साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोर कामचोर

देशका हितमा चुँक्क नबोली तलब भत्ता पचाउँछ भने ठोकेर भने हुन्छ यिनै हुन् कामचोर ।

Nepal Telecom ad

चोर र कामचोरको अर्थ र कार्यगत भिन्नता फरक हुन्छ । चोर हरेक जिन्सी सामान बोकेर घरतर्फ दौडन्छ र आफ्नु एकल स्वामित्वमा परिणत गर्न खोज्छ भने कामचोर चाहिँ आलटाल, ढिलासुस्ती, ठगठाग, अल्याङ् टल्याङ्मा रमाउँछ । अहिले नेपालमा यी दुवैथरी चोर र कामचोरले चौतर्फी बुर्कुसी मारेर रजगज गरिरहेका छन् । सरकार खबरदार ! त्यसो नगर भन्दै चिच्याएझैँ गर्छ तर यी दुवै थरी चोरले कान थुनेर आफ्नो दर्जा र दायरा विस्तार गरिरहेका छन् ।

आफ्नो काम कर्तव्यबाट तर्किनु, जर्किनु, फर्किनु नै कामचोरको प्रमुख विशेषता हो । काम गर्छु भन्ने तर व्यवहारमा ढाड फर्काएर देखाउँछ भने त्यसलाई शुभ सङ्केत र निको मान्न सकिँदैन आफ्नो कर्तव्यबाट मुन्टो बटार्छ भने त्यो स्वतः कामचोर साबित हुन्छ । गर्छु गर्छुको वचन दिने तर वरको सिन्को पर नसार्ने ह्याउ र दाउ कामचोर कर्मचारीमा सुरक्षित छ भने त्यो पूर्वजन्मको राहु र साहु रहेछ भनेर जाने हुन्छ । कामचोर हरेक क्षेत्रमा हुन्छन् । निजी क्षेत्र, एनजिओ, आइएनजिओ, बहुराष्ट्रिय कम्पनी होस् या सरकारी सुविधाले ओतप्रोत कार्यालयहरू हरेक क्षेत्रमा कामचोरले हकभोग गरुन्जेल वा कार्यक्षेत्रमा हैकम जमाउन्जेल दुनियाले ऐस आराम र सुख पाउँदैनन् । अझ तिनको छाता सङ्घसङ्गठन कर्मचारी युनियन छ भने त अराउनु कराउनु त परै जाओस् आँ गर्नु पनि हुँदैन । कामचोर कर्मचारी आफूलाई शरम नमानी चरम शक्तिशाली ठान्छन् । जसको जौ खान्छन् उसैको जुँगा मुड्छन् ।

वर्तमान प्रधानमन्त्री केपी ओलीलाई सचिवले काम गर्छु भनेर ढाँटे भन्ने गुनासो स्वयं प्रधानमन्त्रीले नै गरेका थिए । कर्मचारी चोरमाथि चण्डाल छ भने सजिलै कामचोर बन्न सक्छ । सोझासिधा भोलेभाले सत्पात्रबाट तामसी व्रिmयाकलाप कहिल्यै हुँदैन । देशका सर्वेसर्वा प्रधानमन्त्रीलाई नै नटेर्ने कर्मचारीबाट आम नागरिकले के कति गुणस्तरीय सेवा सुविधा पाउलान् ? अनुमान लगाउन गाह्रो छैन । सरकारी जागिरमा प्रवेश गर्दा देश र जनताको हितमा चल्ने सम्बन्धि शपथ खुवाइँदैन ? खुवाइन्छ भने कर्मचारी किन यति छाडा ? यिनलाई लगाम लगाउने निकाय भुत्ते भएकै हो त ? भातमाराहरू ।

कामचोरका स्वभाव फरक फरक हुन्छन् । बोलीले ठिक्क पारेर पन्छाउने र काम गरे जस्तो गरेर टार्ने, अप्ठ्यारो पार्ने र राजाको काम कहिले जाला घाम जपेर बस्ने । मुख्य कुरो मति खराब भएपछि जति चिमोटे पनि चाल पाउँदैनन् ।

कामचोरको भन्दा चोरको मनपेट हाकाहाकी स्वभावको हुन्छ । हाकाहाकी पकेट मार्नेदेखि लिएर भकाभकी काइदाका कन्या भगाउनु पनि चोर्नु नै हो । सम्मानित न्यायिक निकायबाट चोरको आसय मनासय बुझेर कन्यालाई कमाइका लागि लगेको हो कि रमाइलाका लागि या घरजमाइका लागि, आसय, दुराशय र मर्म बुझेपछि चोरको दर्जा निर्धारण गरिन्छ । चोरिएका वस्तुबाट नगद कारोबार गरेर गलगिद्ध अर्थोपार्जनको माध्यम बनाउँछ भने त्यस्ता चोरलाई खोरमा खँदारेर खोरको खुराक खुवाउनै पर्छ । लालनपालन र घरजमका निम्ति कन्या बटुल्छ भने त्यस्ता चोरलाई ज्वाइ नाता कायम गरेर म्वाई खाँदै स्वाँई स्वाँई सेल रोटी पकाएर पनि खुवाइन्छ । फूलमाला दानदक्षिणाले प्रदक्षिणा गरिन्छ । तर अन्य चोरका हकमा लाठी मुङ्ग्रीले तालुमा आलु फलाई दिन पनि सक्छन् ।

त्यसैले धेरै कामचोर कर्मचारीले रुचाउने चोरी गरेर पनि तुरुन्तै चाल नपाउने कामलाई कामचोर भनिन्छ । कामचोरबाट जे जस्तो अपेक्षित कामको आसा राखेका हुन्छन् त्यसको विपरित कामचोरले बुझेर पनि बुझ पचाउँदै ढलेको सिन्को उठाएन भने त्यस्ता कपटका राजालाई बाजा बजाएर कामचोर भन्न गाह्रो मान्नु हुँदैन र त्यस्ता सग्ला सिङ्गालाई यथाशीघ्र पाखा लगाउने प्रयत्न गरिएन भने भविष्य सधैँ दुषित बनेर रहन्छ । तनावको चक्रव्युहमा फस्न सकिन्छ । आनीबानी र आसय बुझेर चोर कामचोरको घोर विरोध, बहिष्कार गर्न पछि परियो भने बुझ्नुहोस् आफैँ पछि परेको ठान्नुपर्छ ।

भारत मित्र राष्ट्रले नेपालको भूभाग मिच्नु अर्थात् छिमेकीले छिमेकीलाई मिच्नु पनि एक प्रकारको चोरी नै हो । जमिन वा एउटा देशलाई चोइटा पारी पारी चोर्ने चोरलाई न थुन्न सकिन्छ न त पक्रिन नै । तर पनि यस्ता चोरलाई नैतिक रूपले पतन र मिचाहा थिचाहा र पिराहाको पगरी गुथाइदिने चलन छ । यस्ता चोरमा जग्गा जमिनका अधिपति र छिमेकी मित्रराष्ट्रहरू अग्रस्थानमा रहेका हुन्छन् । नेपालको भूभाग हडपेका हिसाबमा चीनभन्दा भारतले चोर्ने, फोर्ने र सोहोर्ने काम धेरै गरेको छ । हजारौँ हेक्टर जमिन भारतले मिचेर मस्त हाँसिरहेको छ । तैपनि भारतलाई न आत्मग्लानि, न पश्चाताप न हीनताबोध केही छैन । निस्फिक्री हरदम नेपाल हडप्न उद्यत छ ।

भारतीय प्रधानमन्त्री मोदी बुद्धभूमि, तपोभूमि, सगरमाथाको देश, स्वर्गभूमि भन्दै छाती फर्काएर नेपाल आउँछन् तर चोरीको आरोपमा खै त उनलाई सिस्नु पानी ? खै उनलाई खोरको खुराक ? पावरको पाइनले सबै थुरथुर दुरदुर हुन्छन् अनि कसरी, कसले कारबाही गर्ने ? कारबाही गर्न, सजाय दिन, गुमेका धनसम्पत्ति फिर्ता लिन ह्याउ र ह्याकुलो दरो हुनुपर्छ । दुर्भाग्य नेपाली नेतामा न त्यो पाइन न त पावर । मै राम्री मै पातली भन्दै मुकदर्शक बनेर राज्यकोष सेवन गर्नेहरू एक तमासले उग्राइ रहेका छन् । त्यसैले चोर्न, फोर्न, सोहोर्न जे हर्कत पनि छुट छ नेपालमा । राज्य नै मौन बसेपछि रैती चुप लाग्नु अनौठो होइन ।

अझै पनि सिक्किम, सुस्ता, कालापानी निलेको भारतले र्‍याल काढ्दै नेपाली भूभागमा दाँत गाड्ने, हेप्ने प्रयत्न जारी छ । विषादीले ओतप्रोत फलफूल तरकारी लगायत खाद्यान्न नेपाल सरकारले सहर्ष स्विकार्नु पर्ने ? भारतीय हेपाइ, लुटाई, धुर्ताइको चरम अवस्था भोग्न नेपाली जनता विवश छन् । नैतिक रूपले भारत नेपाली नागरिकको आँखा र आँतबाट गिरिसकेको छ । रुखको पात गिरे फेरि पलाउँछ तर आत्मा र आँखाबाट गिरेको नैतिकता कहिल्यै पलाउँदैन । बेलुका सुत्दा नेपालमा सुतेको मान्छे बिउँझिदा भारतमा हुन्छ भनेपछि भारतीय धुर्त स्वभाव कहिलेसम्म ? सरकार निम्सरो र निरीह हुनुको प्रतिफल । देशका हितमा चुँक्क नबोली तलब भत्ता पचाउँछ भने ठोकेर भने हुन्छ यिनै हुन् कामचोर । देशका लागि गर्छु गर्छु भन्ने तर सिन्को भाँच्दैन भने त्यस्ता देखावटी देशभक्तले जगत डुबाइदिन सक्छ । त्यसैले चोर कामचोर देश हितमा हुँदैनन् । आफ्नो स्वार्थसिद्ध गर्नलाई मात्र तिनले पृथ्वीमा जन्म लिएका हुन्छन् । यिनलाई हर नागरिकले हर्दम खबरदारी गर्नु वाञ्छनीय हुन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x