साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिलाउनु ……

हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, तपाई हामीलाई लुतो लागेर जत्ति नै चिलाओस् आजीवन टट्टाउने गरी कनाउन तयार तर राजनीतिको लुतोले तपाई हामी कसैलाई पनि नचिलाओस् ।

Nepal Telecom ad

चिलाउनुजस्तो महारोग अरू कुनै नहोला ।

चिलाउनेले नभेटेका मानिस विरलाकोटि पाइएलान् । सबैलाई दिनमा एकपटक न एकपटक चिलाउँछै चिलाउँछ । कनाउँदा कनाउँदा ज्यानै जालाजस्तो भए पनि कनाउँदाको झोंकमा ज्यानको के माया ? चिलाएको बेला कनाउनुजस्तो मज्जा अरू केही हुँदैन । कनाउनुको मज्जा ता चिलाउने घाउले सतिएका भुक्तभोगीहरूलाई मात्र थाहा हुन्छ । मलाई विश्वास छ तपाईहरू पनि चिलाउने संसारमै हुनुहुन्थ्यो ।

लुतो लागेको कुकुरले कनाएको ता देख्नुभएको होला । चिलाउने घाउ निस्केकाहरूलाई मात्र लुतो लागेको कुकुरको कनाइको मर्म बुझ्न सक्छन् । लुतो लागेको कुकुरले बेफिक्रि र फ्री स्टाइलमा आफ्नो आङ नङ्ग्राले खोस्रन्छ (कनाउँछ) । तर चिलाउने घाउ निस्केकाहरूले कनाउनु पर्‍यो भने नारायण… लुतो लागेको कुकुरलाई उछिन्नु मात्र होइन उनको कनाइमा अन्तर्राष्ट्रिय कनाइको रमरम छाप पाइन्छ । चिलाएको र कनाएको बेलामा उसले कसैलाई देख्दैन/हेर्दैन… कनाएको छ कि कनाएको छ । नन् स्टप कन्याइ….।

चिलाउँदा नकनाई बस्ने व्यक्ति विरलाकोटि पाइएलान् । चिलाउने समय हुँदिन । कुनै पनि समयमा शरीरको कुनै पनि अंशमा चिलाउनु सक्छ । यसलाई रोकेर रोक्न सकिन्न न ता न धम्क्याएर धम्काउन सकिन्छ । सभामा वक्तव्य छाँट्दै गरेको समयमा वा क्लासमा पढ़ाउँदै गर्दा पनि चिलाउन सक्छ, भातको माड़ तार्दै गर्दा पनि चिलाउन सक्छ ।

चिलाउनुको कुनै समय हुँदैन । चिलाएपछि कनाउनै पर्छ । भीआईपीलाई पनि चिलाउँछ; भिखारीलाई पनि चिलाउँछ । मन्त्रीलाई पनि चिलाउँछ; सेण्ट्रीलाई पनि चिलाउँछ । चिलाइले कसैलाई पक्षपात गर्दैन । बरु तपाईंले मलाई पक्षपात गर्नुहुन्छ, कि म तपाईलाई पक्षपात गर्न सक्छु । भीआईपीले ‘उफ ! क्या रफ चिलायो भनेर हुङ्कार लाउँदैनन् न’कि भिखारीले ‘हे भगवान् के अमिलो वा के तितो चिलायो’ भनी दुःख मनाउ नै गर्छ । सबैलाई मिठाइलो चिलाउँछ । र ता भनेको सुनिन्छ, आहा क्या मिठो चिलायो ।

चिलाइ मिठाइलो हुन्छ र ता हामी मज्जा मानेर धित मरिञ्जेल कनाउँछौं । तितो, टर्रो वा चिराइतोजस्तो चिलाउने हुँदो हो ता शायद हामीले कनाउने थिएनौं । मीठो चिलाइमै मज्जा छ। यसैले चिलाइ टेसिलो हुन्छ । चिलाउनु स्वाभाविक हो भने कनाउनु स्वतन्त्रता । तर कनाउनु स्वतन्त्रता हो भन्दैमा खुल्लमखुल्ला फ्री स्टाइलमा कनाउनु ठ्याक्कै मिल्दैन । टाउको चिलाउँदा सबैको सामु निर्धक्क कनाउनु सकिन्छ । नाकको डाँड़ी वा नाकको टुप्पो चिलायो भने निर्धक्क सबैको सामु हाकाहाकी कनाउनु सकिन्छ । तर नाकको पोखरा (दुला)भित्र चिलाउँदा नाकलाई फाकालफुकुल पारेर कनाउनु सकिँदैन । चिलाएपछि कनाउनै पर्‍यो । धेरभन्दा धेर चोर औंलो दुलामा जबरजस्ती घुसारेर नाक कनाउनु सकिन्छ । तर सुठीसाह्रै चिलायो भने प्रेशर कुकरमा हाल्दा दश सिटीमा पनि नपाक्ने डोँठे न डोँठे बूढ़ो औंलो जबरजस्ती घुसारेर कनाउनु पटक्कै सकिन्न । सबैको सामु नाकको दुलामा औंलो घुसारेर कनाउँदा अभद्रता देखिन्छ ।

कान चिलाउँदा धेरभन्दा धेर प्वाँखले बिरोल्न सकिन्छ । चोर औंलो वा कान्छी औंलो कानको दुलामा घुसारेर हल्लाई चिलाइको धित मार्न सकिन्छ । तर भित्र कता मीठो कान चिलायो भने ता उपाय नै के छ र ? फोल्डिङ कान हुँदो हो ता दुलासहित कान प्वाक्कै निकालेर काखमा राखी चिलाएको ठाउँमा कानलाई वाक्कै लाग्ने गरी कनाउँदा हुनेथ्यो नि ! तर त्यो सम्भव छैन ।

नाकको पनि अवस्था उस्तै उस्तै नै छ । अँ फोल्डिङ नाक हुँदो हो ता नाकलाई ख्वाप्पै निकालेर कतै चेप वा कुनाकाप्चातिर लगी पहिले सिङान भएको ठाउँमा रुमालले पुछ्पाछ् पारी पाँचैवटा औंलीले ख्वारख्वारती कनाउँदा हुन्थ्यो क्यारे ! तर त्यो पनि सम्भव छैन ।

हाम्रो नाक फोल्डिङ नभएकोमा मलाई चाहिँ ढुक्क लागेको छ । कारण आज तपाई हाम्रो नाक साँच्चै फोल्डिङ नाक हुँदो हो ता हाच्छ्यूँ गर्दा कतिचोटि भूइँमा झरिसक्ने थियो वा उछिट्टिएर कसैको काखमा पुग्नेथ्यो । तर नेताहरूलाई भने मज्जा आउनेथ्यो । किनभने अचेल हाम्रा नेताहरूले भाषण दिँदाहुँदी झनक्क रिसाएर पोडियम नै भत्काउँलैजस्तो गरी आफ्नो मुड़्की बजार्छन् भने नाक फोल्डिङ भइदिएको भए ख्वाप्पै ख्वाप्पै आफ्नो नाक पटक-पटक निकालेर नाकको झटारो हान्ने थिए होलान् । फोल्डिङ नाकको झटारोले भेट्नेहरू ठहरै नभए पनि नाकको सिङानले मोष्टराइजरको काम अवश्यै गर्नेथ्यो । नेता प्यारो भएपछि नेताको सिङान महाप्यारो नहुने कुरै आएन ।

त्यतिमात्र होइन, घरै उचाल्ने गरी हाच्छ्यूँ गर्दा सिङानैसरिको फोल्डिङ नाक झ्यालबाट उछिट्टिएर छिमेकी बैनीको काखमा पुग्नेथ्यो कि विरोधीको घरको छानुमाथि पर्नेथ्यो । ‘मेरो काख वा मेरो घरको छानुमाथि तेरो सिङानैसरिको नाक फ्याँकेर तैंले पार्टीको घुर्की देखाको (?)’ भनेर छिमेकीले रड़ाँको मच्चाउनेथ्यो । भएन सखाप ! नाक नाक भाकभाक र भुकभुक; पाकपाक र पुकपुक पार्नेथिए होलान् । थाना-पुलिस हुनेथ्यो । अचेल हाम्रो यतातिर पुलिसले बिनाबिच्चामा पक्रेर किसिम केश थोपेजस्तै फोल्डिङ नाक पुलिसले सिज गर्नु मात्र होइन किसिमको केश लाउनेथ्यो । यसको विरोधमा भोलिपल्ट नाकैनाकको जुलूस निस्किन्थे होला । आ-आफ्नो पार्टीको झण्डी बोकेर नाकहरू पार्टीको घुर्की देखाउँदै नारा भट्याउँथे होला । नाक पनि एउटै किसिमको भए पो ! सुगे नाक, सुङ्गुरे नाक, बाङ्गे नाक, सिलिक्क नाक, थ्याप्चे नाक, सिङानैसरिको नाक, भुत्लैसरिको नाक, ढोढ़े नाक, लोहोरे नाक, लाटो नाक, राउडिज नाक, झगड़े नाक, पुलिस नाक, सीआईडी नाक, झिङ्गे नाक, फुर्के नाक, नेता नाक आमामामा के के नाक हो हो नि ! हिसाबै छैन ।

हामीलाई धेरै प्रकारले चिलाउनु थालेको छ अचेल । राजनीतिको लुतो लागेको छ हामीलाई । राजनीतिको चिलाइको टेस नै अर्को हुन्छ । अचेल सबै राजनीति कनाइमै व्यस्त र मस्त देखिन्छ । कस्तो टेसिलो कनाइ ।

राजनीतिको लुतोले भेटेर प्राण परिञ्जेल कनाउनेहरूको रमिता हेर्दैछु । तर कहाँ कति बेला चिलाउँछ राजनीति लुतोले भेटेकाहरूलाई केही थाहै छैन । थाहा पाउँदैनन् पनि । नन् स्टप चिलाइ । यसैले ता राजनीतिको चिलाइले गिदी खल्बलिएर राजनीतिक साँढ़ेहरू किसिम बोलेको सुनिन्छ ।

हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, तपाई हामीलाई लुतो लागेर जत्ति नै चिलाओस् आजीवन टट्टाउने गरी कनाउन तयार तर राजनीतिको लुतोले तपाई हामी कसैलाई पनि नचिलाओस् ।

०००
सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x