साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाकलाई खोल

। हाम्रो देशमा पनि खोल ओढ्ने मानिसको कमी छैन । कोही सिद्धान्तको खोल ओढ्छन् भने कोही इतिहासको । आखिर खोल भने सबैले ओढेकै छन् लगाएकै छन् ।

Nepal Telecom ad

विनाेद खनाल

उत्तर फर्केमा देब्रे आँखादेखि पूर्व, दक्षिण फर्केमा पश्चिम, दाहिने आँखादेखि पनि ठीक यही विपरीत दिशामा, खानेमुखदेखि उत्तर निधारदेखि दक्षिणमा अवस्थित अग्लो र चुच्चो परेको भागलाई नाक भनिन्छ । हुन त यसरी नाकको परिभाषा त दिइरहनु नपर्ने हो, तर पनि यो परिभाषाकै युग भएकाले परिभाषा दिनु कुनै नौलो कुरा होइन । छाला र कुकुरे हाडबाट पातलो मासुको झिल्लीले बनेको नाकका दुईटा प्वाल हुन्छन् जहाँबाट सिंगान बग्छ ।

टाउको, निधार, आँखा, मुख जस्तै नाक पनि शरीरको एउटा अङ्ग हो, अरु सबै अङ्गका बारेमा लेखिइसक्दा पनि नाकको बारेमा नलेखिनु नाकलाई सरासर हेपेको होइन त ? हाम्रो शरीरको सबभन्दा अग्लो ठाउँ नै नाक हो, नपत्याए नेपालको म्याप जसरी बर्लङ्ग पल्टिनु होस् र प्रत्येक ठाउँमा फिता लाउँदै जानुहोस्, तपाईंको सबभन्दा बढी नाप नाक भए ठाउँमा भएनछ भने मलाई भन्नुहोला । यसकारण हाम्रो शरीरको सगरमाथा नै नाक हो र त यसबाट अरुण र कोशी बगेझैँ दुई तिरबाट नदी बग्छन् त । यसकारण सगरमाथा र हाम्रो नाकमा के फरक छ त ।

यथार्थमा हाम्रो नाक भन्नु पनि सगरमाथा नै हो, सगरमाथा भन्नु पनि हाम्रो नाक नै हो । यसरी नाक र सगरमाथाको सम्बन्ध घनिष्ट छ अझ पुस, माघको बेलाको नाक छाम्नु भयो भने नाकको टुप्पा र सगरमाथाको टुप्पोको तापक्रम झण्डै बराबर हुन्छ । जेठ असारमा वा गर्मीको समयमा जब सगरमाथाको हिऊँ पग्लेर भर्न थाल्छ तब नाकबाट पनि सिंगान भर्न थाल्छ । यसकारण नाक र सगरमाथाका विशेषता प्रायः ठ्याम्मै मिल्छन् ।

तेन्जिङ्ग सगरमाथा चढे, उनको मात्र नाक ठडिएन, सारा नेपालीको नाक ठडियो । चैत, बैशाखको घाममा सुइटर लाउनु पर्ने मान्छे पनि तेञ्जिङ्ग हिमाल चढेकोमा रमायो भने अरुको त कुरै छाडौंन । बहादुर शाह, भक्ति थापा, बलभद्र आदिले ज्यान दिए, हाम्रै नाक ठाडो भयो । स्याल कराउँदा उसै मान्छेसम्म पनि बलभद्रको इतिहास पढेर रमाउँछन् र नाक घोक्र्याउँछन् भने हाम्रो नाक कस्तो र कत्रो रहेछ आफै अनुमान लगाउनु होस् किनकि अनुमान लगाउन तपाईंहरू पनि हनुमान जत्तिकै हुनुहुन्छ भन्ने मैले सुनिसकेको छु ।

इतिहासमा हाम्रो नाक निकै गतिलो छ । यही नाक सम्झेर नै हामी नाक फुलाइरहेका छौं । इतिहासमा हाम्रो नाक घोक्रिएको घिरौंलाभन्दा गतिलो भए तापनि अहिले हाम्रो नाक चेप्रिएको घिरौंलाभन्दा गतिलो छैन । यसरी हाम्रो नाक दिनदिनै चेप्रिएर र चाउरिएर गइरहेको छ, हुन त आफ्नो नाक यस्तै छ भनेर हामीलाई स्वयं थाहा हुँदैन ऐना नै हेर्नु पयो । ’आँखाको सोझी नाक पनि नदेख्ने’ भनेको सायद यही होला ।

हुन चै यो नाक अचम्मकै चीज रहेछ । यसको सम्बन्ध त्यही वरिपरिको अङ्गहरूसँग नभई टाढाको अङ्गहरूसँग सम्बन्ध राख्ने बानी हालका व्यक्ति, देश र नेताको जस्तै रहेछ । हुन पनि हो नाकको सोझो सम्बन्ध न उस्को छिमेकी आँखासँग छ न कानसँग नै । इएनटीको भनाइ अनुसार कानसँग नाकको सम्बन्ध हुन्छ तर व्यवहारमा यो कुरा उस्तो सिद्ध देखिएन । सास फेर्ने काममा सघाउने हुँदा बरु नाकको सम्बन्ध मुखसँगै रहेको हुन्छ । सबैले थाहा पाउने गरी व्यवहारिक एवं स्वयंसिद्ध भने नाकको दौत्य सम्बन्ध चाकसँग नै रहेको हुन्छ किनकि चाकका छेउछाउबाट गन्ध आइहाल्यो भने सबैभन्दा छिटो नाकले थाहा पाउँछ अनि मात्र मुखलाई सूचना दिन्छ ।

हुन त नाकका बारेमा लेख्न थाल्नु हो भने एउटा नाकेपुराण वा नाके महात्म्य नै बन्ला । नभए पनि नाकग्रन्थ त पक्का बन्छ । तर यहाँ त नाकहरूको सामान्य जानकारी दिन मात्र खोजिएको हो । सबैका नाक एकै खाले हुँदैनन्, कसैका चुच्चे हुन्छन् त कसैका बुच्चे, कसैका फुच्चे हुन्छन् त कसैका लुच्चे । जस्तोसुकै भए पनि सबैसँग एउटा न एउटा नाक चैं हुन्छ नै, चाहे नेप्टे चेप्टे, थेप्चे, डल्ले किन नहोस् । चुच्चे नाक देखाइमा जति चुच्चे देखिन्छ उसको विशेषता पनि चुच्चाको जस्तै नै हुन्छ । चुच्चाले जसरी अरु बुच्चालाई ठुङ्छ र चलाउँछ, त्यसरी नै चुच्चे नाक पनि अरुसँग छुच्याइँ गर्न अघि सर्छ, चुच्चे नाकले छुच्याईं गरेको नेप्टे र थेप्चे नाकले थाह पाएर जब मडारिन थाल्छन् तब चुच्चेहरू पनि बुचिन थाल्छन् ।

संसारमा जे जति युद्ध महायुद्ध र गृहयुद्ध भए ती सबै नाककै लागि भए । पुराणकालदेखि नै नाककै लडाइँहरू भए तापनि चुच्चेहरूले चुच्चे पुराणमा चुच्चेहरूकै विजय देखाएका छन् । रावणकी बहिनी सुर्पणखाको नाक रामचन्द्रले काटिदिएकोले गर्दा रामायण बन्यो । आफ्नो नाक जोगाउन रामले सीतालाई त्याग्नु पर्‍यो । आफ्नो नाक जोगाउन कौरव र पाण्डवले ज्यान दिएर लडे, अनि महाभारत बन्यो । यसरी नै अरनिको, अंशुवर्मा, मानदेव, महेन्द्र मल्ल, पृथ्वीनारायण शाह, बहादुर शाहले आफ्नो नाक जोगाएर नेपाल र नेपालीकै नाक राखे । यसरी हेर्दा हाम्रो पुराण तथा इतिहास नै एउटा गतिलो नाक हो, जो कति ठाउँ मग्मगिएको छ भने कति ठाउँ कुहिएर ठस्ठसी गनाइरहेको छ । यसबाट हामी के थाहा पाउँछौं भने आफ्नो नाक जोगाउन सबैले आ-आफ्ना किसिमले नाकलाई खोल हालिरहेका छन् ।

तपाईंलाई पनि अचम्मै लाग्ला, नाकलाई खोल हाल्ने कुरामा । आजको समयमा प्रायः सबै चीज तथा अङ्गहरूको खोल छ तर नाकको खोल भने कहीँ र कतै देखिएको छैन तापनि नाकलाई बेवास्ता गर्नु आजको मान्छेको विशेषता नै । हुन पनि खुट्टाका खोल जुत्ता, तिघ्राको खोल पेन्ट, सुरुवाल, सारी जीउको खोल सर्ट, कमेज, चोलो टाउकाको खोल टोपी, आँखाको खोल चश्मा हो भने नाकको खोल खोइ त ? अहिलेको जमानामा जे सुकै र जतासुकैका अङ्गको पनि खोल छन् । प्रत्येक देशमा एउटा न एउटा व्यवस्थाको खोल छ, जसले आफ्नो देशलाई छपक्कै छोपेको हुन्छ । आजको जमानामा गोप्य-गोप्य अङ्गहरूको त खोल बनाएर धमाधम विज्ञापन गरिन्छ भने यो खोलै खोलको जमाना होइन त ? साँच्चै भन्ने हो भने यो खोलै-खोलको र झोलै झोलको जमाना हो भन्दा फरक नपर्ला ।

खोल हालेपछि जस्तै कमसल चीज पनि टिलिक्क भइहाल्छ । भित्र प्लास्टिकका पूर्जा लगाएर बाहिर स्टिलका कभरले छोपिदिनु होस् चीज नयाँ बन्छ । लुते मानिसलाई ज्याकेटको खोल लगाइदिनु होस् पूरै मोटो हुन्छ ।

प्रत्येक कुरामा ’खोलको बडो महत्त्व हुन्छ, मिसाइल र क्षेप्यास्त्रहरूको परीक्षण गर्‍यो, निशस्त्रीकरणको खोल लगाइदियो, कति सजिलो । फेरि गुन्द्रुकको झोलसम्म खान नपाउनेले विदेशी कपडाको खोल हालेर टोल-टोलमा घुमेपछि नेपाल पेरिस हो कि हङकङ हो कसले छुट्याउने । हाम्रो देशमा पनि खोल ओढ्ने मानिसको कमी छैन । कोही सिद्धान्तको खोल ओढ्छन् भने कोही इतिहासको । आखिर खोल भने सबैले ओढेकै छन् लगाएकै छन् ।

तर यति हुँदाहुँदै पनि नाकलाई खोल हाल्न भने सबैलाई धौ-धौ परिरहेकै छ । नाक यति महत्त्वपूणर् अङ्ग हो कि भनेर साध्यै छैन । अलिकति बढी रिसायो भने भनिन्छ, रिस त नाककै टुप्पोमा रहेछ । समाजमा अलि नराम्रो काम गर्‍यो, नाकमा गुहू लाग्छ । यसरी हेर्दा नाकलाई हाम्रो शरीरको सञ्चार विभाग नै भने पनि हुन्छ किनभने बासनादार पकवानी पाकेकोदेखि पचेकोसम्म आँखाले नदेखी नाकले थाहा पाउँछ । यसकारण नाकलाई शरीरको सबैभन्दा प्रमुख अङ्ग हो भने के पो भङ्ग होला र । त्यसकारण मेरो यो ‘नाके’ निबन्धलाई तपाईंहरूको बल्ढ्याङ्ग्रे आँखाले हेरेर हाब्रे मुखले पढिदिएर च्याउ जस्ता कानले सुनिदिनु भएमा म पनि नाक फुलाउने थिएँ । मेरो पनि नाक रहने थियो ।

०००
‘यात्रा बुधबारे’ २०५४ मा प्रकाशित ।
रचनाकाल : तरुले एकादशी- २०४३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

विनाेद खनाल
बिर्सने बानी

बिर्सने बानी

विनाेद खनाल
हाउडी पुराण : एक संक्षिप्त चर्चा

हाउडी पुराण : एक...

विनाेद खनाल
जय बुढी

जय बुढी

विनाेद खनाल
गाईजात्रे सरकार !

गाईजात्रे सरकार !

विनाेद खनाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x