साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोज्याङ्ग्रेको छेड्छाड

श्री पाँडेको सरकारले केही दिन नसके पनि आलुको तक्मा थाप्न कुनै चाकडी विना पक्का भएको घोषणा गर्दछु । तपाईंको कृतिले स्वीकृति पाएर फुकुवा भएकोमा आफ्नै ढाँचामा टाँचा लगाएको छु ।

Nepal Telecom ad

नेपाली हाँस्य क्षेत्रमा मूलतः फाट्टफुट्ट जे जस्तो लेखे पनि हास्यव्यङ्ग्यलाई नै मूल लेखनमानी लेख्ने र प्रकाशन गर्ने काम निकै पछिमात्र भएको हो पहिलो छापिएका किताब पहिलो दर्जाका नभए पनि पहिलो प्रकाशित पुस्तक आख्यान, नाट्य र काव्यमा क्रमशः शर्मा र देवकोटा नै हुन् । नाटकमा प्रेमराज शर्माको ससुराली (१९९४) हास्यव्यङ्ग्य सङ्कलनमा कृष्णप्रसाद चापागाईको रसवरी चमचम् (२००८), कवितामा देवकोटाको मनोरञ्जन २०१४ सालमा अग्रणी भएर आएका हुन् । त्यसपछि केशवराज पिंडालीको खै खै २०१७, भैरव अर्यालको काउकुती २०२२, रामकुमार पाँडेको ख्याल ख्याल २०२३ सालमा बजारमा आएपछि नै नेपाली हाँस्य साहित्यले गति पाएको हो । गद्य हाँस्य साहित्यमा खाइलाग्दो प्रकाशन केशवराज पिंडालीको खै खै २०१७ सालमा तत्कालिन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले प्रकाशित गरेको किताब नै पहिलो दर्जामा आउँछ। हास्यव्यङ्ग्य साहित्यमा त्रिमूर्ति मानिने पिंडाली, अर्याल र पाँडे तिनै जनाले चार-चार हाँस्यव्यङ्ग्य पुस्तकभन्दा बढी नेपाली साहित्यमा अर्पण गरेका छन् । तर अहिले न पिंडालीको पिरलोको समय छ, न भैरवको भाँडभैलोको समय । समय समयको बात भने आ-आफ्नो समयको समस्याको खात ।

समसामयिक नेपालमा हुनु नहुनु भयो । १० वर्षे जनयुद्ध, दरबार हत्याकाण्ड, महाभूकम्प, कोभिडको महामारी र राजनीतिक हाहाकारीले विकृति र बेथिति कति हो कति नेताहरू बिरूप भए सर्म धर्म हरायो । सिंहदरबारमा स्याल करायो । कुकर्मले सगरमाथा होच्यायो, विदेशी भूतहरूले कोठाचोटा च्यायो र कहिले नदेखिएका नसुनिएका कुकृत्य गर्न समाजका सण्ड मुसण्डले भ्यायो । अर्थात् नेता रुपी गोरु ब्यायो र साँढेको पछि दगुर्ने स्याल झैँ कार्यकर्ताहरूले बिगौती खाए । यस्ता बेलामा बिचलित नभै समाजको फोहरमा कुचो लाउने, कलम उँचो बनाउने मान्छे खोज्नु स्यालको सिङ खोज्नु जस्तै हो तर जब जब बेथिति, विकृति, बेइमानीले बेहाल बनाउँछ लुकेका प्रतिभाले उज्यालो बनाउन आतसबाजी पड्काउन कोही न कोही जन्मने रहेछन् बेला बेलामा उदाएका राम्रोलाई बोक्ने र नराम्रोलाई ठोक्ने हास्यव्यङ्ग्यकारे आ-आफ्नो विशेषताले पूर्ण छन् । अतुलनीय छन् यसै लहरमा निबन्ध हाँस्यरसात्मक प्रस्तुतिमा जमेकां श्याम गोतामे (२०२६), सूर्यबहादुर पिवा (२०३५), लोकेन्द्रबहादुर चन्द’ (२०३५), नरेन्द्रराज पौडेल (२०४०), विश्व शाक्य (२०३८), हृदयप्रसाद मिश्र (२०४७) जल्दाबल्दा हास्यव्यङ्ग्य लेखक हुन् ।

नेपाली हास्यव्यङ्ग्यमा २०५० पछि देखिएकामा नरनाथ लुइँटेल (२०५१), कृष्णमुरारी गौतम (२०५८) लक्ष्मण गाम्नागे (२०६१) हुन् महिलामा हरिकला उप्रेती र सुमी लोहनी (२०६९) निक्लिएका छन् । कमसेकम चार पाँच सङ्कलन नभै हास्यव्यङ्ग्य क्षेत्रमा लेखकको प्रतिभा क्षमता आकलन गर्न कठिन छ । अबको नेपालमा गतिलो गहकिलो एक दुई कृति केही हुन सक्दैन । कतिले एक दुई राम्रा कृति दिंदा भरपर्दा भन्दाभन्दै बाटैमा बिलाएका छन् । यसरी हास्यव्यङ्ग्यमा दुई तीन कृति दिनेहरू ओझेलमा परेका छन् त्यति राम्रो लेख्नेहरूले किन लेख्न छाडे ? यसमा अनुसन्धान हुनुपर्ने देखिन्छ ।

राम्रा लेख्नेमा त पूर्वका ताराबहादुर बुढाथोकी छन् । पश्चिमका आसलाग्दा प्रतिभा घुयेत्रो उहिल्यै हानेकाले अहिले तोप पड्काउनु पर्ने थियो । अर्का विना भुटुनका च्चाई तगडा भए पनि स्वर्गै पुगिसके । बलिया हस्तीका हेटौडावासी रिजालले स्यावासी बटुले पनि अर्जुन दृष्टि बूढोतिर लस्कदै गरे जस्तो छ । लहै देशमा भाँडभैलो भएका बेला सबैको ध्यान हास्यव्यङ्ग्यको बम र बन्दुकतिर जानु पर्ने हैन र भन्या ? चट्याङ पनि कट्याङ् कुटुङ्गतिर तीर तेस्र्याउन पछि परेको हो कि ?

अलि लगाव झुकाव र हाँस्य पाराकै लेखेर आउनेमा पुरानालाई साविक नै मानेर नयाँमा अग्रणी भूमिका खेल्नेमा अब माधव पोखरेल गोज्याङ्ग्रे (२०६८) ले पनि पछिल्लो ४ कृति सहित ५ पुर्‍याएका छन् नरेन्द्रराजपछि गोज्याङ्ग्रे राज हुन बेर छैन यही रफ्तारमा लिगलिगे दौडमा लागे भने ।

लेख्न पनि खप्पिस हेर्नोस्न कुनै कुनै त मास्टर पिस नै छ, कुन छ त भनेर भन्दाखेरि आफूलाई जुन घत पर्‍यो त्यही ठान्नु होला । हास्यव्यङ्ग्य कृति त्यो पनि चार चार वटा एकैसाथ अनि भएन लुरेलाम्रेको घाँटी माथ ? यिनका चार कृतिमा बिचार गर्दा सबै अक्षर जस्ता ट्वाक्क परेका छन् । सिंहदरबारका नरसिंहहरू, भ्रष्टपाल, भ्रष्टपति, नेता देवायै नमः सबैमा व्यङ्ग्यको दम को भन्दा को कम ? वास्तवमा व्यङ्ग्यको बमले विकृतिलाई उडाएर जन स्वीकृति लिन सफल यी लेखक सफल हास्यव्यङ्ग्यकार हुन् । सबै गाथालाई एकै गातामा हाले पनि हुने भएकोले चार पुस्तकमा मेरो बिचार एउटै होस् भनेको हुँ । आजको भ्रष्ट युगमा अन्याय अत्याचारलाई सिपालु हातहरूले खल ओखल कल दमकल जे जे हुन्छ ठोक ठाक गरेर ठीक ठाक पार्नुपर्छ नत्र तिनै भ्रष्टपति बन्छन् र वातावरण ध्वस्त पार्दै डोजर चलाउँछन् आफ्नो करेसामा हीरा मोती सुनचाँदी सबै फलाउँछन् । जनता हिस्स बूढी खिस्स दाँत ! कहिले पुरिन्छ जनताको आँत अब आँट देखाउनेले अरु होइन यस्तै लेख्ने लेखाउने बेला हो झेला नगरी भन्नुपर्दा अरु तपसिलका कुरा ।

माधव पोखरेल गोज्याङ्ग्रेको निबन्धको शीर्षक नै रमाइला । पढौं पढौं लाग्ने । स्वर्गदेखि सडकसम्म, आलुदेखि तालु, पुच्छरदेखि सिंहदरबारे दुच्छरसम्मको धतुरो झार्न लाग्दा उनी हार्न मान्दैनन् । कुरा पनि कति आको के के हो के के । आन्दोलन पनि गज्जव आन्द्रा भर्ने । सालीदेखि मती हराएको देख्दा ताली कि गाली धेरैले छोडेको क्षेत्र पर्‍यो अपुताली । गोज्याङ्ग्रे हेर्दा नपत्याउने तर हास्यव्यङ्ग्यमा गुँड बनाउने मुड हेर्दा नाक साँच्चै सुँढ बनेको पो देखियो । अर्थात् राम्रो छ है भन्दा नाक बढेर सुँढ भएको पत्तै नपाएको झैँ छ अहो गणपतिले बरदानै दिएको पो हो कि ? उता भ्रष्टपाल, भ्रष्टपति हेर्दा गोज्याङ्ग्रे पोखरेलले रेल कुदाए जस्तो कलम दौडाएको देख्दा पिंडालु पार्टीमा स्वागत गर्न बेर हुन्न । घुस खानेलाई छासछुस मात्र हो र च्वास्सचुस्स घोच्नेदेखि टाकुराका माकुरासम्म सोच्न पुगेपछि उनी जय घुशासन भन्न के बाँकी राख्थे। उनी सात्तो खाने कुरामा नेतालाई कर्के नजरले हेरेर छिर्की हान्न पछि पर्दैनन् । नेताको चल्तिकारा नलेख्ने हास्यव्यङ्ग्यकार देखिन्न ।

उनको अथः नेता देवायै नमःले नेताको झाको झार्ने कुरामा पछि परेका छैनन् । अहिलेको तातो विषय धेरै सङ्गालेर पगालेर राखेका छन् । धर्म र पापको पहिचान, कुर्सीको लुछाचुँडी, नाङ्गाहरूको आन्दोलन, बडा घरेको घटिया चाला, सडकको षडयन्त्र, सोचेभन्दा कडा मन्त्र फुकेका छन् साँच्चै गोज्याङ्ग्रे जाग्दै जाग्दैन जागेपछि भाग्दै भाग्दैन भनेझैँ हास्यव्यङ्ग्यमा भूत चढेर भ्रष्टको दोहोलो काढेको कुरा प्रष्ट छ । पढ्नेले मुक्ति पाउने जुक्ति गोज्याङ्ग्रेको कलमले मल्हम लगाएर पाठकको भाँचिएको मन दुरुस्त पार्ने विश्वास लिएको छु ।

हुन त कति ठाउँमा आफ्नै छायाँ आए जस्तो देखिए पनि यिनको दृष्टि अझ फराकिलो भएर घुम्दै गरेको देख्दा उनको कृतिलाई चुम्दै भन्छु स्यावास गोज्याङ्ग्रे । मुसो लिएर आएका गोज्याङ्ग्रे अहिले सिंह लिएर मुसालाई मुद्दा हालेका माधवलाई साक्षीको सहीछाप हान्दा मेरो नाकमुनि मुसोको टुसो पलाएको कहिल्यै बिर्सन्न । साना साना थुप्रै गोलीले पनि ठीक नहुँदा पछि मेरो पालो मुसोलाई श्रीपेच भन्दै हाडीमा नर्कट फूलको कल्की हालेर सम्मान गरेपछि मुसोको विलय भयो । समय कस्तो बलवान ! राजनीति पनि त्यस्तै भयो । जङ्गली मुसोका उपद्रो अझै सकिएको छैन ।

मैले पनि श्री पाँडेका सरकार बनाएर आफ्ना र ज्यूकालाई आफ्नै ढाँचाको टाँचा लगाउँदै जाने क्रममा गोज्याङ्ग्रे आइपुगे । मै हुँ भन्ने सिंह मुसो भै ढोका ढोका पसे । ठूलै पोका पाउँ भन्थे साँढेले स्याल जिल्लिए जस्तो भएपछि बीचमै बिलाए । धन्न गोज्याङ्ग्रे फसेन । जहाँ फस्यो त्यहाँ खस्यो । रोलक्रम माथि पुगेकोमा बधाई भन्नै पर्छ । श्री पाँडेको सरकारले केही दिन नसके पनि आलुको तक्मा थाप्न कुनै चाकडी विना पक्का भएको घोषणा गर्दछु । तपाईंको कृतिले स्वीकृति पाएर फुकुवा भएकोमा आफ्नै ढाँचामा टाँचा लगाएको छु ।

०००
२०७८ को फागु
‘भ्रष्टपति’ (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x