बाबुराम न्यौपाने ‘उत्स’नारा र राष्ट्रियता
पुरुषहरू टोपी, टाइ, कोट, पेन्ट, दौरासुरुवाल, गञ्जी उतार्दै गए । महिलाले कुर्ता - सुरुवाल,सारीचोलो जेजे लगाएका थिए विदेशबाट आयातीत कपडा खोल्दै गए ।

विशाल मैदान भीडले खचाखच भरिदै थियो । राष्ट्रियताको नाराले आकाश गुञ्जायमान थियो । उपल्लो स्तरका घगडान नेताहरू आउने चर्चाले सबै उत्सुकतापूर्वक नयाँ जोश र उमङ्गका साथ आशा र भरोसा बोकेर जनसभामा सामेल भएका थिए ।
नामचलेका नेताको गाडीको काफिला मञ्चको एककुनामा रोकियो । नेता कार्यकर्ताबाट घेरिदै मञ्चमा पुगे । मञ्चबाट चारैतिर हात हल्लाउदै भीडलाई अभिवादन गरे । उनको वाकचातुर्यले जनतालाई हुनसम्म प्रभाव पारेको थियो ।
पालैपालो नेताका भाषण चल्दै गए । नयाँ नारा घन्किरहेको थियो । जनतामा भने मञ्चमा आशिन प्रमुख नेताको भाषण सुन्ने आतुरता बढ्दै गयो ।
अब भाषणको पालो उनकै आयो । एककिसिमले सारा जनता उनका भाषणका पछि एकोहोरिएका थिए । नेताको बोलीमा अनौठो आकर्षण र भीड जुटाउन सक्ने कला र क्षमता थियो ।
प्रमुख नेताले जनसभालाई सम्बोधन गर्दै एउटा अद्भुत सपना बाँड्दै थिए । मानौ उनले गर्न नसक्ने काम केही थिएन । बर्षौँ नेताको जादुमयी वाकचातुर्यमा अल्मलिएका जनता भाषणको नशामा लठ्ठ थिए ।
यत्तिकैमा नेताले मञ्चबाट जोडजोडले कुर्लदै विदेशी सामान बहिस्कार गर्ने र स्वदेशी सामान अपनाउने राष्ट्रिय पुनर्जागरणको उद्घोष गरे । यसको सुरुवात यही ऐतिहासिक भेला र मञ्चबाटै गर्ने उनले विचार गरे ।
नेताको विदेशी सामान बहिष्कार मध्येको “कपडा क्रान्ति” को आह्वानमा साथ दिन उपस्थित सारा जनता र कार्यकर्ता तयार भए ।
नेताले आफूले लगाएका विदेशी कपडा शरीरबाट उतारेर यही भीडका सामु जलाउन उर्दी जारी गरे । ताली र नाराका साथ नेताको जयजयकार गरियो ।
सबैसबै उपस्थित नेता कार्यकर्ता शरीरमा लगाएका लुगा एकएक गरी खोल्दै जलाउन मैदानमा जम्मा गर्नथाले । विशाल जमघटमा अनौठो जोश र एकता थियो ।
पुरुषहरू टोपी, टाइ, कोट, पेन्ट, दौरासुरुवाल, गञ्जी उतार्दै गए । महिलाले कुर्ता – सुरुवाल,सारीचोलो जेजे लगाएका थिए विदेशबाट आयातीत कपडा खोल्दै गए । घडी फुकाले, मोबाइल फाले ….।
जब महिलाको पेन्टी, ब्रा र पुरुषको कट्टु विदेशी नै पाइयो । त्यसपछि भने भीड स्तब्ध र अन्यमनस्क हुनपुग्यो ।
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































