साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिचौलिया

एकचोटि अखबारमा पढ्न पाइएको थियो । दलालीले चन्द्रमाको जग्गा पनि बेचे । हो भनाइ पनि छ, बिचौलियाले/दलालीले ताल्चिण्डेलाई पनि काइँयो बेच्न सक्छ ।

Nepal Telecom ad

लिने र दिनेका बिचमा साँगुको काम गर्ने सिपालुलाई बिचौलिया भनिन्छ । मध्यस्थता, मोलमोलाइ, आफूपायक दलाली वा दुई पक्षका बिचमा सेतुको काम गर्ने स्वामी, निश्चित फाइदामा अरूलाई भाग लगाउने, दिने, हक हस्तान्तरण गर्ने व्यक्ति विशेषलाई विचौलिया मात्र नभनेर दलाली पनि भनिन्छ । उदाहरणका लागि मानिलिउँ मलाई फलानो पद दिए तेरो पार्टीलाई समर्थन गर्छु नत्र तेरो दल दलदलमा फसोस भँड्खालामा पसोस वा सधैँ एकै ठाउँमा थच्चिएर बसोस् भन्दै तराई तिरका नेताहरू ठूलाठूला पद हत्याउन सिपालु मानिन्छन् । निश्चित समय पनि नचाहिने, निश्चित ठाउँको सीमा पनि नहुने र निश्चित काम पनि नहुने बिचौलिया बबुरो जता काफल पाक्यो उतै चरी नाच्यो गर्न थाल्छ । जिन्दगीमा जता जहाँ जसलाई पनि माध्यम बनाएर जहिले सुकै चारोको तारोमा तम्तयार रहने चलाख चतुर चण्डाललाई बिचौलियाको पगरी गुथाइने गरिन्छ । सोझा सिदा निरीहबाट यो कर्म क्रिया प्रायः असम्भव हुन्छ ।

वर्तमान अवस्थामा नेपालको राजनीति लगायत धेरै पाटा, पक्ष र बाटाहरूमा बिब्ल्याँटा बेथितिहरू देख्न भोग्न पाइन्छ । राजनीति लाजनीतिमा परिणत हुँदै जानु, शान्ति सुरक्षाको स्थिति दयनीय हुनु, धर्म छोड्नुको कारण नै बिचौलियाको विठ्याइँ मान्दै आएका छन् । आफूलाई अन्य विकास ग्रस्त देशको गतिविधि उतिविधि थाहा छैन त्यसैले आफ्नै घर आँगन र मातृभूमिमा मौलाएको विकृति, विसंगति, उल्टा सुल्टा पक्ष र पाटा अनि बिचौलियाको बजार, बिगबिगी र व्यवहारको चरित्र चित्रण र चर्चा गर्नु सान्दर्भिक नै ठहर्ला ।

जब मानव चोला सुको दामको प्राप्ति खातिर पानी विनाको माछो झैँ प्याक प्याक मुख बाउछ र अभावको खग्रास ग्रहणमा परेर ठाउँ न ठहर बुढीको रहर भनेझैँ अभाव परिपूर्तिका खातिर यत्र, तत्र, सर्वत्र, भौतारिने गर्छ तै पनि गन्तव्य समाउन सकिराखेको हुँदैन, ज्यान पाल्ने ध्याउन्नमा धर्म फाल्ने काम गर्छन् । जिउँदो छउन्जेल जिविकोपार्जन गर्न हम्मे हम्मे परिराखेको हुन्छ । अभावग्रस्त मनस्थिति वा शोषण प्रवृत्तिले ग्रस्त मान्छेले सोच्न पुग्छ- आफ्नो टाउको फुटे मितको टाउको बेलै समान अनि अतालिदै आम्दानीको अखडा मिल्नासाथ बिचौलियाको भूमिका निर्वाह गर्न पुग्छन् । बिचौलियाको बजार त्यहाँदेखि मौलायो जब नेपाल राष्ट्र बैंकले आफू मातहतका बैंकहरूलाई घर जग्गा खरिद गर्न अधिकतम कर्जा प्रवाह गर्न उत्प्रेरित गर्‍यो त्यसपछि छरिएको द्रव्यको डङ्गुरमा बिचौलियाले आहाल खेल्ने स्वणर्िम अवसर प्राप्त गरे । यसै बिचौलिया बन्धुको प्रतापले आज घर जग्गाको भाउ माउ बाउका पालामा भन्दा दसौँ गुणा आकाशिएको प्रतिफल भोग्ने भाग्य अचानक अज्माइएको छ ।

एउटा टुक्रा जग्गालाई बिचौलिया भाइरस नहुने हो भने सस्तैमा हत्याउन सकिन्छ तर त्यही जग्गामा बिचौलियाले टेक्यो, देख्यो भने मूल्य अचानक आकाशिन सक्छ । यसको क्षेत्र विस्तारित र व्यापक छ । एकचोटि अखबारमा पढ्न पाइएको थियो । दलालीले चन्द्रमाको जग्गा पनि बेचे । हो भनाइ पनि छ, बिचौलियाले/दलालीले ताल्चिण्डेलाई पनि काइँयो बेच्न सक्छ ।

घरमा सन्च भएन र उपचार केन्द्रमा गएर चिरफारको समस्या थाप्लामा आइलाग्यो भने पनि बिचौलियाले आँऽऽ गरिराखेको हुन्छ । पानीमा बिचौलिया, दुधमा बिचौलिया, बस गाडी खरिदमा बिचौलिया, जहाजमा बिचौलिया, बस टिकटमा बिचौलिया, भात भान्सामा बिचौलिया, भर्ना हुनुपर्‍यो शैक्षिक क्षेत्रमा बिचौलिया, क्यान्सरको उपचार गर्नुपर्‍यो अस्पतालमा बिचौलिया, पसल उद्योग खोल्नु पर्‍यो बिचौलिया, विहदान नर्गुपर्‍यो बिचौलिया । लाग्छ न्वारानदेखि प्राण पखेरुले बाइबाइ भन्दा पनि बिचौलियाले छोड्दैन होला । पाटमा बेरिएर घाटमा लम्पसार पर्दा पनि बिचौलियाले हात पसारी राखेकै हुन्छ । बिचौलिया वर्षाको गुह्य झारझैँ फैलियो, मौलाउनु मौलायो, अब कतै सन्तान जन्माउन पनि बिचौलियाकै भर पर्नुपर्ने हो कि भन्ने भय मनमा भइरहन्छ ।

आआफ्नो धर्म सबैले निर्वाह गरेकै हुन्छन् । दुम्सीका नजिक जाने हो भने काँडाले लघार्छ । हिउँलाई छोए चिसो हुन्छ । आगोलाई छोए पोल्छ । झुसिलकिरा खेलाए चिलाउन थाल्छ । माछा छोए आनन्द आउँछ तर सर्प छोए डर लाग्छ । बिचौलियाको संगत गरे आफू माथि अरूलाई तल पार्छ, पैसा झार्छ अप्ठयारो पार्छ । मालिक र उपभोक्तालाई मारमा पारेर धर्म निभाइराखेको हुन्छ ।

केही समय अगाडि एकजना राष्ट्र सेवक कर्मचारी जुन नेपाल आयल निगमका प्रबन्ध निर्देशकको दर्जामा रहँदा आयल निगमको तेल भण्डारण क्षमता बृद्धि हेतु भूमि खरिद प्रकरणमा बिचौलियाको फल चाख्न खोज्दा राम्रै ख्याति कमाएका थिए, अदालतमा मुद्दा अझै जीवितै होला । यस्ता कुशल गुणग्राही नेपाल सरकारका सेवकले बिचौलियाको मनोबल उकास्ने काम गर्छ भने राष्ट्र सेवक कर्मचारीका हकमा लाजमर्दो विषय हो । तर लाज पचाउने पाचन शक्ति मजबुत भएकाहरू बग्रेल्ती छन् । संस्कृतमा एउटा भनाइ छ एक लज्जा परित्यज्य त्रैलोक्य विजयी भवेत् । एक पटक लाज पचाउन सकियो भने तिनै लोकमा विजय प्राप्त गर्न सकिन्छ ।

काठमाडौँ कालिमाटी तरकारी तथा फलफुल विक्री केन्द्रको बजार भाउले गगन चुम्नुको श्रेय पनि बिचौलियालाई नै दिने गरिएको छ । बिचौलियाको प्रभुत्व कायम रहेसम्म हरेक खरिद विक्रीको टेम्प्रेचर अधिक हुने कुरा हामीले भोग्दै आएको समाज र वास्तुस्थितिले बताइरहेको छ ।

आफ्नो स्वार्थ अनुकूल गडेउला, छेपारो, क्रोर्कोडायल (गोही) झैँ जल, थल, अगाडि, पछाडि, चल्न सक्ने उभयचर विचौलियाको हरेक पक्षमा झुकाव र लगाव हुन्छ । यो पनि एउटा कला हो । यी नाटक गर्नमा पनि उत्तिकै सिद्ध हस्त हुन्छन् । साँझ बिहान भट्टीमा यिनीहरूले रिहर्सल गर्ने गर्छन् । एउटा माल अन्माउने दिनमा बिचौलियाका पण्डितहरू नाटकका लागि आभूषणादिले झकीझकाउ भएर आआफ्नो पाण्डित्याइँ प्रस्तुत गर्छन् । मानौँ ग्राहकले यति त महङ्गो भयो म लिन्न भनेर अमिलो खाए जस्तो मुख बिगार्न र खुट्टा बटार्न थाल्यो भने बिचौलियाकै वाचन शिरोमणि अगाडि सरेर भन्न थाल्छ तपाईले नलिने भए म लिन्छु ल पेश्की लिइहाल्नुस् । अनि आवश्यकता परेको व्यक्तिलाई सस्तै रहेछ कि क्या हो भन्ने भ्रम पर्छ । उल्लिबिल्ली, उत्तानो घोप्टो, घटाउने, बढाउने, तन्काउने, तेल, मालिस, दाउन, आदि साजसज्जाको प्रयोग र हर हर्कत अप्नाएर लिउँ लिउँ पार्छन् । सोझा सिधाले लिई पनि हाल्छ । बगरेका अगाडि खसीको बिलौना केही काम लाग्दैन । तदुपरान्त लिने बहादुरलाई मरेका मान्छेलाई जुम्राले लात हानेर छोडेझैँ छोड्छन् । स्वार्थ सिद्ध भए पछि स्वार्थी मानवले निर्वाह गर्ने धर्म कसले पो निर्वाह गर्दैन र ?

बिचौलियाको संक्रमण सर्वत्र पाइन्छ । त्यसमाथि पनि कृषि क्षेत्रका प्रमुख कृषकलाई सस्तो दर भाउमा बिचौलियाले मोहनी लगाइ सकेको हुन्छ । विचौलियाको मोहनीले लट्ठ परेको कृषक बिचौलियाले जता फर्कायो तेतै फर्किन्छ । मोहनीलाई नि एक प्रकारको अदृश्य लागु पदार्थ नै मान्न सकिन्छ । यसले छोएपछि जोसुकै लट्ठ पर्नु स्वभाविकै मानिन्छ । चल्तापुर्जा आफ्नै श्रीमतीले अरूलाई छाँद हाल्नु र अरूका जल्दाबल्दा कोमलाङ्गी प्यारी आफ्नै वरिपरि प्राप्ति खातिर प्याका प्याका हुनु आइलाग्नु पनि मोहनीकै खेल हो । यी सबै विचार गर्नुस् विचौलिया प्रधान कुराहरू हुन् जुन कर्म ईश्वरको वरदान मानेर वरण गरिन्छ ।

बिचौलियाको इतिहास मानव सभ्यतासँगै प्रादुर्भाव र विकसित भएको अनुमान लगाउन सकिन्छ । यहाँ चर्चा भएको बिचौलिया एक्काइसौँ शताब्दीका उपज हुन् । जस्तोसुकै थाङ्ने, सुकिलो मुकिलो धर्ममा पनि बिचौलिया विराजमान हुन्छन् । धनका खातिर बिचौलियाले धर्म त्याग गर्न गराउन पनि सक्छ । मानव प्राणी उभयचर नभए पनि प्रवृत्ति उभयचरको हुन्छ । यसमा लिङ्गभेद हुँदैन । बिचौलिया महँगोको स्रोत मात्र होइन । बजाउन जाने पो बज्छ मादलु भनेझैँ धुप, दीप, नैवेद्य, पुष्पाञ्जली समर्पण गरेर प्रार्थना गर्न जानियो भने बिचौलिया सस्तो सजिलोको स्रोत बन्न पनि सक्छ । यसको बल बुताले खैचिएर आफू पायक र लायक बनाउँदै सीमित साधन स्रोतका बलले सस्तोमा हत्याउन सफल जस्तोसुकै जिनिस होस् चौखण्डी महँगोमा क्रेता समक्ष पेश गर्दाकै अवस्थामा उपभोक्ताले नराम्रोसँग जिब्रो टोक्ने गर्छ । डकार आउन्जेल हसुरेर उपभोक्तालाई दिँदा डकारको गन्धले उपभोक्ता पिरोलिने गर्छ । विषादीग्रस्त कृषि उपजले भन्दा दामाधिकका कारण उपभोक्ता भाउन्न भएर बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएर बल्ड्याङ खान्छ । नेपाल सरकारको फितलो शासनको फाइदा उठाउँदै च्याउझैँ उम्रिएका बिचौलिया बरा बिचरा मोटाइका मातले बोसोको भार बोकेर रन्थनिएका छन् । यस्तै हो कुमालेको चक्र चलिरहन्छ । यसको कार्य क्षमता र दक्षतालाई भूगोलको सीमाले छेक्न, रोक्न सक्दैन भने हामी जस्तो इन्द्रेका बाउ चन्द्रेको के लाग्छ र ? जय विचौलिया ।

फूलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x