सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुढ्यौली उमेरमा युवापन

विशेष गरी घरपरिवारले गर्दै आएको लामो समयको हेरविचार (लङटर्म केयर) लाई ‘ओल्ड एज होम’ र ‘नर्सिङहोम’ को व्यवस्था गरी राज्यले नै नीतिगत व्यवस्था गर्नुपर्छ ।

Nepal Telecom ad

नन्दलाल आचार्य

उमेरले प्रायः छ दशक कटेपछि सामान्यतः बुढ्यौली जीवन सुरुआत हुन्छ । स्वस्थ र सुखी बुढ्यौली जीवन भनेको कुनै रोग नलागेको अवस्थामा हो । सरकारले स्वस्थ र सुखी बुढ्यौलीका लागि स्वास्थ्य सेवा प्रणालीमा सुधार गरेर सबैको पहुँचमा पुर्‍याएको छ । ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता पनि दिने व्यवस्था गरेको छ । त्यस्ता नागरिकलाई दुव्र्यवहार गर्नेलाई कडा कानुनी कार्वाहीको व्यवस्था गरेको छ ।

विज्ञानप्रविधिको विकाससँगै संसारभरि ज्येष्ठ नागरिकको संख्या बढिरहेको छ । अधिकांश ज्येष्ठ नागरिकहरू निम्न र मध्यम आयका छन् । अन्य देशजस्तै नेपालले पनि ज्येष्ठ नागरिकलाई आर्थिक रूपले र स्वास्थ्यको दृष्टिकोणले सक्षम पार्न दिनानुदिन सुविधाहरू वृद्धि गर्दै, गराउँदै आएको छ ।

जनस्तरबाट समेत ज्येष्ठ नागरिक सम्मानका लागि जनचेतनामूलक कामहरू हुँदै आएका छन् । यसै सिलसिलामा बुढ्यौली साहित्य समाज स्थापना भई अधिकांश जिल्लामा शाखा र उपशाखाहरू खुलेका र खुलिरहेका छन् । ज्येष्ठ नागरिक समाज जस्ता संघसंस्था पनि क्रियाशील छन् ।

वृद्धत्व अर्थात् पाका पुस्ताको बारेमा अध्ययन गर्ने विज्ञानलाई जेरन्टोलोजी भनिन्छ । जेरन्टोलोजीमा उमेरको आधारमा वृद्धत्वको वर्गीकरण निम्न प्रकार गरिन्छ-
१. वृद्धावस्था ६५ वर्ष
२. युवा वृद्धावस्थामा ६५-७४ वर्ष
३. मध्य उमेर ७५-८४ वर्ष
४. अतिवृद्ध ८४ वर्षभन्दा माथि

शरीरशास्त्रका अनुसार वृद्धत्वका प्रारम्भिक चिन्हहरू तीस वर्षपछि प्रारम्भ हुन्छन् । हुन त ४० वर्ष पछि इन्द्रियहरूमा आउने शिथिलता प्रायः सबैले अनुभव गरेकै कुरा हो । हाम्रो नेपालको निजामति निकायमा सेवा निवृत्त उमेर ५८ वर्ष छ । यस हिसाबले हेर्दा सरकारी सेवामा बुढ्यौली ५८ वर्षबाट प्रारम्भ हुन्छ । शिक्षा सेवामा निवृत्ति उमेर ६० र ६३ तथा कानुनी सेवामा यो उमेर ७५ वर्षसम्म छ । सबैको निरीक्षण गर्दा विभिन्न क्षेत्रमा बुढ्यौलीको समयसीमा पनि फरकफरक छ ।

उमेर जे होस् सक्रियतामा कमी वृद्धत्वको एउटा पहिचान हो । बालबालिकाहरूको स्वभाव नै चञ्चलपन हो । युवा अवस्थाको परिचय सक्रियता रहनु हो । त्यसकै विपरीत वृद्धावस्थामा प्रवेश भनेको निष्क्रियता बढ्नु हो । कोही ८० वर्षमा पनि सक्रिय रहे युवावस्थाको विशेषता मान्नुपर्छ ।

प्रौढतालाई उमेर, अनुभव, दायित्व, शारीरिक र मानसिक सक्रियता, सामाजिक र मनोवैज्ञानिक प्रभाव आदिको मिश्रण मान्नुपर्छ । स्वामी प्रपन्नाचार्यले ३५ वर्षको उमेरमा ५ वर्षको बालक झैं कखरा पढ्न सुरु गरेका थिए । यसलाई निरन्तरता दिएर ५५ वर्षमा षड्दर्शनाचार्य बने । वेदको ज्ञानका लागि उनी नेपालमा विख्यात मानिन्छन् । नोबेल पुरस्कार प्राप्त कवि रवीन्द्रनाथ ठाकुर वृद्ध उमेरमा पनि पच्चीस वर्षे तन्नेरी झैं ठाँटिएर रहन्थे । आफूलाई सजाउन घण्टौँ लगाउँथे । अरूका कुरा त के गरौँ जवानी जेलमा विताएर राजनीतिमा सफल अवतरण भएका नेल्सन मण्डेलाले ८४ वर्षको उमेरमा ८० वर्ष की जाम्बियाका राष्ट्रपतिकी विधवासँग प्रेम विवाह गरेका थिए । त्यसैले कोही छिटै वृद्ध हुन सक्छ । कोही भने दीर्घकालसम्म युवा रहिरहनसक्छ ।

ज्येष्ठ नागरिक मध्ये कसैको आयु निकै लामो हुन्छ । कसैको छोटो रहन्छ । कसैलाई धेरै रोग लाग्छ । कसैकसैलाई भने छोटो समयसम्म मात्रै रोग लाग्छ । कोही आठ दशक नाघ्दा पनि हिमाल चढ्न सक्छन् । कोही भने छ दशक नटेक्तैै हिँडडुल गर्न नसक्ने हुन्छन् । यसो हुनुमा फरक वैयक्तिक कारण र वातावरणले हुनुपर्छ ।

फरकफरक व्यवहार, खानपान, जीवनशैली, फरक वंशाणु, फरक रोग, बढ्दो उमेरले ल्याएको शारीरिक र मानसिक परिवर्तनले ज्येष्ठ नागरिकहरूको जनजीवनमै विविधता ल्याउँछ । वरपरको वातावरण, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच, सामाजिक हेरविचार र उचित अवसरले ज्येष्ठ नागरिकको स्वास्थ्य र जनजीवनमा प्रतिकूल असर पार्छ ।
कतिपय बुढ्यौली उमेरका मान्छेमा युवा जोसहोस मात्रै होइन व्यवहार पनि हुन्छ । उनीहरूको कार्यकलापले बुढ्यौलीलाई युवाकालमा फर्काएको अनुभूत हुन्छ । यस्तै अनुभूति यहाँ उल्लेख गर्नु श्रेयस्कर ठान्दछु-

एकाबिहानै म स्कुल जाँदै थिएँ । मभन्दा धेरै टाढा ढाड कुप्रेकी आमै लौराको सहायताले मलाई पछ्याउँदै थिइन् । मृत्यु कुर्न आर्यघाटमाबनाएको कुटीमा कुप्रिनुपर्ने अवस्थामा किन हिँड्नुपर्या होला भन्ने सोच्दै थिएँ । अर्को मन भने आज विद्यार्थी सामु कसरी प्रस्तुत हुने भन्ने जुक्ति खोज्दै थियो । तत्क्षण ती आमैले मलाई उछिनिहालिन् ।
गेगरैगेगरको बाटो थियो । तिखातिखा ढुङ्गाले खुट्टादेखि मुटुसम्म घोच्थ्यो । उनका खुट्टामा जुत्ताचप्पल थिएन । शरीरलाई पातलो कपडाले ढाकेर मुस्किलले लाज छोपेकी थिइन् ।

म पनि रक्सीले मातेको मान्छेजस्तै लरखराउँदै उनलाई मुस्किलले भेटेँ । बिमारको शिकार भएको कारण म बाङ्गा खुट्टा टेक्थेँ । उनी बुढ्यौलीका कारण कुप्रिन्थिन् । यो कुराको भलिभाँती जानिफकार भए पनि बोल्ने मेलो थाल्नका लागि मैले सोधेँ; ‘आमै, तपाईं किन कुप्रनुभएको ?’
‘रक्सीले मातेर लैना पाडापाठी बनेको मान्छेसँग मैले बोल्ने गरेको छैन ।’

उनको उत्तरले मेरो मर्मभेद गर्‍यो । म लाजले भुतुक्कै भएँ । साँचो कुरा ज्ञात नगराए आमैसँग बोल्न नपाइएला भनेर स्पष्टीकरण दिएँ; ‘मेरो जीवन मसँग छैन आमै । कसैको कृपाले म हिँड्दै र बोल्दै छु । तर धरोधर्म आमै, मैले रक्सी पिउनु त के छोएको पनि छैन ।’

‘उसो भा, तिमी पचास वर्ष नपुग्दैमा हजुरबा बनेछौ । तिमीभित्रको खराब गिदीले उमेर अघाबै बुढ्यौलीमा उक्लेछौ ।’ यसो भन्दै आमै अगाडि लम्केकी लम्क्यै गरिन् । स्कुलको गेट आयो । मैले छुट्टिने बेला आयो । आमैले भने मेरो मनमा जिज्ञासाको भकुन्डोमा हावा भरिसकेकी थिइन् ।

जानीजानी स्कुल छाडेर म आमैका पछि लागेँ । उनका रहस्यले भरिएका रसिला कुराको लालची बनेँ ।
‘मैले के गलत काम गरेँ र आमै । म किन यस्तो बिकलाङ्ग भएँ ?’ मैले विनम्रता देखाउँदै प्रश्न गरेँ ।
‘तिमीले आफ्नो जीवन बाँच्न भुल्यौ । कसैले बक्सिस देला कि भनी आफ्नो जीवन अर्कालाई सुम्पियौ । अर्काले जे दियो; जे सिकायो; त्यसलाई अन्धो अनुसरण गर्‍यौ ।’

उनको आरोपप्रत्यारोप सुनेर म तर्सिएँ । म विगततिर फर्कनै लागेका बेला उनले थपिन्; ‘अझ पनि बेला घर्केको छैन । सप्रने मन छ भने केही हदमा सप्रने लक्षण देखिरहेकी छु ।’

सबै कुरा जानेबुझे जस्तो गरेर आमैले विगतदेखि आगतसम्मको मेरो नालिबेली एकएक गरेर केलाइन् । मैले गलत काम नगरे पनि पाइलापाइलामा गलत कदम चालेको बखान गरिन् ।
‘ल, मैले बिराएँ । अब सप्रर्न के गर्नुपर्ला ?’ मैले फेरि प्रश्न गरेँ ।
‘बाबू, मजस्तै जीवन बाँच्ने कसम खाऊ । तिम्रो शरीरमा रोगले डेरा पाउँदैन । तिमीलाई थाहै नदिई कुलेलम ठोक्छ । तिमीले जीवनभर खान भनेर सुरुआत गरेका दबाई समेत रोगसँगै सति जान्छन् ।’ उनको यस्तो बखान सुनेर मैले सोधिहालेँ; ‘तपाईं कति पुग्नुभयो आमै ?’

मैले प्रश्न पुरा गर्दा नगर्दै आफ्नी आमाको हवाला दिँदै भनेको सुनेँ; ‘ठूलो भुइँचालो जाँदा मेरो बिहे भएको दुई वर्ष नाघेको थियो । बिहे हुँदा म सात वर्षकी थिएँ रे ।’

आश्चर्यले मैले जिब्रो टोकेँ । उनलाई भेट्न मैले ठाउँठाउँमा दगुर्नु पथ्र्यो । हामी निकै टाढा पुगिसकेका थियौँ । म स्वाँस्वाँ गर्न थालेको थिएँ । आमैको व्यवहारमा थाकेको कुनै झलक थिएन । उनका अगाडि म आफूलाई कायर सावित गरिरहेको थिएँ ।

उनैले भनिन्; ‘आफ्नो जीवन फिर्ता लिने र आफैँसँग राख्ने हो भने चप्पलजुत्ता फाल्दिेऊ । रात नौबजेदेखि बिहान तीनबजेसम्म निद्रादेवीलाई शरीर चढाऊ । आफूसँग राख्ने लालच मनमा नपाल । बिहान तीनदेखि छ बजेसम्म ऋषिमुनिलाई सुम्प । बाँकी बचेको समय आफ्नो र अरूको संविधान अनुसार चल ।’

म प्रश्नविहीन सुन्न र गुन्नमा केन्द्रित भएको देखेर उनले थपिन्; ‘तिम्रो शरीरले अधिकांश समय सिमेन्ट हैन माटो छुनुपर्छ । धेरै समय सिमेन्टको मृत छानोमुनि हैन, जीवित वृक्षमुनि विताउनुपर्छ । मृत खाना हैन जीवित खाना पेटमा पस्नुपर्छ । नकार भाव अनुहार कहिल्यै आउनुहुन्न । सकार भावले हरेक पल सिँचिनुपर्छ ।’

कुरो गर्दै जाँदा म उनको निवासमा पुगेँ । उनका तीन भाइ छोरा रहेछन् । मजस्ता नातिहरू मनग्यै भेटिए । सबैले गगनचुम्बी महल ठड्याएका रहेछन् । पन्ध्र कठ्ठाको घेरिएको परिसरमा अनेक औषधीजन्य वनस्पति लगाएको रहेछ । अनेक जातका चराहरू चिरबिराइरहेका थिए । मौरीहरू भुनभुनाइरहेका थिए । त्यसको बिचमा चिटिक्क परेको झुपडी थियो । त्यो माटो, खर र काठले बनेको थियो ।

त्यहीँ आमै फुर्सदमा चरा र वनस्पतिसँग गफ गर्दिरहिछन् । बिहान मात्रै खाना पकाउँदिरहिछन् । बेलुका सूर्यास्तपूर्व नै फलफूल, गेडागुडी हल्का खाँदिरहिछन् । खाटमा नभई भुईंमै गुन्द्री ओछ्याएर र पातला कपडाको प्रयोग गरेर विश्राम गर्दिरहिछन् । आफूले भनेजस्तै आफ्नो जीवनशैली बनाएकी रहिछन् ।

करिब पाँच घण्टा उनीसँग विताएर म स्कुल पुगेँ । विदा जनाइदिन आग्रह गर्दा संयोजकले भनेँ; ‘तपाई पढाउन आएको मान्छे; ताइ न ताप्केको कुरा सुन्न पछि लाग्नुहुन्छ ? फु्र्सदमा कुरा गर्नुसुन्नुपर्छ । कामधाम छाडेर जङ्गली कुरामा समय बर्बाद गर्नुहुन्न ।’

उनकोे नकार भावका पछि लाग्नु थिएन । मैले बाटो बिराएकाले उनी मलाई आदर्शका पानाहरू पल्टाउँदै सुनाउँदै थिए । म आज्ञाकारी बालकलेझैँ ‘हजुर मा हजुर’ थपिरहेको थिएँ ।

घन्टी लाग्यो । प्रधानाध्यापकले डस्टर र मार्कर थम्याउँदै भने; ‘खुरुक्क गएर बाँकी कक्षा लिनुस् । अग्रीम विदा स्वीकृत नगराईकन ती ‘जङ्गली आमै’ जस्ताहरूलाई समय नबेच्नुस् । हाम्रा सस्ता मान्छे हैनौँ । राष्ट्रलाई नै जीवन दिने (वा तुहाउने) व्यक्ति जन्माउने कामधेनु हौँ ।’

मेरो पेशागत कामलाई समेत वाधा पुगेको यस घटनापछि म निष्कर्षतिर लम्कन्छु । सबैखाले ज्येष्ठ नागरिकले खुशी र सुखी जीवन पाउनका लागि हरेक अस्पतालमा दक्ष ज्येष्ठ नागरिक रोग विशेषज्ञ अर्थात् ‘जेरियाट्रिसियन’ को व्यवस्था हुनुपर्छ । विशेष गरी घरपरिवारले गर्दै आएको लामो समयको हेरविचार (लङटर्म केयर) लाई ‘ओल्ड एज होम’ र ‘नर्सिङहोम’ को व्यवस्था गरी राज्यले नै नीतिगत व्यवस्था गर्नुपर्छ ।

स्वस्थ रहन नियमित व्यायाम, हिँडडुल, सामाजिक सम्पर्क, अवकाशप्राप्त कर्मचारी अथवा अन्य ज्येष्ठ नागरिक सुहाउँदो रोजगार, बुढ्यौलीमा सक्रिय रहेर देशलाई आजीवन योगदान दिने व्यवस्था आदि गरी ज्येष्ठ नागरिकमैत्री वातावरण सिर्जना गर्नुपर्छ । ज्येष्ठ नागरिकलाई आफ्नो ज्ञान र अनुभवका आधारमा अध्ययन, अनुसन्धान र नवीनतालाई प्रोत्साहन दिनुपर्छ ।

‘सुखी नेपाली समृद्ध नेपाल’ नारालाई साकार पार्न ज्येष्ठ नागरिकको योगदानको कदर गर्नु र उनीहरूको जीवन स्वस्थ र सुखी बनाउनु हामी सबैको परम कर्तव्य हो भन्दा अतिशयोक्ति हुन्न ।

०००
२०८०-०५-०७
सिद्धार्थटोल, उदयपुर ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
भेटेको मोबाइल

भेटेको मोबाइल

नन्दलाल आचार्य
हाेलीकाे शुभकामना

हाेलीकाे शुभकामना

नन्दलाल आचार्य
साथी

साथी

नन्दलाल आचार्य
भुइँचालो

भुइँचालो

नन्दलाल आचार्य
छलछाम छात्ते छ पार्टी

छलछाम छात्ते छ पार्टी

नन्दलाल आचार्य
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे