साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो नाम फेरिदिनुस्

उनीहरूलाई हाम्रो नाम भन्दा थर भन्न गाह्रो हुन्थ्यो, धौभडेल र बज्राचार्य भन्न बाह्र बज्थ्यो । गजुरेललाई गजुराल र महर्जनलाई महाजन भन्थे । न्ह्यू बज्राचार्य भन्नु परेको भए के भन्थे होला उनीहरू, यसो कल्पना गरौँ त ?

Nepal Telecom ad

“मम्मी मेरो नाम फेरिदिनुस्, आजै । नत्र, म भोलिदेखि स्कुल जान्न ।”
स्मृति रिसाउँदै, रुँलाजस्तो गर्दै घर फर्किन् ।
“किन के भयो ?”
“कस्तो नाम राखिदिनु भएको तपाईंहरूले ? स्कुलमा मलाई मेरो नाम बिगारेर ‘श्रीमती’ भनेर जिस्काउँछन् ।

हाम्रो कक्षामा पनि सिद्धिलक्ष्मीलाई जिस्काएर केटाहरू असिद्धि, बिसिद्धी, सिसिद्धी भन्थे । तिनको हालत पनि स्मृतिको जस्तै थियो । हाम्रा साथीको नाम रेणुकाजी थियो । केटाहरूले रेणु मैयाँ भन्न थालेपछि उनले आफ्नो नाम पूणर्काजी बनाएका थिए । नाम बिगारी दिनेहरूको फन्दामा परेर गजाधर, गधाधर भएपछि अन्तमा आफ्नो नाम फेरेर श्रीधर बन्न परेको थियो । त्यस्तै गजानन्द, गधानन्द हुनबाट जोगिन सिर्फ नन्द बन्न पुगेका थिए ।

म तनहुँमा काम गर्दा डिबी थापासँग मेरो भेट भएको थियो । तपाईंको पूरा नाम के हो भनेर सोध्दा ‘डिबी थापा’ मेरो पूरा नाम हो भनेको भन्ने गर्थे । खासकुरा के रहेछ भने, तोपबहादुरका छोरा, बमबहादुरका नाति रहेछन् यी । बाबु तोपबहादुरले आफ्ना दुई छोराहरूको नाम खड्गबहादुर र ढालबहादुर राखेका रहेछन् । हो, डिबी थापा उनै ढालबहादुर हुन् । त्यो बेला ढालबहादुरका बुबालाई के थाहा कुनै दिन, कोही जान्ने पल्टेर परिवार नियोजन साधनको नाम ढाल राख्दिन्छ भनेर । अहिले आफ्नै छोराको नाम काढेर बोलाउन पनि असजिलो भएको छ तोपबहादुरलाई ।

उहिले एकताका देशमा यस्तो आँधीबेरी आएको थियो देशमा र त्यसले जताततै एउटै नारा उडाएर ल्याएको थियो ः
“पञ्चे चोर, देश छोड ।”
“देश छोड, देश छोड ।”
कुनै अल्लारे केटाहरूले यो नारा लगायो कि हाम्रा टोलका काका आफ्नो लौरोको बलमा उठेरै भए पनि नारा लगाउने केटालाई मुख छोड्दै लखेट्न तम्सिन्थे । यी टोले काका थिए पञ्चदेव । त्यस्तै पञ्चमुनी, पञ्चरत्न नाम गरेका मानिसहरूलाई पनि के गर्नु के नगर्नु बनाउँथ्यो त्यो नाराले । जे भए पनि कहिलेकाहीँ नामले नमज्जा पनि पार्छ । अँ, ती नारेवाज केटाहरू के गर्दै होलान् आजकल ?

यो नामको कहरले एकजना केटालाई अमेरिकामा पनि पिछा छोडेन । नेपालमा उसको नाम अगाडि कोही कोही सुश्री जोडिदिन्थे र तनाव हुन्थ्यो, तर अमेरिकामा अर्कै समस्या थियो उसलाई ।
“ह्वाट इज द प्रोसेस टु चेन्ज माइ नेम (मेरो नाम परिवर्तन गर्ने प्रक्रिया के होला) ?” एक जना नेपाली विद्यार्थी विश्वविद्यालयको कार्यालय पुगेका थिए । भएछ के भने, उसको शान्त, ‘शीतल’ नामलाई यहाँका केटाहरूले जानेर वा नजानेर ‘शीट अल’ भन्न थालेपछि उसलाई तनाव हुन थालेको रहेछ । त्यतिमात्र हो र ? उसको प्रोफेसरलाई समेत त्यस्तो तेज विद्यार्थीलाई कसरी ‘शीट अल’ भनेर बोलाउने भनेर पीर परेको थियो । पछि प्रोफेसरले जुक्ति निकालेर उसलाई छोटो नाम ‘एससि’ (शीतल चन्द्र) भनेर बोलाउन थालेका थिए । अब उसका आमाबाबुले उबेला उसको नाम राख्दा ‘उ भयो भने उ हुन्छ’ र भोलि छोरा अमेरिका जाला र अप्ठेरोमा पर्ला भनेर सोच्ने कुरो पनि त थिएन ।

मेरो आफ्नै कथा भने थोरै भिन्न छ । मेरी मां भन्नुहुन्थ्योः
“बाबु, तिमीले आफ्नो नाम राख्नु पर्छ”
“तपाईंहरूले नाम त पहिल्यै राखिसक्नु भएको छ फेरि किन राख्नु !”
“नाम कमाउनु पर्छ भनेको के लाटा ।”
“भएको नाम नै काफी छ मां, फेरि नयाँ नाम किन कमाई राख्नु ?”
“तर भएको नाम भने मास्सिन दिन्न, बचाई राख्छु मां ।”
“एउटा कुरा नि मां, यो मेरो यति जटिल र गाह्रो नाम चाहिँ किन राख्नु भएको होला ?”

खासमा पढे लेखेका मेरा बुबाले अलि आधुनिक र नयाँ नाम खोज्ने क्रममा यो नाम भेट्नु भएको रहेछ । नाम त गाह्रो नै हो के । उहिले, म सानो हुँदा मेरी निनिबज्यैले मेरो नाम बोलाउन नसकेर मलाई ’पाय्मो’ भनेर बोलाउनु हुन्थ्यो, माया गरेर । कहाँ प्रमोद, कहाँ पाय्मो ? तर वहाँलाई बोलाउन र सम्झन सजिलो पाय्मो नै थियो; पाय्मो माने एक मोहर याने कि आठ आना । सानो निनिबज्यैले भने स्नेहका साथ ‘परमोल’ भन्नुहुन्थ्यो । ‘परमोल’ हैन, ’परमोद’ भन्नेहरू त आजका मितिसम्म पनि प्रशस्त छन् । कसैले त ’पऽर मोड’ पनि भन्न भ्याए ।

यता अमेरिकामा त मेरो नामले विभिन्न रूप फेरेको छ । कहिले प्रमुद, कहिले प्रामूद । कहिले प्रामद भएको छ भने कहिले प्रमद, प्रमाद पनि हुन भ्यायो । कहाँ आमोद प्रमोदवाला प्रमोद, कहाँ दिक्कदारी प्रमाद । अर्थ नै अर्कै ।
मेरो नाम सही उच्चारण गर्न सक्ने बहादुरहरू भने भारतको रुडकी विश्वविद्यालय पढ्दा भेटेको थिएँ तर बिचराहरूलाई मेरो थर भन्न भने धौधौ पथ्र्यो । कोही आमात्य, कोही अमात्या भन्थे । कोही त आमाच्यासम्म भन्न भ्याउँथे । कहाँ ‘आमा च्या’, कहाँ अमात्य ? मखुला ? त्यसो त उनीहरूलाई हाम्रो नाम भन्दा थर भन्न गाह्रो हुन्थ्यो, धौभडेल र बज्राचार्य भन्न बाह्र बज्थ्यो । गजुरेललाई गजुराल र महर्जनलाई महाजन भन्थे । न्ह्यू बज्राचार्य भन्नु परेको भए के भन्थे होला उनीहरू, यसो कल्पना गरौँ त ?

मेरी मां मलाई अहिले पनि आफ्नो नाम चलाउनुपर्छ भन्नुहुन्छ । यस्तो जटिल, कठिन र चलमल गर्न गाह्रो नाम कसरी चलाउने होला ? नाम चलाउन पहिले दाम कमाउनु पर्‍यो, या त गतिलो काम गर्नु पर्‍यो । यसमा पनि कुइरोको काग जस्तै भएको छु, पहिले काम आउँछ कि दाम ? अथवा, यिनीहरू साथसाथै पो आउँछन् कि ? अझ थाहा पाएको छैन । नगदतिर लाग्ने कि, नैतिकतातिर लाग्ने कि, वा ज्ञानतिर ? अहिले पनि अलमल छ । अरु त यस्तै हो; बरु हँसिलो र रसिलो शुक्रबारे गन्थन लेख्दै जानसकेँ भने ‘गन्थने पासा’ वा ‘शुक्रबारे पासा’ भनेर चिनिन भने बेर छैन । यो नाम पो चल्छ कि कसो ? मखुला पासा ?

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
पढैया नम्बर १ (भाग १)

पढैया नम्बर १ (भाग...

प्रमोद अमात्य
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x