त्यसको मति भ्रष्ट होस्, त्यसको कुटी नदीले बगाओस्, भन्दै उनीहरू तिम्रै सामुन्ने भ्रष्टाचरणमा चुर्लुम्म डुब्छन् । कम्बल ओडेर घिऊ पिउनेहरूको बिगबिगी छ यो संसारमा । संसारमा भ्रष्टाचारको आराधना नगर्ने मानिस करोडमा एक पनि छैनन् । यस्तो अवस्थामा कोही भ्रष्टाचारलाई निमिट्यान्न पार्छु भनेर लाग्छ भने आखिरमा उही निमिट्यान्न हुन्छ । मेरो शक्तिलाई राम्ररी चिन वत्स !

संसारमा तिम्रा भक्तहरू घटिरहेका छन्, मेरा भक्तहरू बढेको बढेकै छन् । जस्तासुकै ठूला आपत विपत पर्दा पनि उनीहरूले मेरो साथ छाड्दैनन् । उनीहरू मेरा लागि आफ्नो जीवन उत्सर्ग गर्न पछि पर्दैनन् । मान, प्रतिष्ठा, परिवार, इज्जतको कुनै पर्वाह नगरी अन्धभक्त भएर मेरा पछि लाग्छन् । कतिपय मुलुकमा मेरा भक्तहरूलाई मृत्युदण्ड समेत दिइन्छ, तर पनि उनीहरू भ्रष्टाचारमा लिप्त हुन्छन्, मेरो भक्ति गर्न छाड्दैनन् । उनीहरू सहिद हुन पनि पछि पर्दैनन् ।

म कहाँ छैन ? मन्त्री, सांसद, नेता, कार्यकर्ता, कर्मचारी हरेकका दिलदिलमा बिराजमान छु । ठेकेदार, उद्योगी, व्यापारी, मास्टर, डाक्टर, इन्जिनियर, अडिटर मात्र होइन, किसान, मजदूर वा भरियासँग पनि मेरो नियमित उठबस छ । साधु, सन्त, महन्त, माता, बाबा सबका हृदयमा म छु । जहाँ हुँदै नहुनु पर्ने हो त्यहाँ झन् बढी छु । न्यायमूर्तिहरूका खोपडीमा गुटमुटिएको छु, अख्तियार दुरुपयोग रोक्ने अधिकारीहरूका मनमा लुटपुटिएको छु । मेरा विरुद्ध चर्काचर्का नारा लगाउँदै जुलुस गर्ने अभियन्ताहरूका हृदयमा विराजमान छु । सुशासन स्तम्भमा नियमित कलम चलाउने लेखक पत्रकारका खोकिलामा छु । म सर्वत्र छु, सर्वव्यापि छु ।

यी सांसारिक लोभीपापी मान्छेहरूका के कुरा, तिम्रा प्रतिनिधि भनिने देवता र ऋषिमुनिहरूलाई पनि मैले आफ्नो वशमा राखेको छु । उनीहरूका भ्रष्टाचारका कथा अनेकौँ शास्त्रहरूले बताएकै छन् । उनीहरूले गरेका छलकपट, परस्त्री-परपुरुषगमनका कथा, तपस्वीहरूमाथि गरेका षड्यन्त्र र घातका कथा, बलात्कार र व्यभिचारका कथा । तिनीहरूलाई समेत दास बनाउन सक्ने मेरो शक्ति सम्झेर मलाई बेलाबेलै आफैँ अट्टहास गरेर हाँस्न मन लाग्छ वत्स !

विचरा सन्तहरू, महात्माहरू, गुरुहरू, पादरीहरूले त के भ्रष्टाचार गर्लान् र भनौला । देउताले त भ्रष्टाचार गर्छन् भने को हुन् यी सन्त महन्त भन्ने मेरो निष्कर्श छ । काम, क्रोध, लोभ, मोह जस्ता तामसी दुर्गुणहरू त्यागेर साधारण मान्छेभन्दा माथि उठेको भन्छन् उनीहरू आफूलाई । तर किन उनीहरू एकआपसमै अस्वस्थ्य र घृणित प्रतिश्पर्धा गर्छन् ? किन एकले अर्काको अस्तित्व सिध्याउने प्रयत्न गर्छन् ? किन हिंसा मच्चाउँछन् ? किन सार्वजनिक सम्पत्ति, बनजङ्गल, जमिन हडपेर आफ्ना लागि महलहरू बनाउँछन् ? किन आफ्नो नाम र यशको प्रचार प्रसार गर्न मरिहत्ते गर्छन् ? किन भक्तहरूभन्दा उच्च सिंहासनमा बसेर चम्मर हल्लाइमाग्छन्, खुट्टा धुवाउँछन् ? किन राजनीतिमा हस्तक्षेप गर्छन् ? किन शक्ति केन्द्रहरूसँग साँठगाँठ गर्छन् । किन व्यापारमा लगानी गर्छन् ? किन अनेकौँ गुटउपगुटका दोकान खोलेर भक्तहरू भेला गर्छन् ? बिचार गर, तिनीहरू किन यति धेरै भ्रष्ट भए भने तिनीहरू मेरो कब्जामा छन् । तिनीहरू पनि मेरा दासहरू नै हुन्, म जे चाहन्छु उनीहरू त्यही गर्छन् ।

म हेर्दा कहीँ देखिन्न तर वास्तवमा म छु । तिमी गल्लीगल्लीमा गजुर हालेर बसेका देखिन्छौ तर वास्तवमा तिमी छैनौ । तिमी कि त भक्तहरूका कल्पनामा छौ कि त ढुङ्गाका मूर्तिमा मात्र । यदि कसैले तिमी छौ भन्छ भने तिमी पनि कम भ्रष्ट छैनौ । तिमीलाई पनि मैले थिचेरै राखेको छु । नत्र तिम्रो पूजाआराधना गर्न तीर्थवर्तमा हिँडेका भक्तजनका सवारी साधनलाई तिमी किन बेलाबेलै भिरबाट गुल्टाउँछौ ? किन आफ्नै मन्दिरको छत भत्केर गरिब मजदूर मर्दा जोगाउँदैनौ ? तिम्रो मूर्तिलाई तस्करले उडाएर युरोप पुर्‍याउँदा तिमी किन त्यसलाई कारबाही गर्दैनौ ? तिमीलाई स्थापना गरेको मन्दिर र कम्पाउण्ड भ्रष्टाचारीले प्लटिङ गरेर बेचुन्जेल तिमी के हेरेर बस्छौ ? मन्दिरमा बढी पैसा तिर्नेले तिम्रो छिटो दर्शन पाउने नियममा भ्रष्टाचार छ कि छैन ? मन्दिर वा मस्जिद बाहिर माइक लगाएर वरपर बस्ने मानिसको शान्ति खलल गर्नु भ्रष्टाचार हो कि होइन ? आर्थिक प्रलोभन देखाएर धर्म परिवर्तन गराउनु भ्रष्टाचार हो कि होइन ? मूर्ति वा शिवलिङ्गमा चढाएको भेटी पूजारीले किन सुटुक्क गोजीमा हाल्छ ? कर्मकाण्डी पुरोहितले पुस्तकका पाना खप्टेर छिटो छिटो कर्मको काण्ड पुर्‍याएर अर्को जजमानकातिर दगुर्नु भ्रष्टाचार हो कि होइन ? पुराणका नाममा पण्डितले नर्तकनर्तकी नचाएर दाताहरूलाई लठ्याएर, ढाँटेर, झुक्याएर दान झार्नुमा कति सदाचार छ ? ल हेर त, जताततै मेरो बिगबिगी !

गरिब दुखीले भ्रष्टाचार गर्न पाउँदैन भन्नेहरू पनि छन्, त्यो भावनात्मक कुरा मात्र हो । यी यहाँ हेर, यस्तो दुब्लो पातलो मरिन्च्याँसे मान्छे जो यो दुर्गन्धित खोला किनारामा थोत्रो ठेलागाडामा राखेर बटुवाहरूलाई चटपटे बेचिरहेको छ, के यो चोखो छ ? छैन, गच्छे अनुसारको भ्रष्टाचार यसले पनि गर्छ । यसले झिँगा भन्केका बासी खानेकुरा बेच्छ । जिऊ कन्याएको, सिँगान पुछेको दुषित हातले चटपटे बनाएर बच्चाहरूलाई खुवाउँछ, रोग सार्छ । मौका पायो भने ग्राहकसँग दुईचार पैसा बढी पनि असुल्छ । कसैले झुक्किएर बढी पैसा दियो भने लुसुक्क लुकाउँछ, फिर्ता गर्दैन ।

एउटा गिट्टी कुट्ने मजदूरले पनि मौका पायो भने एक डोको बढी गिट्टीको ज्याला लिइदिन्छ । किसान बिचरा पनि मौका नपाउन्जेल सदाचारी हुन्छ, मौका पाउँदा चौका हान्न पछि पर्दैन । आफूलाई खाने तरकारी छुट्याएर बेच्ने तरकारीमा विषादी हाल्छ । दूधमा पानी मिसाएर होटलमा पुर्‍याउँछ । छोराछोरीलाई ढिँडोले मुख टालिदिएर तरकारी लगेर बजारमा बेच्छ । अलिकति बढी दाम आउने देख्यो भने आँगन काटेर घडेरीमा बेच्छ । आम्दानीले धान्नै नसक्ने गरी सन्तान जन्माउँछ र अलपत्र पार्छ । के यो सानो भ्रष्टाचार हो ? छोराछोरी बाबुआमासँग भ्रष्टाचार गर्छन्, बाबुआमा छोराछोरीसँग गर्छन् । सबै आमाले आफ्ना सबै सन्तानलाई बराबरी माया गर्दैनन् । एउटी आमाले शिशु जन्माएर झाडीमा फाल्छे । लौ त बालक, यो संसारमा मेरो दबदबा नभएको एउटा कुनु देखाऊ मलाई !

खासमा मानिसले नबुझेर वा बुझ पचाएर तिम्रा मन्दिरहरू बनाएका हुन् वत्स ! अतः अब सरकारले धार्मिक पर्यटनको विकास गर्नु छ भने मेरो मन्दिर बनाउनमा लगानी गरे हुन्छ । मलाई मात्र भगवान माने हुन्छ । नाम जे राखे पनि हुन्छ जस्तै, भ्रष्टदेवालय, अथवा भ्रष्टकामना मन्दिर । मानिसहरूलाई घोषणा गर्नु पर्छ कि यो मन्दिरमा पूजा गर्नाले आफ्नो भ्रष्टाचार गर्ने मनोकांक्षा पूरा हुनेछ । भ्रष्टाचारमा सफल भइनेछ । त्यसपछि देखौला कसरी मानिसहरू तिम्रा मन्दिर, मस्जिद, गुम्बा वा चर्च छाडेर हामफल्दै मेरा मन्दिरतिर आउनेछन् र धार्मिक पर्यटन मार्फत् देशको कायापलट हुनेछ ।

धेरै आफ्नो बखान के गरुँ ! आजलाई यति नै । तिम्रो कुनै बिन्तिभाऊ छ भने लेख्नू ।
-उही संसारको मालिक भ्रष्टाचार ।

०००
कीर्तिपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०
भत्काउन सजिलो छ

भत्काउन सजिलो छ

अशोककुमार शिवा
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल