माधव पोखरेल गोज्याङ्ग्रेभूतको भविष्य
त्यो प्रभुत्व भूतकै स्वार्थकालागि भूतहरूद्वारा भविष्यलाई कुँवामा जाक्न गरेको प्रपञ्च हो भन्दा फरक पर्दैन । भूतको भविष्य भूतकै हातमा छ ।

समाजमा कति भूतहरू छन् त्यसको लेखा जोखा गर्ने हो भने वर्तमानको जीवन स्वाहा होला तर भूतको तथ्याङ्क एकिन हुन सक्दैन । दिनहुँ समाजमा बढिरहेका भूतहरू वर्तमानसँग डराएर लुक्छन् । भूतहरूले समाजलाई राती होइन दिउसै बेला न कुबेला तर्साएर मनपरितन्त्र वर्षाएर हैरान छ । यी भूतहरूदेखि वर्तमानको काँचो रीस उम्लेर आउँछ । वर्तमानको काँचो रीसको झोकमा परिन्छ भन्ने भयले भूतहरू त्रस्त छन् । भनौँ अब नेपालमा तर्साउने भूतको भविष्य कुँवाभित्र ट्वार्रट्वार्र गर्ने भयागुताको जस्तै भएको छ । जति कराए पनि भ्यागुतो कुँवाको कुँवामै भने जस्तै अवस्थामा छ वर्तमान र भविष्य पनि । आफ्नो अगाडि आएको भागको खाजा खान नजान्ने यी भूतहरूमध्ये कतिपय प्रेतात्मा बनेर अझै समाजलाई तर्साइ रहेका छन् । कतिपय भूतहरूले देशको ठाउँ ठाउँमा प्वाल पारेर वर्तमानलाई संकटमा पारेर भविष्यलाई अन्धकारमा जाक्ने षडयन्त्र गरे पनि सफल हुन नसक्ने देखिन्छ ।
भूत भन्ने बित्तिकै हामी तर्साउने हो भन्ने सम्झन्छौँ र यो सही पनि हो । हाम्रो अगाडि भूत वर्तमान र भविष्यलाई समेत तर्साने भएर हाम्रा अगाडि उभिएको छ । हामीलाई दिनरात नै तर्साने राजनीतिक भूतहरूले हाम्रो समाजलाई त्रस्त बनाएर काल कोठरीमा वा अँध्यारो कोठामा लुकाएर राखेको छ । जहिले पनि आआफ्नै सुर र तालको मादल घन्काउँदै नाँच्ने यी भूतहरूको रूप जे जस्तो भए पनि व्यवहारमा गल्लीका रैथाने जस्ता देखिएका छन् । यी रैथाने भूतको कुराले धेरैको मनमा त्रास पनि उत्पन्न हुन सक्छ । हामी नजिकको देवतालाई हेला गरेर टाढाको भूतलाई पुज्न अघि सर्ने प्रवृतिबाट उक्सिएका छौँ । तर भूत टाढाको होस् वा नजिकको आखिरी हाम्रो दिमागमा भूत तर्साउने बस्तु हो भन्ने छाप धेरै पहिलेदेखि बसेको छ ।
कुनै निश्चित भविष्य नहुने भूतको जीवन यापनमा पनि लप्पन छप्पन हुन्छ । राज्यले यी भूतहरूलाई गाँस बास र कपासको व्यवस्था गरेको छ । भोलि समाज र देशलाई कुनै कारणले तर्साउनु पर्यो भने तिनै भूतहरूको प्रयोग गर्न सक्छ । राज्यको नीति निर्देशनमा चल्ने कतिपय भूतहरू अहिले पनि गठबन्धनमा गाँसिएर भोलिका दिनमा मासिने बाटो खोजिरहेका छन् । समाज र देशलाई तर्साउने भूतहरू आफ्नै कारणले यदि मासिए भने हामीले जुठो बार्नु पर्दैन । अर्काको जुठो खाएर बाँच्ने भूतहरू मासिदा वा पातालतिर भासिदा जुठो बारियो भने हामी बर्तमान पनि भविष्यमा भूतको आफन्त बन्न सक्छौँ । त्यसैले भोलिको लागि झोलीमा गोली बोकेर भूतको बोली झार्न जुठो बार्नु हुँदैन ।
हामी माझमा देखिने मानव रुपी भूतहरूको भविष्यको योजना बर्तमान र भविष्यलाई नै रमिता देखाउने खालको भयो भने बर्तमान र भविष्यले छाड्नेबाला छैनन् । भूतको शरीरमा झिंगा भन्काएरै छाड्छन । यतिबेला ती भूतहरू आफैँ डिंगा बनेर झिंगालाई लखेटी रहेका छन । समाजमा अझै कालो मसानका रूपमा देखिने भूतहरूको भविष्य र कुवाभित्रको भ्यागुताको भविष्य उस्तै उस्तै हो भन्दा फरक पर्दैन । भविष्य र बर्तमान नचिन्ने भूत न हो अर्काको खाएर पनि बाँचिरहेको देख्दा भूतको भोक अझै बढिरहेको झैँ लाग्छ । अर्को कुरा भन्नु पर्दा भूतहरू खानका हन्तकाली हुन् । अर्काको खानकै लागि काल लिन आउँदा पनि बाँचिरहेका छन् । आफैँले आफैँलाई पूणर् विश्वासका साथ ढाँटिरहेका छन् । समाज र देशलाई केही दिन भन्दा लिन आँटिरहेका छन् । भूतसँग नडराउने भूतहरू पूर्वका भए पनि पश्चिमसँग अमिलो, पिरो, टर्रो नाता गाँसेर उत्तर र दक्षिणसँग लाल मोहन र रसभरीको नातामा रमाउँछन् ।
भूतहरू कतिपय आपूmलाई बुद्ध र प्रबुद्ध भूत भन्न रुचाउँछन् । कसैले तपाईँ भनोस् कि नभनोस् आफैँ टपर टुँइयाँ मपाई बनेर समाज तर्साउन विश्वमै चिनिएका काला मनका जाली भूतहरूले सगरमाथामा समेत आफ्ना पाइलाका छाप छाडेर झण्डा गाडेका छन् । त्यसैले सगरमाथा आरोही पर्यटकहरू तर्सिएर कचनाकवल पुगेका छन् । भूतको तर्साउने स्वरुपले ‘एउटाले बिराउँछ शाखा पिराउँछ’ भन्ने उखानलाई चरितार्थ पारेको छ । तर्साउने रूपको भूतसँग अर्को भूत डराएर भाग्ने अवस्था छ । भूत भूत साथीका रूपमा मिलेर अरुलाई तर्साउनु पर्ने हो तर भूतदेखि भूत नै डराएर तर्सिएर समुन्द्रपार पुग्नु पर्ने अवस्था छ नेपालमा ।
भूत आफ्नै भिनाजुसँग पनि डराएर छेर्दै भाग्ने वातावरणले नेपाली राजनीतिमा भूतहरूको अभूतपूर्व योगदानलाई बिर्सन सकिंदैन । यस्तो योगदान विश्वका कुनै पनि मुलुकका भूतहरूले दिन सकेका छैनन् । यो हिसाबले हेर्ने हो भने नेपाली भूतको चर्चा परिचर्चालाई संसदमा समेत लैजाने हो भने विश्वकै उत्कृष्ट झगडे पुरस्कारबाट अपमानित हुन बेर छैन । झगडाका गुणबाट निस्केर झगडामै ओथारो बस्न रुचाउने र झगडामै अन्य भूत कोरल्ने प्रवृतिबाट कुँवाभित्र पस्न नसकेका यि भूत कतै दूत भएर बसेका छन् । भूतलाई दूत बनाउने चलनभित्र भूत भविष्यको गोरु बेचे मित्रताको फन्को गुडुल्किन्छ । भविष्य बिहीन भूतहरूको दूत बन्ने शैली पनि अचम्मको छ । भूतले भविष्यसँग मितेरी हितेरी गोरुबेचे नाता जोडेर भए पनि त्यही भविष्यलाई तर्साउन भूतले हरेक तिकड्म अपनाएको देखिन्छ ।
साँच्चै भन्ने हो भने नेपाली जनतालाई भविष्यले पनि भूत बनेर तर्साइरहेको पाइन्छ । भविष्यमा भूतको चलखेल भविष्यले पनि भविष्यमा कुनै पनि प्रकारको चलखेल गर्न नपाउने माकुरी जाल बुन्न सकिन्छ भने आजैबाट उद्घाटन गरेर शिलान्यास गरौँ । शिलान्यास गरेर उद्घाटन गर्दा काममा ढिलो हुन सक्छ । त्यसैले देखाउनका लागि गरिने शिलान्यास भूतको प्रिय कार्यक्रम हुन सक्ने भएकोले उद्घाटन गरेर शिलान्यासको महोत्सव नै गर्दा राम्रो हुन सक्छ ।
भूताहाहरूले भविष्याहालाई लखेटिरहेको हुन्छ भन्ने कुरालाई ध्यान दिएर पनि उद्घाटन पहिले गरेर पछि शिलान्यासतिर लाग्नु उचित हुने कुरामा म छुरा चलाउन लागेको हुँ । भूतले आफ्नो भविष्य बनाउनका लागि अनेक स्वरुप धारण गरेर समाजभित्र प्रभुत्व जमाउन खोजेको हुन्छ । तर त्यो प्रभुत्व भूतकै स्वार्थकालागि भूतहरूद्वारा भविष्यलाई कुँवामा जाक्न गरेको प्रपञ्च हो भन्दा फरक पर्दैन ।
भूतको भविष्य भूतकै हातमा छ । भविष्यभित्र छिर्नका लागि भूतहरू घुन बनेर भित्र पस्छन् र ब्वाँसो बनेर बाहिर निस्कन्छन् । कुँवाभित्र मिल्किएको भविष्यलाई भूतको जमातले दूतको रूपमा निम्त्याएर रजाइँ गर्ने नियतमा रहेको देखिन्छ । यो प्रथा नै अन्त्य गरेर भूतहरूलाई भविष्यमा हात्ती बाँध्ने साङ्लोले बाँधेर लक्ष्मण रेखाभित्र राख्नु उचित हुने देखिन्छ । किनभने भूतहरूलाई छाडा छाड्दा भविष्यको भविष्य नै स्वाहा हुने संकेत यहाँ सलबलाई रहेको देखिन्छ । भविष्यलाई भविष्यमा भूतको रोग नलागोस् भनेर पनि बर्तमानमै रोकथाम हुनु पर्ने कुरामा यो गोज्याङ्ग्रेको भूते अदालत फैसला गर्दछ । सबैलाई चेतना भया । भूतको भविष्य अब रछ्यानमा गया ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































