डा. विदुर चालिसेचित्र राम्रो कि चरित्र !
- “अझै सिन्डिकेट टुट्दैन, सच्याउने कसरी ?” घच्चाघच्ची अनुदानका स्वरहरू गुन्जियो । त्यसपछि प्रस्ताव पारित भयो । - “आगामी सुधारका लागि छानविन समिति गठन !”

समीक्षाको क्रममा बहस चलिरहेको थियो । बहस महत्वपूणर् भए पनि खास रूचिको विषय थिएन । वक्ताहरूको कुण्ठा र स्रोताहरूको निरासा चुलिएको थियो । एकजना बहसकर्ताले प्रश्न गरे ।
– “हारियो किन ?”
– “मत नपाएकोले !”
सोझो उत्तरमा बाङ्गो नियत थियो । बेसरी बाङ्गिएको नियतमा कसैसँग सच्चाइ थिएन । मुक्तिका लागि ज्यान दिन चाहनेहरूसँग सच्चाइको शक्ति थिएन । गुपचुप, आरोपप्रत्यारोप र छलछामको पुतली बहसमा उडिरह्यो । अवाक भएर वरपर उडेको पुतलीको पँखेटा कसैले समाउन सकेनन् । अर्को एक बहसको सुरूवात गर्दै समीक्षामा सज्जनले मनको जलन उठाएर भने ।
– “गर्नसम्म गरियो तर हारियो ।”
– “गरेको भए पो जित्नु, नगरेपछि हारि हालिन्छ नि !”
मुकदर्शक जवाफ फुत्त टेबुल अगाडि उफ्रियो । टेबुलको कुरा फेरि पुतली झैं उड्न थाल्यो । उड्दाउड्दै कुरा बौरिन थाल्यो ।
– “उहिले हार्यौँ उसको र मेरो कारणले, त्यसपछि हायौँ उसको र त्यसको कारणले, यसपाली हायौँ कसको कारणले ?”
सबै गलल्ल हाँस्न थाले । हाँसोको साथमा मजाकको ध्वनिमा समीक्षाको निष्कर्ष आयो ।
– “यो सबै हार तिमीहरूका कारणले !”
वक्ताहरू समीक्षाको अन्तिम निष्कर्षतिर लागे । समीक्षा बहस टुङ्गिदा नटुङ्गिदै प्रस्ताव आयो ।
– “अब अपराधीलाई कारवाही गर्ने !”
महान क्रान्तिकारीहरूले हातको पन्जा लाल हुने गरी टेबुलमा ठोकिरहे । टेबुलको चड्का ध्वनि फेरि पुतली झैं सबैको कान कानमा उड्न थाल्यो । उडेको ध्वनिमा तरङ्गित भएको सबैको मनभित्रबाट जलनको धुँवा फुस्फुसाउन थाल्यो ।
– “अझै सिन्डिकेट टुट्दैन, सच्याउने कसरी ?”
घच्चाघच्ची अनुदानका स्वरहरू गुन्जियो । त्यसपछि प्रस्ताव पारित भयो ।
– “आगामी सुधारका लागि छानविन समिति गठन !”
सबै मुखमुखै गरिरहेको बेलामा समीक्षाको प्रायोजित घटनामा आधारित अभिनयको पर्दा खस्यो ।
– “बाँकी अब अर्को बैठकमा !”
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































