रुद्र ज्ञवालीनिलम्बनमा भगवान्
प्रभु ! सुदर्शन चक्रको झलकबाटै देवगण भयातुर छ । प्रसाद बहिष्कार गर्ने शक्ति अरण्य देशका देवगणसँग छैन । त्यत्ति हाे कुनैले धर्मसभामै प्युँछन् । कुनैले सिरकभित्र लुकेर प्युँछन् । कुनैले गुफाभित्र प्युँछन् ।

“नारायण, नारायण । अरण्यदेशमा फेरि अर्को महोत्सव शुरु भयो प्रभु ।” नारदले भगवान विष्णुका चरणपादमा बिन्ती बिसाउँदै भने ।
“कस्तो महोत्सव वत्स ?” भगवानले जिज्ञाशा राखे ।
“महाभियोग महोत्सव प्रभु ! अरण्य देशका धर्ममूर्तिले एक्काइस पटक धर्मसभाकोे आचार संहिता उल्लघँन गरे भन्ने आरोपपत्र धर्म सभामा प्रस्तुत भयो र त्यहाँका धर्ममूर्ति निलम्बनमा परिसके ।”
“कस्तोे आरोपपत्र वत्स ?”
“मूर्ति भनेपछि मूर्तिजस्तै हुनु पर्छ । चाहे त्यो शक्तिपीठको होस् चाहे धर्मपीठको । मूर्तिले अरुको भागमा आँखा लगाउनै हुँदैन । भक्तजनले राजीखुशी प्रसाद नैवेद्य जो चढाउँछन् त्यसैमा प्रसन्न भएर शक्ति पीठाधीशलाई सक्दो आर्शिवाद दिइरहनु पर्छ । तर हामी आफैले प्राण प्रतिष्ठा गरेको धर्ममूर्तिले नन्दी, भृङ्गी, चतुशष्ठी योगिनी, भूत, प्रेत पिशाच र शाकिनी डाकिनीका भागमा समेत आँखा लगाउनु भयो ।”
“अनि हामीले प्रमथ गणलाई बक्स भएको प्रसाद के हुने भयो त वत्स ” ?
“सुदर्शन चक्रको प्रताप प्रभु ! प्रभुको त्यो प्रसाद सहभोजका लागि धर्मसभामा प्रस्तुत गरिदैछ । भग सिञ्चित होलीवाइन त प्युनार गर्ने देवगणले यति मिठो सोमरस पान नगर्ने भन्ने कुरै आउँदैन ।”
“केही देवगणले सुरा अलि कडा भयो । अलिकति पानी नमिसाई पिउन सकिन्न कि भन्दै थिए रे !”
“भनेका मात्रै हुन् प्रभु । उनीहरू त्यो भन्दा कडा सुरापान गर्न अभ्यस्त भइसकेका छन् । तर आगामी रैती सम्मेलनबाट घटुवामा परिएला कि भन्ने डरले रैतीलाई उल्लु बनाएका मात्रै हुन् ।”
“त्यसो भए यथास्थितिमै प्रसाद ग्रहण गर्ने भए त ?”
“प्रभु ! सुदर्शन चक्रको झलकबाटै देवगण भयातुर छ । प्रसाद बहिष्कार गर्ने शक्ति अरण्य देशका देवगणसँग छैन । त्यत्ति हाे कुनैले धर्मसभामै प्युँछन् । कुनैले सिरकभित्र लुकेर प्युँछन् । कुनैले गुफाभित्र प्युँछन् ।”
उत्तम, अत्युत्तम वत्स । अरण्यदेशको धर्मसभालाई मेरो शुभकामना सुनाई दिनु ।”
“जो आज्ञा प्रभु ।” नारद एकतारे बजाउँदै बिदा भए ।
भैरहवा
Subscribe
Login
0 Comments
Oldest








































