कमल भैरवेलीहाँस्ने उपाय
हरेक पाँच बर्षमा टुप्लुक्क तपाईंको घरदैलोमा कोरा आश्वासनका पोका बाँड्न आउने बोकाहरूलाई सम्झेर हाँस्नुस् । तिनको कुरा पत्याएर तिनै धूर्तसँग सती जाने आफ्नै हरिलट्ठकपन सम्झेर खुब हाँस्नुस् ।

आदरणीय हाँस्यप्रेमी महानुभावहरू । आज म तपाइँहरूलाइ हाँस्ने उपाय बताउन गइरहेको छु । हो मरिमरी हाँस्ने उपाय, पेट मिचिमिची हाँस्ने उपाय । खित्का छोडेर हाँस्ने उपाय । सर्वप्रथम त तपाइँ आफ्नै कुकृत्य सम्झेर हाँस्नुस् ! आफ्नै मुख्र्याइँ सम्झेर हाँस्नुस् । आफ्नो बाको खल्तीबाट लाइटर र चुरोट निकालेर बारीको कान्लामुनि बसेर पहिलो चोटी पुत्पुत्ते ध्वाँ ओकलेको सम्झेर हाँस्नुस् । काकाको खल्तीबाट सुटुक्क सुर्ती निकालेर माडीमाडी खाएको सम्झेर हाँस्नुस् न । आची पुछ्न नजानेर डुङ्डुङ्ती गन्हाउँदै आएर टुक्रुक्क पिर्कामा बसेर भात खाँदाखाँदै ह्वाल्ल उल्टी गरेको सम्झेर हाँस्नुस् न । हो, यस्तै हाँस्ने कुरा खोजी खोजी सम्झेर हाँस्नुस् ।
हाँस्न पनि अरुको मुख ताक्ने तपाई ! आफ्नो जग्गा जमीन प्रसस्त हुँदाहुँदै रोजगारीको लागि अरुको मुख ताक्नु भो । आफ्नो योग्यता यथेष्ट हुँदाहुँदै अरुको चाकरी चाप्लुसी गर्दै हिँड्नु भो । आफैभित्र असिमित सम्भावना हुँदाहुँदै आफूलाई निरीह सम्झदै हिँड्नु भो । हो, त्यही मूर्खता सम्झेर हाँस्नुस् । हाँस्नकै लागि पनि फेरि हास्यव्यङ्ग्यकै सहारा लिने ! हाम्रा नेता र कुकुरको पुच्छरबिच तुलना गरेर गलल्ल हाँस्नुस् । सोझो औँलाले घ्यू किन आउँदैन भनेर साइन्टिफिक रिसर्च गरेर हाँस्नुस् । र्याल र सिंगान बग्दासम्म पनि मान्छेमा किन सत्तालिप्साकै धङ्धङी हुँदो हो भनेर हाँस्नुस् । हाँस्ने कुरा थुप्रै पो छन् त । बिर्को लाको सिसीमा कमिलो कसरी पस्यो भनेर अचम्म परेर हाँस्नुस् । आफ्नी प्राणपियारी घरमा छँदाछँदै उत्ताउली गधीतिर दिल कसरी बस्यो भनेर हाँस्नुस् । हो, खुब हाँस्नुस् । कहिलेकाहीँ हातमा मोबाइल लिएर त्यसैको टर्चले त्यही मोबाइल अँध्यारोमा खोजिरहेको सम्झेर हाँस्नुस् ।
कतै जाँदा आफ्नै श्रीमतीलाई पनि अरू नै भन्ठानेर मुसुक्क मुस्कुराएको सम्झेर हाँस्नुस् । कहिलेकाहीँ आफ्नो श्रीमान वा श्रीमानप्रति नचाहिँदो शङ्का गर्दा त्यसको पाप कुर्लेर सङ्घारमा नराम्ररी ठेस लागेको कुरा सम्झेर हाँस्नुस् । हो, हाँस्ने कुरा मनग्गे छन् यहाँ ।
किन हाँस्ने क्लब गएर बिनासित्ति खर्च उडाउने ! हो, यस्तै यस्तै सम्झेर हास्नुस् न । बैँस छँदा ठिटा वा ठिटीसँग जिस्केको सम्झेर हाँस्नुस्, कहिलेकाहीँ अनायास खुस्केको सम्झेर हास्नुस् । कसैको अगाडि बाघ त कसैको अगाडि स्याल बनेको सम्झेर हाँस्नुस् । अनेक आडम्बरहरूको देखासिकी गरेको सम्झेर हाँस्नुस् । खोक्रो आदर्श र ढोङलाई मलजल गरिरहेको आफ्नो मूर्खता सम्झेर हाँस्नुस् । थोरै पनि परिवर्तनलाई आत्मसात गर्न नसकेको बिडम्बनायुक्त आफ्नो जीवनशैली सम्झेर खुब हाँस्नुस् । हो, खुब हाँस्नुस् । हाँस्ने कुरा मनग्ये छन् ।
कहिलेकाहीँ हुटिट्याउँले आकाश थाम्न खोजिरहेको दृष्य हेरेर हाँस्नुस् । हरेक पाँच बर्षमा टुप्लुक्क तपाईंको घरदैलोमा कोरा आश्वासनका पोका बाँड्न आउने बोकाहरूलाई सम्झेर हाँस्नुस् । तिनको कुरा पत्याएर तिनै धूर्तसँग सती जाने आफ्नै हरिलट्ठकपन सम्झेर खुब हाँस्नुस् । हो, हाँस्ने कुरा मनग्गे छन् ह्याँ ।
०००
भैरहवा
Subscribe
Login
0 Comments
Oldest







































