साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पानीको हाहाकार : जनतालाई मुग्धमार

यत्रो पानीको हाहाकारमा पनि मुहारभरि एक रास मुस्कान, भक्कुचूर खुशी लिएर दार्जिलिङवासी पर्व मनाउने सुरमा व्यस्त र मस्त देखिरहेछु ।

Nepal Telecom ad

म दार्जिलिङ आइपुगेको छु । ससुरालीमा । अन्य ज्वाइँहरूले ‘ससुराली’ लाई के ठान्दा हुन् को’नि ! तर मेरो निम्ति ससुराली ‘राजभवन’ (दार्जिलिङको गभर्नर्स हाउस) जत्तिकै हो… अनि म ज्वाइँनाराण भने लाठसाहेब (गभर्नर)। गभर्नर राजभवनमा आउँदा उनको सत्कार र सम्मान कसरी गरिन्छ सोबारे मैले बताइरहनु नपर्ला ।

गभर्नरको आगमनमा पुलिस ब्याण्डले राष्ट्रिय गीतको धुन बजाएर गार्ड अफ अनर बजाएर सम्मान/स्वागत गरेझैं ससुरालीमा आएर कन्ये पोल्ट्री कुखुराजस्तै मेरा आधा दर्जन कन्ये सालीहरूले गभर्नरलाई जस्तो गार्ड अफ अनर नदिए पनि मस्किँदै, इत्रिँदै, छिल्लिँदै र तीन ठुन्का पर्दै मलाई दार्जिलिङ पुलिस ब्याण्डले स्वागत गरेझैं अनुभव भयो ।

सासू-ससुराले मेरो ढोग थाप्न ठिङ्गै उभिदिँदा डीएम र एसपी मेरो सेवामा तैनाथ भएको अनुभव गरेँ। गाडीबाट ओर्लेर श्रीमती मलाई पछिल्तिर छोडी मेरो अघि लाग्दा मेरो पाइलट भ्यान राजभवन (ससुराली घर) तर्फ गएको देख्छु म ।

सिलिगुडीको उखरमाउलो गर्मीलाई बूढ़ो औंली देखाएर गजक्क हुँदै दार्जिलिङ ससुराली भवन आइपुग्ने बित्तिकै ससुरा महोदयले दार्जिलिङमा पानीको हाहाकार भएको कुरा सुनाउँदा खुत्रुक्कै परेँ । हाती गाडीमा निकै टाढो झोडाबाट सोह्रवटा भुल्डुङमा ल्याएको पानी किन्नुपर्दोरहेछ ।

दार्जिलिङको राजनीति सस्तो तर पानी महङ्गो । हाम्रो मधेसमा उखरमाउलो गर्मीले थकित भएका मानिसहरूलाई सित्तैंमा पानी वितरण गरिन्छ । तर मेरो ससुराली देशमा पानी बिक्री भएको देख्दा र कुनै झोडा वा खोल्साबाट प्रकृतिले दिएको पानी बेचेको पैसाले गाड़ीमाथि गाडी किनेको कुरा सुन्दा काकाकुली छटपटिने तमाम् दार्जिलिङबासी प्रति टिठ्याउनु मन लाग्यो ।

मेरो ससुराली भवनमा पनि पानीको हाहाकार छ भन्ने पहिल्यै थाहा पाएको हुँदो हो त दसैँको निम्ति ल्याइने सिसारको कार्टुनका कार्टुन बियर, रम, ह्विस्कीको सट्टा कार्टुनका कार्टुन मिनरल वाटर ल्याइदिने थिएँ बरु । साप पनि मर्ने, लट्ठी पनि नभाँचिने। पहिरोले पानीको मूल पाइप नै सोहोरेर लगेकाले दार्जिलिङमा पानीको हाहाकार भएको हो भन्ने दार्जिलिङभरि हल्ला छ । तर सम्बन्धित विभागबाट पानीको पाइप तयार हुनु अझै दस-पन्ध्र दिन समय लाग्ने गाइँगुइँ छ । मेरी बास्सै! दार्जिलिङवासीले दस-पन्ध्र दिन अझै काकाकुली छटपटिनुपर्ने ? दसैँको रमझम। यसै पनि खर्चमाथि खर्च । बजारमा चिजबिजको दामको घुर्की उस्तै छ ।

भारीमाथि सुपारी भनेजस्तो यस्तो सङ्कटकालमा पानी किन्नुजस्तो महापाप अरु के हुन सक्ला र ? अचम्म र उदेक केमा लागिरहेको छ भने, पानीको यस्तो हाहाकार छ र पनि हेनतेन गर्छु भनी फाइँफुट्टी लाउने नेताहरू बाहेक पनि समाजसेवामा ज्यान र प्राण दिन्छु भनी टोपल्नेहरूले आपत्ति, विरोध, विक्षोभ केही नगरेको देख्दा दाँतले जिब्रो टोक्नु मन लाग्छ ।

हाम्रो मधेसमा सामान्य लोड सेडिङ भयो कि भोलिपल्ट बिजुली अफिस घेराउ हुनु मात्र होइन तिनका कर्मचारीलाई इङ्लिस धुलाइ समेत भएको देखिन्छ । त्यतिमात्रमा पनि कुरा नमिले भोलिपल्ट सिङ्गो शहरमा बन्ज पालन गरिन्छ । मधेसमा नगरपालिकाबाट घरघरमा दिइने पानी जस्तै हावा-हुण्डरी चले पनि यथावत् प्रदान गरिन्छ । दार्जिलिङमा जस्तो मधेसमा मघेसतिर यसरी पानी दस-दस दिन नगरपालिकाको पानी बन्द होस् ता भाँडभैलो मच्चिन्छ । तर यहाँ सबै चूप देखेँ । पानी आतङ्कले दार्जिलिङवासीलाई लुतो कनाइ केही नभएर पनि हामी मधेसवासीलाई भने बमातङ्क थुरथुर पारेको कुरा किन ढाँटुँ ?

म दार्जिलिङबाट बोलिरहेको छु । मधेसबाट आइपुग्नु हामी (परिवार)लाई ठ्याक्कै पाँच घण्टा लाग्यो । खर्साङ नाँघेपछि ड्राइभरले गाडी न्याक र झ्याक पार्दै होसियारीपूर्वक गुडाउन थाले । बाटो बिग्रेर केही छैन । यतै खाल्डा उतै खाल्डा । कति जोगावोस् विचरा ! दार्जिलिङ आउँदा गाडी होइन कोक्रोमा सुतेको छु र हामी सुतेको कोक्रोलाई कसैले हल्लाएजस्तो लागिरह्यो ।

पानी मात्रै पिएर दार्जिलिङ आउनु हो भने, गाडीले हल्लाएर-हल्लाए, थेचारेर-थेचारेर पेटभित्र बिजुली उत्पादन हुने बेर लाग्दैन अनि कसैले दूध मात्रै पिएर आएका छन् भने दार्जिलिङ बजारसम्म आइपुग्दा पेटभित्र घिउ पनि बनिसक्छ भन्ने सोह्रै आना सम्भावनालाई पटक्कै टार्नु सकिन्न । पाप्रा उप्केको घाउजस्तो सडकको दूरावस्था देख्दा म छक्कै परिरहेछु ।

मैले जाने र बुझेअनुसार, दार्जिलिङ पोष्टरको शहर हो । दार्जिलिङमा अरु कोही नबोले पनि शहरको मुटुकै भित्तामा पोष्टर बोलिरहेको हुन्छ । यहाँ पोष्टरमै आश्वासन दिइन्छ भने पोष्टरमै लाखेस् । पानीको अभावमा काकाकुली छटपटेका जनता-जनार्दनलाई दार्जिलिङ नगरपालिकाको पक्षबाट पानीको समस्या झट्टै समाधान गरिने आश्वासको पोष्टर अन्य पोष्टरहरूका छेउछाउ, तलमाथि पी. डब्ल्यू डीको पक्षबाट पनि सडक मरम्मत गरिने आश्वासनको पोष्टर टाँसिएको छ कि भनेर आँखा टट्टाउने गरी हेरेँ- अहँ कतै केही देखिनँ । फेरि सडक झट्टै मरम्मत नभए वृहत् आन्दोलनमा ओर्लिने दार्जिलिङवासीको ’लाखेस पोष्टर’ पनि कतै देखिनँ ।

दार्जिलिङको वातावरण रमाइलो भएको छ अहिले । फटाक-फुटुक पर्यटकहरू आउन थालेको देखिन्छ । यत्रो पानीको हाहाकारमा पनि मुहारभरि एक रास मुस्कान, भक्कुचूर खुशी लिएर दार्जिलिङवासी पर्व मनाउने सुरमा व्यस्त र मस्त देखिरहेछु ।

ससुराली भवनमा मेरो स्थायी शिविर बसेको छ । गभर्नर जत्तिकै थै-थै छ मलाई । तर दार्जिलङमा पानीको हाहाकार यसरी नै भइरहे निकट भविष्यमा दार्जिलिङे युवकहरूसित अन्य स्थानका कुनै पनि युवतीहरूले घरजम गर्न मान्ने छैनन् भन्ने डरले आत्तिरहेको छु म ।

०००
सिलिगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x