अशोककुमार शिवामुसा
समग्रमा भन्नुपर्दा यी मुसाहरूले जतासुकै जमिन प्वाल पारेर र जथाभावी कागजपत्र काटेर देश नै खोक्रो पारिसके । अब भने जतासुकै मुसाको औषधि राख्नुपर्ने भयो ।

मुसाको अर्थ अन्न खाने, कपडा तथा अन्य तारजन्य कुराहरू काट्ने सानो जन्तु भन्ने बुझिन्छ । मुसाहरू बिभिन्न प्रजातिका हुन्छन् । कुनै अलि ठुला हुन्छन् तिनलाई ढाडे मुसा भनिन्छ । कुनै साना हुन्छन् तिनलाई डुहुरे मुसा भनिन्छ । यिनको बासस्थान घरका कुनाकाप्चा वा जमिन मुनिको प्वालहरू हुन् । मुसाहरू प्राय रातको समयमा सक्रिय हुन्छन् । कुनै कुनै मुसा दिनमा पनि देखिन्छन् । बिरालो यिनको याने कि मुसाहरूको मुख्य सत्रु हो । बिरालोले मुसा पायो भने खेलाई खेलाई मारेर खाइदिन्छ ।
ताल परेको बेलामा मुसाले ठुलै जनावर पनि साथी बनाउन सक्दो रहेछ भन्ने कुरा सिंह र मुसाको बालकथाबाट थाहा पाउन सकिन्छ । कथा अनुसार सिंह गुफामा मस्त सुतिरहेको बेला रातको समयमा सानो मुसा गुफामा छिरेछ । यसरी अँध्यारोमा छिर्दा चिप्लिएर मुसा सिंहको शरीरमा परेछ । सुतिरहेको सिंहले मुसालाई च्याप्प समातेर खान लागेछ । यतिकैमा मुसाले अनुनय विनय गर्दै भनेछ “सिंह दाइ, मलाई नखानुस् म पनि कुनैबेला तपाईंको काम आउन सक्छु ।” सिंहलाई त्यो मुसोको कुरा ठिक लागेछ र छोडिदिएछ । मुसो दङ्ग परेर बाटो लागेछ ।
एक दिन सिंह घुम्दै जाँदा सिकारीको जालमा परेछ । सिंह जालबाट निस्कन अनेक प्रयत्न गर्दा पनि निस्कन सकेनछ र घुरुरुरु घुरुरुरु गर्दै गर्जन थालेछ । सिंह गर्जेको त्यो सानो मुसोले सुनेछ र सोंचेछ सिंहलाई अप्ठेरो परेछ कि के हो ? मुसो आवाज आएकोतिर गएछ । नभन्दै सिंह त जालमा परेर छट्पटाई रहेको रहेछ । मुसो दौडदै गएर जाल वरिपरी काटेर सिंहलाई निस्कन सहयोग गरेछ । सिंह निस्किएर मुसालाई धन्यवाद भन्दै अब हामी मिलेर बसौँ भनेर सँगै गुफामा लिएर गएछ ।
अहिलेका आधुनिक मुसाहरू कुनै बिजुलीको तार काट्ने त कुनै कम्प्युटरसँग दोस्ती गाँसेर कम्प्युरमा रहेको रेकर्ड काट्ने गर्छन् । यस्तो आधुनिक मुसालाई अंग्रेजी नामबाट माउस भनेर चिनिन्छ । यो माउस भन्ने मुसाले उस्तै पर्यो भने संसारै अन्धकार बनाइदिन सक्छ । तथ्यांक नै तलमाथि पारिदिन सक्छ । माउस नामक मुसाले गरेको विध्वंश सपार्न कस्तै विद्वानलाई पनि हम्मेहम्मे पर्छ । नेपालको अर्थ मन्त्रालयमा रहेको माउस नामक मुसाले त सिसिटिभीको दृश्य नै उडाइदियो रे । जुन दृश्य पुनर्जागरण गर्न प्रहरीको फरेन्सिक ल्यावले पनि सकेनछ । दृश्य चाहिनुको एकमात्र उद्धेश्य चाहिँ रातको समयमा मन्त्रालयमा के कति कस्ता प्रजातिका मुसा छिरेर के के कर्म गर्छन् भनेर हेर्न रहेछ तर बित्याँस, सिसिटिभीको दृश्य स्पष्ट हुनै सकेनछ ।
मुसाले पनि अचाक्लि नै उपद्रो गर्छन् भन्या ! सुन्नमा आए अनुसार जन्तु मुसाको कर्तुत लुकाउन माउस नामक मुसा र डुहुरे मुसोको साँठगाँठ नै भएको छ रे । समग्रमा भन्नुपर्दा यी मुसाहरूले जतासुकै जमिन प्वाल पारेर र जथाभावी कागजपत्र काटेर देश नै खोक्रो पारिसके । अब भने जतासुकै मुसाको औषधि राख्नुपर्ने भयो । सबैलाई चेतना होस् ।
मितिः २०७९/०४/१९
गल्कोपाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































