
चार ठोक्तक
यो देशमा अपराधीलाई सबथोक छुट छ कोही बोल्दैन ।

१.
हावादारी योजना अब कति चल्छन् कति
चेपारेले मुखको चिल्लो कति दल्छन् कति
घोषणापत्र भनून् चाहे सङ्कल्प पत्र भनून्
यो बेला उधारा सपना कति फल्छन् कति ।
२.
आफ्नो ऐना नहेरेर अरुलाई गिज्याउने थुप्रै छन्
भेटी चढाई रातारात मतदाता रिझाउने थुप्रै छन्
यो चुनाव हो चुनाव नौटङ्की र तमासाको के कमी
निस्केर सुटुक्क दूलाबाट फणा फिँजाउने थुप्रै छन् ।
३.
सार्वजनिक सवारीले यात्रुलाई लुट्छ कोही बोल्दैन
लुटेराहरूकै यहाँ सङ्गठन र गुट छ कोही बोल्दैन
रिस्वत र चन्दामा मस्त छन् डण्डा र झण्डावालहरू
यो देशमा अपराधीलाई सबथोक छुट छ कोही बोल्दैन ।
४.
पाहुर कोसेली खकार्नेलाई बजार भाउको के मतलब
लुटको उपहार सकार्नेलाई बजार भाउको के मतलब
तमासा हेर्छ नौटङ्की सरकार मौन छ पुलिस प्रशासन
सित्तैंको भोजन डकार्नेलार्ई बजार भाउको के मतलब ?