रेजिना आपगाईप्रेरणा
डुबेर मौन भावमा कता कता हराउँछु, टिपेर शब्दका थुँगा म काव्यमा सजाउँछु, सहेर चोट छालको बनौँ म शालिग्राम नै, गरेर नित्य साधना बनौँ म भानुभक्त झैँ ।

रेजिना आपगाईं
नजन्मिँदै नि जन्मियौ नहुर्किंदै नि हुर्कियौ
सदा तिमी महान छौ तिमी सदैव पूज्य छौ
रहेन देह गैगयौ परन्तु कीर्तिशेष छौ
र काव्य दृष्टिले तिमी अझै अझै विशेष छौ ।
॥१॥
स्वयं जलेर मैनले प्रकाश छर्छ रातमा
चिरेर अन्धकार सूर्य झुल्किने प्रभातमा
तिमी ज्वलन्त भानु हौ तिमी प्रकाश दायक
तिमी अनन्त काव्य हौ तिमी युगादि नायक ।
॥२॥
डुबेर मौन भावमा कता कता हराउँछु
टिपेर शब्दका थुँगा म काव्यमा सजाउँछु
सहेर चोट छालको बनौँ म शालिग्राम नै
गरेर नित्य साधना बनौँ म भानुभक्त झैँ ।
॥३॥
उडेर जान सक्छु या हिँडेर पुग्छु लक्ष्यमा
स्वतन्त्रता म पक्रिई छुनेछु माथि चन्द्रमा
म थाल्छु एक चित्तले र गर्छु त्यो निरन्तर
म लेख्न दिव्य काव्यमा रमाउने सबै पल ।
॥४॥
छ प्रेरणा अमूल्य यो तिमी सदैव साथ छौ
सुदूर दूर धामबाट कीर्ति राख भन्दछौ
म हिँड्छु सत्य मार्गमा तिमी गयौ जताजता
बनेर भानु झैँ म आज लेख्छु दिव्य सत्कथा ।
॥५॥
०००
तेह्रथुम
Subscribe
Login
0 Comments
Oldest







































