कलानिधि दाहालभेडाजमात चौरमा !!
भन्दै पुच्छर हल्लिने पनि यता देखिन्छ भेडो मन, चक्ला चाल रसाल साल अझ क्वै गर्दै छ क्यै गन्थन ! आएँ भर्खर हो छु यौन वयको खाना बढी खान्छु म, पाए पेट भरेर झुन्ड सबको आनन्द लैजान्छु म !!

भेडाका हुल छन् जमात अझ छन् भोका र नाङ्गा कति
पाऊँ बस्न भनेर पुच्छर खडा हल्ली रहेका कति !
यौटा चौर छ सानु जङ्गलसँगै छन् सीङ चल्ने कति
भाले छन् अझ छन् विचार कलिला पोथी भएका जति !!
छैनन् भुक्न सिपालु कुक्कुर कतै भुक्ने कतै छन् छुचा
भ्या!भ्या !! छन् छ हुने अझै विरसिला साना मसिना फुचा !
टिप्ने घाँस कता नथाह विचरा कस्तो छ टिप्ने कुरो
छैनन् चाल विचाल बन्धक सबै जस्तो हुने माकुरो !!
छन् थोत्रा तन गर्जने अजबका यी चेत शून्याकृति
चेप्लान् खै कसले चियाउन उता धेरै रहे आकृति !
बन्दा बन्धक हिँड्न साइत कतै मिल्दैन एक्लै छुटी
खल्ली छन् अझ चुल्बुलाइरहँने भेडा फुटेका जुटी !!
थाकेका अझ छन् छ आसन लिऊँ अग्लो उकालो चढी
अर्को हुन्न म नै छु नायक हुने छन् ओठ बोल्ने बढी !
निद्रामस्त छ एक हल्खल यता मै हौँ नयाँ नायक
मेरो केन्द्र छ राख्छु साथ म सबै सम्मान्यको लायक !!
अर्को राख्छ अडान हुन्छु म फुचे छन् ओठ नै चालक
छौ बूढा सब लाग छेउ कति छौ सारै फुचे बालक!
गर्जेँ ओठ उठाउँदै सहजले मैले म हिँड्ने पथ
मैले यो गति रोक्न हुन्न छु सधैँ चोखो चढेको छत !!
भन्दै पुच्छर हल्लिने पनि यता देखिन्छ भेडो मन
चक्ला चाल रसाल साल अझ क्वै गर्दै छ क्यै गन्थन !
आएँ भर्खर हो छु यौन वयको खाना बढी खान्छु म
पाए पेट भरेर झुन्ड सबको आनन्द लैजान्छु म !!
भेडा साँढ भएर तत्पर यता छन् जुध्नलाई खडा
काँप्दै रोक्न तयार झुन्ड पनि छन् लक्का जवाने बडा !
ठेलम्ठेल अमेलका चउरमा छन् स्वार्थ भेडा बल
भ्या!भ्या!!पुच्छर हल्लिँदै चकितमा गर्छन् किझैँ छल्फल !!
०००
कलेकुटी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































