साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावी चाड

चुनावले घाम, पानी र हावाबाट बिजुली निकालेर रातलाई दिनझै झलमल्ल पार्छ ।

Nepal Telecom ad

आजसम्म म बुद्धुको बोधो दिमाग दशैं नै सब भन्दा ठूलो चाड हो भन्ने भ्रमले भरिएको थियो । मेरै पार्टीकी साथी टिमुर्कीमैँयाले सुटुक्कै ए “बुद्धु ! चुनाव पो सबभन्दा ठूलो चाड हो त खै कुरो बुझेको ?” भनेपछि मात्र मेरो मन्दबुद्धिको बिर्को खुल्यो ।

साँच्चिकै हो त ? भन्दै यस्सो दशैं र चुनावलाई एकै ठाउँमा ठिङ्ग्याएर नापजाँच गरेको त, मेरिवास्सै दशैं भन्दा त दशगुणा ठूलो पो रहेछ वाइ चुनाव …! टिमुर्कीको कुरो अलि टर्रो भए पनि ज्ञान चै खरो दिन्छ । जातजाति, धर्म, संस्कृति, परम्परा र क्षेत्र भन्दै निधारमा नानाथरीको टीका र परिपरिको पहिरन पैरेर पारा देखाउने विभेदकारी चाड दशैं जस्तो होइन यो चुनाव । राजनीतिको खेती सप्रेको यो मुलुकमा चुनाव भनेको चानचुने कुरो हुँदै होइन । एकैचोटि तामझामसँग मेचीकाली नै जुरुक्कै उचाल्ने तागत हुन्छ चुनावमा । सत्य कुराको चुरो पक्डेर भन्नुपर्दा “बहुमत नै एक सत्य हो र चुनाव नै ठूलो शक्ति हो ।” चुनावले साँच्चै चाह्यो भने चमत्कार ल्याउँछ । पण्डित पुत्रले जनै भिरेपछि मुखद्वारबाट जे जे छिरे पनि शिखा समातेर सन्जे भट्ट्याउँछन् र चोखिन्छन् । त्यस्तै यो चुनावी मन्त्र पनि लोकतान्त्रिक टाठाबाठाले विधिपूर्वक भट्ट्याएर पूजापाठ गरे घाटा हुँदैन ।

प्रायजसो चुनाव मस्तसँग निदाएकै हुन्छ । चुनावलाई बीचैमा कसैले बिउँझाएन भने पाँच वर्षसम्म ‘कुम्भकणर्’ झै निदाउँछ । तर चुनाव सधैं निदाउँदैन रात र दिन जस्तै निदाउँने र बिउँझने गरिरहन्छ । जब चुनाव ब्युँझेर चलमलाउन थाल्छ, तब मनुष्य जगतमा ठूलो हलचल मच्चाउँछ । जताततै हराभरा पार्दै ताजगी फैलाउँछ र रङ्गरङ्गको सुगन्ध छर्दै रङ्गीचङ्गी झण्डाहरू फर्फराउँछन् । मङ्सिरमा मुरी अन्न नभित्रने घरका धुरीमा पनि झण्डाले चुरीफुरी देखाइदिन्छ । जोशिला भाषण, भाका र बाजागाजाले भीरपाखा नै ब्युँझाइदिन्छ । जागौं, उठौं र जुटौंका जोड्दार आव्हानले निदाएकालाई जुरुक्क जुरुक्क उठाउँछ । निष्पक्ष नमस्कार र नाता दिन्छ चुनावले । चुनावले मत मिलाउन राहत दिन्छ, मासुभात, पद र कुर्सीको खात दिन्छ ।

यो आउँदा खाली हात कहिल्यै आउँदैन । “नातिने बुहारीले मिश्रीको पोको हजुरआमाका पोल्टामा खुसुक्क पुर्याएझैंँ आशामुखीलाई मनपर्ने चुरो कुरो केही न केही पुर्याएकै हुन्छ । चुनावको त बोली नै अति रसिलो र स्वादिलो हुन्छ । गोलीजस्तो पड्कने रुखो बोली बोल्दैन चुनाव ।

चुनाव त बाह्रैमास कुलकुल गरेर बगिरहने कुलो लिएर आउँछ । बराजुकै पालादेखि बाँझो बसेको बनपाखा र भिरमा गोरु नछिरेर के भो ? ट्याक्टर कुदाइदिन्छ चुनाव । मानु नफल्ने ठाउँमा मुरी उमारी दिन्छ त्यही कुलोको पानीले । बर्सेनि दोहोरिने कालो अनिकाललाई सातसाल नफर्किनेगरी सातडाँडा कटाई दिन्छ चुनावले । चुनावले ठूल्ठूला महललाई घटाउँछ र स-साना झुपडीलाई उठाउँछ अनि सबैलाई एकछत्त बनाउँछ । ठालुहरूको भालु झम्टाइले झस्कनु पर्दैन चुनावभरी कसैले । ठालु पनि हेर्दै लयालु र मायालु हुन्छन् यो बेला । “लाटाको खुट्टो पनि बाटामा पर्छ” भने जस्तो चुनाव आएपछि सर्लक्कै गरिबका दिन फिर्छन् ।

बेरोजगारीका लागि रोजगारीको सातपत्रे पोको लिएरै आउँछ चुनाव । शैक्षिक बेरोजगारलाई बौद्धिक काम दिन्छ । अशिक्षित र अल्पशिक्षितका लागि ठूल्ठूला उद्योगधन्दा र कलकारखाना खोलेर सबैलाई रोजगारी दिन्छ चुनाव । ऊ कसैको गरिबी हेर्नै सक्दैन ….!

स्कुलसम्म नभएका ठाउँमा क्याम्पस र विश्वविद्यालय बनाइदिन्छ । नीच शिक्षाको नीच कुरो गर्दैन चुनाव, एक्कैचोटी उच्चशिक्षा दिलाउँछ । स्वास्थचौकीको चिनोचपेटो नभएका ठाउँमा, अस्पतालका अग्ला अग्ला महल बनाइदिन्छ । सदरमुकामको अस्पतालमा पाँच वर्षसम्म डाक्टरको अनुहार नदेख्नेका लागि पच्चीस जना डाक्टर एकैचोटि ल्याइदिन्छ चुनाव । स्वास्थ र शिक्षा नपाएर अचेत भएकाहरूलाई चेतना छरेर सचेत बनाउँछ ।

कृषिप्रधान देशका कृषकका लागि अत्याधुनिक कृषि औजार, उन्नत बीउ, मल र किटनाशक करेसामै ल्याइदिन्छ चुनाव । पशुपालन गर्नेका लागि गोठैनेरी भेटेनरी पनि बनाइदिन्छ चुनाव । चुनावले उत्पादन बढाउँछ र महंगी सर्लक्कै घटाउँछ ।

पहाडको पट्यारलाग्ने उकाली ओरालीमा मोटरबाटो फनफनी घुमाइदिन्छ चुनाव । पल्लोघरमा जान पनि कसैले पाइलो उचाल्नुपर्दैन अब । ठूल्ठूला नदी र खोलाहरूमा पुल बनाइदिन्छ । वर्षादको बाढीले बिगार्ला भनेर ठाउँठाउँमा बाँध बाँधिदिन्छ । दुर्गमलाई सुगम पार्न सुबिधाको लागि सुरुङमार्ग बनाइदिन्छ । देवताको दर्शन गर्ने भक्तजनको भावना बुझेर, सास्तीलाई मस्ती दिलाउन डाँडैपिच्छे केबुलकारको हार लगाइदिन्छ चुनाव । चुनाव घाम, पानी र हावाबाट बिजुली निकालेर रातलाई दिनझै झलमल्ल पार्छ ।

पिउन पानीसम्म नपाएर प्याक्प्याक्ती परेका शहरीयालाई घरघरमा धारा झारिदिन्छ चुनाव । महिला मुक्तिको माग गर्नैपर्दैन । मुक्ति दिलाउने जुक्ति उसैले जान्दछ र चाहिनेजतिलाई चाहेजति मुक्ति घरैमा लगेर भित्र्याइदिन्छ चुनाव । जेष्ठ नागरिकलाई ज्ञानका खानी हुन् भन्दै दिवासेवा, रात्रीसेवा र भात्रीसेवा घरआँगनमै दिलाउँछ । बालबालिका, महिला तथा अपाङ्गतालाई मध्यनजर गर्दै अपाङ्गमैत्री संरचना निर्माण गर्छ चुनाव ।

नाल नझरेका नावालकलाई वालिग बनाउँछ । हद पुगेका हल्लनपुरी बृद्धलाई तन्नेरी बनाउँछ र जागीर दिलाउँछ । तन्नेरी भए पनि तनमन मरिसकेका मरन्च्याँसेलाई बृद्ध बनाएर बृद्धभत्ता दिलाउँछ चुनाव । धर्तीमा गुड्न नसक्ने अशक्तलाई सक्त बनाएर आकाशमा उडाइदिन्छ चुनाव । घरमै बसेर इन्टरनेटको माध्यमबाट विश्वका कुनाकुनीको काम कुरो देखाइदिन्छ । दूर भएका आफन्तसँग हेरिहेरी दूरबात गराइदिन्छ ।

चुनावले भोकाहरूको भोक देख्छ । प्यासीहरूको तिर्खा देख्छ । कतै ढिस्काढिस्की र थुम्काथुम्कीले छेलिएछ भने भ्यूटावरको टुप्पोमा गएर भोकोनाङ्गो, सोझोबाँङ्गो र झिनोमसिनो सबै सर्लक्कै हेर्छ चुनाव । चुनावका बेला त छमहिने बच्चा जस्तै “शोक न सुर्ता भोक न भकारी“ भने झैं हाइसन्चो हुन्छ जनतालाई ।

यस्तो गजबको चुनावी चाड त यसैगरी छम्छमी नाच्दै र गाउँदै एकैचोटि जनता ब्युँझाउँदै, यस्तै मिठामिठा कोसेली लिएर अलि चाँचाँडै आइरहे पनि त हुन्थ्यो नि हाउ ….!

तेह्रथुम, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x