रेजिना आपगाईउज्यालोको यात्रा
कुरीतिमा एक अञ्जुली रीति भरेर कुसंस्कारमा घडाभरि संस्कार भरेर अब उज्यालो स्वयंलाई उज्यालो हुनु छ र उज्यालो बनाउनु छ अँध्यारोसँग अमन भइसकेको अँध्यारोलाई ।

छोरो प्रश्न गर्छ
आमा !
भर्खरसम्म झलमल्ल रहेको त्यो उज्यालो
रातपरेपछि कहाँ गएर निदाउँछ ?
बाबू !
अँध्यारो भएपछि हामी निदाउँछौंँ
अँध्यारो भएपछि संसार निदाउँछ
अँध्यारो भए पनि उज्यालोले निदाउन पाउँदैन
निशाले घुम्टो उघार्दै गर्दा
चराहरू चिर्बिराउँदा
उज्यालो सखारै आइपुग्नु छ
एक क्षितिज सम्भावना बोकेर
त्यही उज्यालोमा स्वतन्त्र हुनेछन्
बर्सौँदेखि नाडीबाट मुक्ति चाहने हतकडीहरू
कालो दौलतले आजित सन्दुकहरू
कैदीहरूको छटपटीले बेचैन झ्यालखानाहरू
कुरीतिको छातीमा बज्रिदा लखतरान भएका अस्त्रहरू
भ्रष्ट आचारबाटै थकित भ्रष्टाचारहरू
उज्यालोसँगै फर्किनेछन्
अँध्यारोले आवाज खोसेका जिब्राहरू
अँध्यारोमा न्याय हराएर पोखिएका आँसुहरू
उज्यालोको छहारीमा उम्रिनेछ
एक बगैँचा सुशासन
फर्किनेछन्
अँध्यारो भोकले गन्तव्य बिर्सिएर उडेका गौँथलीहरू
एक चुच्चो चारोसँगै एक गुँड खुसी च्यापेर ।
बाबू !
उज्यालो झुल्किने छ
बेथितिमा एक हृदय थिति भरेर
भ्रष्टाचारमा एक हरफ आचार भरेर
कुरीतिमा एक अञ्जुली रीति भरेर
कुसंस्कारमा घडाभरि संस्कार भरेर
अब
उज्यालो स्वयंलाई उज्यालो हुनु छ
र उज्यालो बनाउनु छ
अँध्यारोसँग अमन भइसकेको अँध्यारोलाई ।
०००
Subscribe
Login
0 Comments
Oldest







































