हाेलीकाे शुभकामना
मेरो गर्जनले ससुराल भुईंमा मन्दकम्पन् आयो । एक हुल ठिटाठिटी सामुमा उभिएर कान समात्दै भन्न थाले; “माफ गर्नुस्, भिनाजू । तपाईंको अपराधी हामी हौं । होलीको शुभकामना !
नन्दलाल आचार्य :
म ढुक्कले ससुरालमा थकाइ मारेको हप्ता दिन बित्नै लागेको थियो । मलाई कतै कसैको भयत्रास छँदै थिएन । बिदा पनि सिङगै १२ दिन बाँकी छँदै थियो । बिरामी छु भनेर हाकिमलाई खबर गरेकै थिएँ । पत्नी पनि साथमै हुनाले कुनै किसिमको सकस अनुभव गरेकै थिइनँ । भर्खरै विदेशबाट सालो आएको हुनाले हरखुशी ओइरिएको थियो ससुरालमा ।
बाहिर मानिसहरू होहल्ला गर्दै थिए । नाचगानमा रमाउँदै थिए । म कोठामा नानाभाँतीका सपनाहरूसँग बात मार्दै थिएँ । आँखाले कतिखेर विश्राम लिए पत्तो पाइनँ । कति बेलासम्म म निद्रादेवीको कैदमा परेँ, त्यो पनि हेक्का रहेन ।
आँखा खुल्नासाथ उठेर शरीर तन्काएँ, पाँच मिनेटले सताएको अनुभूत गर्दै बाहिर निस्केँ । त्यहाँ शान्त मुद्रामा रंगले पुरिएर भूत बनेका केटाकेटी, युवायुवती एकाएक हाँस्न थाले । कसैको केस खजमजियो भने त खित्का छाडेर हाँस्ने गर्छन्, यिनीहरुको भर हुन्न भन्दै केस मिलाएँ ।
काम सिध्याई भित्र पस्न लाग्दा ससुराले भने; “ज्वाइँको राम्रो रूपप्रति डाहा गर्नेहरू पनि निस्केछन् ।”
“बोल्न सहज छ तर आजका मान्छेलाई गर्न असहज छ बुबा ।” म यसो भन्दै भित्र पस्न थालेँ । बाहिर हाँसोको बाढी थामिएकै थिएन । ससुराले पनि ऐना हेर्न सुझाए ।
जुँगाका रेखी मात्रै थिएँ, जुगाँमुठे भएँछु । सानो टीको समेत कहिल्यै लगाउँदिनथेँ, साक्षात् शिव नै भएँछु ।
“मेरो त्यो रूप खोसेर यो रूप दिने को हो ?” मेरो गर्जनले ससुराल भुईंमा मन्दकम्पन् आयो ।
एक हुल ठिटाठिटी सामुमा उभिएर कान समात्दै भन्न थाले; “माफ गर्नुस्, भिनाजू । तपाईंको अपराधी हामी हौं । होलीको शुभकामना !”
०००
एनेलकुटी, सिरहा ।