होम सुवेदीभरियाको चमत्कार
अबको युग यो छन्द र सन्दमा गन्धे कुरा लेखेर केही हुने हैन । सक्नुहुन्छ कसैले नबुझ्ने गरी लेख्नुहोस् । जति नबुझ्ने गरी लेख्नु भो उति उत्तम भो । बुझ्ने गरी लेखेको भा ईश्वरवल्लभ र मोहन कोइरालाले पुरस्कार पाउँथे ? लौ भन्नु त ।

“थुक्क मेरो ता भाग्य नै फुटेको ! आफू भने रात दिन कविता र केकेके लेखेको छ छ एकैछिन पनि फुर्सुद पाउँदैनन् । यसो लाइभसाइभमा आउनू नि बरु । न आफू लाइभमा जान्छन् न कसैले यिनको केजाति पढेको वा वाचन गरेको देख्न पाइन्छ !”
पत्नीको एकोहोरो गनगनले टाउकै दुखिसकेको थियो । तैपनि मैले थामथुम पारिरहेको थिएँ । बन्जाराबाले दिएको सुझावअनुसार यो सब गरिरहेको छु भन्नु पनि भएको छैन । यता यी सबै कुरा लेखिरहन छोड्नु पनि भएको छैन । क्या दोधार ! चित्त ता के बुझाउँथी र तैपनि भनिटोपलेको थिएँ- “हेरिमात्र राख् न कुनै दिन तेरो श्रीमान् कताबाट कता पुग्दोरहेछ !”
“उस्स्,,,,,,, !” उसले ओठ लेप्र्याउँदै भनेकी थिई । “यो कवितासविता भन्दा ता अहिले गजलको जमाना पो छ अरे । गजल लेख्नु नि बरु !” अझ ताना पो मारेकी थिई ।
“यति सारो घोत्लिएपछि ता दुनियाँमा देखिनुपर्छ नि । यसै झोक्रिएर हुन्छ ! कोठामा धुमधुमती बसेर कसले थाहा पाउँछ ! अब तपस्याको जुग छैन । विज्ञापनको युग छ । प्रदर्शनको युग छ बाउ !” छोराले पनि तिखो वचनको काणले हानेको थियो मलाई । अझ उसले ता मेखै मर्ने गरी भन्यो- “एउटा गतिलो दोलाइँ वा खास्टो वा धुस्सा पनि ल्याका छैनन् हाम्रा बाउले । खादा ल्याउँछन् । जुत्ता पुछ्न र हन्बेर्नो बाहेक केही काम लाग्दैन त्यस्तो । फूलको माला ल्याका छन् त्यसको के अर्थ ! त्यस्तो खादा सादा अबदेखि नल्याउनू । उतै फ्याँकिदिनू !”
म छोराछोरी र पत्नीको हप्काइमा परेको थिएँ । कविता नलेखौँ त मनमा चुर्ना पर्छन् । अर्को सालको पुरस्कारका लागि अघिबाटै बन्जारा बाको सल्वाहअनुसार पूर्वतयारी नगरी भएको छैन । लेखौँ भने यस्तो छ घरभित्र । है दैव ! अब छोरीको पालो आएको थियो- “आ, हाम्रा बाबुका कुनै रचना पनि अलिकति काम लाग्दा हुँदैनन् । सँगैका डिल्लीराम मधपुरियाका रचनाहरूले बजार पिटेको छ । उनका सञ्जालका अनेकौँ वाचकहरूले लाइभ वाचन गरेर धुम मचाएका छन् । अझ उनका ता युटुबबाट रोयल्टी पनि पो आउँछ अरे । हाम्रा बाबु ता जुम्से !”
“हुन चैँ ती सबै वाचन गर्ने पनि हन्तकाली भरिया मात्रै हुन् तर सञ्जालभरि तिनकै चमत्कार छ । उनलाई वाचनप्रवीण, वाचन शिरोमणि, स्वरसम्राट, स्वरकिन्नरी, स्वरकोकिला लगायतका केकेजाति नभनी र अलिकति भेटी दक्षिणा नटक्रयाउने हो भने तिनले पनि सोधपुछ गर्दैनन् । जो सित्तैँ गर्छन् ती भनेका भरिया मात्र हुन् । भरियाबाट ता केही हुन्न । ती बाहेककाहरूले भने अलिक भेटी दक्षिणा पाएपछि चाहिँ भए नभएको गाँसगुँस पारेर कताकता कसकसको स्वरको नक्कल गरेर वाचन गरिदिन्छन् अरे भनेको सुनिन्छ । बरु यस्तै लोध्रे भरियालाई भए पनि यसो पिण्डपानी पर सारेर तपाईँले आफ्नो रचनाहरू वाचन नगराई हुन्न बाउ !” बडो मार्मिक विवरणका साथ छोराको अर्ती आएको थियो ।
बाबु यही प्रयोजनका लागि म घुँडा धसिरहेको छु भन्न मन लागेको हो तर गोप्य कुरा खोल्नु पनि भएन अनि चूप लागेँ । छोरी र छोराका पछिल्ला अभिव्यक्तिहरूले मेरो मुटुमा चारैतिरबाट चिमोटेजस्तो भएको थियो । कविता न सविता सन्यासी हुनु पर्यो भन्ने जस्तो पनि भाको हो । तर के सकिन्थ्यो र त्यो गर्न ! बरु जँड्याहाले जाँड छाड्ला यो कवितामा पसियो भने यसबाट मुक्तिको बाटो छैन । देवकोटाले सास जाँदाजाँदै पनि कवितै कथेका थिए अरे । खै के हो के हो ।
ससुरालीले थापेको अर्को सालको पुरस्कार लिइरहेको झलक मनमा झलझली आएकोले यिनका यी नानाभाँतीका घोचपेचहरू पनि खासै केही हैनन् भन्ने जस्तो लाग्यो । उनीहरूका सुइरा जस्ता तिखा घोच्ने वचनले मलाई रुनु न हाँस्नु पारिसके भनेर भन्नु पो भएको छैन त ।
यिनले यस्तै कुराले घोचेर दिक लगाएपछि अलिक अस्ति अब केही ता नगरी भएन भन्ने लागेर मैले यिनले थाहै नपाई के गरेको थिएँ थाहा छ ? छ भने ता भैगो तर छैन भने लु सुन्नुहोस् त । जोईको र छोराछोरीको अर्ती वास्तै गरिनँ । अर्काको जुठो सारेर के यी भरिया मुलेहरूलाई भारी बोक्नु भन्ने पनि लाग्यो । वास्तवमा आफैँ सकिन्छ नि लेख्न मजाले । के अरुको जुठो खानु भन्ने भो मलाई । म पनि स्वाभिमान भएकै मान्छे न हुँ । बरु आफ्नै तर्फबाट केही उपाय पो गर्नु पर्यो भनेर यसो प्रसिद्धि हात लाग्ने उपायका लागि भैरव अर्यालको महापुरुषले महापुरुषको सगङ्गत गरेझैँ आफ्नै छरछिमेकीसँग सङ्गतको बाटो हिँड्ने विचार गरेर धाइफल तोड्न लागेँ । वास्तवमा गुरु नथापी नहुने नै रहेछ भन्ने बोध पनि भइसकेकै थियो ।
खैनी जस्तो कुरासमेत नचुहाउने साकटहरूले सल्लाह भने बिसौलीको मात्र नभई धार्नीका धार्नी दिन्छन् । यसमा दुई मत छैन । यस्तै सल्लाह पाइँदैगो । कसैबाट गतिला दसबार रचनाकारहरूका हरफहरू भित्रबाट उखेल्दै आफ्नोमा मिलाएर थाहै नपाउने गरी रोप्ने गर्नू भन्ने सल्लाहा मिल्यो । खल्ट्या परेका मकैबारीमा बाक्लो भएका ठाउँबाट मकै सारेझैँ थाहा नपाउने गरी सार्ने सल्लाह भो कतैबाट । कसैका रचनाहरूलाई नजानिँदो गरी कपी गर्ने सल्लाह र उपदेश भो । अनि कसैले के त कसैले के सल्लाह दिनुभो । घनिघसेबाले ता माझै मुखबाट भन्नु भो- “सिङ्गै अर्काको थिसिस चोरेर लारीपदक हात पार्छन् भने दुईचार जनाका कवित्तहरू थाहा नपाउने गरी पालिस गरेर चोर न बाजे । के भुत्रो हेरिराखेका छौ । संसारले घरघरै चोर्दा हुन्छ र देशकै ढुकुटी फोर्दा हुन्छ भने तिमीले ती मुलेका कुरा चोर्नु किन नहुने !”
सबभन्दा उपयोगी सल्लाह बन्जाराबाले दिनुभो । उहाँकै शब्दमा भन्नुपर्दा उहाँ पत्रकार पर्नु हुन्छ । उहाँले भन्नु भो- “हेर्नुहोस् कविकारजी, अबको युग यो छन्द र सन्दमा गन्धे कुरा लेखेर केही हुने हैन । सक्नुहुन्छ कसैले नबुझ्ने गरी लेख्नुहोस् । जति नबुझ्ने गरी लेख्नु भो उति उत्तम भो । बुझ्ने गरी लेखेको भा ईश्वरवल्लभ र मोहन कोइरालाले पुरस्कार पाउँथे । लौ भन्नु त । बुझ्ने नै लेख्नुहुन्छ भने बरु गजल गाजलहरू, बहर बाछाबाछीहरू, बहर गोरुहरू, कोरली लैनीहरू, थारोहरू डाँगा छाउरीहरू लेख्नुहोस् । ताङ्का, सोइलो, कुड्को, छेस्को, कप्टेरो, डाली, मुन्टो, घन्टी, रालो, बाछिटो, टयाम्को, झ्याम्टा, चिम्टा, चुचो, टुप्पो, सुइरो, कसिँगर, झाडु, डाडु, पात, डाँक्लो, पेचा, भाँडो, डाँडो, काँडो जस्ता आधुनिक जमानाका नयाँ नयाँ विधा छन् नि हो ती लेख्नु होस् र हाल्नुहोस् फेसबुकमा । यी पनि कविता विध्या, कथा विध्या, निबन्ध बिध्या जस्तै हुन् । नयाँ नयाँ विध्या हुन् यी । त्यति भएपछि परिचय हुन्छ । बिध्यालयदेखि विश्वविध्यालयसम्मका बिध्यार्थीका लागि पाठ्ठे पोस्तकमा पनि राख्छन् तेति भएपछि । हरेक बिध्यालयमा पढाइ पनि हुन्छ । यो पो हो त जुक्तिको मूल बाटो । यसो भो भने रोल्टी पनि पाइन्छ । यति भएपछि तिम्रा गजललाई गाइदिनेको ओइरो लागेनछ भने मैले आजसउम्म पत्रकार गरेको पानीमा जाओस्, मेरा मुखमा….. लौ जा । यसै ठूलो कहाँ हुइन्छ !”
भन्दा भन्दै केही सोचेजस्तो गर्नुभो बन्जाराबाले अनि अन्तमा मेरा कानैनिर आएर भन्नुभो- “हेर्नुहोस् मैले पत्रकार गरेकोमा कति पर्मानपत्र पाएको छु लु हेर्नुहोस् । यसै नगरेको भए मैले यी सब पाउने थिएँ लु भन्नुहोस् त कविकारज्यू !”
झुन्डिएका प्रमाणपत्रतिर सङ्केत गर्दै भन्नुभो- “हे…रि यो जेठानतिरबाट आको हो पत्रकार गरेकोमा । अनि हे…रि यो सिरानघरेकोतिरबाट । मैले पनि यही रीतले हो यी सबै पाएको । हामी पत्रकारहरूले पत्रकार गरेकोमा र पर्मानपत्रको आदानप्रदान गर्ने गरेका छौँ । आफूले ओढ्ने खास्टो आफैँ किनेर लाने गरेका छौँ । लाउन र ओढाउन ता मन्त्रीसन्त्रीले ओढाइदिहाल्छन् नि बरु ह्याँ भुसिया कुकुर नपाइएला मन्त्री भरमार पाइन्छ !”
उहाँले यसो भनेपछि पो बल्ल उहाँको कोठाका भित्तातिर मेरा आँखा गए । टाटेपाटे मात्र हैन पुत्लेपाङ्ग्रे पनि रहेछन् उहाँका पर्मानपत्र । कुनै ता सुनैको फ्रेमका हुन् कि भनेजस्तो र कुनै चाँदीको फ्रेम लगाएका जस्ता । भव्यभव्य उहाँका भाषाका पर्मानपत्रले कोठाको भित्तो भरि ढाकेको पो छ ए ! म तीन छक्क मात्र हैन तीनको दोबर छक्क परेँ ।
उहाँले अन्तमा भन्नु भो- “हामी पत्रकारको ता यता हामी थाप्छौँ पुरस्कार उताकालाई दिन्छौँ, उता थाप्छौँ यताकालाई दिन्छौँ । जेठाले थापेको कान्छालाई कान्छाले थापेको जेठालाई । ससुरालीले थापेको ज्वाइँलाई ज्वाइँले थापेको ससुरालीलाई । सिरानघरेको पुरस्कार पुछारघरेलाई अनि पुछारघरेको सिरानघरेलाई । यो अलिक गोप्पे कुरा छ जहाँसुकै नभन्नू नि फेरि !”
“कहाँ भन्थेँ नि ! यति राम्रो सल्लाह दिने मान्छेको यो गोप्यता । हो त नि म कति पुरातनवादी सोच भएको रहेछु । मैले आफू र आफ्नै इतिहासमाथि सरसरती अवलोकन गरेँ अनि बाले देखाएको बाटोमै अघि बढ्नु पर्ने अठोट गर्न लागेँ ।
उनले अचानक “सोधे तिम्रा ससुराली कतिको धनी छन् ?”
“ठिकै छन् । खानलाउन पुगाएका छन् ।”
“उसो भए तिमी एउटा पुरस्कार थाप्न भनिहाल ससुरालमा । आफूलाई मिल्दोजुल्दो नियम बनाउनू । अनि अर्को साल त्यही पुरस्कार लिनू ।”
“भन्नु पर्ला अब ।”
“भन्नु पर्ला हैन भनिहाल । कविता सविता केही होलान् नि लेखेको !”
“छन् अलेलि !”
“फेरि बुझिने लेखेको होला । नबुझिने खाले लेखेर दिइहाल्नू भोलि नै । मेरो पत्रिकामा पालै पालो गरेर छापिदिइहाल्छु । अर्का सालको पुरस्कार लिनलाई त्यति भए पुगिहाल्छ । पहिले कविता छापिदिन्छु अनि त्यसै कविताको उधुमसँग तारिफ गर्दै कुनै उपनाम राखेर प्रशंसा गर्नू र लेख्नू । अनि तो पनि छापिदिन्छु । अर्का सालको फलानो पुरस्कार पाउन योग्य कवि यिनै हुन् भन्ने कुरा पार्न नबिर्सनू म सम्पादकलाई चिठी स्तम्भमा छापेर पुरस्कार प्राप्तिको पूर्व तयारी गरिदिन्छु । मैले सहयोग गर्ने भनेको यही हो । आखिर परपर कताबाट तिमी मेरो पुत्ने छोरो पनि पर्छौँ क्यारे । यही हो मैले गर्ने सहयोग भनेको । लु जाऊ र कविता लेख्न बसिहाल !”
बाले मलाई ब्रह्मज्ञान खोलिदिएकोले ससुरालतिर पनि कुरा मिलाइसकियो । अहिले कोठामा धुमधुमती बसेर कवितामा धसिएको छु । आ, म पनि स्वाभिमानी कविकार पो त । अरुको के चोरिरहनु है । जे लेखे पनि बाले छापिदिएकै छन् र आफैँले पनि नबुझ्ने कविताका बारेमा तारिफ गरेर लेखौँ भनेको त्यो चैँ अलिक गारो रहेछ । नबुझिने कविताका बारेमा कसरी लेख्ने होला है । अलिक आइडिया पो आइराखेको छैन त ।
मेरो यो समस्याको समाधानमा यहाँले पनि सहयोग गरिदिनु होला भन्ने लागेको छ ।
(प्रकाशनका लागि तयारीमा रहेकाे हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहबाट)
Subscribe
Login
0 Comments
Oldest








































