साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निलबाचन

थोते हुने गरी घ्याम्पो भुँडीमा होम गरेको छर्लङ्गै छ । मिलेर निलेर नै जित्ने जिताउने खेललाई खन्चुवाले मन पराउने भएर जनताको माग बमोजिम सरकारले निलबाचन गराउने गर्छ ।

Nepal Telecom ad

चपाउने दाँत पुरै फुक्लिएका थोते मानवहरू तोते बोल्ने गर्छन् । तोते बोल्नु थोतेको रहर होइन बाध्यता हो । जिब्रो सग्लो छैन र प्रकटीकरणले धोका दियो भने पनि मान्छेले नचाहेर पनि तोते बोल्नुपर्छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि तोते बोल्नुहुन्छ । उहाँका भाषण वक्तव्यहरू प्रष्ट बुझिँदैनन् । तर उहाँकी श्रीमती डा.आरजु राणा चाहिँ प्रष्टसँग भन्नुहुन्छ “रुखमा भोट नहाल्नेको तालु ओठ सुक्छन् । बजेट दिने हामीले हो बजेटमा विर्को लाग्छ । मलेसिया कतार फ्रिमा पठाएर रोजगारी दिन्छु मलाई जिताउनुहोस् अनि हेलिकप्टर चढेर आउन सक्नेलाई मात्र भोट हाल्नुहोला ।” यस्ता स्पष्ट वक्ता नेताहरू पनि नेपालमै जन्मिएका हुन् । अहिले आफ्नै श्रीमान्ले समानुपातिकमा पारेर माननीय सांसद तुल्याउनु भएको छ । खास गरी बाहिर भित्र जता भए पनि श्रीमान्को सल्लाहकार श्रीमती नै भएका कारण छुटाउन नमिलेर समानुपातिकको नसो समाएर माथि पुर्‍याएको हो जो जायजकै परिधिमा परेको छ ।

सम्माननीय प्रधानमन्त्री देउवाको दाँत टन्नै भए पनि भन्ने पर्ने हुन्छ उहाँ लठेब्रो होइबक्सिन्छ । सभा सम्मेलनमा अरू ध्यान मग्न हुँदा उहाँ चाहिँ र्‍याल सिँगान मग्न हुनुहुन्छ । उहाँलाई एकाग्रचित्त फिटिक्क मन पर्दैन । त्यसैले ध्यानका बेलामा ज्यान कन्याउने, र्‍याल सिँगान झार्ने र नेपालको इज्जत भड्खालोमा पार्ने काम उहाँबाट सफल हुन्छ । नेपाल आमाले पाँच पटकसम्म तिनै बाहुबलीलाई प्रधानमन्त्रीका रूपमा वरण गर्ने अवसर पाउँदा हामीले आफूलाई कसरी अभागी भन्नु ? उहाँको शरीरले आराम खोजिरहेको छ तर उहाँले आफैलाई सुविधा दिनु हुन्न भने जनतालाई कसरी दिनुहुन्छ ? तै पनि उहाँ र्‍याल पुछ्दै भन्नुहुन्छ “म सात पटक नेपालको प्रधानमन्त्री हुन्छु ।” मेरै नेतृत्वमा नेपालमा धेरै पटक निलबाचन भएको छ । यस्ता निलबाचन अब दुई पटक मैले नै गराउँछु । संसदीय दलको नेतामा चयन गरिदिन नयनभरी आँसु लिएर उहाँ नै सबैको पाउमा म्याउ म्याउ गरिरहनु भएको छ भनेपछि उहाँको जोस, जाँगर र आँगरलाई कम आँक्न कहाँ मिल्छ ?

दाँत र आँत दरा हुँदा बेस्सरी दाँतै धरापमा पर्ने गरी चपाएको फल थोतेले भोगिरहेको हुन्छ । छरछिमेकीहरू थोतेलाई औँल्याउँदै भन्ने गर्छन् “सरकारी सम्पत्ति र सात पुस्तालाई पुग्ने गरी फ्याउरी लगाएको छ । अहिले जीवनको उत्तरखण्डमा मेरुदण्ड पनि भगवान्ले दण्ड दिएर नै होला धनुष्टङ्कार जस्तो भएका बखतमा बोलीमा पनि खत लिएर बाँच्नु नाच्नु परेको छ । तिनका सन्तान दरसन्तान पनि हजुरबाको कमालको कमाइ रमाइ रमाइ जमाइ रहेका छन् । क्या गज्जबका कमालका कडा हजुरबा । थोते भए पनि सम्पत्तिलाई पुज्ने युगमा तिनै खन्चुवा थोते बा दुनियाँका मनका राजा भएका छन् र त निलबाचनमा पाँच पाँच हजार निल्न पचाउन पाएका छन् । खान, पिउन, जिउन दिएर नै सारालाई प्यारा भएका छन् तोते बोल्ने थोते बा ।

जनताले तिरेको करले नपुगेर दाता राष्ट्रको खाताबाट समेत आर्थिक सहयोग लिएर अर्बौको धनराशिलाई स्वाहा पार्दै निलबाचन २०७९ सम्पन्न भएको छ । पैसा पेल्न नसकेर हार्नेहरू हारेका कुकुरले झै तिखातिखा दाँत देखाउँदै समयसँग लाप्पा खेल्न नसकेर लोप्पा खाएकामा अस्रुग्रस्त नयन बेचयनले पल्टाइ रहेका छन् । छिद्र खोजेर भए पनि आफ्नो उद्यार गर्न मरिमेटेका र जसरी तसरी लम्पसार पर्दै भए पनि नेतालाई भेटेका छन् । जित्नेहरू उद्युम उखरमाउलो भ्रष्टाचारी भए पनि फेरि एकपटकलाई जाइकटक गर्ने अवसर आएकामा असाध्यै फुर्किएका छन् । जित्नेले घिच्ने घाँटी फुलाएर तन्काएर बसेका छन् । जनताले एकबारलाई बारबार लुट्ने छुट दिएका छन् भनौ न । नाइके नकचरो भएपछि काइते बिचरो, लबस्तरो, झोले, धुपौरेहरूले धर्म छोड्नु नौलो कुरा भएन । बेथितिको बिट मार्न, दाँत झार्न नसक्नु नेताको नेतृत्वको कमजोरी हो । नेतृत्व सबल सक्षम हुने हो भने धेरै विकृतिमा सुधारको श्रीपेच ठडिन सक्छ । विकास पनि गलगल्ती बियाउन सक्छ । अन्यथा जति निलबाचन गरे पनि थारो विकासले कहिल्यै निकास पाउँदैन ।

राष्ट्रिय ढुकुटी असाध्यै छिटो छिटो रित्याएर देशलाई खोक््रयाउने काइदालाई निलबाचन भनिन्छ । निलबाचन आयोगका प्रधानदेखि उपप्रधान, मध्यम प्रधान, न्यून प्रधानको मिलेमतोबाट निलबाचन जसोतसो पच्चिस दिनपछि सम्पन्न भयो । मतदाता लगायत समस्त नेताका भक्तजन पनि लाभायलाभले सम्पन्न नै हुनुपर्छ । किनकि तेल, भुटुन, मरमसला, सातु, सामल, चामल, आलु, आगो, उम्मेदवारबाट परिपूर्ति गरिएको हर्ताकर्ता कार्यकर्ताको मुखारबिन्दबाट छर्लङ्ग छँदै छ । अवसरवादी हरूवा कपटका क्वाँटीहरू सलाइका काँटी लिएर मध्यावधि निर्वाचनको ढोल पिट्न टोल टोल छिरिसकेका छन् । मध्यावधि निलबाचन भयो भने यिनका हड्डी फेरि हाँस्छन् । प्रदेश र केन्द्रका प्रतिनिधिलाई कमाउन, जमाउन, रमाउन, सजिलो होस् भनेर नै बेला बेलामा सरकारले निलबाचन गराउने गर्छ । नेपालका धेरै सङ्घ संस्थाहरूका निलबाचन हुने गर्छन् र सबै तह र तप्काका नेतृत्व गणहरू नागले जस्तो फँडा फुलाएर निलबाचन फत्ते गर्ने कुरा सत्यसाबित भएकै कुरा हो । निलबाचन प्रजातन्त्रलाई सबल सक्षम बनाउने हतियार भन्छन् तर निलबाचन भ्रष्टाचारीलाई मलजल गर्ने भरपर्दो हतियार पो भयो त यार । कति बोल्छ यो प्यार प्यार भन्नुहोला तर चारचार वर्षमा निलबाचनलाई पुनर्ताजगी गर्दै राष्ट्रिय ढुकुटीको दोहन गर्न सकियो भने पनि निलबाचन सार्थक सफल र सबल भएकै हो भनेर मान्नु र जान्नुपर्छ ।

नामै त निलबाचन यस यज्ञमा निल्न अछुतो कोही हुँदैनन् । ठूलो अति ठूलो, मझोलो अति मझौलो, सानो र अति सानो नेता कार्यकर्ताले पनि निलबाचनमा निल्नलाई भनेर धेरै धनराशिको माग गर्दै दाँत थोते हुने गरी घ्याम्पो भुँडीमा होम गरेको छर्लङ्गै छ । मिलेर निलेर नै जित्ने जिताउने खेललाई खन्चुवाले मन पराउने भएर जनताको माग बमोजिम सरकारले निलबाचन गराउने गर्छ । चार वर्षसम्म खान नपाएका भोकाले यस घडीमा बडी बनाउने गरी धोक्छन् र मतपत्रमा छाप ठोक्छन् । निलबाचन गर्दै जनतासँगको प्रगाढ सम्बन्धलाई नवीकरण गर्दै निलबाचनलाई सार्थक बनाउने काम सरकारले एकचित्त दत्तचित्त भएर फत्ते गरेको कुरा सत्ते हो । निलबाचनकै कारण निर्वाचन आयोग मजाले मौलाइरहेको छ । आम निलबाचनलाई मजबुत पार्न बुथ कब्जा पनि गरेकै हुन् भने जरिवाना तिराएर अकुत आम्दानी गरेर निलबाचनले आफ्नो उच्च नैतिकता बहादुरी र दुरी घटाइरहेको छ भने हामीले निलबाचन आयोगप्रति चोर औँला ठड्याउने ठाउँ रह्यो त ? जय नेपाल ! जय निलबाचन ! !

०००
शिवशक्ति मार्ग
फूलबारी-११, पोखरा, कास्की
फोन ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
अभाव

अभाव

शेषराज भट्टराई
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x