कमल भैरवेली‘घ’कुकुर / ‘ग’ कुकुर
चिन्नुभयो तपाइँले पनि हाम्रो घर र घरवरिपरि रहेका दुई प्रकारका कुकुरहरू ? नचिनेको भए अब चिन्नुस् । जात जेसुकै भए पनि कुकुरका मूल प्रकार यिनै दुइटा हुन् ।
यो कार्तिक महिनामा कुकुरकै चर्चा गर्ने जोस काँबाट आयो कुन्नी ! त्यही जोसलाई सदुपयोग गर्दै आज म दुई प्रकारका कुकुरको चर्चा गर्न चाहन्छु । सर्वप्रथम ‘घ’ कुकुर अर्थात् घरपालुवा कुकुरको चर्चा गरौं है त ।
यो ‘घ’ कुकुर बडो भाग्यशाली हुन्छ । सायद पूर्व जन्मको सुकर्मको फलले नै होला- उसको भाग्यमा प्रायः ब्रेड र जाम हुन्छ । बस्ने गतिलो ठाम हुन्छ । कम्तिमा उसको भुक्ने र तर्साउने मात्र काम हुन्छ । उसको लागि खाने स्पेशल थाल हुन्छ । नुहाउने साबुन स्याम्पु फालाफाल हुन्छ । मासु र भात हुन्छ । बस्नलाइ खाट हुन्छ । उसको अर्कै ठाटबाँट हुन्छ ।
आफ्नो प्रिय मालिकको ऊ अङ्गरक्षक हुन्छ । कसैको भने दिन कटाउने साथी हुन्छ । कसैको सन्तान सरह हुन्छ । कपूत सन्तान छ भने त बरु त्यही कुकुर पो उसको आँखाको नानी हुन्छ । प्राण र मुटु हुन्छ । उसको सर्वस्व हुन्छ ।
‘घ’ कुकुर अलि ज्यादा भुक्छ । त्यही भुकाइसँगै उसको मालिकले आफ्ना बेला कुबेला आउने पाहुनाको स्वागत सत्कार गर्छ । अनि त्यही भुकाइसँगै बिदा गर्छ । पाउना आउँदा प्रायः खसीको मासु पाक्ने हुदा ‘घ’ कुकुर त्यो दिन अलि बढी नै लपलपाउँछ । पुच्छर हल्लाउँछ । हड्डीसँगै मासु पनि छोडिदेओस् भन्ने प्रार्थना पनि गर्छ सायद । यदि मासु पनि छोडिदियो भने त अर्को पटक उक्त पाहुना आउँदा मुख नै चाटी दिन बेर लाउँदैन । यस्तो छ घरमा पालेर राख्ने ‘घ’ कुकुरको चरित्र अनि जीवनगाथा ।
अब चर्चा गरौं ‘ग’ कुकुर अर्थात् गल्लीको कुकुरको कथा । गल्लीगल्ली भौतारिने कुकुरको व्यथा र गल्लीमै प्राण त्याग गर्ने कुकुरको गाथाको । ऊ जन्मकै पापको परिणाम होला, उसले पाउनु सास्ती पाउँछ , गल्ली नै उसको संसार, गल्ली नै उसको जन्मभूमी, मातृ अनि पितृभूमी । उसले घाम, पानी, आँधी, हुरी पचाएको छ ।
घ्यु पचाउन नसक्ने ‘घ’ कुकुरको तुलनामा ‘ग’ कुकुरले गाली, ढुङ्गामुढा, अपमान, तिरस्कार सबै पचाएको छ । उसको जीवन खुला किताब जस्तै छ । ऊ लुकेर बाँच्दैन ‘घ’ कुकुर जसरी । बरण्डामा भुक्ने ‘घ’ कुकुर भन्दा व्रह्माण्ड नै घर सम्झेर उन्मुक्त जीवन शैली अपनाएको ‘ग’ कुकुर ज्यादा ईश्वरप्रिय हुन्छ भन्ने मेरो ठहर । ईश्वरप्रिय भएरै होला नगरपालिकाले पनि बन्ध्याकरण गर्नुको सट्टा बीष ख्वाएर छिट्टै प्रभुप्रिय बनाउँछ ।
त्यसैगरी मापसे गरि गाडी हुइँक्याउनेले पनि ‘ग’ कुकुरको जीवनलाई तुरुन्त प्रभुकै हातमा सुम्पन्छ । ‘घ’ कुकुरले नचिनेको मान्छेलाई खाउँला झै गरेर भुक्छ तर ‘ग’ कुकुरले सबैलाई आफ्नै सम्झन्छ । उसमा लोकतान्त्रिक संस्कार हुन्छ । सबैलाई समभावले हेर्छ । उसको न कोही आफ्नो हुन्छ न पराइ । उसमा निस्पृयताको अलौकिक गुण लुकेको हुन्छ ।
‘ग’ कुकुर एउटा घरको सुरक्षाको निम्ति मात्र होइन समग्र गाउँ वा टोलकै सुरक्षाको निम्ति भुक्छ । उसले पेट भर्नका निम्ति मात्र होइन गाउँ टोल नै सफा सुग्घर होस् भन्नका निम्ति खान्छ । ऊ हत्तपत्ती जन्मेको ठाउँबाट धेरै टाढा बसाईं सरेर जाँदैन । किन कि ऊ जन्मेकै ठाउँमा बाँच्ने आधार प्रशस्त देख्छ । ऊ बाँच्नकै लागि मातृभूमी सदाको लागि चटक्क त्याग्दैन ।
चिन्नुभयो तपाइँले पनि हाम्रो घर र घरवरिपरि रहेका दुई प्रकारका कुकुरहरू ? नचिनेको भए अब चिन्नुस् । जात जेसुकै भए पनि कुकुरका मूल प्रकार यिनै दुइटा हुन् । तपाइँलाई मन परोस् कि नपरोस् मेरो ठम्याइ यही हो ।
०००
भैरहवा
२०७९ कार्तिक १
Subscribe
Login
0 Comments
Oldest








































