लक्ष्मण नेवटियानरिसाउनु ‘भानु’
साच्चो कुरा नढाँटी लेख्नु पर्दा लेख्नैपर्ने भयो कि अहिले तिम्रै नाउँको सेल रोटी खानेहरू तिम्रो तस्वीर अर्को जयन्तीसम्मका लागि खाटमुनि लुकाइ रहेका छन् ।

लक्ष्मण नेवटिया
नेपाली आस्था- अस्मिता र स्वाभिमानको
उज्यालो बिहानीका स्वर्णिम बिन्दु
‘भानु’ तिमी नेपाली भाषाको
सुन्दरतम् सौन्दर्य हौ- सिंगै सूर्य हौ ।
अँध्यारो बाकसमा बन्द
हाम्रो भाषिक पहिचानलाई
उजिल्याई टल्काई विश्व सामु दियौ उभ्याई
तिमी फैलिनु पर्थ्याे सम्झनामा
हाम्रा जीवनका हर क्षणमा
विश्वासका कण-कणमा
तर विदेशी रुमानी सपना प्राप्तिको होडबाजीमा
तिमी खुम्चिदै गयौ, सेलाउँदै गयौ
हामी तिमीलाई बिर्सिदै गयौँ ।
अहिले हाम्रो मन अमिलो छ
-भाव धमिलो छ
असत्य चिप्लो चिल्लो छ,
विवेकलाई थन्क्याएर विदेशी
संस्कृतिमा जम्दैछौँ ।
नेपाली रामायणलाई बिर्सेर
पोपमा झुम्दैछौं ।
नेपाली पढ्नु उपहासको अभ्यास
कमजोर अवस्थाको पहिचान भएको छ
तिमीलाई श्रद्धाञ्जलि दिने बेला
सम्झनाका अपार अनुभूतिहरू
हाम्रा आँखाभरी पोखिन्छन् ।
कहिल्यै साहित्यको ‘स’
उच्चारण नगर्नेहरू निगाह बक्स भै
जयन्तीको जुलुसमा सामेल भै चोखिन्छन् ।
नरिसाउनु ‘भानु’ के गर्ने
हाम्रो बानी नै यस्तो छ ।
अचेल, अचेत बिमार मस्तिष्कको
जताततै बोलबाला भएर
बकुल्ला भगतका बथानहरू
आ-आफ्ना नेताका पुच्छर समाई
छक्याइरहेका छन्,
झुक्याइरहेका छन्
माथि झन् माथि रमाइरहेका छन्
तक्मा झुण्ड्याउन भ्याइरहेका छन्,
बानी न हो सुध्रिन समय त लाग्छ नै ।
साच्चो कुरा नढाँटी लेख्नु पर्दा
लेख्नैपर्ने भयो कि
अहिले तिम्रै नाउँको सेल रोटी खानेहरू
तिम्रो तस्वीर अर्को जयन्तीसम्मका लागि
खाटमुनि लुकाइ रहेका छन् ।
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest








































