सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एसएलसीको तयारीमा विचार पुर्‍याइएनछ

मलाई यस पालि मात्र होइन पोहोर परारैदेखि एसएलसीका परीक्षार्थीहरूका लागि मानवीय व्यवहार भइराखेको छैन भन्ने लागेको थियो र अहिले ता झन् त्यस कुराले मलाई निकै आहत पारेको छ ।

Nepal Telecom ad

होम सुवेदी :

धेरै पहिलेदेखि नै मलाई एसएलसी परीक्षाको तयारी गर्ने क्रममा केही त्रुटीहरू भइरहने कुराबारे केही लेखौंलेखौं, केही सुझाव दिऊँदिऊँ भन्ने लागिरहेको थियो । समय त्यसै भिड्किएछ । यसपालिकै समय ता निकै भिड्किइसकेछ । आखिर समय भिड्किइसक्यो, अब खै के होला र ? रैपनि केही सुझाव दिइराखूँ कि भनेर केही कोर्न लाग्दैछु । उचित लागे सम्बन्धित पक्षबाट ख्याल गरिएला भन्ने पनि सोचेको छु ।

आउँदा वर्षहरूदेखि एसएलसी नहुने कुरा छ । मलाई पत्यार लाग्दैन । विश्वविद्यालयबाट आइए हटाउँदा विश्वव्याङ्कले पदाधिकारीहरूलाई डलरका कुम्ला जिम्मा लगाएजस्तो यता एसएलसीमा गरिखानेहरूका हातमा पनि कुम्लाहरू जिम्मा लगाइसकेको हो भने एसएलसी पनि हट्ला । त्यो हो भने कुरा बेग्लै हो । अहिले सम्म ता एसएलसी छ । एसएलसीको तयारी पनि गरिन्छ । तयारीमा कति कमी कमजोरीहरू छन् थाहा छ तपाईंलाईं ?

वास्तवमा एसएलसीका लागि गरिने तयारीका सन्दर्भमा मानवीय पक्षमा ध्यान नपुर्‍याएको जस्तो लागिरहेको छ । कति पदाधिकारीले परीक्षाको तयारी भनेको विद्यार्थीहरूका लागि परीक्षा भवनमा बसेर उत्तर लेख्ने बेन्च, डेक्स, हलबाहिर अस्थायी शौचालय र उत्तरपुस्तिका केन्द्रकेन्द्रमा पुर्‍याउने आदि काम मात्र हो भन्ने बुझेका छन् । तर यति मात्र यसको पूणर् तयारी होइन । यसको तयारी चारैतिरबाट विचार पुर्‍याएर गर्नुपर्छ ।

लौ, केन्द्रमा कुनै विद्यार्थी विरामी भयो भने उसको लागि औषधी उपचारको बन्दोबस्त गरिन्छ । कुनै विद्यार्थी वा शिक्षकले चिट चोरायो वा चोर्‍यो भने उसलाई प्रशासनिक कारबाही गरिन्छ । कुनै पनि अमर्यादित काम गर्नेमाथि मर्यादापूर्ण रूपमा व्यवहार गर्ने काममा लगाउन प्रेरित नै गरिन्छ । यो राम्रो कुरा हो । तर हेर्नुहोस् यसको तयारीका लागि अझै धेरै अनिवार्यका कुराहरू छुटेका छन् । तयारी गर्नु पर्ने अरु कुराहरू अझै छुटेका छन् भन्दा छक्क पर्नुभो कि ? वास्तवमा छक्क नपर्नुहोला । साँचो कुरा के हो भने अझै पनि केन्द्रको ध्यान चौतर्फी रूपमा पुगेको देखिन्न । हो, साँचो हो, परीक्षाको तयारीका कुराहरू छुटेका छन् । मलाई यस पालि मात्र होइन पोहोर परारैदेखि एसएलसीका परीक्षार्थीहरूका लागि मानवीय व्यवहार भइराखेको छैन भन्ने लागेको थियो र अहिले ता झन् त्यस कुराले मलाई निकै आहत पारेको छ । अरुलाई पनि मेरो कुरा सुनेपछि ‘ए हो त, कुरा ता साँचै पो हो रहेछ ! तयारीका लागि केही कुराहरू छुटेकै रहेछन् !’ भन्ने हुन सक्छ ।

वास्तवमा एसएलसीको परीक्षा दिने उमेर भनेको नेपालीको १६ भन्दा माथिकै हुन्छ, यो भनेको कोरलिने र ब्याउने प्याउने उमेर हो । यस उमेरदेखि नेपालीहरू प्रशवको अनुभव बटुल्न थाल्छन् । परीक्षाकेन्द्रमा जाँदा होस् कि बाहिरै होस्, विवाहित होस् वा अविवाहित, जेलभित्र होस् वा बाहिर, इस्कुलमा जाँदा होस् कि बजारमा डुल्दा होस् सिनेमा हलतिर जाँदा होस् कि अन्यत्र होस् जहाँसुकै पनि यो एसएलसी दिने बेलाको उमेर भनेको ब्याउने प्याउने उमेर नै हो । खैनी खान सिक्ने बेला हो, गुट्खा च्याप्ने बेला हो । चुरोट तान्न अब ता पल्सर हाँक्न थाल्ने बेला पनि हो ।

नेपालीको सरदर आयु नै कति छ र ? बीस वर्षभित्रै छोराछोरीको लाभ गर्न सकियो भने मात्र नातिनातिनाको मुख देख्न पाइन्छ । यसैले अहिले हरेक केन्द्रमा कतै एउटा त कतै जुम्ल्याहा नानीहरू भटाभटी जन्मेका छन् जन्मेका छन् । नपत्याए पत्रिकाहरू पल्टाए पुगिहाल्ला । पोहोर परारदेखि नै यो क्रममा दू्रत गतिले विकास भइरहेको छ । देशका कणर्धारहरूको जन्म त्यो पनि परीक्षाकेन्द्रमा हुनु कम भाग्यको कुरा होइन, जन्मदैको एसएलसी हुन पाउनु कम भाग्यको कुरा हो र ? यसैले यिनको जन्मकालको ख्याल गरेर परीक्षा केन्द्रका केन्द्राध्यक्ष वा यसको मूलकेन्द्रले बुद्धि नपुर्‍याएको देखिन्छ ।

यसबारे कुरा नै नउठाएको हो कि बुद्धि नपुगेको हो सोचिनुपर्छ । निकै आपत परेको हुनुपर्छ, केन्द्राध्यक्षहरूलाई । यस पालिको परीक्षा सकिगयो । अर्को सालका लागि भए पनि यसबारे सोचिनु पर्ने मेरो राय छ । यसपालिको परीक्षामा खाइएको हन्डरबाट सोचिने बेला आएको छ । अर्को सालको परीक्षाका लागि अहिल्यैदेखि बन्दोबस्तीका सामानहरू केन्द्रमा पठाउने काम सोच्न थालिहालौं ।

वास्तवमा अब परीक्षा भवनहरूमा नानीहरू जन्मने क्रम पनि बढेरै जाने जस्तो देखिन्छ । यस अर्थमा परीक्षा केन्द्रका ओरीपरि प्रसूतिगृहको खाँचो अनुभव हुन्छ । नेपालमा जतासुकै रिसर्च भन्ने कुरा नगरे पनि रिसर्च सेन्टरका नाममा अस्पताल खोलेर काँधिन पल्केकाहरूका लागि पनि पैसा कमाउने सुवर्ण अवसर हुन सक्छ । आजको हाइब्रिडको खान्की खाने परीक्षार्थीहरूले यस क्रमलाई पनि विकास गर्नेछन् र त्यसरी खुलेका अस्पताल वा नर्सिङ होमहरूले लाभ लिनेछन् भन्ने पनि अनुमान गर्न मिल्छ । यतातर्फ पनि पूर्वतयारी गरिराख्नु पर्ने बुझ्दछु ।

केन्द्रका ओरिपरि अस्पताल अभाव भएको यो बेलाका लागि सकिन्छ भने ठाउँ हेरेर एक दुई एम्बुलेन्स राख्नु पर्छ । सकिन्छ भने डाक्टरको बन्दोबस्त पनि गरिराख्नु पर्छ । आजभोलि ता नर्मल डेलिभरी हुनै छोडेको छ । डाक्टरहरूले सिजरिङको सामानहरू र एम्बुलेन्स तयार गरिराख्नु पर्ला । डाक्टर नर्स नभएका ठाउँहरूमा के गर्ने भन्ने प्रश्न पनि आउन सक्छ । त्यस्ता ठाउँको केन्द्रमा गाउँघरका सुँडेनीहरूलाई तैनाथ गरिराख्नु पर्छ । अहिले ता गाउँगाउँमा सुँडेनीहरूको कमी छैन । सकिन्छ भने सुत्केरीका लागि आवश्यक पर्ने सामानहरू पनि परीक्षा केन्द्रले परीक्षाको तयारी गर्दैदेखि तयार गरिराखे राम्रो हुन सक्छ ।

देशमा अहिले डाक्टरको पनि कमी छैन, डाक्टर भए डाक्टर र सुँडेनी भए सुँडेनी जे पाइन्छ ठाउँ अनुसारको बन्दोबस्तीका सामानहरूको तयारी गरिराख्नु राम्रो पर्छ । सामानको किनमेल गरेको नाममा कमिसनको कारोबार पनि हुने नै बुझिन्छ । अनि कुन बेला नानी जन्मेको हो र त्यसको ग्रह दशा कस्तो हुन गयो भन्ने विषयमा विचार पुर्‍याइराख्नका लागि वा टिपन लेख्नुपर्ने काम पनि पर्ला । त्यसका लागि एक जना जोतिषी पनि केन्द्रमा तैनाथी हुनुपर्ने ठान्छु । केन्द्रमा बाहिरबाट चिट चोराउन नपाएको झोंकमा अभिभावकहरूले ढुङ्गामुडा गरेको खबर पनि ता सुन्नु भयो होला नि । यसका लागि पनि केन्द्राध्यक्षले बुद्धि पुुर्‍याउनु पर्ने मेरो राय छ । बिचरा अभिभावकहरूलाई कति आपत पर्दो ढुङ्गा मुडा नपाएर ! यसैले तिनलाई ढुङ्गा मुडासम्बन्धी बन्दोवस्तीका सामानहरू पनि केन्द्रका ओरिपरि सुलभ रूपमा उपलब्ध हुने बन्दोबस्तको कुरा पनि केन्द्राध्यक्षले सोचिराख्नुपर्ने बुझ्दछु ।

कति ब्याउने प्याउने काम सकेर सुत्केरी सह्यार्ने बेलाका परीक्षार्थीहरू पनि हुन सक्छन् । उनीहरूलाई सोही अनुसार बन्दोवस्त गर्नुपर्छ । ज्वानाको झोलको खाँचो पर्न सक्छ । तेल घस्नेहरू पनि चाहिएलान् । कुनैको ता परीक्षाकै बेला न्वारान पनि पर्न सक्छ, यसैले तिनको लागि पुरेतलाई पनि केन्द्रमा तैनाथी गरिराख्नु पर्छ । न्वारान नै गर्नु पर्ने भएपछि ता सानोतिनो जग्गे नै गरिनुपर्ला । यसो सानोतिनो कर्मकाण्डको पनि खाँचो पर्दो हो, गहुँत चाहिएला, समिधा, भन्यो, टपरा, चामल, फूलपाती, दानदक्षिणा, केके हो चाहिने सबै तयारी गर्ने काम पनि केन्द्राध्यक्षको हो । यो काम ता पुरेतलाई जिम्मा लगाए पनि हुन सक्छ । सकिन्छ भने केन्द्रमा कति ब्याउन तयार छन् कति सुत्केरी छन् र कतिको न्वारान गर्नु पर्नेछ त्यसको लगतइस्टमेट अघिबाटै लिइराख्नु आवश्यक हुन सक्ला ।

अब केन्द्रमा परीक्षा दिँदा दिंदै कसैको बिहे गर्ने अवस्था पनि ता पर्न सक्छ । त्यसैले केन्द्रको तयारी गर्दा यसतिर पनि बुद्धि पुर्‍याउनुपर्छ । केन्द्रैमा बिहे गर्ने स्थिति पर्न गयो भने अरु विद्यार्थीलाई डिस्टर्ब हुने हुनाले ब्यान्ड बाजा वा पन्चे बाजा बजाउन भने निषेध गर्नुपर्छ । बिहे साधारण तरिकाको हुनु आवश्य छ । विशेष गरी साधारण तरिकाले हुन सक्ने यस्ता बिहेमा बेहुलाले बेहुलीलाई सिँदुर हाल्दैछ, पोते लाउँदैछ, उत्तर लेख्दैछ, चिट चोर्दैछ, यस स्थितिलाई कायम गर्दै निर्बाध रूपमा परीक्षा दिने इन्तजाम गर्नुपर्ला । यस्तो बिहेमा भने बेहुलाबेहुलीका गोडा धुनेबारे भने मलाई कुरा अलिक आएनन् । कसरी यो काम सक्नु राम्रो होला, कोही छौ भने ए साथीहरूहो, मलाई सघाओ न ।

लौ त आगामी एसएलसी परीक्षाका लागि अग्रिम रूपमा तयारीका लागि सतर्क हुनु पर्ने कुराहरू अहिलेलाई यति मात्र राखौं, बाँकी पछिपछि गर्दै गरौंला है त ।

०००
झापा
‘खुइलिएको तालु’ (२०७०)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा