सोम निरौलाराज्यसत्ता
न मान्छ आफू न विधान पढ्छ घाँटी अरूका करले रगड्छ । श्रीपेच फालेपनि चल्छ गादी राजाहरू छन् गणतन्त्रवादी ।

जे मिल्छ चाहे पद ऐश भत्ता
अचम्मको वस्तु रहेछ सत्ता ।
छोड्दैन कुर्सी बरु मर्न सक्छ
बिर्सी प्रतिष्ठा जति झर्न सक्छ ।।
१
कुर्सी नभेट्दा सब गर्छु भन्छ
मुसो बनी छिर्छ र बाघ बन्छ ।
नारा मिठा फाल्छ चुनाव जित्छ
गर्दैन केही कति साल बित्छ
२
चासो सबैको धन-मालमात्र
प्रवृत्ति उस्तै बदलिन्छ पात्र ।
गरिन्छ आन्दोलन बार-बार
पर्याय लाग्छन् जनता र हार ।।
३
विचारको दिन्छ तिलाञ्जली ऊ
चाहन्छ मस्ती र ढलीमली ऊ ।
श्री तीनका छद्म विशेष रूप
छ राज्यसत्ता जहिले कुरूप ।।
४
राजा र पञ्चायत बन्नसक्छ
सधैं प्रजातन्त्र छ भन्नसक्छ ।
संघीयता वा गणतन्त्रजस्ता
किस्सा भए झन् कति धेर सस्ता ।।
५
बग्छन् नदी सुक्छ यता किनार
सत्ता नदी हो जनता किनार ।
हामीहरूमात्र जरा र पत्ता
थुँगा फुलेको तर राज्यसत्ता ।।
६
न मान्छ आफू न विधान पढ्छ
घाँटी अरूका करले रगड्छ ।
श्रीपेच फालेपनि चल्छ गादी
राजाहरू छन् गणतन्त्रवादी ।।
७
कदापि खाएर अघाउँदैन
सर्वत्र नाङ्गिन्छ लजाउँदैन ।
कुर्सी मिले बन्दछ स्याल मत्ता
अचम्मको चीज रहेछ सत्ता ।।
८
०००
Subscribe
Login
0 Comments
Oldest







































