चिरञ्जीवी दाहालइच्छा
कहिले सुतिरहेकालाई ओछ्यानबाट थुत्ने गोरु जोते जस्तै जोत्ने, शरीर भरी विष्टा पोत्ने, लाठाले घोच्ने, माछालाई जस्तै कुरमा कोच्ने बानी परेका इच्छाधारी मान्छेहरूको रजगज पनि एकताका देखेकै हो ।

सिधा अर्थमा प्राप्ति वा चाहनालाई इच्छा भनिन्छ । मान्छे भनेको अनन्त इच्छा, आकांक्षा, सपना, चाहना र तिर्खाको नदी हो । हरेक मानिस आफ्नो आँखामा केहि कैद गर्न, आफ्नो मुट्ठीमा राख्न, आफ्नो हृदयमा खुशीको बाढी ल्याउन र आफ्नो दिमागमा शून्यता भर्न चाहन्छ, चाहे त्यो पैसा होस् वा प्रतिष्ठा या शक्ति किन नहोस् । मान्छेले हरेक दिन एउटा न एउटा इच्छा गरिरहेको हुन्छ र उसले इच्छाको भिक्षा मागिरहेको हुन्छ । भिक्षा ईश्वरसँग पनि माग्न सक्छ र शक्तिसँग पनि । संसारका हरेक मान्छेहरू इच्छाका दास बन्ने गरेका छन् । मान्छेको मनमा कहिलेकाहीँ अचम्म अचम्मका इच्छाले घर गर्नसक्छ । कसैलाई मर्ने इच्छा जागृत हुन्छ र कसैलाई नमर्ने इच्छा । कसैलाई चोर्ने इच्छा लाग्छ, कसैलाई कोर्ने, त्यो चित्र या कविता जे पनि हुनसक्छ । कसैलाई फोर्ने इच्छाले सताइ रहन्छ । कसैले घर फोर्छन् कसैले दल फोर्छन्, फोर्ने बानी लागे पछि तिनले जे पाए पनि फोरिदिन्छन् । केही नपाए मुख फोर्छन् ।
हुन त यी मानवीय स्वभाव मात्र होइनन् हरेक प्राणीले केही न केही इच्छा गरिरहेका हुन्छन् । फरक यतिमात्र हो मान्छे बाहेक सबै प्राणीले पेट मात्र भर्ने इच्छा गर्छन् भने मान्छेलाई सात पुस्ता सम्मका आफ्ना सन्ततीका लागि धन थुपार्ने इच्छा हुन्छ । यसैगरी मान्छेले इच्छा गर्नु कुनै अपराध होइन तर कहिलेकाहीँ इच्छाका कारण गम्भीर प्रकृतिका समस्याहरू आउन सक्छन् । यो कुरामा भने सबैले ध्यान दिनैपर्छ ।
देवाधिदेव महादेव पत्नी, सती देवीलाई पिता दक्ष प्रजापतिको यज्ञमा जोडी बाँधिएर यज्ञ भोजमा जाने इच्छा थियो, आखिर यज्ञ नसकिँदै त्यही यज्ञमा हामफालेर प्राण त्याग्न गर्नुपर्यो । कौरव पक्षले भएभरको, भाइ अंश आफै राख्ने इच्छाले महाभारत युद्ध भयो । पाण्डवहरूको जुवा खेल्ने इच्छाले भारी सभाका विचमा द्रौपदीलाई नङ्ग्याउने प्रयास गरियो । सीताले सुनको मृग पाल्ने इच्छाले राम रावण युद्ध भयो । कुनैबेला बोतल च्यापेर कसैका कोठामा जाने इच्छाले खाइपाई आएको जागिर खुस्किएका कथाहरू पनि बेलाबखत सुनिने गरेकै छन् ।
कतिको प्रधानमन्त्री बन्ने इच्छाले दलीय मूल्य र मान्यता नै तहसनहस भएको त देखिने गरेकै छ । दुई देशको नागरिकता राख्ने इच्छाले कसैको पद धरापमा पर्न सक्छ । कहिले काँही मन्त्री बन्ने इच्छाले संसद पद नै हल्लिने गरेको खुलासा बाहिरिने गरेकै छन् । चुनाव जित्ने इच्छाका कारण घरखेत गुमाउनेको संख्या पनि बाक्लै देख्न पाइन्छ । जाँड र रक्सीको तलाउमा पौडने इच्छाले कलेजो डढाउनेहरूको सङ्ख्या बाक्लै देखिन्छ ।
मान्छेका इच्छा पनि गजब गजबका हुन्छन् । कसैलाई तारेर खाने इच्छा हुन्छ, कसैलाई फारेर खाने इच्छा । कसैलाई मारेर खाने इच्छा हुन्छ । कोही अर्काको भाग सारेर खान्छन्, कोही अर्कालाई भुइँमा झारेर खान्छन् । कोही हारेर पनि खान्छन् । अर्कालाई लतारेर खानेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । मान्छेलाई यसो नियालेर हेर्नु मात्र पर्छ, कसैले कसैलाई दनक दिएर खान्छ अथवा सनक चढाएर खाने गर्छ, त्यसको छनक तुरुन्त पाइन्छ । कसैले मौका पारेर खान्छन् । कसैले चौका पारेर खान्छन् । आखिर मान्छेका इच्छा न हुन् । कसैलाई घाम डुबेसँगै भट्टी रुँगेर बस्ने इच्छा जागृत हुन्छ, कसैलाई भट्टा सुँघेर बस्ने इच्छाले सताउँछ । पौराणिक कालमा द्रौपदीले पाँचवटा पति राख्ने इच्छा गरेको भन्ने बुझिन्छ, अचेल पनि केही मति बिग्रिएका स्त्री लम्पटले पाँचवटी पत्नी राख्ने इच्छा गर्छन् र सबैतिर खति भइरहेको ख्याल गर्दैनन् । अर्काकी स्वास्नी राम्री देखेर पछिलाग्ने इच्छाले ढाड सेकाउनेहरू बेलाबखत हड्डी रोग विशेषज्ञसँग भेट्न पुग्ने गरेको पनि सुन्न पाइन्छ ।
गोजीमा सुको नभएको बेला मलाई पखेटा हाल्ने इच्छा जाग्ने गरेको छ । कतै जान पैसो नचाहिने । भुुरुरु उड्यो पुग्नुपर्ने स्थानमा खुत्रुक्क ओर्लियो बस् । इच्छा गर्दैमा सबै इच्छा पूरा हुन्छन् भन्ने पनि छैन । अर्कोतिर, इच्छा पूरा भए पनि नभए पनि यसले मान्छेको व्यक्तिगत उन्नतिमा वाधा पुर्याउँछ । इच्छा गरेका सबै सपना पूरा हुँदै गयो भने मान्छे उन्मत्त साँढे जस्तै बन्छ । इच्छा पूरा नभए मान्छे अवसादको अवस्थामा पुग्नसक्छ । अवसादले मानसिक अशान्ति निम्त्याउँछ, मानसिक अशान्तिले व्यक्तिगत स्वास्थ्य र पारिवारिक संरचनामा हानी पुर्याउँछ ।
अचेल युट्युब खोल्नुपर्छ के के देखिन्छ के के ? पोइल जाने इच्छाले लोग्नेको हत्या गरेर जेल जाने महिला र कान्छी ल्याउने इच्छाले पुरानी स्वास्नीको हत्या गर्नेहरूको सूची निकै लामो बनिसकेको छ । साँध सिमाना मिच्ने, सँधियारको घाँटी थिच्ने, घाम छँदै दारु घिच्ने इच्छाले छरछिमेकमा हुने झैझगडाबाट हिंसात्मक गतिविधि जन्मिएका अनगिन्ती घटनाहरू सार्वजनिक हुने गरेका छन् । भोज खाने इच्छाले पेट बिगार्ने र मोज गर्ने इच्छाले आखेट बन्नेहरूको सङ्ख्या पनि कम छैन ।
सम्पत्ति जोडने इच्छाले राज्यको ढुकुटीमा ब्रह्मलुट गर्नेहरूको जमात दिन प्रतिदिन बढ्दै गएको छ । मौका परे दुई भाइ मिलेर तेस्रोलाई शब्दबाँड प्रहार गर्ने, अलिकति तलमाथि परे आफैं गाँड कोराकोर गर्ने चलन त हाम्रो राजनीतिमा देखिने पुरानो रोग नै हो । नेता बन्नु मात्र पर्छ, सबैलाई यस्तै इच्छा लाग्ने गरेको छ । कतिपय मान्छेहरू निकै बाठो हुने इच्छा गर्दा धोती फुस्किएको पनि थाहा पाउँदैनन् । धनसम्पत्ति जोड्ने इच्छाले भ्रष्टाचारी बनिसकेको कुरा मान्छेहरूले पत्तै पाउँदैनन् ।
जनताहरूमा चौबिस घण्टा सुत्ने इच्छा र नेताहरूमा रावणले जस्तै लुट्ने इच्छाले हरेक क्षेत्रमा अराजकता बढिरहेको देख्न पाइन्छ । उहिलेको रावणको इच्छा सीतालाई गिद्धेदृष्टि लगाउने थियो । अचेलका रावणहरूमा पनि त्यस्तै इच्छा प्रबल रूपमा देखिने गरेको छ ।
सृष्टिको पहिलो पत्रकार नारद मुनिमा जहाँ जे देख्यो सोही समाचार सम्प्रेषण गर्ने इच्छा हुन्थ्यो । उनले कहिले पनि एकतर्फी समाचार सम्प्रेषण गरेनन् । सत्य तथ्य समाचार सुनाउन पुगिहाल्थे । देवता र दानव दुवै पक्षले उनलाई सम्मानको नजरले हेर्थे । अचेलका पत्रकारका इच्छा अलि फरक छन् । यिनीहरू एकपक्षीय समाचार लेख्ने इच्छा गर्छन् । एउटा पत्रकारले अन्य पत्रकारको उछित्तो काढ्छन् । केही दिन समाचार लेख्न छोडे भने सर्पको खुट्टा सर्पले देखे जस्तै यिनीहरूले कसैले नदेखेको कुरा नङ्ग्याएर देखाइ दिन्छन् । सायद तिनका मनमा यस्तै इच्छाहरूले पच्छ्याइ रहेको हुन्छ होला ।
आदिम कालमा कणर्को एकमात्र इच्छा थियो आफ्नो हातबाट दान रुपि सरिता अटुट बगिरहोस् । वर्तमान लम्बकणर्हरूको इच्छा भने अर्काको मनैबाट मान रूपि सरिता बगिरहोस्, आफू सधैं हात थापेर मात्र बसौं भन्ने हुन्छ ।
कुम्भकणर्को आठै प्रहर सुत्ने इच्छा थियो । यो रोग अचेल नेपाली जनतामा सरेको छ । लुट्नेले लुटिरहेको छ, चुट्नेले चुटिरहेको छ, ढुकुटीको साँचो समाउने जिम्मा लिनेहरू दिनदहाडै आफ्नै गोजीमा साँचो राखेर ढुकुटी फोर्दै गर्दा पनि यिनीहरू निदाइरहेका हुन्छन्, कुम्भकणर् जस्तै । त्यसबेला जब कुम्भकणर् बिउँझिएको थियो, लङ्का तहसनहस भइसकेको थियो । कुनै कुनै इच्छा यति खतरनाक हुन्छन्, जसको वणर्न गर्न शेषनागले पनि सक्दैनन् ।
कहिले सुतिरहेकालाई ओछ्यानबाट थुत्ने गोरु जोते जस्तै जोत्ने, शरीर भरी विष्टा पोत्ने, लाठाले घोच्ने, माछालाई जस्तै कुरमा कोच्ने बानी परेका इच्छाधारी मान्छेहरूको रजगज पनि एकताका देखेकै हो ।
इच्छा, धेरै कुराको गर्न सकिन्छ तर हरेक इच्छाहरू प्रकट गर्दा कम्तिमा पनि चार पटक सोचविचार गर्नुपर्छ । कुनै इच्छाले स्वयं नाङ्गिनु पर्छ । कुनै इच्छाले साथीभाइ र इष्टमित्र बाङ्गिन सक्छन् । कतिपय इच्छाले कारागारको भित्तामा टाङ्गिनु पर्छ ।
यति मात्र होइन अचेल पुरुषले महिला बन्ने र महिलाले पुरूष बन्ने इच्छा प्रकट हुन थालेको पाइन्छ । कति पुरुषले पेट बोकेर बच्चा पाएको खवर पुरानो हुन थाल्यो । अन्तमा मेरो यो इच्छा, नचाहिने र नपुग्ने इच्छा कसैले पनि गर्नु नपरोस् ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest






































