मनोज गजुरेलहुन्छवाद-हुँदैनवाद
विरोध गरेजस्तो पनि समर्थनको हात उठाएजस्तो पनि हुन्छ पनि हुँदैन पनि, ल- पनि नाइँ पनि, जिन्दावाद पनि मुर्दावाद पनि यस्तो गज्जबको वाद छोडेर के को मार्क्सवाद के को माओवाद !

मेरो मःम पार्टनर खप्परधोज एउटा राम्रो किचनकर्मी पनि हो । ऊ किचनमा पसेपछि घिचनका मीठा-मीठा परिकारहरू पकाउन सक्छ भन्ने हाम्रो मित्र-मण्डलीमा मान्यता रहँदै आएको छ । त्यसमा पनि खिचडी उसको सबैभन्दा उत्कृष्ट आइटम हो । अझ विभिन्न ’वाद’ हरूको खिचडी पकाएर मुलुकलाई बरवादको स्वाद दिनु खप्परधोजको विशिष्ट कला मानिन्छ ।
खप्परधोजको खिचडी बनाउने क्याटलगको भनाई अनुसार संवादले कुरोको चुरो निकाल्छ विवादले शत्रुको जरो उखेल्न सहयोग गर्दछ । मार्क्सवाद वा गान्धीवादको पनि जमाना गयो रे. स्वीकार गरेर मुलुकलाई गोलचक्करवादमा थन्क्याउनु पर्दछ भन्ने खप्परधोजको मान्यता रहेको छ । खप्परधोजले प्रतिपादन गरेको पछिल्लो खिचडी हो- ’हुन्छवाद-हुँदैनवाद’ । एकीकृत मार्क्सवाद-लेनिनवादको परिमार्जन गरेपछि हुन्छवाद-हुँदैनवाद’को जन्म हुन्छ ।
’सङ्कटकाललाई हाम्रो समर्थन पनि छैन-विरोध पनि छैन । यसी भनेर एमाले भन्ने पार्टीका केही नेताले यसको व्यावहारिक प्रयोग गरिसकेका छन् । ती नेताका अनुसार यही बादको माध्यमबाट देशमा आमूल परिवर्तन गर्न सकिन्छ । महात्मा गौतम बुद्धको ’मध्यममार्ग’वाट प्रभावित यो सिद्धान्त नेपाली माटोमा उत्पादन भएको मौलिक विचार हो । कुनै पनि सरकारी नीति वा निणर्यलाई स्वीकार वा अस्वीकार दुवै गर्नुपर्ने भएकोले यसमा राजनीतिक घाटा भन्ने कुनै कुरो छैन । जस्तोः सङ्कटकाललाई विरोध पनि नगर्ने, समर्थन पनि नगर्ने नीति अङ्गीकार गर्दाखेरी माओवादी सफल भए भने ’सङ्कटकालको समर्थन थिएन’ भने भैगयो । सरकार सफल भए ’सङ्कटकालको विरोध गरेका थिएनौं’ भने पुगिहाल्यो ।
’पर्खिएर हेर्ने’, ‘आलोचनात्मक समर्थन गर्ने’, ’सचेत गराउने’, ’वडो गम्भीर भएर मूल्याङ्कन गर्ने’ जस्ता विचार पनि ‘हुन्छवाद- हुँदैनवाद’ का कार्यनीतिक प्रक्रियाहरू हुन् भन्ने खप्परधोजको विचार छ । ’हुन्छवाद हुँदैनवाद’ले सबैभन्दा ज्यादा आफ्नो ढाडलाई विशेष मान्यता दिएको हुन्छ । यदि सरकारले पेल्ने कदम उठायो भने मानिसको सिद्धान्तभन्दा पहिले ढाडले नै दुःख पाउँछ, त्यसकारण पहिले आफ्नो साख र शान बचाउने- त्यस पछाडि मात्रै सिद्धान्तको कुरो आउँदछ भन्ने कार्यनीति हुन्छवादी-हुँदैनवादीहरूको रहेको हुन्छ ।
न राजनीतिक अडानको कुरो, न त सैद्धान्तिक प्रतिबद्धताको प्रसङ्ग । विरोध गरेजस्तो पनि समर्थनको हात उठाएजस्तो पनि हुन्छ पनि हुँदैन पनि, ल- पनि नाइँ पनि, जिन्दावाद पनि मुर्दावाद पनि यस्तो गज्जबको वाद छोडेर के को मार्क्सवाद के को माओवाद !
हुन्छवाद-हुँदैनवाद राजनीतिमा मात्र सीमित छैन । एकजना मेरा चलचित्र समीक्षक मित्र छन्- फिल्मानन्द । एकपटक हामी सँगै हिन्दी सिनेमा हेर्न गयौं । पर्दामा उत्तेजक ढङ्गले ’भारतनाट्यम’ देखाइरहेकी नायिका देखेर उनी पूरै तीन घण्टासम्म वाहः वाहः गरिरहे । भोलिपल्ट उक्त सिनेमाको उनको समीक्षा निस्कियो- ’नेपाली संस्कृतिलाई धावा बोल्ने हावा चलचित्र’ भनेर ।
पर्दामा हेरुन्जेल वाह वाह, समीक्षा गर्दा छिः छिः- यो पनि हुन्छवाद-हुँदैनवादकै प्रभाव हो भन्ने खप्परधोजको निस्कर्ष छ । सरकारमा आफू बसुन्जेल नैतिकता, इमान्दारिता र संवैधानिक सर्वोच्चताको कुरो गर्नु, बाहिरिंदा बित्तिकै तोडफोड र संवैधानिक सुधारका सुगा रटाईका नारा घन्काउनु पनि यसै वादबाट प्रभावित हुनु हो । क्रान्तिकारी जनतालाई क्रान्तिकै कुरा गर्नु- अम्रिकाने काकाहरूलाई पनि नमस्कारको लड्डु चढाउनु दुबै हुन्छवाद-हुँदैनवादकै प्रभाव हो ।
कुनै विषयमा प्रष्ट अडान राखेर ’यो चाहिँ हुन्छ’ र ’यो चाहिँ हुँदैन’ भन्ने क्षमता यो बादका समर्थकहरूसँग पटक्कै हुँदैन भन्ने तर्क केही व्यक्तिहरूको छ । यता पनि हवस, उता पनि हवस् दाहिनेतिर पनि हुन्छ, देब्रेलाई पनि भइहाल्छ भनेर मुन्टो हल्लाउँदा हल्लाउँदै अन्त्यमा हुहुवादीहरूलाई घाँटी दुख्ने रोग लाग्दछ भन्ने मान्यता उनीहरू राख्दछन् ।
तर हुन्छवादका जन्मदाता खप्परधोजको प्रष्ट विचार छ सबैलाई खुशी पार्ने सिद्धान्त भएको हुनाले हुहुवादीहरू बरु बौलाउँछन् तर उनीहरूको घाँटी कहिल्यै दुख्दैन । हुहुवादमा न प्रष्ट विरोध गर्नुपर्छ, न स्पष्ट समर्थन नै दिनुपर्छ । यो विचार एउटा साहित्यिक विचार हो भने पनि हुन्छ ।
जसरी कवितालाई हरेक पाठकले आफ्नै बुझाई अनुसार व्याख्या गर्दछन्, त्यसैगरी जुनसुकै घटनालई आफ्नो स्वार्थ अनुसार व्याख्या गर्न मिल्ने भएकोले ’हुहुवाद’ एउटा साहित्यिकवाद भै मानिदै आएको छ । समर्थन गरेजस्तो गर्नोस्, विरोधपत्र बुझाए झैं पनि गर्नोस् । सरकारी मिडियामा गएर ’माओवादी आतङ्ककारी’ को विरोध गर्नोस, जनताका अगाडि पुगेर ’कान्तिकारी स्पिरिटको’ समर्थन गर्नोस् ।
एकीकृत मार्क्सवाद-लेनिनवादमा अब ’हुन्छवाद-हुँदैनवाद’ पनि जोड्नोस् । मुख्य कुरो त मानिसको ढाड नै हो, सिद्धान्त पछाडि आउँछ पहिले आ-आफ्नो ढाड जोगाउनोस् । ढाड रह्यो भने पो तेल लगाउने चाकडीबाज पाउनुहुन्छ । ढाड बिनाको ’वाद’ के काम ? त्यसैले सबैजना गर्वले भन्नोस्-’हुन्छवाद-हुँदैनवाद- जिन्दावाद ।
लौ छिटो गर्नुस्, हुन्छवादको तावामा फ्राई हुनोस् । हुँदैनवादको भुङ्ग्रोमा खस्नोस् र सेकुवा बन्नुहोस् ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































