पित्त जत्रो चित्त
पित्त सानो छ तर यसको काम निकै ठूलो छ रे । कसैले चित्तको कुरा पनि गर्छन् । यसको चित्त ठूलो उसको चित्त सानो भनेर भनेको सुनिन्छ तर नाप्छन चाहि कसरी ?
अशोककुमार शिवा :
मैले पित्त देखेको छु तर चित्त देखेको छैन । मान्छेको चित्त हुन्छ रे तर कहाँनेर हुन्छ कसैले एकिन गरेर भनेको सुनेको छैन । वास्तवमा चित्त के हो ? अनि यो कस्तो रंग वा आकृतिको हुन्छ ? जान्न उत्सुकता हुँदाहुँदै पनि जान्न नसकेको मान्छे म ।
कुनैकुनै बेला कसैकसैले भनेको सुन्छु “मेरो चित्त असाध्यै दुखेको छ ।” तर मैले अहिलेसम्म ती असाध्यै चित्त दुखेकाहरू कहिल्यै अस्पताल गएको देखेको अनि सुनेको छैन । भने पछि चित्त दुखे पनि मान्छे असाध्यै बिरामी चाहिँ नपर्दा रहेछन् । तर मान्छेको पित्त दुख्यो भने सहन सकिँदैन र तुरुन्तै अस्पताल वा चिकित्सकसँग भेट्न गइहालिन्छ ।
चित्तमा ढुङ्गा लागेको देखे सुनेको छैन तर पित्तमा ढुङ्गा लागेर म आफैँले अस्पताल गएर पित्त झिक्न लगाएको छु । त्यसैले होला अझै मेरो पित्त बस्ने ठाउँ कलेजोको एकछेउ बेला बेला नराम्ररी दुख्छ । कहिलेकाहीँ त अब सगुनपानी लिएर कलसमा दाम चढाईवरी माथीको यात्रामा हिँड्नुपर्ने हो कि झैँ लाग्छ । फेरी के कसरी हो यात्रा थामिन्छ । चित्तले मलाई कहिल्यै यस्तो भान पारेको छैन भने चित्तको के पिर ?
मानिस र मानिसले बनाएको प्रविधिको कतिपय कुराहरू उस्तै देखिन्छ । हुन त तिनै मानिसले आफुने जे जानेका छन् त्यही त बनाउने हुन नि । म गीत सङ्गीत मनपराउने मान्छे कहिलेकाहीँ गीत गाउँछु । कहिले बिना बाजागाजा तालमा फुक्का गाउछु त कहिले अरुले बनाइदिएको साङ्गीतिक ट्रयाक (बाटो) युट्युवमा खोजेर गाउँछु । एकदिन युट्युवमा ट्रयाक खोजेर गाउनु पर्यो भनेर युट्युब थिचेको झ्वास्स प्लेस्टोरमा थिच्न पुगिएछ । उता गाउन दिएको समय ढिला हुन लागिसक्यो युट्युब खोल्न सकिँदैन त ।
वास्तवमा त्यो युट्युब भन्ने पनि यसै प्लेस्टोरबाट जन्मिएको त हो । अब जहाँबाट जन्मिएको हो त्यही थिच्दा पनि त हुनुपर्ने हो नि हिसाबले तर के हुन्थ्यो । जन्माउने काम मात्रै हो जन्मदाताको । जन्मे पछिका सन्तानहरूको आआफ्नै मर्जी, को कहाँ, को कता । न त जन्मदिने माध्यम बाबुको याद न त जन्मपूर्वको सम्पूर्ण परिवेश प्रकृिया भोग्ने आमाको वास्ता । अब यहाँनेर चित्तको कुरा आउन सक्छ है, चित्त कसैले नसम्झिनु होला । यो मोरो चित्तलाई बिर्सेकै राम्रो ।
युट्युब खोज्दा प्लेस्टोर थिचिनुले जीवन र जगतको सम्झना गर्नु कति उचित अनुचित के हो ? त्यो त थाहा भएन तर मर्म त्यहिँनेर कुँडिएर कुडुल्कि मारेको भेटियो । झसङ्ग भएर युट्युबतिर लागेर आफूलाई चाहिएको ट्रयाक खोजेर बजाई गीत गाउनुनै श्रेयस्कर लागेर सोही गरेँ अनि त्यसबेला आफुले पाउनु पर्ने वा वा बटुलेँ । जन्माउनेको भन्दा जन्मेर कर्म गर्नेको कत्रो शान वा रे वा । सन्तानको सफलता सम्झेर मातपिता त त्यसै दङ्ग हुन्छन् नै । उनीहरूलाई सन्तानको सफलता देखेपछि अरु केही चाहिँदैन ।
आग्रह राख्नु पूर्वाग्रह भन्दा राम्रो हो । त्यसैले आग्रह राख्दा कसैले मन खुम्चाउनु नाक सुम्सुम्याउनु अनि आँखा झिम्झिमाउनु पर्दैन । मन खुम्च्यो भने कलेजो निचोरिन्छ कलेजो निचोरियो भने पित्तलाई असर गर्न सक्छ । पित्त सानो छ तर यसको काम निकै ठूलो छ रे । कसैले चित्तको कुरा पनि गर्छन् । यसको चित्त ठूलो उसको चित्त सानो भनेर भनेको सुनिन्छ तर नाप्छन चाहि कसरी ? अचम्म छ ।
अन्तमा मेरो आग्रह के छ भने आफ्नो उत्पत्तिको श्रोतलाई प्रेमले ओतप्रोत पारौँ । उत्पत्तिको ोत एकमात्रै यस्तो बहुमूल्य चिज हो जुन बेगरको कुनै अस्तित्व नै हुँदैन । मेरो भनाई प्लेस्टोरको युट्युबमा गानाको ट्रयाक बज्नुपर्छ भन्ने किमार्थ होइन तर प्लेस्टोरबाट म निस्किएको हो भन्ने हेक्का चाहिँ युट्युबलाई हुनैपर्छ । जय होस् ।
०००
गल्कोपाखा, काठमाडाैं