सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दन्त पुराण

कहिलेकाहीँ भने मान्छेमा पशु सवार भइदिन्छ र उसले दाह्रा उमार्छ । दाह्रा उमार्नु भनेको दाँतको सेवामा गरिने हेलचेक्र्याई हो ।

Nepal Telecom ad

मैले सबभन्दा प्यारो वस्तु नाक हो भनेर लेखपछि एकथरी मान्छेहरू निकै रिसाएका छन् । उनीहरूले मलाई गँड्यौलासँग दांँजे । मलाई अचम्म लाग्यो- दुई सय छ टुक्रा हड्डी भएको ढड्डु जीवलाई झिल्लीमा विचल्लीसाथ घस्रने हाडखोर बिनाको गँड्यौलासँग कसरी दा“जे ? मज्जासहितको मेरुदण्डमा दुई खुट्टाले टुकुटुकु हिँड्ने मनुष्य, खप्परमा गिदी र पेटाराभर लिदी लिएर लम्कने प्राणी, प्वालबाट हाल्ने र प्वालबाटै फाल्ने विशेषतामा रमाइरहेको ज्यानजस्ता तथ्यको ज्ञान नराखी कसरी तुलना गरे म भन्न सक्दिन । तैपनि उनीहरूको कुराले मलाई घोत्लिनुपर्ने बनायो ।

नाकमा हाड हुँदैन प्वाल हुन्छ । हाड त मुखमा पो रहेका छन् । बत्तीस टुक्राको पल्टन बनेर बसेका दाँततिर मेरो होस् नपुगेको भएर नै शायद उनीहरूको रिस उठेको हुनुपर्छ । हुन पनि नाकले आखिर खलाँतीको प्वाल सरह सास हाल्ने र फाल्ने बाहेक राम्रो काम के पो गर्छ र ? सिँगान चुहायो बस्यो । सुन्दरी मैयाहरूले पनि नाकलाई महत्व दिँदा रहेनछन् । कुनै कुनै जातिमा त्यसलाई सिँगार्न फुली भिराए पनि बुलाकी वा नत्था झुण्डाए पनि दैनिक सेवासुसार, मायामोह गरिने वस्तु त दाँत पो रहेछ । नाकले न त नङ्गले झै पालिस पाउँछ, न त गालाले झै मालिस पाउँछ । ईज्जत भन्ने कुरा पनि खुला बजार र प्रतिस्पर्धाको समयमा एउटा सामान्य मालजस्तै त भयो । त्यसो त माल पनि थरीथरीका हुन्छन् । जनता ठग्दै घूस खाने अड्डादेखि राजवंशको विनास गर्ने कालो पदार्थ र भटटटटसम्मका मालहरू माला सरह छँदैछन् । माल ओसारपसार गरेर मालामाल हुने मालधनी माडेदेखि मालदारहरूको काट्टो खाएर बिर्ता पाएका पाँडेसमेत मालमा फेरिएका छन् । माल किनबेचको वस्तु हो । क्या दामी माल रहेछ भन्दा होस् वा केटो त माल छ भन्दा होस् दुवै नै बजार व्यवस्थाबाट बाँधिइसकेको स्थिति अवगत हुन्छ । त्यसैले इज्जत बेइज्जत दुवैको खरिदबिक्री चल्छ । नाफाको पूँजीसामु नाकै गल्छ । दाँत भने त्यस्तो कफल्लो कुरा होइन । यो निकै वीरशाली मानिन्छ ।

दाँत हुनेको आँतै दरिलो यो कुरा उखानमा मात्र होइन व्यवहारमा पनि देख्न पाइन्छ । जुनसुकै खानेकुरा होस् दाँतले चपाएर निलेपछि हजम । तपाइँसँग खुशी छ कि बेखुशी भन्ने कुराको साक्षी प्रमाण मात्र हैन अनुहार उजेल्ने औजार पनि दाँतै हो । दाँत गिजामा पङ्क्तिबद्ध छ र सैनिकले परेडमा सलामी ठोक्दा झैं टम्म मिलेर प्रस्तुत हुन्छ । हा“स्नु भनेकै दाँत देखाउनु हो । हामी हास्यव्यङ्ग्य लेखन्ताहरूका लागि यसको महत्व ठूलो छ । त्यसैले विरोधीहरूले बेला कुबेला हाम्रो दाँत झारिदिने धम्की पनि दिने गर्दछन् । दाँत नभएको अनुहार थोते । थोते मान्छे लोते हुन्छ । हाँसे पनि ङिच्च गिजा देखायो कन्तविजोग तेस्र्यायो बस्यो । बुढाबुढीको हाँसो दुःखको नासो । तरुनी तन्नेरीको हाँसो हिमाल झैं टल्कने दाँतको साथ पाएर नै स्तनपायीहरूले आफ्नाे जीवनलाई रसिलो भरिलो बनाएका छन् । नर बानर, विराला, मुसा, हात्ती जे सम्झे पनि उनीहरूसँगको दाँतले नै तिनीहरूलाई सबल र दुर्बल बनाएको पाइन्छ । दाँत फुक्लेको कुकुर के कुकुर यसो पनि भन्ने गरिन्छ ।

दाँतलाई मान्छेले दिनदिनै स्याहार-सुसार गर्छन् । सामान्य कुल्ला गरेर धोइपखाली गर्नेदेखि बुरुस मञ्जनद्वारा यताउता तलमाथि तिमीहरू जीवनसाथी भन्दै गरिने सेवासम्म लटरम्म छ । अहिले त दा“तको सेवा डाक्टर नर्सहरू मात्र हैन ठूलाठूला अस्पताल खडा भएका छन् । खञ्चुवा नम्मर एक भएपनि दाँतले जे जति चिजवस्तु धुल्याउँछ त्यसको सानो हिस्सा पनि आफूले सोमर्दैन । अथवा भनौं त्यस बेलाको शासन जिब्रो बन्न पुग्छ र उसले तुरुन्तै खान्की खुराक पेटतिर धकेली दिन्छ । दाँत हिस्स बुढी किच्च दाँत बन्न पुग्छ । सक्कली दाँतको अभावमा मान्छेहरूले नक्कली दाँत हालेर समेत आफ्नाे व्यक्तित्व प्रदर्शन गर्छन् । दाँतको वर्ग हेर्दा मुहारी, कुकुरे र बङ्गारा फेला पर्छ । मुहारी दाँत खिस्स हाँस्दा अनुहारको शोभाश्री बढाउने काममा दत्तचित्त हुन् भने बङ्गारा श्रमजीवीको पङ्क्तिमा पर्दछ । त्यसो हुँदा दाँत झार्ने कुरा गर्नेहरूले पनि प्रायः बङ्गारा खुस्काउने दाऊ हेरका हुन्छन् । कुकुरे दाँत दाह्रा किट्दा कट्कटाउने गर्छ । एक प्रकारले यो मुहारी दाँत र बंगाराको सीमास्तम्भ भै बसेको हुन्छ । कहिलेकाहीँ भने मान्छेमा पशु सवार भइदिन्छ र उसले दाह्रा उमार्छ । दाह्रा उमार्नु भनेको दाँतको सेवामा गरिने हेलचेक्र्याई हो । त्यस्ता दाह्राहरूलाई दाँत भन्न कदापि सकिँदैन । मलाई लाग्छ दाँतको यो महिमा बुझ्ने पहिलो मान्छे ईटालीमा देखा पर्‍यो । उसले आफ्नो नाम नै दाँते राख्यो । दाँतेले नयाँ जीवनको खोजीमा सुखान्त काव्य रचेर आफूलाई विश्वविख्यात बनायो ।

दाँतलाई दुनियाँले दुई थरी मात्रै मानिआएको छ देखाउँने र चपाउने । मैले तीन थरी सम्झे पनि कुकुरे दाँतको खास महिमा छैन र त्यो देखाउनेमा पर्दैन । हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक हुन्छ भन्ने कुरा गरेर धेरै मान्छेले आफ्ना दाँतहरू एकैथरी भएको स्वाङ् पार्दछन् । तर मलाई मात्र हैन तपाईलाई पनि थाहै छ कोही पनि मान्छे बङ्गारा देखाएर हाँस्दैन । दाँतकै सहारामा सर्पले बिष ओकल्छ, दा“तकै सहारामा कुकुरले शिकार बटुल्छ । बाघको कुरा गरे पनि नागको कुरा गरे पनि दाँतको महिमा सबैतिर व्याप्त छ । हुँदा हुँदा यन्त्रमानव र कम्प्युटरमा पनि यसको स्थान सुरक्षित हुन पुगेको छ ।

दाँत फुक्लेको बुढालाई कबाफ भनेझैं थोते मुखलाई पानको विडा निल्नु न थुक्नु हुन्छ । मान्छेको मनपेट बुझ्न मद्दत गर्ने मुख्य जिनीस दन्त-मुस्कान वा दन्त-बझान बनेको छ । दाँतमा ढुङ्गा नलागुन्जेल मान्छेले खानपिनको स्वाद लिन्छ । साहित्यकारहरूले दाँतलाई अलि हेला होचो गरेका छन् । टाउकाको औजार बनेका आँखा, कान, नाक, मुखलाई निकै महत्व दिएर तुक्का जोडेका छन्, टाउकैमा रहेको दाँतलाई दलित बनाएका छन् । आँखा लाउने कुरादेखि कान ठाडो पार्नेसम्म होस् वा नाक फुलाउनेदेखि मुख मिलाउनेसम्म होस् दाँतको सदुपयोग गर्न सबका सबले दाँतबाट पसिना झारेका छन् । भारतेलीहरूले भने दाँतलाई उपेक्षा गरेका छैनन् ।

उनीहरूको नेपाली भाषा साहित्यप्रति अनुराग हिमालसम्म आङ तान्ने पुख्र्यौली सोच भित्रै परेको पनि हुन सक्छ । यत्रो भूगोल चपाउने दाँतलाई कसरी बिर्सनु ? उता चपाउनै नपर्ने तर खान त कान्छा बाबुले दाह्रा तिखार्दैछन् भने यता बिहारी जेठालाई त मरमरी चपाउनुपर्ने पहाडका घनघोर थुप्रा छँदैछन् । तैपनि साँचो कुरा के हो भने दाह्रा नङ्राको बलमा दुनियाँ हाँकिने भए, खरायोले सिंहलाई ईनारमा डुबाइदिने थिएन ।

‘फित्कौली’ अङ्क १, २०६२ भदौ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तेल घस्ने खेल

तेल घस्ने खेल

विष्णु प्रभात
खाओवाद जिन्दावाद !

खाओवाद जिन्दावाद !

विष्णु प्रभात
स्वार्थजीवी भव सब !

स्वार्थजीवी भव सब !

विष्णु प्रभात
एघारौँ अवतार

एघारौँ अवतार

विष्णु प्रभात
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई
गाँस

गाँस

ढाकामाेहन बराल
भोक माफिया

भोक माफिया

डा. विदुर चालिसे
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी