सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नब्बे दिन कारावास !

झमक सरलाई नाटके लेख्ने जिम्मेवारी दिएका थियौँ। नाटकको निम्ति अस्तिको हप्ता पाँच हजार रुपियाँ पेस्कीस्वरूप पनि दिइसकेका छौँ। आज फेरि पाँच हजार बुझाउनु आएको सरलाई ।

Nepal Telecom ad

कृष्ण प्रधान :

पात्रहरू – बेलासिंह (झमककी श्रीमती), झमकसिंह (नाटककार), विजय, शरद, सब इन्सपेक्टर, कुमार, पार्वती, मणि (इन्सपेक्टर इन्चार्ज) ।

(दृश्य विवरण – समयः बिहान । मध्यवित्त परिवारको साधारण कोठा । नाटककार झमकसिंह नाटक लेख्नमा व्यस्त देखिन्छ । भान्सा कोठाबाट श्रीमती बेलाको आवाज कोठाभरि छरिँदा झमकसिंह सामान्य झस्किन्छ)

बेलासिंह – खै तपाईंंको अझसम्म भएको छैन ? पानी तताएको एक घण्टा भइसक्यो । पानी सेलायो भने मलाई फेरि गनगन् नगर्नु होला है ।
झमकसिंह – (भान्सा कोठासम्म आवाज पुग् गरी) भयो… भयो… आइहालेँ… यो सिन्कम्पलिट हुनै आँट्यो ।
बेलासिंह – (भित्रबाटै) भयो… तपाईंको सिन् अब कम्पलिट हुने पनि होइन ।
झमकसिंह – त्यस्तो लोदरे कुरा नबोलन बेला ।
बेलासिंह – (मूल कोठामा प्रवेशिँदै कड़्केर) के…को लादरे कुरा हौ…के को लोगरे कुरा ? अहिले तपाईंकै दुनियाँभरका साथीहरू आएर तपाईंलाई डिस्टर्ब गर्छन् र पो भनेकी ता ।
झमकसिंह – किन ? मेरो साथीहरू आउँदा तिमीलाई आह्रिस लाग्छ ?
बेलासिंह – अप्पुई ! मैले किन आह्रिस गर्नु ?
झमकसिंह – चिया बनाउनुपर्छ भनेर…
बेलासिंह – (एक्कासी रुँदै) यो घरमा चिया बनाउनु र खाना पकाउनु ता आकी हुँ नि म । अरु ता के कामै पो छ र यो घरमा !
झमकसिंह – (सामान्य मुस्कुराउँदै) अरे बेला ! तिमी ता यो घरकी मालिकनी…घरपतिनी ।
बेलासिंह – (रुञ्चे स्वरमा) के को घरपतिनी ! के को मालिकनी ? दासी भन्नोस् न दासी ।
झमकसिंह – बेलु ! तिमी यो के भन्दैछ्यौ ? तिमी ता यस घरकी लक्ष्मी हौ साक्षात् लक्ष्मी । मेरो हृदयकी रानी । (हलुका पाराले गाला चिमोट्छ) ।
बेलासिंह – (गाला मुसार्दै) तपाईंको छिप्पटे हातले मेरो आइफलजस्तो गाला नचिमोटनोस् (उता धकेल्छे) ।
झमकसिंह – अरे ! तिम्रो गाला आइफलजस्तो छ कि राइफलजस्तो छ त्यो ता मलाई मात्रै थाहा छ नि ! हल्ला पो गर्नु हुँदैन ।
बेलासिंह – (सामान्य ठुस्केकी भावमा) होस् न ता अर्काको गाला आइफलजस्तो होस् कि राइफलजस्तो होस् तपाईंलाई के खाँचो ?
झमकसिंह – अन्त मेरो गाला छिप्पट होस् कि सिलिक्क परेको होस् तिमीलाई के को आपत्ति !
बेलासिंह – छिप्पट हातलाई छिप्पट नभनेर अन्त सिल्पट भन्नु ?
झमकसिंह – (ठट्टा स्वाभावमा) बेलु ! यो मेरो हात जेजस्तो भए पनि यो हात चाहि वेदव्यसको हात हो बुझ्यौं ? वेदव्यासको यो हात अब तिमीलाई छिप्पट लाग्न थाल्यो ? वाह ! बेलु वाह ! यो हात नाटक लेख्ने हात हो । बाँदरलाई के थाहा अदुवाको स्वाद ?
बेलुसिंह – (खिसी गर्दै) अम्मुइ ! कतै नभएको नाटक लेख्ने हात….
झमकसिंह – (भावुकतामा) हेर बेलु ! नाटककारकी अर्धाङ्गिनी नाट्यप्रेमि नभए कुनै पनि नाटककार फस्टाउन, मौलाउन सक्दैन । नाटकको बजारमा जति पनि नाटककारहरू ख्यातिको सिरानमा पुगेका छन् ती सम्पूणर् नाटककरूको ख्यातिको पछि उनीहरूकै अर्धाङ्गिनीको सोह्रै आना भूमिका छ । जस्तो माई डियर बेलुको हात । यो नाटककार सँगसँगै मिसेस बेलुसिहंको पनि ता ख्याति चुलीमा पुगिसकेको छ । होइन र !
बेलासिंह – (अट्टहासमा) हा… हा… हा… भयो झमकबाबु भयो । महान् नाटककार महोदय ! मलाई त्यस्तो ख्याति पनि चाहिएन अनि त्यस्ता ख्यातिप्राप्थ नाटककार पनि चाहिएन । मलाई ता मेरै सद्दे पति चाहिन्छ ।
झमकसिंह – ए कुरा त्यसो पो ? नाटककार हो भनेर जान्दा जान्दै फेरि किन आयो ता लुपुक्क भएर यो लबरपाँडे नाटककारसित ।
बेलासिंह – घर संसार, स्वास्नी, छोरा छोरी सबै बिर्सेर रातदिन नाटकमै डुबिरहन्छ भन्ने थाहा पाएकी भए ता तपाईंसित ईस्… आउँथे पो होला !
झमकसिंह – ओ…त्यसको अर्थ राति म टुन्न भएर आई घरमा रडाँको मच्चाउनुपर्ने ?
बेलासिंह – त्यो ठिकै थियो बरु । त्यै ठिकै थियो । माते पनि, कुटे पनि वा रड़ाँको मच्याए पनि कम्तिभन्दा कम्ति घरको ता ख्याल राख्नेथिए ।
झमकसिंह – त्यसको अर्थ मैले मात्नुपर्ने ?
बेलासिंह – तपाईंलाई कसले मात्नु भन्यो ?
झमकसिंह – तिम्रो इण्टेन्शन चाहिँ के हो ता !
बेलासिंह – रातदिन नाटक लेख्नुमा मात्रै नडुबेर यसो घरको पनि ख्याल रोक्नुपर्छ भनेको पो ता मेरो हजूर ! (झमकसिंहलाई अँगालो हाल्न खोज्छे) ।
झमकसिंह – (बेलादेखि पन्सिँदै) भयो… भयो… मलाई अँगालो हाल्नु पर्दैन ।
बेलासिंह – अरे ! तपाईंलाई माया गर्नु पनि हुँदैन मेरा राजा !
झमकसिंह – (सामान्य दङ्ग्याएको भावमा) के को राजा ? अघि मैले तिम्रो गाला छुँदा ता बजायो ता किसिम बाजा ।
बेलासिंह – हजुरले पनि ता कस्तो साह्रो चिमोट्नु भयो नि ता !
झमकसिंह – अरे ! त्यो चिमोटेको कहाँ हो र अन्त… (यतिबेलै नेपथ्यबाट विजयको आवाज कोठाभरि थुरिन्छ ।)
बेलासिंह – लु फेरि को आए… आजको दिन फेरि यत्तिकै बित्ने भयो । अब तपाईंको नुहाइ पनि गयो… । मलाई चैँ चिया-सिया बना नभन्नुहोस् है (प्रस्थान)।
विजय – (नेपथ्यबाट) झमकज्यू ! झमकज्यू !! झमकज्यू हुनुहुन्छ ?
झमकसिंह – (नेपथ्यितिर हेर्दै) आउनोस्… भित्रै आउनोस्… (भित्र कोठामा पस्नलाई विजयले जुत्ता खोल्न थाल्छ) अरे ! विजयज्यू जुत्ता नखोले पनि हुन्छ… बस्नोस् न । (विजय सोफामा बसेपछि) यी बिहानैदेखि तपाईंकै काममा लागिपरेको छु ।
विजय – (हाँस्दै) अच्छा ! अच्छा ! कतिसम्म पुग्नेभो ?
झमकसिंह – अहिल्यै सुन्नुहुन्छ ?
विजय – झमकज्यू ! तपाईंले लेख्नुभएको नाटक सुन्ने प्रश्नै आउँदैन नि ।
झमकसिंह – त्यस्तो कुरा गरेर मलाई लज्जित नबनाउनोस् हजूर ! तर नाटकको विगिनिङ चैँ कृपया सुनिदिनोस् ।
विजय – हो ठिकै हो झमकज्यू ! नाटकको बिगिनिङ् र एण्डिङ नै वास्तवमा असल हो क्या ! स्टार्ट राम्रो भए नाटक अटोमेटिकल्ली….
झमकसिंह – (कुरा काट्दै)… सक्सेस् । विजयज्यू ! एकैपल्ट बिगिनिङ् मात्रै सुन्नोस् र स्पष्टै भन्नोस् नाटकको स्टार्टिङ् कस्तो भयो । तपाईं आउट स्पोकन हुनुहुन्छ र म ढुक्कै छु । (विजय सामान्य मुस्कुराउँछ मात्र । सुन्नुहोस् है… (झमकसिंह स्क्रिप्ट गर्न थाल्छ) सुन्नोस् है राम्ररी ! एउटा केटो दगुर्दै घरभित्र स्वाट्टै पस्छ । त्यसपछि । त्यसपछि…
विजय – (कुरा काट्दै)… केटोको उमेर नि !
झमकसिंह – यस्तै ६ देखि ८ वर्ष ।
विजय – ठिकै छ । यसरी बाल कलाकारलाई हामीले बेला-बखत मञ्चमा निकाल्नुपर्छ । हाम्रो नेपाली नाटकमा बाल कलाकारको साह्रै अभाव छ ।
झमकिसंह – (गजक्कै हुँदै) यसै र ता मैले बाल कलाकारलाई इण्टरड्यूज गरेको हुँ विजयज्यू !
विजय – एक्सलेण्ट ! एक्सलेण्ट ! त्यसपछि….
झमकसिंह – केटो घरभित्र पस्ने बितिक्कै त्यसले हाफप्याण्टको खल्तीबाट एउटा सिग्रेट निकालेर ओँठमा च्याप्छ ।
ओँठमा सिग्रेट च्यापी सिग्रेट सल्काउँन माचिस खोज्दै गर्दाको समयमा केटोकी आमाको प्रवेश । आमा सोध्छिन्, के गर्दैछस् ? नडराई केटो बोल्छ, सिग्रेट सल्काउनलाई माचिस खोज्दैछु आमा ! आमा नम्र स्वरमै भन्छिन्, माचिस मसित छ… खोई दे तेरो सिग्रेट म सल्काइदिन्छु ।
विजय – (छक्क पर्दै) यो के गर्नुभाको झमकज्यू तपाईंले ? यो ता कुटाइ खाने मेलो भएन र !
झमकसिंह – (शान्त भावमा) पखनोस् विजयज्यू पखनोस् ?! अचेल यस्तो खाले नाटक चल्दैन होइन तर विजयज्यू प्रोगेसिभ नाटक लेख्नु कत्रो हिम्मत चाहिऩ्छ तपाईंलाई ता थाहै छ ।
विजय – तरर यसरी…
झमकसिंह – तपाईंले के भन्नु चाहनुभएको सो मैले बुझेँ । म पनि आँ गर्दा अलङ्कार बुझ्छु नि विजयज्यू । अनि त्यसपछि सुन्नुहोस्… आमाले छोरोको ओँठबाट सिग्रेट थुतिवरी आफ्नै औँठमा च्यापेकी मात्र के हुन्छ केटोका पिता अचानक प्रवेश हुन्छ मञ्चमा । पिता भन्छन्, के हुँदैछ यहाँ ? आमाको संवाद ? सिग्रेट सल्काउँदैछु । पिताको संवाद, सिग्रेट ? कसको ? केटो डराउँदै भन्छ, मेरो हो बाबा ! पिता घरे उचाल्ने गरी बोल्छन् – खै ले तेरो सिग्रेट म सल्काइदिन्छु ।
विजय – (अत्तालिएको भावमा) अरे झमकज्यू…।
झमकसिंह – (स्क्रिप्ट सुनाउन मस्त भावमा) तपाईं एकक्षण चाइँचुइँ नगर्नोस् ता विजयज्यू ! पहिले सुनिसक्नोस् अनि मात्र अन्त्यमा कमेण्ट गर्नोस् ।
विजय – ओके… ओके… !
झमकसिंह – त्यसपछि के हुन्छ विजयज्यू ध्यान लाएर सुन्नोस् ….अब पो छ ता इण्ट्रेष्टिङ । अँ आमाको हातबाट पिताले सिग्रेट थुत्ने हुँदा सिग्रेट भूइँमा खस्छ । सिग्रेट भूइँमा खस्ने बित्तिकै त्यो केटो कोहोलो मच्चाएर रुन थाल्छ ।
विजय – ओहो ! झमकज्यू…यस्तो के लेख्नुभएको ? यो ता… ।
झमकसिंह – पहिला भन्नोस् केही जम्यो कि जमेन ?
विजय – यसरी समाजमा… ।
झमकसिंह – हो विजयज्यू मैले तपाईंको मनसाय बुझेँ । तपाईंले खान भन्नुभएको… ।
विजय – (कुरा काट्दै) छोरा-आमा-बाबले एकैसाथ सिग्रेट खाएका… ।
झमकसिंह – (कुरा काटेर) ओहो विजयज्यू ! त्यही कुरा ता मैले मेरो यो नयाँ नाटकमा देखाऩु खोजेको हुँ । मैलै मार्फत् एउटा सजेशन अर्थात् सन्देश भनौँ वा म्यासेज दिन खोजेको छु आजको वर्तमान अभिभावक समाजलाई । विजयज्यू यस नाटकमा एउटा सिम्बल छ, विम्ब अनि प्रतीकको समन्वय ।
विजय – खै म के जानुँ के बुझुँ तपाईं नाटककारहरूले प्रयोग गर्ने विम्ब अनि प्रतीक । मैले राम्ररी… ।
झमकसिंह – (कुरा काट्दै) अरे सुन्नुहोस् न विजयज्यू ! सिग्रेट आफ्नो हातबाट गुमेपछि केटो ग्वाँग्वाँती रुँदै प्रस्थान । सिग्रेट भुइँमा झरेपछि दुइ बिरालाहरू माछा तानातान गरेजस्तो सिग्रेट थुप्न हस्याङ्फस्याङ् गर्न तम्सन्छन् तीनैजना परिवार । बिराला र माछाको कथा ता सुन्नु भएकै छ ।
विजय – भन्नोस् न किन नसुन्नु ?
झमकसिंह – अन्त्यमा दुइजना अर्तात् दुवै लोग्ने-स्वास्नीले सिग्रेट आधा-आधा बाँड़्ने निणर्य लिन्छन् । यतिबेला अघि रुँदै प्रस्थान भएको छोरो वा केटो अचानक मञ्चभित्र प्रवेशिन्छ अनि घरै उचाल्ने गरी फेरि कहाली मच्चाउँदै रुन्छ र संवाद हाँक्छ – मेरो सिग्रेट मिठाइ खै ?
विजय – (हाँस्दै) हा… हा… हा… ! एक्सलेण्ट ! एक्सलेण्ट… विजयज्यू एक्सलेण्ट ! यसैलाई ता भनिन्छ सस्पेन्श । यस्तै म्यासेज ता चाहिन्छ नाटकमा । प्रथमचोटि दर्शकहरू भड्केलान वा दिक्क मान्लान् । त्यहीँ ता एकजना सफल नाटककारको सक्सेस हो विजयज्यू । मैले जाने अनुसार जति दर्शकलाई भड्काउनु सक्नुहुन्छ त्यति नै नाटक हण्ड्रेड पर्सेण्ट सक्सेस हुन्छ भन्ने मेरो धारणा छ ।
झमकसिंह – (सामान्य हर्षित मुद्रामा) त्यसो भए तपाईंलाई नाटकको बिगिनिङ मनपऱ्यो होइन सर !
विजय – मनपर्‍यो, तपाईंजस्ता अहिलेका जल्दा-बल्दा नाटककारले लेखेका नाटक मन नपर्ने ता कुरै आउँदैन नि झमकज्यू… कुरै आउँदैन । तपाईंले यसलाई कुनै अधूरा नराखी, सात काम पन्छाएर पनि झट्टै कम्पलिट गर्नोस् ।
झमकसिंह – तर केही पेशगी दिनुभएको भए….
विजय – अरे ! त्यसमा केही छैन । हेर्नोस्, झमकज्यू ! म चैँ यस्तो सेक्रेटेरी हुँ कि झमकज्यू… नाटककारहरूको मर्म बुझ्छु (मनिपर्सबाट पैसा निकालेर) लिनोस् अहिले दुई हजार पेस्कीस्वरूप लिइराख्नोस् । म बेला बेला आउँदै गर्छु । स्क्रिप्ट अघि बढ्दै गए फेरि पनि दिइराखुँला । तपाईंको पारिश्रमिकबारे तपाईंले सुर्ताउने कुनै कामै छैन । डण्ट वरी । (प्रसङ्ग बद्लिँदै विरक्तिएको भावमा) यो नाटक आयोजन गर्न सब कमिटिको सेक्रेटेरी भएपछि ता झमकज्यू असारको पन्ध्र छ नि हौ ।
झमकसिंह – हो नि, विजयज्यू । तपाईंको कुरा शत प्रतिशत साँचो र अकाट्य सत्य छ । नाटककार हुनु पनि कम्ति… ।
विजय – (कुरा काट्दै) तपाईं नाटककारहरू कति सुखी हुनुहुन्छ । बगैँचामा ढकमक्क फुलेको फूलजस्तो । अलिकति फुल्यो कि मौरी भनभन् । त्यस्तै सामान्य लेख्यो कि सेतो मौरी… ।
झमकसिंह – त्यो ठिकै हो विजयज्यू ठिकै हो । हामीजस्ता झुसेमुसे नाटककारहरूलाई कसले पो याद गर्छन् र हिजोआज ? तपाईंजस्ता बुझ्ने सेक्रेटेरी नहुँदा हो भने… ।
विजय – (कुरा काटेर) छेउको सियो पनि एक न एकदिन माझमा पुग्छै पुग्छ । अब तपाईंले यति कुरा मात्रै याद राख्नोस् जो यतिदिन पछि थिए उनीहरू अघि आएका छन् अनि जो अघि थिए उनीहरू पछि परेका छन् ।
झमकसिंह – खै के हो के हो ! मैले ता त्यस्तो केही बुझ्न सकेको छैन ।
विजय – अहिले बुझ्नु सक्नुभएको छैन । पखनोस् पहिले तपाईंको यो नाटक पहिले गज्जबले मञ्चन गरिहालुँ । यो नाटक हिट भएन भने मलाई भन्नोला । त्यसपछाडि तपाईंलाई थिएटरले चुम्बकजस्तै तानेर भन्ने मेरो नाम विजय होइन ।
झमकसिंह – (पीडित भावमा) विजयज्यू ! अब म अरु पव्लिक हुन चाहन्नँ… प्राइभेटमै ता सकिएको छैन फेरि फेरि… ।
विजय – (लामो खुइय्य काढेर सान्तवना दिँदै) अहो ! झमकज्यू… त्यसो भनेर कहाँ हुन्छ र ! आजकलका पब्लिक थिएटर हेर्नुभएको छ अवश्यै पनि । सबै एमेचर… यतिसम्म कि डाइरेक्टर, एडिटर, प्रोपाइटरदेखि लिएर प्यूनसमेत एमेचर भइसकेका छन् । (झमक हा…हा…हा…गर्दै घरै उचाल्ने गरी हाँस्छ अनि भान्साकोठातिर हेर्दै( बेला… ओ… बेला… ।
बेला – (भित्रबाटै) आउँदैछु… एकक्षण । (प्रवेश) किन ?
झमक – पावर हाउस जान पर्दैन बेलु आज तिमी ।
विजय – (आश्चर्यचकित हुँदै) पावर हाउस् !?? किन विजय सर !
झमकसिंह – भन्दैछु… पखनोस् न विजयज्यू पखनोस् (बेलासिंहलाई हेर्दै) बेलु हाम्रो त्यो ह्याङ्गिङ् ट्रबल लिएर आऊ ता भान्सा कोठाबाट । विजयज्यूले इनर्जी दिएका छन् (विजय वाल्ल परेर हेर्छ झमकलाई) विजयज्यू ! मेरो कुरा सुनेर तपाईं पो वाल्लै पर्नुभो ता । बुझ्नु भएर हजूरले मेरो कोड वर्ड ? सुन्नुहोस्… (सब्जीको झोला लिएर बेलाको प्रवेश । बेलाको हातबाट झोला थुतेर झोला देखाउँदै) विजयज्यू ! यो सब्जीको झोला हो । यो झोला नै हो ह्याङगिङ् ट्रबल अनि बजार यानी सब्जी मार्केट चाहिँ पावर हाउस । तपाईंले नाटकको लेखन वापत् पेस्कीस्वरूप प्रदान गर्नुभएको यो दुई हजार रुपियाँ चाहिँ (क्याटका क्याट नोट देखाउँदै) इनर्जी ।
विजय – वाह ! विजयी वाह ! तपाईंको कोड वर्ड साँच्चै एनरजेटिक छ है एनरजेटिक ।
बेला – यिनलाई जत्तिको कुरा ता कसलाई आउँछ होला ? (बेलाको प्रस्थान) ।
झमकसिंह – विजयज्यू भन्नु उसो होइन । बिहान भयो कि सधैँ विशेष गरी यी कुराहरूले एलर्जी भइसकेको छ । बजार, बजार गर्ने झोला अनि बजार गर्ने पैसा । यी कुराहरू घरिघरि दोहोर्‍याउन अचेल ठ्याम्मै मन पर्दैन तर के गर्ने विजय सर ! यसको नाउँ उच्चारण गरिएन भने संसारको जहाज डुब्छ । यसैले यी तीन कुराहरूको नाउँ मैले परिवर्तन गरिदिएको छु । बुझ्नुभो होला !
विजय – (गम्भीर मुद्रामा) टु मच् प्रोगेसिभ । (हात जोड़्दै) हवस् ता झमकज्यू म पनि हिँड्नुपर्‍यो । तपाईं केही सुर्ता नमानी निर्धक्क काम गर्नोस्… अब अरु धेर म तपाईंलाई डिस्टर्ब गर्न चाहन्नँ ।
झमकसिंह – हस् विजयज्यू ! म पनि पावर हाउस जानुपऱ्यो । सँगै निस्कौं न । (दुवै प्रस्थान) ।

ध्वनि परिवर्तन
शरद – (जम्ले हात गर्दै शरदको प्रवेश) नमस्कार म्याडम ! (बेलासिंह नमस्कार ग्रहण गर्छे) खै हाम्रा नाटककार महोदय छैनन् ?
बेलासिंह – पावर हाउस जानुभएको छ । आउनोस् न शरद दाज्यू भित्रै… बस्नोस् । अहिले आइपुग्ने बेला भयो ।
शरद – (छक्क परेर) पावर हाउस ! किन ? एकाबिहानै बिजुलीको… ।
बेलासिंह – (कुरा काटेर) होइन… होइन बजार भनेकी नि ! कति काम थियो होला हाम्रो नाटककार महोदयसित ।
शरद – उहाँले मलाई समय दिनुसक्नु हुन्छ कि भनेर आएको नि ।
बेलासिंह – खै त्यो ता म भन्न सक्दिनँ शरद दाज्यू ।
शरद – उहाँ ता अफिस जानुहुन्छ ता होइन ?
बेलासिंह – अहँ । उहाँ ता अफिस गर्नुहुन्न नि ।
शरद – त्यसो भए कुनै बिजिनेस ?
बेलासिंह – उहाँ ता पेशादार नाटककार हुनुहुन्छ ।
शरद – उत्तम ! अति उत्तम !! मलाई एक गिलास पानी दिनुहुन्छ ?
बेलासिंह – अप्पुइ किन नदिनु ! हवस् । (पानी ल्याएर दिन्छे)
शरद – (पानीको गिलास हातमा लिँदै) धन्यवाद । यहाँको पानी साह्रै टेसिलो रहेछ ।
बेलासिंह – (सामान्य मुस्कुराउँदै) हजूर ! सबैले त्यसै भन्छन् । हजूर पनि नाटककै विषयमा आउनुभएको होला ?
शरद – ज्यू ! म एकजना प्रकाशक हुँ । नाम चलेका साथ साथै नयाँ नयाँ लेखकहरूका कृति प्रकाशन गर्ने मेरो इच्छा छ ।
बेलासिंह – यसमा हजूरलाई नाफा ?
शरद – खै हिजोआज नेपाली पुस्तकहरू छापेर नाफाको आशा के गर्नु ? तरै पनि नयाँहरू नेपाली साहित्यकारहरूलाई संसारले चिनुन् अनि ख्यातिप्राप्तहरू अझै माथि पुगुन् भन्ने मेरो मनसायले नै प्रकाशनमा हात हालेको हुँ ।
बेलासिंह – यो ता तपाईंको बिनासित्थीको खटाइ साथसाथै बञ्चरो काटेर सियोको व्यापार भनेजस्तो भएन र !!
शरद – (हाँस्दै) हेर्नोस् म्याडम ! त्यस्तो नकारात्मक कुरा सोँच्यो भने ता केही नगरे पनि भो नि । हेर्नुहोस् है म्याडम ! आजकल गाड़ीमा हिँड्दा पनि एक्सिडेण्ट हुने डर । रेलमा हिँड़्दा पनि रेल ठोक्किने डर । हावाजहाजमा चढ़्दा पनि कि चाहिँ क्याश के चाहिँ हाइज्याक हुने डर । बाटामा यसो सुरुसुरु हिँड्दा पनि पछिल्तिरबाट आएर के ले डङ्ङै पार्ने डर । ती सबै कुरा सोँचिरह्यौँ भने ता घरदेखि बाहिर ननिस्के पनि भो नि म्याडम होइन र ??
बेलासिंह – हो… हो… हजुरको कुरा ठिकै हो । (झमकसिंहको प्रवेश) उहाँ आइपुग्नुभयो । (शरदसित परिचय गराउँदै) सुन्नुभो… यहाँ प्रकाशक हुनुहुन्छ । हजुरको नाम चाहिँ के पो भन्नुभो ?
शरद – शरद मेरो नाम । नमस्कार नाटककार महोदय !
झमकसिंह – नमस्कार । मेरो नाम झमकसिंह । पेशादारी नाटककार ।
शरद – नमस्कार झमकसिंहज्यू । तपाईंको दर्शनले म औधि हर्षित भएँ ।
झमकसिंह – (हात मिलाउँदै) म ता त्यसको दोबर तेबर खुसी छु… तपाईंजस्ता महान् प्रकाशको साक्षात् दर्शन गर्न पाउँदा ।
शरद – मैले तपाईंको नाउँ धेरैचोटि सुनिसकेको छु… ।
झमकसिंह – (कुरा काट्दै) होइन म त्यति ता कहाँ हुँ र जति तपाईंले सोचिरहनुभएको छ (प्रसङ्ग बद्लिँदै) बेलु ना…(सब्जीको झोला दिँदै) यो सब्जी लु न दुइ कप मिठो चिया बनाएर ल्याऊ न । हाम्रा प्रकाशक महोदयलाई अरु केही खुवाउन नसके पनि तिम्रो कोमल हातको एक कप स्पेशल चिया खुवाएर पठाऊ (बेलाको प्रस्थान) । भन्नोस् प्रकाशक महोदय शरदज्यू ! म तपाईंको के सेवा गर्नु सक्छु ?
शरद – (गम्भीर मुद्रामा) हेर्नोस् झमकसिंहज्यू ! म एकजना प्रकाशक हुँ । नयाँ लाइन समातेको छु । नयाँ-नयाँ लेखकहरूका नयाँ-नयाँ कृतिहरू बजारमा ल्याउने मेरो उत्कट इच्छा छ…
झमकसिंह – (तुरुन्तै कुरा काटेर)…म ता भर्खर सिक्दै गरेको उदीयमान नाटककार ता कहाँ हुँ र ? म कदापि नयाँ नाटककार हुँदै होइन । नाट्य क्षेत्रमा उदाएको म अहिलेदेखिको कहाँ हो र तर तपाईंले नयाँ नयाँ नाटककारहरू भक्कु पाउँनुहुनेछ ।
शरद – तपाईंले मेरो मनसाय बुझ्नुभएन झमकसिंहज्यू ! आई मिन तपाईंहरूजस्ता ? त्यस्तो ख्यातिप्राप्त नाटककार सहित नयाँ आउनेहरूलाई पनि चिनाउने मेरो इच्छा छ । उनीहरूलाई साहित्य क्षेत्रमा परिचय गराउनु नै मैल विचार लिएको छु ।
झमकसिंह – धन्यवाद । प्रयास गर्नुहोस्
शरद – प्रयास होइन । मैले गर्नैपर्छ । नाटककार रुपमा तपाईंको नाम धैरैपल्ट सुनिसकेको छु । तर भेट गर्ने मौका जुरेको थिएन ।
झमकसिंह – (फुर्के हुँदै) कहाँबाट सुन्नुभो मेरो नाम हजूरले ?
शरद – प्रतिभाशाली व्यक्तिहरूको नाम लुकेर बस्छ र हजूर ?
झमकसिंह – त्यो ता साँचो कुरा हो ।
शरद – हेर्नुहोस् ! नाटककार महोदय ! तपाईंको नेपाली नाट्य जगतमा जुन नम र यश छ अहिले त्यसको पनि दश गुणा बढ़्नेछ । राम्रो नाटक दिनुहोस् त्यहाँबाट हेर्नोस् खेलको मज्जा ।
झमकसिंह – त्यसैको ता अभाव छ प्रकाशक महोदय !
शरद – त्यो अब तपाईंले पुर्ताल गर्नुपर्छ ।
झमकसिंह – तर कसरी गर्नु पुर्ताल ?
शरद – नयाँ-नयाँ विषय छनौट गर्नुहोस् । नयाँ-नयाँ क्यारेक्टर लिएर लेख्नुहोस् ।
झमकसिंह – तर तपाईंले भनेजस्तो नयाँ विषय नयाँ क्यारेक्टर ल्याउनु कहाँबाट ?
शरद – (टाउकोमा औँलीले घोँच्दै) यीँ यहाँबाट । झमकसिंहज्यू…यहाँबाट ।
झमकसिंह – तपाईंले यो टाउऩकोबाट (आफ्नो टाउको देखाउँदै) भन्नुभा’को ? यो ता सुकिसकेको छ ।
शरद – तपाईंहरूजस्ता प्रतिभाशाली लेखकहरूले यस्तो कुरा गर्नुभो भने ता हाम्रो स्याप्टा सुक्छ । हेर्नोस् नाटककारज्यू ! एकाध राम्रा-राम्रा नाटकहरू दिनोस् । हेर्नोस् न पब्लिसिटीको जोरले म तपाईंलाई र तपाईंको नाटकलाई कहाँसम्म पुर्‍याइदिन्छु । जम्मै मिडिया मेरो मुट्ठीमा छ ।
झमकसिंह – अच्छा मैले एउटा कुरा बुझिनँ शरदज्यू । यति धेरै नाटककार हुँदा हुँदै पनि मप्रति नै हजूरको यस्तो उदारता एवम् सहानुभूति किन ?
शरद – भमराले त्यसको गुण र सुगन्ध बुझेको होला (कोठा थर्काउँने गरी हाँस्छ) ।
झमकसिंह – हेर्नोस् भमराले फूलको रस चुसेर मर्न नपरोस् ।
शरद – (फेरि हाँस्दै) हेँ… हेँ… हेँ… तपाईंको डायलग तपाईंको मुखैमा…।
झमकसिंह – (अरु बोल्न नदिई)…यो मुखसम्म मात्रै हो । कलममा ओर्लिनु मान्दैन प्रकाशकज्यू ।
शरद – कलममा झार्नुपर्छ झमकज्यू झार्नुपर्छ । तपाईंले अबेर नगरी लेख्न थाल्नोस् र झट्टै मलाई नाटकको एउटा पाण्डुलिपि बुझाउनुहोस् । यो दसैँमा तपाईंको नाटकको नयाँ किताब बजारमा छोड्नु चाहन्छु अनि भव्य लोकार्पण । त्यसपछि तपाईंलाई मिडियाले कहाँ पुर्‍याउँछ हेर्नोला रमिता ।
झमकसिंह – यो मिडिया, खबरकागतको कुरा गर्नु भाको होइन ता ? तिनीहरूको कुरा छाडी दिनोस् शरदज्यू छाडी दिनोस् । भरसके तिनीहरूदेखि टाढै रहेको उत्तम ।
शरद – किन तिनीहरू बाघ कि भालू हुन् ?
झमकसिंह – तिनीहरू बाघ पनि होइनन् न कि भालू नै । हिप्पोपोटमस… यति ठूला हुन्छन् हामीहरूजस्ता क्षुद्र प्राणीको संस्पर्शमा आउन नै चाहँदैनन् ।
शरद – तर नाटककारज्यू यो तपाईंको भूल धारणआ हो । (नेपथ्यबाट आवाज आउँछ)
पुरुष स्वर – (नेपथ्यबाट) झमक सर… झमक सर ! सर कहाँ हुनुहुन्छ ? (दुवैजनाको कुरा गराइ झमकसिंह – (नेपथ्यतिर हेर्दै) को हुनुन्छ ? भित्रै आउनोस् । (एकजना सब इन्सपेक्टरको प्रवेश) ।
शरद – तपाईंको घरमा पुलिस अफिसर ? लु तपाईंहरू गफ गर्नोस् । म बाटो लाग्नुपऱ्यो (प्रस्थान) ।
सब इन्सपेक्टर – (निर्धक्क कोठाभित्र पसेर) नमस्कार ।
झमकसिंह – (आत्तिएर) न… न… नमस्कार ।
सब इन्सपेक्टर – तपाईंको नाम झमकसिंह हो ?
झमकसिंह – (छक्क परेर) तर…तपाईं ???
सब इन्सपेक्टर – (नम्र भावमा) ज्यू…म यहाँ थानाको सब इन्सपेक्टर हुँ । तपाईंँ एकक्ष मसित थाना जानुपर्छ ।
झमकसिंह – (नर्भस भएर) ठाना ? कि… कि… किन सर ???
सब इन्सपेक्टर – मलाई केही थाहा छैन त्यसबारे । हाम्रो थानाका आईसी सरले तपाईंलाई लिन मलाई पठाउनुभएकोले गर्दा मेरो भ्यान ड्यूटी यतै परेकोले म तपाईंलाई लिन तपाईंकहाँ आएको हुँ । यसभन्दा धेर मलाई केही थाहा छैन सर ।
झमकसिंह – (अत्तालिएको भावमा) होइन सर ! म ठाना किन जानु ? मैले ता ठाना जानुपर्ने खाल्को कुनै त्यस्तो कामै गरेको छैन ।
सब इन्सपेक्टर – खै ! तपाईंले के गर्नुभएको छ वा छैन त्यसबारे म अननोन् छु सर । यसबारेमा तपाईं जान्नै चाहनुहुन्छ भने थाना गएर आईसी साहेबलाई नै सोध्नुहोस् । म ता उहाँको
अर्डर मात्र पालन गरेर तपाईंलाई थानामा लान आएको हुँ ।

झमकसिंह – (सामान्य डराएको भावमा) हेर्नोस्..सब इन्सपेक्टर महोदय ! म एकजना प्रोफेसनल नाटककार हुँ । नाटक लेखेर सामान्य रुपले जीवन निर्वाह गर्छु । आज मलाई थुप्रै संस्थाका अध्यक्ष, सचिवहरू नाटकको स्किप्टिको निम्तकि मलाई भेट्न आउने भएका छन् । मलाई ठानामा लगेर थुनिदियो भने ता सर्वनाश हुन्छ… मेरो संसारको जहाजै डुब्छ ।
सब इन्सपेक्टर – (हाँस्दै) अरे ! तपाईंहरू पुलिसदेखि यति साह्रो किन डराउनुहुन्छ भन्नोस् ता ! तपाईं डराउनु पर्दैन । तपाईंलाई थाना पुर्‍याएर सम्मानका साथ घर ल्याइ पुर्‍याउने काम लु मेरो । पलिस भ्यानमा लान्छु फेरि पुलिस भ्यानमै तपाईंलाई सही सलामत लिएर आउँछु ।
झमकसिंह – सर ! त्यो ति ठिकै छ नि ! पुलिसमा भ्यानमा चढ़ेर जानु नै ता सर्वनाश हुन्छ ।
सब इन्सपेक्टर – अरे ! न ता तपाईंले कुनै मर्डर गर्नुभेको छ न ता कुनै फ्र्ड, न क्राइम न रबरी नै । पुलिस भ्यानमा तपाईंलाई आसामीको नाताले लिनु आएको होइन झमकसिंह सर होइन…तपाईं किन बुझ्नुहुन्न ?

झमकसिंह – पुलिस भ्यानमा चढ़्यो कि गाउःघरमा कस्तो कुरा हुन्छ…फलानुलाई पुलिसले एरेष्ट गरेर लग्यो भनेर । हाम्रा गाउँका मानिसहरू सर…अम्मुइ कम्ति ता खतम छैन सर ! कान्छी औंलीजत्रो इत्रु साँप देख्यो भने फिलाजत्रो साँप देख्यो भन्ने मान्छेले मलाई छोड़्ला ?
सब इऩ्सपेक्टर – त्यो सबै भइहाल्छ । जस्तो-जस्तो हुकूम छ त्यस्तै व्यवस्था हुन्छ ।(घड़ी हेर्दै) हेर्नोस् झमक सर ! समय भइसक्यो…हिँड़्नोस् छिट्टो । आई सी साहेब निस्किने बेला भयो ।
झमकसिंह – (डराएर) अन्त सर ! के तपाईंले मलाई डोरोली बाँधेर लानुहुन्छ ? (यतिकैमा बेलासिंहको प्रवेश)
बेलासिंह – मेरा नाटककार पतिदेवलाई डोरीले टनटनी बाँधेर लानुहुन्छ अरे ! के मेरा पति हत्यारा हुन् कि आसामी ?
सब इन्सपेक्टर – (हाँस्दै) अरे…डोरीले किन बाँध्ने ?
झमकसिंह – डोरीले नबाँधे हाथकड़ी ता पक्कै लाउने होला हई सर !
बेलासिंह – हाथकडी ?? किन ?? के तपाईंले कसैलाई रेप गर्नुभएको छ ? सर.. मेरा पतिदेव बलात्कारी हुन् ?
सब इन्सपेक्टर – ओहो ! म्याडम ! बनको बाघले खाएको छैन मनको बाघसिसत किन डराउनुहुन्छ ?
बेलासिंह – तल भ्यान लुकाएर राखेर पुलिस घरभित्र पस्दा मनको बाघले नचिथोरेर के ले चिथोरोस् सर !
झमकसिंह – छरछिमेकको अगाडि कम्मरमा डोरी बाँधेर वा हाथकडी लाएर कसरी भ्यानभित्र पस्नु सर लु तपाईं आफैँ भन्नोस् ता !
बेलासिंह – त्यसो किन हुन्छ ? तपाईं ऐरै – गैरे – नत्थुखैरे मान्छे हो र ? तपाईं एकजना महान् अनि ख्यातिप्राप्त नाटककार ।
झमकसिंह – (घरै उचाल्ने गरी कराएर) ठैय… राख तिम्रो नाटककार… ।
सब इन्सपेक्टर – हेर्नोस् झमक सर ! तपाईंलाई थानामा लानको निम्ति मैले कुनैस डोरी न हाथकडी ता एकैजना पनि कन्सटेबल ल्याएको छैन । यतिसम्म कि भ्यान पनि म आफैले लिएर आएको छु । हेर्नोस् नपत्याए… ड्राइभरसमेत छैन ।
बेलासिंह – गाडीको ड्राइभर छैनन् भने गाडी चैँ आफै गुड्दै आयो सर ?
सब इऩ्सपेक्टर – होइन म्याडम गाडी म आफैले हाँकेर ल्याएको । म गाडी हाँक्छु… तपाईं फ्रण्ट सिटमा मेरो छेवैमा डाँटसितले बस्नोस् । अँ… ड्राइभ गर्नुसक्नु हुन्छ भने पनि लु गाडीको चाबी पनि तपाईं नै लिनुहोस्… साह्रै भयो भने म गाडीको ब्याक सिटमा बसुँला । लु हिँड्नोस्… हिँड्नोस् ।
झमकसिंह – (भयातुर भावमा) लुगा ता फेर्न पाउँछ होलि नि सर ?
सब इन्सपेक्टर – लुगा फेर्न पर्दैन… त्यति नाथे थाना जानुलाई पनि किन लुगा फेर्नुहुन्छ ? ससुराली ता जानुभएको होइन नि ! फेरि तपाईंको घरबाट थाना कति पो टाडो छ र ? यहाँबाट ढुङ्गा हान्यो भने सोझै आईसी साहेबको टेबलमा झर्छ ।
झमकसिंह – लु ठिकै छ । तपाईंको कुरा नै मानेँ सर मैले । कम्तिको पनि खाता र कलम ता लान पाउँ । हाजतवास भयो भने रातभरि भानुभक्तले जस्तै हाजतभित्र लेखेर टाइम पास गर्नुपर्ला ।
सब इन्सपेक्टर – त्यो पछि आएर लानुहोस् । चाहियो भने भरे म नै आर ल्याइदिउँला । लु हिँड्नोस् ।
झमकसिंह – (रुञ्चे स्वरमा) के गर्नु जानैपऱ्यो…पुलिसदेखि भूत ता डराउँछ भन्छ… (गाडी स्टार्ट भएको आवाज) ।

ध्वनि परिवर्तन

(बेलासिंह नियास्रो मुहार लिएर बसिरहेकी समय फेरि नेपथ्याबाट पुरुष आवाज) झमक सर ! ओ… झमक सर !

बेलासिंह – (नेपथ्यतिर हेर्दै) को हुनुहुन्छ ? भित्रै आउनोस् न ।
कुमार – (प्रवेश) झमक सर हुनुहुन्न ?
बेलासिंह – अहँ… उहाँ हुनुहुन्न ता । एकक्षण बाहिर जानुभएको छ ।
कुमार – तर मलाई ता सरले यतिबेलै आउनु भन्नुभएको थियो । भाउज्यूलाई थाहा होला नि मेरो नाटक कतिसम्म भयो होला !
बेलासिंह – ला… मलाई थाहा भएना ता नानी !
कुमार – अलिक हेरिदिनोस् न भाउज्यू । यतै टेबलतिरै होला… नाटक कतिसम्म भयो होला ?
बेलासिंह-खै मलाई त्यस्तो कुरा केही थाहा हुँदैन हौ नानी । के छ नाटकको नाम ?
कुमार – नाटकको नामै बड़ो टेसिलो छ । पुलिस र अबला ।
बेलासिंह-(पुलिस शब्द सुन्ने बित्तिकै झस्किँदै) हँ ??? पुलिस !!!
कुमार – पुलिस शब्दा सुन्दा तपाईं आत्तिनु पो भो ता भाउज्यू ! तपाईं आत्तिने र झस्किने काम छैन ।
बेलासिंह-(झस्केर) पुलिस माने शासन ?
कुमार – भाउज्यू ! हजूर… अचेलको समस्या यस्तै ता छ । सम्पूर्ण संसार आज अबला भएको छ… त्यसलाई रक्षा गर्न पुलिस चाहिन्छ, पुलिस माने शासन । तपाईंको कुरा ठिकै हो । अनि भाउज्यू ! अहिले पुलिसको हाहाकार छ । जसलाई पायो उसैलाई ठानामा लगेर ठ्याङरोमा हालेको हालेकै छ । बोलिसक्नु छैन । पुलिससित बोल्नु कसले सक्ने ? भनिन्छ नि भाउज्यू ! बाघले चिथोर्‍यो भने एउटै मात्र घाउ हुन्छ अरे… तर पुलिसले छोयो भने सय घाउ हुन्छ भन्छ । मलाई पूर्ण आशा छ नाटक गजबकै हुन्छ । मैले हाम्रा झमक सरलाई जुन आइडिया दिएको छु सरले राम्ररी भाँती पुर्‍याएर नाटक बुन्नुभयो भने सरको यो नयाँ नाटकले नेपाली नाटक संसारमा हुँडीबिडी मच्चाउँनेछ भन्ने मलाई दृढ विश्वास र भरोसा छ ।
बेलासिंह – (कौतुहलतापूर्वक) तपाईं पनि पुलिस डिपार्टमेण्टमै हुनुहुन्छ कि क्यो हो ?
कुमार – (हतार हतार) होइन भाउज्यू होइन म पुलिस डिपार्टमेण्टको होइन ।
बेलासिंह – (उत्सुकतापूर्वक) अनि तपाईंको परिचय ?
कुमार – मेरो नाम कुमार । म सयपत्री सङ्घका महासचिव । हामीले यो तिहारमा एउटा ऩाटक मञ्चन गर्ने भएका छौँ र झमक सरलाई नाटके लेख्ने जिम्मेवारी दिएका थियौँ। नाटकको निम्ति अस्तिको हप्ता पाँच हजार रुपियाँ पेस्कीस्वरूप पनि दिइसकेका छौँ। आज फेरि पाँच हजार बुझाउनु आएको सरलाई । रहल पारिश्रमिक नाटकको पाण्डुलिपि सरले बुझाएपछि दिनेछौँ । यो पैसा भाउज्यूले नै राखिदिनुभए असल हुनेथ्यो । (पैसा दिन खोज्दा)
बेलासिंह – होइन नानी यो पैसा उहाँलाई नै दिनुभए असल होला ।
कुमार – भाउज्यूको हातमा दिइराख्दा के फरक पर्छ र !
बेलासिंह-(प्रसङ्ग बद्लिँदै) चिया पिउनुहुन्छ नानी !
कुमार – भाउज्यूको हातको चिया नपिउने ता कुरै आएन नि । किन नपिउनु ? यो पनि कुनै कुरा हो र ! हेँ…हेँ…हेँ…(लामो हाँसो) ।
बेलासिंह – एकक्षण बस्दै गर्नोस् है । चिनी लिएर आउँछु ।
कुमार – होइन भाउज्यू चिनी म ल्याइदिन्छु नि ।
बेलासिंह – पर्दैन…पर्दैन । म आफैं जान्छु दोकान ।

०००
सिलिगुडी (भारत)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चपरी (२)

चपरी (२)

कृष्ण प्रधान
चपरी (१)

चपरी (१)

कृष्ण प्रधान
घुस(२)

घुस(२)

कृष्ण प्रधान
घूस- १

घूस- १

कृष्ण प्रधान
पोइटिङग्री

पोइटिङग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०