निर्मोही व्यासश्रेष्ठ लेखकको उद्गार !
बन्न लेखक के गाह्रो ? प्रतिभा किन चाहियोस् ? नसक्ने द्रव्यले के छ ? मात्र द्रव्य थुपारियोस् म त यौटा हुँ दृष्टान्त, मजस्ता कति छन् कति छ बाटो सजिलो किन्तु गोपनीय छ यो अति

भाषा भर्दछ यौटाले अर्कोले भाव भर्दछ
शैली भर्दछ अर्कैले अर्कैले प्राण भर्दछ
कोरेकै भरमा खाका गनिन्छु ‘श्रेष्ठ लेखक’
भित्रिया द्रव्यको खेला के पो बुझ्छन् र पाठक !
आफ्नै खर्च गरी ग्रन्थ शानले म छपाउँछु
प्रकाशक कुनै ठूलो संस्थालाई बनाउँछु
विमोचन गराएर खादा-माला-अबीरले
पुरिई मञ्चमा बस्छु गम्किँदै अभिमानले
पहिलो राजधानीमा,दोस्रो गृह-विमोचन
गराउनेछु तेस्रोमा म मावल-विमोचन
चौथो नम्बरमा उस्तै ससुराली-विमोचन
महीनौँ कृतिको यौटै चलिराख्छ विमोचन
सँगै, अन्तक्र्रिया भव्य देशैभरि गराउँछु
मत्त भै वाहवाहीमा जिल्ला-जिल्ला म धाउँछु
के चिन्ता खर्चको ? आँखा चिम्ली खोला बगाउँछु
पत्रिका रेडियो टीभी यत्रतत्र म छाउँछु
पालेको छु दिई चारो प्यारो भजनमण्डली
गर्छन् कीर्तन, थाक्तैनन् गाएर विरुदावली
पुरस्कार र सम्मान पदवी गुणगानले
नपछ्याई धरै छैन मलाई मान-नामले
खोलेको छु प्रतिष्ठान मैले स्वकीय नाममा
र,पुरस्कारका भोका बस्दछन् सब लाममा
पर्दै गजक्क अर्काका कृतिमा लेख्छु भूमिका
मेरो बिर्ता भएको छ अब साहित्यवाटिका
बन्न लेखक के गाह्रो ? प्रतिभा किन चाहियोस् ?
नसक्ने द्रव्यले के छ ? मात्र द्रव्य थुपारियोस्
म त यौटा हुँ दृष्टान्त, मजस्ता कति छन् कति
छ बाटो सजिलो किन्तु गोपनीय छ यो अति
स्रष्टा सबै विधाको म गर्वले मुस्कुराउँछु
अब आत्मकथा लेख्छु,अर्थात् लेख्न लगाउँछु
पताका कीर्तिको आफ्नो चौतर्फ फहराउँछु
तुल्याई स्वप्न साकार तृप्तिको गीत गाउँछु
००
पताका=झन्डा ।
०००
हेटौँडा
Subscribe
Login
0 Comments
Oldest










































