साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नस हाल्नु

तब त नेता-नेतामा पति कसको नस कडा भनेर जाँचाजाँच हुन्छ । नस ज्यादै विस्तारवादी भइसकेको छ । भन्न सकिन्न, यस नसैची दुनियाँमा कहिले कसलाई कसले नस हाल्ने हो ?

Nepal Telecom ad

हामी नेपालीको खप्परै बलियो, नत्र हाम्रो माउकुरा यति खँदिलो र मीठो हुने थिएन । हाम्रो कुरामा जति तागत छ त्यति यूरोपेलीहरू एदेखि जेडसम्मको भिटामिन खाँदा पनि पाउन सक्दैनन् । त्यसैले त हामीमध्ये धेरैजसो ढिंडो र सिस्नो खाएर पनि बाँचेकै छौँ, डेढ दुई मनको भारी बोकेको हाम्रो माउकुराको प्रताप हो, गाउँमा भलाद्मीहरूको हात तमसुक लेख्न बसेपछि कुरा फुरेर सातसय लेख्नलाग्दा स्वात्तै सैंतीस सय लेख्न पुग्छ । हाम्रा कतिपय नाइकेहरूका मुखमा भाषण गर्न लाग्दा, अझ एकान्त कोठामा बातचीत गर्न लाग्दा, थपक्क सरस्वतीमाई आएर बास बसिदिन्छिन् अनि हामी सुन्नेहरू लट्ठिएर मख्ख पर्छौं ।

एक दिन कुरै-कुरामा मेरा बूढा गुरुले नघोरिईकन के भन्नुभयो- देशी भाषामा ‘ट्याम’, ‘ठ्याम्म’, ‘ड्याम्म’, ‘ढ्याम्म’, ‘लुत्त’, ‘सुत्त’ जस्ता शब्दहरू एकछिन टिप्ता दुई हजार पुगे रे । आफ्ना माउकुराका अनगिन्ती खूबीहरूले गर्दा व्याकरण पनि अनगिन्ती हुने भए । गुरुज्यूले यस्ता शब्दलाई क्रियानुबन्धी भन्ने नाउँ जुराएको कुरा पनि भन्नुभयो । आफ्नो चाहिँ नाम भन्दा पनि ‘एकछिन टिप्दै दुई हजार पुगे’ भनेको सुन्दा आङ जिरिङ्ग भएर आयो । यसो गमें, हाम्रा केही राजनीतिज्ञहरूले दिनको दश घण्टाको दरले अरू थोक नगरीकन सातसाल उताको राणाशासन र यताको दलगत राजनीतिको खोट देखाउँदै जाने हो भने अझ बीसवर्ष यस्ता नयाँ नयाँ क्रियानुबन्धी प्रयोग गर्दा पनि रितिने थिएनन् होला ।

अस्ति भर्खरै माउकुराको मोहले रातभरी निन्द्रै परेन । त्यस रात एक गोलो लामखुट्टे र म बाहेक अरू को नै जागो थियो र ? मनमा कुरा खेल्न थाले, बुद्धिचाल खेलेजस्तो होइन, कपर्दी खेलेजस्तै गरीकन । ‘घैंटामा घाम लाग्नु’, ‘कुरो बंग्याउनु’, ’हिङ हाल्नु’, अझ ‘नस हाल्नु’ जस्ता प्रयोगलाई के नाउँ दिने ? खण्ड वाक्य भनूँ, कतै खण्डित छैन । हाम्रा गाउँलेहरूले बोलेजस्तै पूरापूरी नै छ; कतै छलछाम र कपट छैन । उखानटुक्का कसरी भनूँ ? आफ्नो माउकुरामा उखानटुक्का नभनी साध्य, न गनी साध्य ! बूढापाकाहरू कुरै-कुरामा उखानटुक्का हाल्छन्, भलै भनेको बेलाँ एकसरो लुगा हाल्न, घीउमा हात हाल्न या गोलमाल हुँदा गोला हाल्न नसकुन् । यसो गमें एलिट्, एजरा पाउण्डहरूका वा हिन्दुस्थानीहरूका कवितालाई दौरासुरुवाल लगाइदिएर नेपाली पारे जस्तो उखानटुक्का नभनी मुहावरा भनेर न्वारान गरूँ कि ? तर यसो गर्नुभन्दा त आफ्नो जिब्रो काट्नु बढिया । आफ्नो त मौकामा बुद्धिमा ख्वाप्प बिर्को लाग्दछ । केही खाँचो पर्‍यो कि पल्ला घरकी च्याखुरी बज्यै पैँचो माग्न छिमेकमा दगुरेझैं पुगिहाल्नुपर्छ बूढा गुरुकहाँ ! के भन्नु ? मेरो खप्परमा पल्टिएको टाटको कथा । पछाडिएका देशमा मन्त्रीले मद्धतको निम्ति बाहिर गइरहनुपरे जत्तिकै छ । बिहानीपख भइसक्यो गमेको गम्ये ।

छर्लङ्ग उज्यालो हुनेबित्तिकै मुखसुख नधोई हातमा टोपी टिपेर कुदेँ बूढा गुरुकहाँ ! आफू स्वादेजिब्रोको पक्षपाती भए तापनि गुरु हुनुहुन्छ जनजिब्राको पक्षपाती अर्थात्, पनपच्छी । दुई हात जोरेर शरण परी आफ्नो दुखेसो सुनाए पछि श्री गुरुले आज्ञा गर्नु भयो- “म पनि यिनीहरूको के नाऊ जुराउँ भनेर गम्दैछु । यस्तो प्रयोगलाई ‘व्यञ्जना’ भन्नुपर्ला कि ?’ उहाँले व्याख्यान गर्नुभयो- व्यञ्जनामा सीधा अर्थ नलागी लाक्षणिक अर्थ लाग्छ, जस्तै ‘हिङ हाल्नु’ भन्नाले रुख छेडेर हिङ हाल्दा सुकेर मर्ने हुँदा लाक्षणिक अर्थ मार्नु या नाश गर्नु भन्ने बुझिन्छ । यस्तै, ‘नस हाल्नु’, घंैटोमा पनि झल्ल घाम लागिहाल्यो । पक्का लाक्षणिक अर्थ बुझाउँछन् यस्ता प्रयोगले । आफू त पाको गुरुभक्त । लाक्षणिकता र व्यञ्जनामा रहेको भिन्नतामाथि शङ्का गर्नु आफ्नो विवेकले नै नसहने कुरो । नत्र त गुरुभक्तिमाथि नै शङ्का भएन ? गुरु माउकुराको विषयमा कति घण्टा अर्ती उपदेश दिनुहुन्थ्यो कुन्नि, मेरो पालो ‘काम चल्यो भाँडो आफल तेरो ठाँडो’ भनेझै गुरुलाई दुईहात जोड्दै सुइँकुच्चा ठोकिहालेँ ।

सीधा प्रौलाले घिउ आउँदैन । मैले माथि बयान गरिएका प्रयोगलाई व्यञ्जन नभनेर आफ्नो मनसुहाउँदो नाउ दिएको छु । व्यञ्जना भनेँ भने त सीधै एउटा नक्कल हुनेछ । यसमा आफू सुहाउँदो नभएर खालि गुरुसुहाउँदो हुनेछ । अनि त स्वयं विचारक नभएर गुरुको प्रचारक हुन पुग्नेछ । चट्ट व्यञ्जनाको अगाडि दुई अक्षर ‘अभि’ थपेँ अनि न्वारान गरेँ, ‘अभिव्यञ्जना’ । अव यसमा मेरो आफ्नै मौलिकता छैन भनेर दावी गर्न कसैका अंशियारको केही हक पुग्न सक्ला ?

माउकुराको सबै अङ्गमा झल्कने लाक्षणिकतापट्टि घोत्लिऔँ । ‘नस हाल्नु’ लाई ‘हिङ हाल्नु’को भाइ भन्न सकिन्छ । कारण हिङको चलन सुर्तीभन्दा पहिले चलेको अड्कल काट्न बल पर्दैन । ‘खुकुरीभन्दा कर्द लाग्ने’ भनेजस्तै आज ‘नस हाल्नु’ विशाल हाम्रो नेपालको मेचीदेखि महाकालीसम्म पुगिसकेको छ । हिङ हाल्नुको लोकप्रियता यसरी घटेर ‘नस हाल्नु’पट्टि बढ्नुमा पनि लाक्षणिकताकै हात रहेको छ । आज शक्तिशाली राष्ट्रहरूले पूरा होइन, आंशिक पारमाणविक परीक्षण प्रतिबन्धमाथि सही गरी सहअस्तित्ववादपट्टि जोड दिएको हुनाले पनि हिङ हाल्नुभन्दा नस हाल्नुतिर नै ‘जतातिर मल्खु उतैतिर ढल्खु’-को स्थान चरितार्थ भएको बुझिन्छ । हो, एक जमाना थियो, हाम्रा इतिहासका पाता-हिङै-हिङ हालेका घटनाले पोतिएका थिए । त्यसैको असर त हो नि, हामी बिहेमा, अझै ‘कुइरेको टाउकामा ट्वाक्क’ भनी खाँडो जगाउँछौं । व्यवहारमा चाहि कस-कसका छातीमा ट्वाक्क पार्न पुगिरहेछौँ कुन्नि ?

संसारको कुरो गर्ने हो भने नस हाल्ने चलन-चाँजो मिलिसकेको भए पहिलो र दोस्रो महायुद्ध हुने नै थिएनन् । हिङ (Hot War) हाल्दा वाक्क भएर त हिजोआज उपनिवेशवादबाट पनि नवउपनिवेशवाद निस्केर नस (Cold War) हाल्नपट्टि ज्यादा जोड दिइएको होला । हुन पनि नस हालेर वल्लो घाट न पल्लो तीर पार्दा जति स्वाद र मज्जा पाइन्छ त्यति हिङ हालेर प्याट्ट पिण्डपानी खानेमा दर्ता गराउँदा पाइन्न । नस हाल्नाले त रोगीलाई खाली बिजुलीका झड्का (Shock Treatment) को काम दिन्छ । सीधै भिड्नेभन्दा छिड़के लाउनेपट्टि ज्यादा झुकेको प्रवृत्तिले पनि नस हाल्नुलाई सघाउ पुर्‍याएको हो कि ?

‘नस हाल्नु’को ठाडो अर्थ खोलुवा गर्दा दिवङ्गत नसप्रेमी मेरा काकाको सम्झनाले सताउँछ । उहाँ हुनुहुन्थ्यो सच्चा र पक्का नभक्त । उहाँ नस सुधेर पींढीको डीलमा बसेपछि नाकका पोरा फुलाएर मुख बाउँदै लामो सास तानेर टाउको उँभो उचाल्दै ‘हाँ… च् हाँच्’ गर्दा-गर्दा हिरिक्क हुँदा पनि ‘छिउँ’ चाहिँ आउँदैनथ्यो । यो छिउँको धोको केटाकेटी फेला पर्नासाथ च्याप्प अँठ्याएर नस सुँघाईकन मेट्नुहुन्थ्यो । केटाकेटीहरूचाहिँ काकाले छिउँ बिर्सेको साटो हाँच् बिर्सने र घण्टौं छिउँ गर्‍यागर्‍यै हुन्थे । जुम्रा या उडुस ने फेला परोस्, काका चट्ट हात्तीहाडे नसदानीबाट चक्कूका टुप्पाले चट्ट नस झिकेर छुसुक्क नस हाल्नुहुन्थ्यो । बोधो उडुस र छट्टु जुम्राले पनि लाखेनाच नझिकी नहुने । एक दिन काकाका पिंडौलामा जुका ढाडिएको देखेर मैले सविनय सोधेँ ‘काका, जूको झिकूँ ?’

‘चूप लागु’ यति भनेर काकाले गोजी छाम्नुभयो । दैवको खेल कि काकाको होश ? त्यही दिन नसदानी घरै छुटेछ । उहाँले एके बचन बोल्नुभयो, ‘पख् !’ अनि काका, म र ढाडिएको जूको तीन जना काकाका घर पुग्यौँ । उहाँले विधिविधानपूर्वक नसदानीबाट चक्कूका टुप्पाले जूकाका मुखमा छुसुक्क नस प्रयोग गर्नुभयो । जूको रन्थनिएर पर्लक्क झर्‍यो अनि छाद्यो रगत । यसरी जूको सधैंका लागि रगत चुस्ने कार्यभारबाट मुक्त हुनासाथ काकाका मुखबाट फुत्त, ‘देखिस्’ निस्कँदा यसो हेरेको ता उहाँको अनुहार बुढेसकालमा, सन्तान भएजस्तो भएछ- हर्ष र खुशीले ।

काका र म पल्ला गाउँका एउटा घरमा गएका थियौँ । चूल्हामा भातको भाँडो र दालको कराही झिकिसकेको छ, तरकारीको भाँडो चूल्हामै पाक्तै छ । हामी भित्र मूलओछ्यानमा विराजमान भएका छौं । घरबेटी बज्यै पानी लिन पँधेरामा गएकी छन् । अँगेनाको डीलमा बिरालाको ढाडे मस्तसित घुर्रघुर्र घुर्दै सुतिरहेछ । झट्ट काकाको बुद्धिमा ज्ञानको ज्योति झल्कन्छ । बिस्तारै नसदानीबाट चक्कूका टुप्पाले नस झिकेर काका घुर्दै गरेको ढाडेको घ्राणेन्द्रियका दुइटै प्वालनिर पुर्‍याउनुहुन्छ । उभो सास तान्नासाथ ढाडे शिवजीको शैलीमा ताण्डवनृत्य थाल्दछ, ठूलो आवाजमा ङुर्र गर्छ अनि साढ़े पाँच हात उँभो उफ्रन्छ र देखिन्छ- विजुली चम्के जस्तो चाँडो र टाठो । अर्को ङुर्र र उफ्राइमा ऊ उम्लँदै गरेको कराहीमा हरहर महादेव गर्न पुग्छ । तेस्रो ङुर्रमा ऊ भातका भाँडामा अँगालो मार्न पुग्छ । अब उसको ङुर्र र उफ्राइको ताल बढ्छ ।

चूल्हाको भुङ्ग्रामाथिभन्दा चार भाग बेसी उफ्रदा दाल पोखिएर धूवाले बाँकी दृश्य देख्न सकिन्न । वीर बलभद्रका सन्तान हाम्रा काकाले हत्त र पत्त धोती रूमालको पोको च्याप्तै ‘देखिस्, नसको वेताले चमत्कार, बितल खायो केटा लगाओ टाप’ भन्दै लामा-लामा फड्कामा तताउनुभयो बाटो, मचाहिँ बाघले देखेको गाईको पछाडि दगुरेको बाच्छो जस्तो काकाको पछाडि बुर्कुसी मार्न थालेँ ।

यो त ठाडो नसको असरको वणर्न भयो । यसको लाक्षणिकताले कति मिहिन औतार लिएर कता-कता झटारो हान्दैछ, किन टाउको दुखाऔँ ! यो त निस्सा हो, जति हाल्यो उति मन लाग्ने र त बेला मौकामा कसैले कसैलाई नस हाल्न चुक्तैन । यसको लाक्षणिक छटा कूटनीति र राजनीतिमा झन् टड्कारोसित झल्केको पाइन्छ । तब त नेता-नेतामा पति कसको नस कडा भनेर जाँचाजाँच हुन्छ । नस ज्यादै विस्तारवादी भइसकेको छ । भन्न सकिन्न, यस नसैची दुनियाँमा कहिले कसलाई कसले नस हाल्ने हो ?

०००
‘फूलपाती’ अङ्क -४ । ‘साझा निबन्ध’ (२०२६)

(नोट : कृतिशेष दाहालको ०२४/२५ सालतिरै लेखिएको यो निबन्ध गत हप्ता नै प्रविष्ट गर्ने क्रममा थियो । तर दाहालको तस्वीर गुगलमा खोजी गर्दा पनि फेला परेन र सञ्जालबाटै कसैसँग छ भने उपलब्ध गराइदिन हारगुहार गरियो । सहृदयतापूर्वक गणेश खनाल, भोजराज दाहाल, हेरम्बराज बाँस्तोला, दिलिप ढकाल, किशोर पहाडी, डा. हेमाङ्गराज अधिकारी , शम्भु जमरकट्टेललगायतले सञ्जाल मार्फत नै विभिन्न आकार-प्रकारका तस्वीर पठाइदिनु भयो । उहाँहरू प्रति हार्दिक आभार व्यक्त गर्दै प्राप्त भएका मध्ये दाहालका २ वटा तस्वीर यहाँ प्रयोग गरिएको छ । -सम्पादक)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x