सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अठार कसार बटार !

गफडी कसार बटार्ने स्थितिमा पुगेर चिन्तित भए पनि सन्तुष्टिवाट असन्तुष्टिमा घिस्रिए पनि, ठगहरूको जमात देखेर कुँडिए पनि, दोषीहरूका चालामालाबाट छक्क परे पनि- गान्धीको जस्तो त्याग गर्ने विचारमा छ, त्याग चाहन्छ ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

भक्कानो फुटेर आउँछ !

गफडी ‘मरेको भोलिपल्ट दुई दिन हुन्छ’ भनी मनमा लागेका कुरा सत्य-सत्य भन्छ । कुरो के भने हिजो चप्पल पड्काएर सडकमा मख्ख परेर हिँडेका बेला कता- कताबाट अझै एउटा कुराले गफडीको मस्तिष्कमा सियोले घोचेझैँ घोच्यो- ‘गफडी, यस धर्तीमा गफै मात्र ! गरिस्, पार लाइनस् !’

यो भावना गफडीका कैयौँ साथी भाइका चालामाला देखेर आएछ क्यार ! सुदूर गाउँमा जन्मेको, कोदोका रोटी खानेहरू साथी भएको, गाई-वस्तु हेर्ने गोठालाहरूसँग पाखा पखेरामा हिँडेको डुलेको, हाट बजार हेर्दा रमाएको गफडी एक पेट खाएर, एक जिउ लाएर हिँड्न पाउँदा मक्ख छ । उसका यी व्यक्तिगत प्रसन्नता । ऊ असन्तुष्ट रहेको हो उसका गाउँको जनजीवन फेरिएन र उसले तिनका निम्ति केही गर्न पनि सकेन भनेर त आफैँमा सन्तुष्ट असन्तुष्ट यो गफडी पुङमाडे छ, तर पनि ढुक्क भएर स्वचालित चल्छ यो, तर साथीहरूका गफ गर्ने तरिका, कोठा सजाउने तरिका, उनका श्रीमती टिमिक्किएका, उनका आय हुने नयाँ-नयाँ तरिका देखेर गफडीका भित्र दुखेछ, यसैले ऊ भन्छ- गफडी, तेरो सन्तुष्टिको जय होस् ! तेरो सिधासाधा पाराको जिन्दावाद होस् ! तेरो चप्पल अमर रहोस् ! गफडी, एक थरी क्रियाकलाप भए, रमिते भइस्, अर्का थरी क्रियाकलाप आउँछन् रमिते हुनेछस् । ल, गाईपरानी ! अ जन्ती हुन्छन्, बेहुला हुन्छन्, बेहुली हुन्छन्, तँ चाहिँ कसार वटार् है ! गफडीलाई सम्झी- सम्झी भक्कानो फुटेर आउँछ !

मिठो खान र राम्रो लाउन को चाहँदैन ?

गफडी सोच्तछ- सबै प्रतिक्रियावादी विचार गफडीका टाउकामा चढे । यस्ता विचारले देश बन्दैन । गफडी प्रश्न गर्छ- देशभक्तिका कुरा गर्ने हो ! खाडी के हो, थाहा छ ? टेरेलिनका लुगा लगाएर कति देश-सेवा गरिन्छ ? हे देश भनेपछि हुरुक्क हुने हो ! झुप्रो भनेको थाहा छ ? बिल्डिङ्मा बसेर कति जनसेवा हुन्छ ? हे जनताका हिमायती हो ! ढिँडोरोटो भनेको के हो, थाहा छ ? कुखुराका फिलावाला खानामा रमाएर गरिब-गुर्वाको दुःख चिन्निछ ?

“ए त्यसो भए तैँ राँड मैँ राँड देशै भाँड, गफडी जिउ ?” प्रश्न ! होइन, गफडी वास्तविकता मात्र भन्छ । गफडीको भनाइ के भने मिठो खान र राम्रो लाउन को चाँहदैन ? आफ्ना साथी भाइले इमान्दार भएर मोज मारेको देख्दा गफडी किन रन्थनिँदैन ? आफ्ना उत्तिकै देशवासी सुखित हुँदा मक्ख परेझैँ दुखित हुँदा किन चित्त दुख्तैन ?

कुरो केही होइन, गफडीले भनेको मात्र हो हजुर ! सुनिदेऊ, उसका पनि भित्र मुटुमा गढेका कुरा !

दोषी को ? दोष के ?

देशमा कोही मोज मार्ने छन् । देशमा कोही कहर काटेर बाँच्ने छन् । सायद यसैले अब बहुदलीय कि निर्दलीय कि ? भन्ने कुरा आयो । गफडीलाई त भतुवालाई पाडो पाए पनि पाडी पाए पनि बिगौँती भनेझैँ केही छैन । किन केही छैन भने ज आफैँमा सन्तुष्ट छ, ऊ आफैमा असन्तुष्ट छ, अनि किन केही छैन भने वन रहन्छन्, त्यसमा भ्रष्टाचार अवश्य हुन्छ, कर रहन्छ, करमा अवश्य भ्रष्टाचार हुन्छ, अन्तःशुल्क र भन्सार अवश्य रहन्छन् र तिनमा अवश्य भ्रष्टाचार रहन्छ, प्रहरीको व्यवस्था अवश्य रहनेछ भने हवल्दार साहेवहरूको वर्तमान रवैया हट्ने छैन, सी. आई.डी. रहनेछन् र उनले दिएका रिपोर्ट अवश्य शुद्ध हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन; वेपारी रहने नै छन् र तिनले अवश्य ठग्ने छन्, यसैले समान्तर छ गफडी; यसैले गफडी ‘ग’ मार्गी छ- ‘ग’ भनेको असन्तुष्ट जनता हो, जो स्वयंमा सन्तुष्ट छ । दोषी को ? गफडीका विचारमा दोषमुक्त समाजवाट जन्मेको मान्छे ! दोष के ? दोषहरूको वातावरण ! यसैले पुङमाङ गफडीका विचारमा यो संसार नरमाइलो भइसकेको छ । यहाँ शोषणले पुरा टाउको उठाइसकेको छ- बाँच्न मुस्किल छ ! अनि मुस्किल !!

पातमा पात ! बातमा बात !

गफडीले पातमा पात भएझैँ बातमा बात गर्‍यो त के यहाँ केही हुँदै-हुँदैन ? हुन्छ, विस्तारी हुन्छ । भारतपन्थीले ढाँकिसकून्, अनि हुन्छ, चिनपन्थी नाचिसकून्, अनि हुन्छ तथाकथित राष्ट्रपन्थी ठग स्पष्ट भइसकून् अनि हुन्छ । जवतक सास ! तवतक आस ! हुन्छ ! हुन्छ ! गफडीका विचारमा- पैसाका लागि भुतुक्क हुनेहरू बडा खतरनाक हुन् भने कुर्सी र पदका निम्ति मरिमेट्ने झन् खतरनाक ! छिमेकी भारतका गान्धी बाबावारे यसो विचार्दा उनले निकै गरेछन्- तर उत्तराधिकारीहरू भरपर्दा नहुने रहेछन् । गफडीका विचारमा शुद्ध आचरणका लागि गान्धी वावा आदर्श हुन् । मिठो बोल, दया गर, साधा लाऊ, त्याग गर, अहिंसा गर ! जे, गफडी जोइटिङ्ङ्ग्रे छ- त्यो बाटो चैँ हिँड्न सक्तैन । गफडी परिवारवाला छ- छोरा-छोरीबिना एकछिन पनि बाँच्न सक्तैन । केही मानेमा गान्धीलाई आदर्श मान्छ त मार्क्स वावालाई पनि कुरोमा कुरो केही मानेमा आदर्श मान्छ । धर्मान्धता, शोषण, भरौटेपन भ्रष्टाचारको विरोध गर्ने मार्क्स बाबा प्रेरणा दिन्छन् । गफडी विचार गर्छ- एक मानवले अर्को मानवको हत्या ! यो कति डरलाग्दो कुरो हो ! त एक मानवले अर्को मानवको शोषण पनि कति डरलाग्दो ! समान्तर छ गफडी । ऊ असन्तुष्टिवादको समर्थक छ । ऊ भन्छ- नराम्रा कुराप्रति असन्तुष्टि गर- राम्रो हुन्छ- राम्रो हुँदा हुँदै असन्तुष्टि गर, अझ राम्रो हुन्छ, यसैले हाल गफडी कसार बटार्ने स्थितिमा पुगेर चिन्तित भए पनि सन्तुष्टिवाट असन्तुष्टिमा घिस्रिए पनि, ठगहरूको जमात देखेर कुँडिए पनि, दोषीहरूका चालामालाबाट छक्क परे पनि- गान्धीको जस्तो त्याग गर्ने विचारमा छ, त्याग चाहन्छ । मार्क्सको जस्तो विचार राख्छ र मार्क्सको जस्तो विरोध चाहन्छ । उसको चाहा पुगोस्-नपुगोस्, गफडी आफ्नो यही मन्तव्य उगेल्छ । आजको गन्थन यति नै । आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क ३४, २०३६

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०
भत्काउन सजिलो छ

भत्काउन सजिलो छ

अशोककुमार शिवा
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल