सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आलु नफल्ने ठालुको तालु

सधैँ नैतिकता बिक्री गरेर आफूलाई सिक्रीबाट फुत्केको भेडी गोठालोको भोटे कुकुरझैँ ठानी खाली राजनीतिका नाममा खल्वाटता प्रदर्शन गर्ने संस्कार आलु नफल्ने तालुले निम्त्याएको घामझैँ छर्लङ् र पारदर्शी छ भन्ने कुराको सुइँको भुँइको किराले समेत बुझिसकेको छ ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

आलु माटोमुनि फल्ने तरकारीको राजा, हिमाली वा पहाडी क्षेत्रको खाजा अथवा शून्यताको परिचायक । कसैले कसैलाई होच्याएर असफलताको संकेत गर्नु पर्दा भनिने शव्द ‘‘ए, तैँले त आलु पो खाइछस् नि त !’’

आलु तालु विनाको ठालुले मात्र होइन मौका परे भालुले पनि खनेर खोस्रेर खान्छ । तालु विनाको ठालुले आलु खाए भने पनि उनीहरूले कुनै महत्व पाउँदैनन् । तालु भएकाहरूले भने महत्व पाउँछन । नपत्याए स्वर्गमा घुम्लुङ् बर्को ओढेर बसिरहेका राजनीतिका किराहरू मनमोहन, गणेशमान, गिर्जाबाउ, किसुनजीलाई सोझै आलु नम्बरमा फोन गरेमा सहजै जानकारी पाउन सकिन्छ । उनीहरूको खुइल्या भए पनि तालु थियो र आलु फल्यो । उनीहरूको तालु चालु थियो अर्थात् चालु मान्छेको तालु खुइलिन्छ । ठालुको तालुभित्र गोवर, बाुलवा भरिए पनि चालु हुन्छ ।

आलु नखानेको तालु बालुवाझैँ उपजहीन हुन्छ । आलु खानेको तालु गोबरको मल जस्तो उत्पादनमुखी हुन्छ भन्ने कुराको प्रमाण पनि मैले जुटाइ सकेको छु । अब कुराको चुरो भने आलु नफल्ने तालुको विषयभित्र छ । साँच्चै कुरा गर्नु पर्दा खुइल्या तालुमा जावो केश पनि उम्रन मान्दैन । मानौ त्यो तालु बालुवाको मरुभूमि हो । मरुभूमिमा केही हुँदैन र त्यस्ता मान्छेलाई केहीले पनि छुँदैन । छोयो भने तालु कन्याएर चाया निकाली अमिलो वा नुन खोर्सानी दलिदियो भने सबै चट् ।

तालु वास्तवमा दुई प्रकारको हुन्छ । केश भएको र केश नभएको । केश भएको तालु चालु भए पनि त्यसले बालु सहजै पचाउन सक्छ । कालुको तालु लालुको जस्तो तिखारिएको हुँदैन । तिखारिएको तालुमा तेल दलेर तप् तप् चुहिने बनाए पनि त्यसमा बालु हालेमा सेल अवश्य पाक्दैन । तर लालुको तालुमा भने गजवको सेल पाक्छ । राजनीतिमा पास भएका, तर जनताबाट लिइएको परीक्षामा फेल भएकाहरूले परीक्षा लिन परेमा सर्वप्रथम खल्वाटता प्रर्दशन तालुबाटै सुरु गरिन्छ ।

कसैको तालु नेप्टो, चेप्टाे, थेप्चाे, डल्लाे, गोलो थरिथरिको हुन्छ । ती सबै खाले तालुमा आलु फल्दैन । जसको तालुमा आलु फल्छ त्यो सोझै स्वर्ग जान्छ । कतिपय मत्र्यलोकमा थलिएरमात्र स्वर्गमा तानिन्छन । तिनीहरूको तालुमा आलु फलाउन प्रयास गरिए पनि मलजल वा गोडमेल नपुगेर आलु फल्न नसक्दा मत्र्यलोकमा थलिएर इन्द्रले बज्र प्रहार गरेपछि मात्र स्वर्गमा पुगेको रहस्य बिस्तारै खुल्दै गएको छ ।

कसैको तालु धुम्रपान कर्ताहरूको एस्टे्र जस्तो चुरोट सल्काएर राख्न र निभाउन हुने खालको हुन्छ । चुरोट तान्नेको तालुमा पालुवा पलाउँदैन र बालुवा नै भरिन्छ । केवल चुरोटको धुँवाको कस टसमस् भएर जमेको हुन्छ । धुम्रपान नगर्नेहरूको तालु उर्वरभूमि जस्तै ठानिन्छ र यसबाट भुवा जस्तो मसिनो केश भने उत्पादन हुन्छ । तर त्यो केशले न उसको केशलाई नै चम्काउन सक्छ न अरुलाई फकाउन नै बरु तालुको महत्वका वारेमा भने केही बकाउन भने सक्छ जस्तो लाग्छ ।

कसैको तालु जुम्रे हुन्छ । जुम्रे तालुले आलु खायो भने कहिल्यै पनि तातोघामले सराप्दैन । अर्थात् तालुकवालाको तालु चालु हुन्छ ठालुको जस्तै । चालुको तालु त सधैँ पालुँ पालुँ जस्तो जस्तो हुन्छ । तर के गर्नु हेर्नेले देखिनसहेपछि कस्को बाउको के पो लाग्छ र । कसैलाई जुम्रे तालु फालँु फालुँ जस्तो लाग्दछ । तालु फाल्यो भने फेरी तालुको नाम निसानै मेटिने भएकोले फेरी फेरी आलु फलाउन सकिन्न । यदि कसैले तालु ताछेर आलु फलाउने प्रयास गर्दछ भने तिनीहरू चालु ठालु बन्न सक्दैनन् । त्यो तालु भालुका निम्ति खन्यू खोस्रेझैँ खोस्रि रहने माध्यम पनि बन्न सक्छ ।

वास्तवमा ठालुको तालु रोगको उपज पनि हो । तालुमा ठालुको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका सम्पूणर् पक्षहरू घुसेको हुनाले पनि महत्व ठूलो भएको हुन सक्छ । राजनीति नगर्ने ठालुको तालुले भने तालुकवालाको चालु तालुझैँ महत्व पाउँछ । हिजोका तालु खुइलेले भनेका उहिलेका कुरा अहिलेका चालु तालु भएका महाशयहरूले बुझेका होलान् ।

तालु खुइलेका ठालु महाशयहरूले नाङ्गो तालुमा बाङ्गो पारी डोको नाम्लो लाएर बोक्ने हो भने अनि देख्थे होलान बाउ को विहे । चुरोट बिडी निभाउने एस्टे्रको रूपमा विकसित भएको खुइलेको तालु उहिलेका बुढा खाडाको पनि हुन्थ्यो । तर उनीहरूको नाङ्गो तालुले आलुको भारी कति बोक्यो कति । सोझो बाङ्गो नाम्लो पारेर खोला तारेर भारीका भारी आलु फलाउन खुइलेको नाङ्गो तालुले धेरै कष्ट गरेको हामीले देखेको सुनेको र भोगेको कुरा हो । तालु खुइले देख्दैमा ठूलो मान्छे ठान्नेलाई हान्ने साँढे लगाएर स्वागत गर्ने तालुको महत्व नबुझिकन आलु फलाउने, बालु दल्ने, चुरोट बिडीको ठुटो निभाउने जस्ता असल कामले ठालुको तालुले सप्रने मौका पाउँछ । तसर्थ त्यस्ता तालुलाई भालुको मनमा खन्यू भनेझैँ आलु फलाउन कालुले गरेको परिश्रम सहज गर्नेतर्फ सबैले आश्रय दिँदा प्रश्रय पाउने भएकोले बालु भएर प्रदर्शनमा राखे उपयुक्त हुने ठहर मेरो ब्रह्मले गरेको छ ।

खुइलेको तालुको वास्तविक अर्थ केहो भने इद्म भ्रष्टम उद्म भ्रष्टम भ्रष्टाचार्यै नमोनमः, भ्रष्टकर्मणेन जीवन सुधरयत । अर्थात् यता पनि उता पनि भ्रष्टकर्मले भ्रष्टाचारलाई पुजा गरेको छ र भ्रष्टकर्मले नै जीवन सुध्रने सिद्धान्त ती आलु नफल्ने ठालुको खुइले तालुभित्र बालु पसेर बर्वाद भएको हो । त्यही भ्रष्ट बुद्धि भएकै कारणले पनि तालुको केश उडेर शेष भएको हो भन्न प्राय सबैलाई करै लाग्छ ।

अर्को महत्वपूणर् कुरा केहो भने कुनै ठालुको तालु त टेन्ट लगाएर भोज भतेर कुनै सार्वजनिक कार्यक्रम नै गर्न हुने खालको फराकिलो हुन्छ । फेरी पाठकहरूले यो खबर सुनेर निःशुल्क ठाउँ पाइने भयो भन्ठानेर कतै त्यस्तै ठालुको तालुमा साहित्यिक कार्यक्रम गर्न लाग्नु भयो भने होस् गर्नु होला नि, किनभने त्यस्ता भ्रष्टको फराकिलो तालु अर्थात् प्लेटफर्म वा खुइलेको पहरो जस्तो हलमा साहित्यिक कार्यक्रम गर्दा साहित्यकारहरू लड्ने भय हुन्छ । त्यहाँ साहित्यिक गतिविधि फस्टाउदैन । अर्थात खुइलेको तालु साहित्यिका लागि उर्वरभूमि होइन कि जर्जर भूमिचाहिँ आवश्यक हुन्छ । त्यहाँ कार्यक्रम गर्दा स्वर्गका कवि साहित्यकारहरूको मन रुन्छ । जिउदा साहित्यकारहरूको मन भत्भती पोल्छ र पोल खुल्छ ।

कतिपय साहित्यकार महोदय र महोदयज्यूहरूलाई तालु खुइलेकामा खुशी र दुःख दुवै छ । वरिष्ठ कहलिन पाएमा खुइलेको तालुमा आलु फल्ने चान्स बढी हुन्छ । यसमा खुशी हुनु स्वभाविकै ठहर्छ । तर साहित्य लेख्दा लेख्दै हातमा बारीका डल्लाझैँ ठेला उठे तापनि तालुको रौँ भालुकाझैँ उडेर टक्ला भए पनि वरिष्ठताको क्रमभङ्ग भएर दुःख मनाउ गर्दै बस्छन । ठूला अर्थात् तालु खुइलेका साहित्यकारका अगाडि अहिलेका चाटु साहित्यकारहरूका तालुमा आलु फलेको देख्दा उहिलेका तालु खुइलेका साहित्यकारहरूको होस् हवास् उड्न कुनै आइतबार पर्खिरहनु पर्दैन ।

यदि मैले बेइमान भने पनि इमान्दार भने पनि गाँठी र खाँटी कुरा गर्नु पर्दा आलु नफल्ने ठालुको तालुको यो दुनियाँमा कुनै औचित्य छैन । अर्थात् नेपालमा यस्तो तालुको औचित्य भएको भए हामी नेपाली अहिले यस्तो दुर्दशा भोगेर बस्ने थिएनौ । भारतमा भने आलु नफल्ने ठालुको तालुले सिङ्गो मुलुक नै थामेको छ । किनभने उनीहरूको तालुमा देशको छाप डाम सबै थोक छ । तर नेपालका ठालुका नाङ्गो तालुमा कुनै छाप डाम नै छैन । न त कुनै केश नै छ, केवल छ बाङ्गो नशा मात्र । त्यसैले सधैँ नैतिकता बिक्री गरेर आफूलाई सिक्रीबाट फुत्केको भेडी गोठालोको भोटे कुकुरझैँ ठानी खाली राजनीतिका नाममा खल्वाटता प्रदर्शन गर्ने संस्कार आलु नफल्ने तालुले निम्त्याएको घामझैँ छर्लङ् र पारदर्शी छ भन्ने कुराको सुइँको भुँइको किराले समेत बुझिसकेको छ । उक्त तालुमा किरा परेर नै होला आलु नफलेको र नैतिकताको खडेरी परेर खुइलेको तालु आफैँका निम्ति पनि विषालु बन्दै गएको होकी भन्ने ठालुको तालुले शङ्का उब्जाएको छ ।

०००
‘सिंहदरबारका नरसिंहहरू’ (२०७९)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
जोकतन्त्रका जोकरहरू

जोकतन्त्रका जोकरहरू

माधव पोखरेल गोज्याङ्ग्रे
उल्लु दिवस

उल्लु दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
झुसे दाह्रीको श्याम कहानी

झुसे दाह्रीको श्याम कहानी

माधव पोखरेल गोज्याङ्ग्रे
जय दारीको भारी

जय दारीको भारी

माधव पोखरेल गोज्याङ्ग्रे
विदेशिएको पोइलाई मुसीमायाको लभ लेटर

विदेशिएको पोइलाई मुसीमायाको लभ...

माधव पोखरेल गोज्याङ्ग्रे
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०